गोलटाकुरीका प्रकाश डाँगीले भन्दै आउनु भएको थियो– 'राजाकोट पैदल यात्रामा तपाईं आउनैपर्छ।'
म यात्रामा जानेबारे निश्चित थिइनँ। दाजु जागेश्वर खड्का (जेके) सँग संयोगले काठ मिलमा भेट भयो।
उहाँले विगतमा राजाकोट जाँदा चेतेको कथा सुनाउनुभयो।
'ठाडै उकालो छ। तँ जान सक्दैनस्। नजा।' उहाँको खबरदारीमा जाँदिनँ भन्ने भावले टाउको हल्लाएको थिएँ। तर, मन भने हार मान्न तयार थिएन।
मर्निङ वाकमा मिस्टर, प्रमोशनराज वलीलाई राजाकोट पद यात्राबारे सुनाएँ। उनी स्पष्ट खुलेनन्। सोझै प्रस्ताव नकार्न पनि सकेनन्। बरू चिसो बढेकोले गाउँमै लोकल भाले खान जाऔं भने।
तर जब मैले त्यहाँको अवस्थाबारे वर्णन गरे त्यसपछि भने उनी जान राजी भए।
प्राचीन दंगीशरण थारू राजा, सुकौराकोट दरबार र उनकै नामबाट दाङको नामकरण रहन पुगेको कथा सुनाए। राजा तिलकन्या पहाडको सेरोफेरो सिकार गर्न जाने गरेको, रानीसहित जंगलमा विचरण गर्ने गरेको र ग्रिष्मकालीन दरबार राजाकोटमा रहेको, राजा–रानी बस्ने ढुंगाका आशन रहेको, आदि।
त्यसपछ उनले भने– गफ त हैन नि?
मैले आश्वास्त पारेँ।
असोज अन्तिमको शुक्रबार बिहानको त्यो मर्निङ वाक लेमन टीमा टुंगियो। उनी राजाकोट पदयात्रामा जान राजी भए।
कात्तिक १ गते बिहानै हामी यात्रामा निस्किनु थियो। बिहान ६ बजेसम्म उनको अत्तोपत्तो थिएन। फोनपछि बल्ल अल्छी भावमा घरको छतमा झुल्किए। र जाँदिनँ भन्ने भावले कुटिल हाँँसो फ्याँके। मैले वादा सम्झाए। उनी निस्किन बाध्य भए।
हामी केही ढिलागरी कलङखोला पुगेका थियौं। कलङखोला किनारको स्थानीय हाट बजार मोटरसाइकल पार्किङले भरिभराउ थियो। स्थानीय पत्रकार र हाल विपत व्यवस्थापनका कर्मचारी प्रकाश डाँगी त्यही हुनुहुन्थ्यो। हाम्रो यात्रा सुरू भयो। पहाडको फेदमै फोक्सोको स्वाँ स्वाँ बढ्यो। हामी सबैलाई उछिन्दै अघि बढ्यौं।
यात्रामा विद्यार्थी, स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधि, बजारका युवा सामेल थिए। सायदै एकसाथ राजाकोट यात्रामा कहिल्यै त्यतिधेरै मानिस गएका थिए।
उकालो चढ्दै गर्दा आवाजहरू विस्तारै मत्थर बन्दै गए। मुटुको धड्कन नापी नसक्नु थियो। चर्चित गीत– रेलको बाटो र भिरको बाटोका लेखक लेखराज गिरी सँगै थिए। सुर न ताल सँगै भिरको बाटो गाउँदै हिँडियो।
मिस्टर प्रमोशन मलाई कति पटक रिसाएको राँगोले जस्तै गरी नियाल्थे। उनले बसौं र बिसाउँ भनिरहेका थिए। अवस्था यस्तो आयो कि, पानीको बोतल समेत मलाई बोक्न लगाए।
मैले जिस्काएँ – ओ, मिस्टर सल्यानी टाइगर।
उनी यत्ति बोले- ‘नास तपाईंलाई माने।’
टावरको नेकमा पुग्दा उनले मान्दै मानेनन्। हामी दश मिनेट जति बिसायौं। लगभग डेढ घन्टाको अवधिमा हामी राजाकोट टावर पुग्यौं। टाकुरोमा पुग्दा पत्रकार एकराज भण्डारीले स्वागत गरे। फोटो पत्रकार कुलदिप न्यौपाने र उनी अघिल्लो दिन नै त्यहाँ पुगेका रहेछन्। त्यहाँ सुरक्षाकर्मीले खाना र बास दिएछन्।
राजाकोट टावरमा भिजेको ज्यानमाथि चिसो हावा चल्यो। पलभरमै शरीर ओभायो। दृष्य देख्दा कष्टहरू बिर्सिएका थियौं। जहाँबाट दाङ उपत्यकाका साथै रोल्पाको सिस्ने हिमालका दृष्य, बाँकेको राप्ती नदीका सुन्दर फाँटहरू लोभलाग्दा देखिन्थे। छिमेकी देश भारतको झिलिमिली पनि नियाल्न सकिन्छ भन्ने कुरा केहीले गरिरहेका थिए।
राजाकोटको ऐतिहासिकता, प्राकृतिक सुन्दरता र पर्यटन विकासबारे चर्चाहरू भइरहँदा हामी ओर्लिन सुरू गर्यौं।
फर्किँदा बाटोभर विद्यार्थीले भैलो भट्याउँदे नाच्दै, रमाउँदै हिँडे।
सायद प्राचीन दंगीशरण थारू राजा हुन्थे भने उनी पनि हाम्रो स्वागतमा आउँथे होला।
आफ्ना सैन्य टुकुडीलाई सम्मान स्वरूप सलामी गर्न लगाउँथे होला!
-1762596024.jpg)
-1762596024.jpg)
-1762596022.jpg)
-1762596022.jpg)