विदेशमा, खासगरी पश्चिमा मुलुकमा चल्तीमा रहेको 'कुक योरसेल्फ एन्ड इट' चलन काठमाडौं उपत्यकामा पनि भित्रिएको छ।
ललितपुरको झम्सिखेलस्थित 'इन्स्ट्यान्ट क्लब' मा तपाईंहरू आफूले रोजेको नूडल्स (चाउचाउ) आफै पकाएर खान सक्नुहुन्छ।
यहाँ कोरियन, जापानी, थाई, चिनियाँ लगायत एसियाली मुलुकका नूडल्स पाइन्छ। त्यसमा हाल्ने मसलादेखि सबै तरकारी र सामग्री त्यहीँ हुन्छ। ग्राहकले आफूलाई मनपर्ने चिजबिज छानेर नूडल्समा हाल्न सक्छन्। अनि त्यहीँ पकाएर खान पाउँछन्।
बिना कुनै झमेला, रमाइलो गर्दै आफै पकाएर खान सकिने भएकाले इन्स्ट्यान्ट क्लब अहिले काठमाडौंका युवाको हट–स्पट बन्न थालेको छ।
यस्तो ठाउँ नेपालमै पहिलो पटक खुलेको इन्स्ट्यान्ट क्लबका सञ्चालक प्रतीक स्थापितले बताए।
'विदेशतिर यसरी आफै पकाएर खाने ठाउँ हुन्छ। त्यसलाई कन्भिनिएन्ट स्टोर भनिन्छ र सस्तो हुन्छ। नेपालमा भने पहिलो पटक हामीले सुरू गरेका हौं,' उनले भने, 'विदेशी नूडल्स र त्यही अनुसार सामान आयात गर्नुपर्ने भएकाले यहाँ चाहिँ अलि महँगो पर्न जान्छ।'
३३ वर्षीय प्रतीकले करिब साढे तीन महिनाअघि यो इन्स्ट्यान्ट क्लब खोलेका हुन्। एसियाली देशहरूको नूडल्स र अरू खानेकुरा पाइने भएकाले यसलाई एसियन मार्ट पनि भन्न मिल्ने उनले बताए।
प्रतीक यसअघि न्यूरोडमा लुगाको होलसेल व्यापार गर्थे। सो क्रममा लुगा लिन चीन, भियतनाम, थाइल्यान्ड, कम्बोडिया जस्ता विभिन्न देश जान्थे। यी देश गएका बेला उनी प्रायः कन्भिनिएन्ट स्टोरमै पकाएर खान्थे।
'एक दिन यसरी नै रामेन (कोरियन चाउचाउ) खाँदै गर्दा नेपालमा पनि यस्तै स्टोर खोल्ने सोचेँ,' उनले भने।

इन्स्ट्यान्ट क्लबका सञ्चालक प्रतीक स्थापित
त्यसपछि उनले आफ्नै बचत रकमबाट करिब ५० लाख रूपैयाँ लगानी गरेर इन्स्ट्यान्ट क्लब खोले।
इन्स्ट्यान्ट क्लब खोलेको दस दिनमै अगाडिको सडक बनाउन सुरू भयो। धूलाम्य र खाल्डाखुल्डी भएकाले अहिलेसम्म औपचारिक उद्घाटन भएको छैन। बाटोको काम सकिएपछि 'ओपनिङ' गर्ने प्रतीकको योजना छ।
सडकको अवस्था बेवास्ता गरेर, क्लब छिर्नेबित्तिकै एक भित्तामा विभिन्न देशका विभिन्न ब्रान्डका नूडल्स देख्न सकिन्छ। अलि भित्र विभिन्न स्वादका जुस, कफी पनि बेच्न राखिएको छ।
यहाँ भएको कुनै नूडल्स रोजेपछि त्यसमा हाल्ने 'टपिङ्स' छान्न पाइन्छ — जस्तै चीज, ससेज, नारूतो माकी, फिस केक, स्क्विड केक लगायत। यहाँ करिब पचास थरी टपिङ्स छन्। मटर (केराउ), साग जस्ता तरकारी पनि प्याकेट–प्याकेटमा राखिएको छ।
आफूलाई चाहिने र मनपर्ने सबै सामान छानेर हाल्न सानो बास्केट दिइन्छ। यी सामान किनेर लैजान सकिन्छ। होइन, त्यहीँ पकाएर खान्छु भन्न पनि पाइन्छ। त्यहाँ पकाएर खाने हो भने सामान बाहेक थप १५० रूपैयाँ तिर्नुपर्छ।
पकाएर खानेले एउटा ट्रेमा ठूलो कचौरा, काठको चम्चा, काँटा र चपस्टिक पाउँछन्। पकाउन हाल यहाँ चार वटा मेसिन (चुल्हा) छन्। यो मेसिन नूडल्स पकाउनकै लागि बनाइको हो।
'यो मेसिन हामीले कोरियामा बनाएर ल्याएका हौं। यसमा हामीले स्टोरको नाम इन्स्ट्यान्ट क्लब नै लेखाएका छौं,' प्रतीकले भने।
मेसिनमा कागजले बनेको तर पिँधमा मेटल (धातु) भएको कचौरा (बाउल) प्रयोग हुन्छ। यो कचौरा चीनबाट आउँछ।


बाउलमा काँचो नूडल्स र अरू सामान राखेर मेसिन स्टार्ट गरेपछि आफै पानी आउन सुरू हुन्छ। नूडल्स बनाउने हिसाबले नै सेट गरिएकाले मेसिनले पानीको मात्रा आफै अनुमान गर्छ। पुगेपछि पानी आउन बन्द हुन्छ।
केही मिनेटमै नूडल्स पाक्छ, मेसिन पनि आफै बन्द हुन्छ। पाकिसकेको नूडल्सको झोल धेरै भयो भन्ने लाग्यो भने पानी तार्न पनि मिल्छ।
नूडल्स पकाउँदा सामानहरूबाट निस्केका प्लास्टिक वा खोल त्यहाँ भएको एक बक्समा फ्याँक्नुपर्छ। चरणबद्ध रूपमा के कसरी गर्ने मेसिन अगाडि गाइडलाइन पनि टाँसिएको छ। केही समस्या भए स्टोरका कर्मचारीले सहयोग गर्छन्। हाल यहाँ प्रतीकसहित ५ जना काम गर्छन्।
'हामीले नेपाली बजारमा पाइनेभन्दा धेरै थरी विदेशी चाउचाउ एकै ठाउँमा उपलब्ध गराएका छौं,' प्रतीकले भने।
यहाँ १६० रूपैयाँदेखि ३५० रूपैयाँसम्मका नूडल्स पाइन्छन्। अरू सामान पनि हालेर पकाएर खाँदा ६ सयदेखि ७ सय रूपैयाँसम्म पर्छ।
त्यस्तै यहाँ पाइने जुस खान सजिलो होस् भनेर आइसले भरिएको कप पाइन्छ। विभिन्न देशका चिप्स, चकलेटका साथै कार्ड गेम र गुडियाहरू पनि उपलब्ध छन्।
सबभन्दा धेरै बिक्ने भनेको चाहिँ रामेन (कोरियन नूडल्स) र टोबुकी (राइस केक) हुन्।


प्रतीकका अनुसार यहाँ सबै उमेरका मानिस नूडल्स लिन र खान आउँछन्। अधिकांश ग्राहक भने युवा पुस्ता छन्।
अभिभावकसँग आउने केटाकेटी पनि धेरै हुन्छन्। झम्सिखेलमा विदेशीहरू पनि धेरै भएकाले उनीहरू पनि इन्स्ट्यान्ट क्लबका ग्राहक हुन्।
इन्स्ट्यान्ट क्लब बिहान ११ बजेदेखि राति १० बजेसम्म खुल्छ।
प्रचारका लागि भने प्रतीकले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका छन्। उनी आफै फोटो, भिडिओ खिचेर हाल्छन्। त्यहाँ आएका ग्राहकले पनि आफूले पकाएको र खाएको भिडिओ राख्छन्। त्यो देखेरै अरू ग्राहक आइरहेका उनले बताए।
प्रतीक अब इन्स्ट्यान्ट क्लबको शाखा विस्तार गर्ने योजनामा छन्। केही समयमै काठमाडौंको धुम्बाराहीमा खोल्ने तयारी छ।
भविष्यमा बौद्ध, ठमेल, बसन्तपुर, पोखरा, बुटवल जस्ता मुख्य बजारमा पनि पुग्ने सोचेका छन्।
'शाखा विस्तार भएसँगै धेरै सामान एकै पटक आयात गर्दा किफायती हुन्छ। त्यसैले बिस्तारै मूल्य घटाउने सोच छ,' प्रतीकले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी



