तेस्रो दिन
आजको घुम्ने योजना अनुसार उलनधानु हान्दारा गेट, तनह लट टेम्पल अनुसार हामी बिहानको ब्रेकफास्टपछि करिब ९ बजेतिर सबै जना बसमा चढेर घुम्न निस्कियौं।
सहरको रमणीय दृष्य हेर्दै हामी तनह लट टेम्पलतर्फ लाग्यौं। घरहरू प्राय: सबै २ तलाभन्दा अग्लो देखिएन। त्यहाँको नियम अनुसार अग्लो घर बनाउन नपाइने रहेछ। घरहरू प्राय: एक नासको नै देखिन्थे। नियम चाहिँ त्यहाँको मन्दिरभन्दा अग्ला घर बनाउन नपाइने रहेछ, अनुमति नपाउने रहेछन्।
मन्दिरभन्दा अग्लो बनाए भने मन्दिरको अपमान हुन्छ भन्ने आस्था रहेछ।
प्रत्येक घरमा एउटा सानो भए पनि मन्दिर देखियो, पूजा गरेको पनि देखियो। यसरी हेर्दा उनीहरू धर्मप्रति धेरै नै विश्वास राख्ने रहेछन् भन्ने बुझियो। तनह लट टेम्पल समुन्द्रको किनारमा रहेछ।
रमणीय दृष्य चट्टानहरूको छेउमा अवस्थित मन्दिरको दर्शन गर्दा सकारात्मक ऊर्जा पाएको अनुभव भयो।
यो मन्दिरको बारेमा बुझ्दा यहाँ अविवाहित जोडीहरूले घुम्नु हुँदैन भन्ने कथन रहेछ।
यहाँ त्यस्ता जोडीहरू आए भने केही महिनाभित्र जोडी छुट्छ भन्ने विश्वास रहेछ।
-1762585401.jpg)
मन्दिर समुन्द्रको किनारमा भएकोले यहाँ खासगरी पर्यटकहरू सूर्यास्त हेर्न आउने रहेछन्।
यहाँ पनि सबै साथीहरू फोटो खिच्न, भिडिओ बनाउनतर्फ लागे। मैले पनि केही दृश्यहरू कैद गरे त्यसपछि गाइडको निर्देशन अनुसार हामी त्यहाँबाट बाहिर निस्कियौं
त्यसपछि लन्चको लागि होटलतर्फ लाग्यौं। खानापछि पुन: सबैजना उलनधानु हान्दारा गेटतर्फ लागियो। यहाँ चाहिँ पर्यटकहरूले गेटमा उभिएर , बसेर फोटो खिच्ने रहेछन्। फोटो खिच्न लामो लाइनमा बस्नुपर्ने रहेछन्। लाइन निकै लामो भएकोले हामीले अलि टाढाबाट नै फोटो खिच्यौं। त्यसपछि उलन धानु मन्दिरतर्फ अगाडि बढ्यौं।
यो मन्दिर चाहिँ शिवजी पार्वती माताको रहेछन्। विदेशी भूमिमा शिव भगवान र पार्वती माताको दर्शन गर्न पाउँदा मन खुसी भयो। त्यहाँ बुद्धको स्तूप पनि रहेछ। दर्शन गरियो। बालीको यो ठाउँ अलि उचाइमा रहेछ। यहाँ तापक्रम करिब १८ डिग्री जति रहेछ। बाली भौगोलिक विविधता भएको राज्य रहेछ। कुनै ठाउँमा ३५ डिग्रीको गर्मी छ भने कुनै ठाउँमा १८ डिग्री तापक्रम। कता कता हामीलाई नेपालको याद दिलायो।
नेपालको पहाडतिर घुम्न गएको जस्तो महसुस भयो। हुस्सु लागिरहेको थियो। आजको घुम्ने तालिका अनुसार यो अन्तिम गन्तव्य थियो। यसपछि हामी होटलतर्फ फर्कियौं।
चौथो दिन,
आज घुम्ने प्लान अनुसार , उबुत प्यालेस, उबुत मार्केट, कफी फार्म, किन्तामानी भल्क्यनो थियो। उबुत प्यालेस पुरानो दरबार रहेछ। यहाँ बालीको पुराना सभ्यताको बारेमा केही कुराहरू देखिन्थ्यो। त्यहाँ साना नानीहरूलाई नाच्न सिकाइरहेका देखिन्थे। त्यहाँका बाजाहरू बजाउन सिकाइरहेका थिए। यसपछि हामी कफी फार्मतर्फ गयौं। त्यहाँ लुवाक कफी खायौं। यो कफी चाहिँ त्यहाँको एउटा जनावर लुवाकले कफीको दाना खाएर दिशा गरेपछि त्यसबाट बनाउने कफी रहेछ। यो टेस्ट गर्यौं। स्वाद फरक थियो। यसपछि हामी किन्तामानी भल्क्यनो सक्रिय ज्वालामुखी केन्द्रतिर गयौं।
यहाँ अहिले पनि ज्वालामुखीको तातो रहेछ त्यो ठाउँको केही भाग डढेलो लागेको जस्तो कालो थियो। त्यो वरिपरि मानव बस्ती छैन रहेछ अलि टाढा रहेछ। त्यो हेर्दा अलि डरको अनुभव भयो। ज्वालामुखी आउँछ कि भन्ने डर भयो। त्यस ठाउँमा नै हामीलाई लन्चको व्यवस्था भयो।
स्थानिय स्वादको खाना खायौं। यसपछि हामीलाई तेगेनुन्गन झरनातर्फ लिएर गयो। त्यो ठाउँ नेपालको जस्तो थियो। झरना ठूलो रहेछ। नेपालको रुप्से झरना जस्तो थियो। यसरी आजको तालिका अनुसार हाम्रो घुम्ने कार्यक्रम यति नै हो भन्ने जानकरी गराउँदै हामी होटलतर्फ गयौं।

पाँचौं दिन
बालीको पाँचौं दिन हाम्रो अन्तिम बसाइँ थियो। दिउँसो १२:१० को फ्लाइट भएकोले हामी एयरपोर्ट ९:३० मा पुग्नुपर्ने। बिहानको ब्रेकफास्ट खाएर सबै जना चेक आउटको लागि लबीमा रूमको चाबी बुझायौं र बसबाट एयरपोर्टतर्फ लाग्यौं। होटलबाट एयरपोर्ट नजिक भएकोले १० मिनेटमा पुग्यौं। यसरी बालीको रमणीय दृश्य, न्यानो सत्कार, फरक खानाहरूको स्वाद, रमाइला अनुभव बटुल्दै हामी बालीबाट बिदा भयौं। त्यसपछि चेक इनको लागि सबै जना एअरलाइन्सको काउन्टरतर्फ गई बोर्डिङ पास लिँदै हामी फ्लाइट नम्बर एस क्यु ९३७ को प्लेन बाट सिंगापुर पुग्यौं।
यहाँ केही समय ट्रान्जिट थियो त्यसपछि सिंगापुरबाट पुन: हामी नेपालको लागि एस क्यु ४४२ बाट बेलुका १८:५५ बजे सिंगापुर एअरलाइन्सबाट नेपाल प्रस्थान गर्नको लागि सेक्युरिटी चेक गर्दै जहाजभित्र गयौं।
सबै जना आ-आफ्नो सिट अनुसार नै बस्यौं। केही समयपछि एयर होस्टेसहरूले खानाको व्यवस्था गरे। खाना दिने क्रममा एक जना एयर होस्टेसले मेरो लुगामा पेयपदार्थको जुठो छिटा पारिदिई।
अनि मैले 'ह्वाई दिस्?' भने।
उनले 'सरी' भनी। उनी नयाँ जस्तो लाग्यो। उनले फेरि सरी भन्दै टिस्यू पेपर ल्याएर पुछ्दै १० पटक जति आई एम सरी भनिरही।
मैले 'इट्स ओके बट यु ह्याभ टु वर्क स्लोली, नट फास्ट' भनेँ।
यो हेर्दा उनीहरू आफ्नो गल्तीप्रति कति इमानदार हुँदा रहेछन् भन्ने बुझियो।
मैले इट्स ओके नभनेसम्म उनले सरी मात्र भनिरही। सायद अरूले भए यति धेरै माफी माग्दैन थिए होला। आफ्नो गल्तीलाई स्वीकारेको तरिका देख्दा त्यो व्यवहारले पनि मलाई प्रभावित बनायो। यसरी करिब ५ घण्टा जतिको यात्रापछि १० बजेतिर काठमाडौँ विमानस्थलमा जहाज अवतरण भयो। र हामी सबै जना आफ्नो आफ्नो लगेज लिएर बिदा भयौं।
यो पनि:
जब समुन्द्रमा घुमाउँदा बीचमा लगेर बोट पल्टाइदियो गाइडले!