घुम्ने बानी परेपछि एकै ठाउँमा अडिन गाह्रो हुँदो रहेछ। कतिपय ठाउँमा दोहोर्याई, तेहेर्याई घुम्दा पनि मन नमान्दा रहेछ।
हप्ता दिन भएपछि कहाँ जाउ जाउँ लाग्ने रहेछ। मन स्थिर नरहेपछि एउटा क्यामेरा बोकेर हिँडिहाल्ने बानी बस्यो मेरो।
गन्तीको हिसाबले २ पटक पुगिसकेको ठाउँ हो- देउढुंगा।
दोलखाको विगु गाउँपालिका–७ स्थित विगुमा पर्दछ देउढुंगा। शेर्पा भाषामा देउढुङ्गा, आबच्युकुलुङको अर्थ सृष्टिको पिता हो। देउढुंगा डाँडो–चट्टानको स्वरूपमा रहेको अनौठो भू–आकृति हो जसले वरिपरि खोल्का/घाँटी, हिमाली मत्स्य दृश्य तथा बादलको समुद्र देख्ने ठाउँ बनाएको छ। यो उच्च स्थानमा अवस्थित भएकोले हिमहिरा, बादलबीच देखिने दृश्य, सूर्योदय/सूर्यास्त दृश्यका लागि निकै मनमोहक मानिन्छ।
भौगोलिक अवस्थाले गर्दा पैदल यात्रा, ट्रेकिङ तथा प्राकृतिक पर्यटनको सम्भावना पनि यस ठाउँमा देखिन्छ। 'देउढुंगा' नाममा 'देउ' (देव) + 'ढुंगा' (चट्टान/ढुंगा) भन्ने अर्थ लाग्ने ठाउँ हो भन्ने व्याख्या पाइन्छ। अर्थात् 'देवको ढुंगा' भन्ने भाव जनाउँछ।
एक स्रोतले यो ठाउँमा यस्तो जनश्रुति दिएको छ कि ठूला ढुंगामाथि सफलतापूर्वक पैसा फ्याँकेर त्यस चट्टानमा चढ्ने/उक्लने हो भने मानिसको इच्छा पूरा हुने भन्ने विश्वास छ।
त्यस्तै, यस ठाउँमा कृषकहरूले पाकेको राम्रो बाली, धनधान्य, पशुपालनको समृद्धिको कामना गर्दै दान–प्रदान गर्ने परम्परा रहेको उल्लेख छ। उकालो बाटो सम्झिँदा नजाउ, नजाउ लाग्ने तर ठाउँ सम्झिँदा कहिले जाउँ लाग्ने ठाउँ मध्येमा पर्दछ।
यस पटक भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष विनोद तामाङको प्रस्तावलाई नाइँ भन्न सकिनँ। उहाँलाई पनि पछिल्लो समय क्यामेरा चलाउन जान्ने भएपछि नयाँ ठाउँमा हिँडिहाल्ने बानी बसेछ। चरिकोटबाट हामी ३, ४ जना मात्र जाने योजना बुनेका थियौं। तर, यात्राको क्रममा वकिल कृष्ण बहादुर बस्नेत, बासु थापा, रिसन राउत र रसिन भुजेल पनि थपेपछि यात्रामा नयाँ उत्साह थप्यो।
उहाँहरूको उपस्थिति नै मेरो लागि महत्वपूर्ण थियो। मेरो भर उहाँहरूलाई, उहाँको भर ममाथि। किन कि मलाई बाटो थाहा भएकाले।
चरिकोटबाट हामी गाडीमा ३७ किलोमिटरको यात्रामा सिंगटी पुग्यौं। सिंगटीबाट झोरुङ, सोरुङ हुँदै साङ्बामा घण्टामै पुग्यौं। साङ्बा कटेपछि भीरको भित्तामा रहेको महादेवको मन्दिर अगाडि बसेर फोटो सेसन भयो। यो ठाउँ कतिका लागि नयाँ पनि थियो। त्यही मन्दिरको छेउबाट आलम्पू जाने बाटो छाडेर विगुतर्फ लाग्यौं। विगु गुम्बा नजिकै होमस्टेमा वडाअध्यक्ष दल बहादुर श्रेष्ठले खाना भन्नुभएको रहेछ।
लोकल खानाको स्वादमा खाना खाएपछि आलम्पूबाट टिका थामी र थोकर थामी साथीहरू थप भयो। हामी ९ जनाको टोली उकालो लाग्यौं। खुला मौसम भएकाले डाँडाकाँडा, भीरपाखा हुँदै अघि बढ्यो यात्रा। कृष्ण सरलाई उकालो हिँड्न अलि गाह्रो भइरहेको थियो। उहाँलाई विनोद तामाङले साथ दिएपछि बिस्तारै बिस्तारै यात्रा अघि बढिरह्यो। लगभग हामी सबै सँगै हिँड्न बाध्य पनि थियो। किनकि ठाउँ ठाउँमा बदेलले खनेर खाल्डै खाल्डो बनाएका थिए। मनमा अलि अलि डर बढेपछि सबै सँगसँगै हिँड्यौं। गाउँपालिकाले पदयात्रीको लागि पैदलमार्ग राम्रै बनाएको रहेछ।
पछिल्लो समय आन्तरिक पर्यटकको पनि संख्या बढेको रहेछ देउढुंगा घुम्न जाने। बेलुकीको बासमा बस्दा रात परिसकेको थियो। हामी मन्दिरकै छेउमा बस्ने योजना थियो तर त्यहाँ पानीको व्यवस्था नभएपछि तोरेपा भन्ने ठाउँमा पालिकाले सेफ हाउस बनाएको रहेछ। त्यही बस्ने व्यवस्था गर्यौं। भोलिपल्ट बिहान ४ बजेनै उठेर हिँड्न थाल्यौं। विनोद र मलाई बिहानैको सिन भ्याउनु थियो। हामी केही हतार गरेर ठाडै उकालो चढ्यौं।
बासबाट मन्दिर पुग्न करिब एक घण्टाको हिँडाइपछि पुग्छ। सोचेजस्तै सिन भ्यायौं। ३५९० मिटर उचाइमा रहेको देउढुंगाको दर्शन गरेपछि फोटो खिच्नमै व्यस्त रह्यौं।
मन्दिरबाट करिब आधा घण्टा हिँडेपछि देउराली पुग्यौं। ३८२२ मिटर उचाइ भएर होला यहाँबाट दोलखाको गौरीशंकर हिमश्रृङ्खला नजिकैबाट नियाल्न सकिन्छ। तर चिसो हावाको चुनौती भने धेरै खेप्नुपर्छ। सिन्धुपाल्चोकको जुगल हिमश्रृङ्खलाले त झन् मनै लोभ्यायो।
यस ठाउँमा पहिलो पटक पुग्दा फरक र नयाँ संसारको अनुभूति गर्न सकिन्छ।
धार्मिक, प्राकृतिक रूपमा पनि देउढुंगा महत्वपूर्ण र विश्वासिलो मानिन्छ। त्यसैले मान्छेहरू देउढुंगाको दर्शनको लागि टाढा टाढाबाट समेत हिँडेर पुग्ने गर्छन्।
तस्बिरहरू:
-1762601777.jpg)
-1762601776.jpg)
-1762601776.jpg)
-1762601776.jpg)
-1762601774.jpg)
-1762601775.jpg)
-1762601773.jpg)
-1762601774.jpg)
-1762601775.jpg)
-1762601774.jpg)
-1762601775.jpg)
-1762601774.jpg)
-1762601773.jpg)