बिहान छ बजेदेखि नौ बजेसम्म होटलको नास्ताको समय रहेछ।
नास्ता खाएर हामी हलिउड हिँड्यौं। हलिउड पुग्नु पहिले मनमा धेरै खुलदुली उठ्यो। विश्वको सबभन्दा ठूलो फिल्म उद्योग भएको ठाउँमा जाँदैछु। कस्तो होला ठाउँ? कस्तो होला त्यहाँको परिवेश? यस्तै सोच्दै थिए यसैबीच हलिउड पुगिसकेछौं। पारि डाँडामा हलिउडको ठूलो साइनबोर्ड रहेछ। फोटो खिच्ने वारिबाटै रहेछ। मान्छेको ठूलो भिडभाड थियो हामी पुग्ने समयमा। विश्वभरबाट पर्यटक आउँदा रहेछन्।
हलिउड खासमा त्यहीँ साइनबोर्डमा फोटो खिच्नेको लागि मात्र रहेछ। लस एन्जल्सको अर्को जानैपर्ने र हेर्नैपर्ने ठाउँ हो युनिभर्सल स्टुडियो। हामी टिम हलिउड हेरेर युनिभर्सल स्टुडियोतिर फर्कियौं। लस एन्जल्स नाउँले नै प्रसिद्ध छ। यो ठाउँमा प्रसिद्ध हलिउड कलाकारहरूको बसोबास गर्ने ठाउँ वा भनौं उनीहरूको घरहरू भएको ठाउँ हो।
इतिहास बोकेका हलिउड सिनेमाहरू सुटिङ भएको ठाउँलाई एउटै स्थानबाट अवलोकन गर्ने ठाउँ भएर पनि प्रसिद्ध छ। विभिन्न आश्चर्यजनक छोटा लाइभ स्टन्ट। बसमा बसेर स्टुडियो भ्रमण, जुरासिक पार्क, यस्तै धेरै अवलोकन गर्ने ठाउँहरू छन्। एक तथ्यांकअनुसार झन्डै पाँच करोड मान्छेले वर्षमा लस एन्जल्सको भ्रमण गर्छन्। भ्रमण गर्दै झमक्क भयो। हामी होटल फर्कने कुरा गर्यौं। फर्कंदै गर्दा नेपाली होटलमा खाना खाएर फर्कने सल्लाह गर्यो टोलीले।
गुगलमा 'नियर बाई' नेपाली रेस्टुरेन्ट टाइप गरे कमल भाइले 'Mount Everest Cuisine,Indian traditional Food' भेटिएछ। रेस्टुरेन्टमा मेनुमा त्यो नाम देख्नेबित्तिकै केही जिज्ञासा जाग्यो मनमा। साहुजी दाइलाई बोलाएँ र जिज्ञासा राखें।
'दाइ यो होटलको नाम कि पूरै नेपालको कि पूरै इन्डियाको राख्दा पनि हुन्थ्यो नि है?, नेपाली एण्ड इन्डियन ट्रेडिस्नल पनि त थप्न सकिन्थ्यो नि है?' मैले थप जिज्ञासा राखेँ।
'मैले जुन दिन नेपाल छोडेँ त्यही दिन राष्ट्रवाद पनि छोडेर आएँ' होटलवाला नेपाली साहुजीले उत्तर फर्काए, 'यस्तो नामको पछाडि नलागौँ। जसरी व्यापार चल्छ त्यही गर्ने हो,' उनले मकै पड्केझैं एकैपटक सबै कुरा सके।
म ट्वाल्ल परेँ पहिले।
मैले राखेको जिज्ञासाको उत्तर त्यस्तो थिएन। एक्कासि मलाई साह्रै रिस उठ्यो।
परदेशमा आउने बित्तिकै आफ्नो देशको कुरा गर्नै नमिल्ने, केही कुरा गर्नै नहुने त होइन होला नि। आफ्नो देशको कुरा राख्नेबित्तिकै राष्ट्रवाद हुन्छ ? लास्टै सनक चल्यो तर गर्न केही सकिनँ। सविना लगायत अरूले पनि बोलेर केही फाइदा छैन भने, म मौन बसेँ।
भाइहरूले पहिले नै अर्डर गरेका रहेछन्। सबैलाई रिस उठेको थियो। थप खाना अन्यत्र होटल खाने गरी हामी निस्कियौं।
एघार वर्षको बालकलाई समेत त्यो साहुजीको कुरा मन परेको थिएन। रेस्टुरेन्ट बाहिर निस्कनबित्तिकै दिक्षान्त(छोरा) र सविनाले त्यो होटलको रिभ्यूमा लास्टै झुर, खत्तम भनेर लेखेँ। अमेरिकामा रिभ्यूको ठूलो भूमिका रहन्छ।
अर्को दिन बिहानै डिज्नील्याण्ड जानु थियो। अबेर नगरी होटल पुगियो। मन अझै त्यही कुरामा अल्झिएको थियो। मान्छेले व्यापार हो भन्दैमा जे नि गर्न मिल्छ है! जसलाई पनि बेच्न मिल्छ है! अबेरसम्म यस्तै कुरा खेल्यो मनमा। कति बेला निदाएछु। बिहानै आँखा खुले। सबैलाई उठाएँ नास्ता खानको लागि। नास्ता समय नौ बजेसम्म मात्र थियो। डिज्नील्यान्ड खासमा बच्चाहरूको लागि रमाइलो गर्ने ठाउँ हो। समरमा यहाँ धेरै भिडभाड हुन्छ। समर स्कुल बिदा हुने भएकोले गर्दा बच्चाहरूको गन्तव्य बन्ने गर्छ डिज्नील्याण्ड। दिक्षान्त साह्रै उत्साहित थियो बिहानैदेखि। डिज्नील्यान्ड जाने भनेपछि नास्ता पनि छिटोछिटो खायो। सबै तयार भयौं र लाग्यौं डिज्नील्यान्ड।
डिज्नील्यान्ड केटाकेटीहरूको लागि फनपार्क रहेछ। केही शोहरू अलि डरलाग्दो र आश्चर्य चकित खालको पनि हुँदोरहेछ। ठूलाहरूले पनि रमाइलो गर्ने खालको। दिक्षान्तसँगै हामी सबैले रमाइलो गर्यौं। लस एन्जल्सभित्र हेर्ने अर्को ठाउँ डिज्नील्यान्ड पनि रहेछ। अर्को दिन लस भेगास र होभर ड्याम हेर्ने सल्लाह भयो। साँझ परिसकेको थियो। होटल फर्कियौं।
तीन रातको लस एन्जल्सको बसाइलाई बिट मार्दै हामी लस भेगासतिर हिँड्यौं। यो पटक ड्राइभिङ कमल भाइले गरे। गोधली हुँदै थियो भेगास पुग्ने बेला। भेगास सुनसान थियो। सबै जना थकित थिए। भेगास भनेपछि सबैको थकान हरायो। सबै जना कोठा गयौं। कोठा पहिलो दिनमै बुकिङ थियो। एकछिनमै फ्रेस भएर सबै जना दुई वटा उवर गरेर 'Fountain Bellagio' पुगियो। लस भेगासको एउटा जानै पर्ने ठाउँ रहेछ।
ठूलो तलाउमा पानीको संगीतसहित पानीका फोकाहरू घरहरू भन्दा माथि पुग्छन्। विभिन्न पानीका रङ्गहरु ताल र लयमा विस्तारै सानोबाट ठूलो हुँदै जान्छन्। हजारौं मान्छेको भिडभाड र ठेलमठेल हुँदोरहेछ। झन्डै एक घण्टा त्यहाँ बिताएपछि फेरि कोठा फर्कियौं। पुरूष टोलीलाई क्यासिनो खेल्न पनि आउँथ्यो। सानो बच्चा पनि भएको कारण महिला टोली कोठामै बसे। हामी एकछिन क्यासिनो छिर्यौं।
दिउँसो भेगास मस्त सुत्दो रहेछ। रातमा जुर्मुराउँदै रहेछ। त्यसैले कतिले भेगासलाई 'रातकी रानी' भनेर उपमा दिएका रहेछन्। यस्तो लाग्दै थियो यहाँ कुनै ठूलो पर्व हुँदैछ। साँच्चै भेगासमा रातमा सधैं मेला नै हुँदोरहेछ। जुवा फ्री राज्य हो भेगास। यो नेभाडा राज्यको एउटा सहर हो। बाटोमा ग्ल्यामर पस्केर युवतीहरू केटाहरूलाई मोहित पार्न कसरत गर्दा रहेछन्। फोटो खिचेर पैसा कमाउने उनीहरूको पेशा हुँदोरहेछ। बाटोमा आफ्नो भिजिटिङ कार्ड बाँड्दै बसेका भेटिन्थे। पुरूषहरू पनि बाटैभरि आफ्नो चमकदार शरीर देखाउँदै महिलालाई आकर्षित गरिरहेका देखिन्थे। दुनियाँ अलग देखिन्थ्यो। ती मान्छेहरू अलग देखिन्थे। पृथ्वीमा सबथोक रहेछ। भन्छन् नि बाँच्नपर्छ सबथोक देखिन्छ। साँच्चै हो रहेछ। बडो अजिव देखियो।
लस भेगास अन्तर्राष्ट्रिय प्रसिद्ध एक प्रमुख रिसोर्ट सहर पनि हो। खासमा भेगास जुवा, किनमेल, राम्रो भोजन, मनोरञ्जन र रात्रि जीवनको लागि परिचित छ। लस भेगासले समग्र नेभाडाको राज्यको लागि वित्तीय, व्यावसायिक र सांस्कृतिक पक्षलाई धानेको छ भन्दा पनि फरक पर्दैन।
भ्रमणको पाँचौं दिन हामी बिहानै लस भेगासलाई पनि छोडेर अगाडि बढ्यौं, ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्ज, एरिजोना राज्यतिर। जाँदाजाँदै बाटोमा पर्ने होभर ड्याम (बाँध) हेर्ने कुराकानी भयो। नेभाडा राज्य र एरिजोना राज्य सिमाना भएर फैलिएको यो बाँध विश्वमा धेरै भ्रमण गरिएको बाँधभित्र पर्दछ। झन्डै सात लाख मान्छेले वार्षिक भ्रमण गर्छन्। होभर बाँधबाट वार्षिक झन्डै चार अरब किलोवाट विद्युत उत्पादन गर्छ। यो बाँधले क्यालिफोर्निया र डढेलो लाग्ने एरिजोना साथै खेतहरूमा सिँचाइको लागि पनि ठूलो भूमिका खेलेको छ।
गाडीबाट झरेको मात्र के थियौं कसैले आगोभित्र ठेलेझैं भयो। ह्वात्तै बढेको तापक्रमले ठाकुरलाई झन गाह्रो बनायो। बाँध बाहिरको गर्मी थेग्न नसकिने थियो। हामीले चराचुरूङ्गी पनि देखेनौँ। बाँधलाई सतही लेभलबाट अवलोकन गरेर गाडीमै फर्कियौं। गाडीमा चढ्न साथ चरम आनन्द आयो। गाडीमा पूरा एसी लगाएका थिए डिबी भाइले।
त्यसपछि हामी हाम्रो घुमघामको अन्तिम गन्तव्य एरिजोना राज्यमा पर्ने ग्रान्ड क्यान्यनतिर हिँड्यौं होभर बाँधलाई पछाडि पार्दै। यो राज्य अमेरिकाको धेरै गर्मी हुने राज्यहरूमध्येमा एक हो। धेरैजसो भू-भाग अलि सुख्खा नै छ। बाटोमा धेरै ठाउँमा सिउँडीका रूखहरू छन्। तीन सय अरसठ्ठी माइल पार गर्दै पाँच घन्टापछि ग्रान्ड क्यान्यनको साउथ रिम पुगियो।
केही वर्षदेखि एरिजोनामै पिएचडी गर्दै गरेका साथी मधुलाई पनि सम्झियौं। फोन गरेँ। उनी बस्ने ठाँउ ग्रान्ड क्यान्यनबाट चार घण्टा टाढाको दूरीमा पर्दोरहेछ। भेटघाट हुन सकेन। यस्तो गर्मी मौसममा ग्रान्ड क्यान्यन घुमघाम गर्ने योजना कसले बनाएको भनेर घुमाउरो पारामा सोध्न भ्याए मधुले।
हाम्रो भाग्य बलियो रहेछ ग्रान्ड क्यान्यनमा पूरै बादल लाग्यो। जस्तो गर्मी हुन्छ भनेर सुनिएको थियो त्यस्तो गर्मी भएन। ग्रान्ड क्यान्यन हल्का डाँडा पारी आँखाका दृष्टि दौडिए। अचानक मनमा धेरै प्रश्न एकसे एक प्रतिस्पर्धा गर्दै ओइरो लागे। कसरी यो बनावट बन्यो होला? कसरी यति ठूलो आँखालाई चकित र आश्चर्यजनक पार्ने दृश्य बनाइयो होला? हामी साउथ रिमको म्युजियम हलमा पुग्यौं। त्यहाँ ग्रान्ड क्यान्यनको इतिहास पढ्न पाइँदोरहेछ। भित्ता भित्तामा सबै जानकारीहरू छन्। त्यहाँ सानो शपिङ सेन्टर पनि छ। खासगरी ग्रान्ड क्यान्यनसँग सम्बन्धित सामान पाउँदोरहेछ।
ग्रान्ड क्यान्यनले चार राज्यहरूलाई छुँदो रहेछ। एरिजोना नेभाडा, यूटा र कोलोराडो। सबैभन्दा पहुँचयोग्य र ग्रान्ड क्यान्यन हेर्नको लागि लोकप्रिय राज्य हो एरिजोना, दक्षिण रिम र नेभाडा, वेस्ट रिम।
हामी एरिजोनाको दक्षिण रिम घुम्यौं। समय थोरै भएको कारण सबै घुम्न पाइएन। ग्रान्ड क्यान्यन घुम्न बस सेवाको पनि सुविधा छ। बसको आफ्नै घुमाउने तालिका छ। यो निकुञ्ज पूरै घुम्नको लागि दुई दिन पूरै छुट्याउनु पर्दोरहेछ।
विश्वका सात आश्चर्यहरूमध्ये एक, ग्रान्ड क्यान्यन प्रकृतिको अविश्वसनीय दृश्य हो। यो पृथ्वीको सतहमा ठूलो, विशाल स्लाइस (ठूलो घारिलो चिरा) हो। दुई सय सत्र माइल लामो, चारदेखि अठार माइल चौडा र एक माइल गहिरो, कोलोराडो नदी तल बगिरहेको छ। ग्रान्ड क्यान्यनलाई युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा घोषणा गरेको थियो। किनभने यो संसारको सबभन्दा रमणीय ठाउँहरूमध्ये एक हो।
कुनै तस्बिर वा विवरणले यसको सुन्दरतालाई पूर्ण रूपमा वर्णन गर्न सक्दैन। आश्चर्यजनक दृश्य र यसको विशालतालाई अनुभव मात्र गर्न सकिन्छ। सुरूमा आँखाले विश्वास मान्दैनन् ती भौगोलिक दृश्यले घेरिएको विशाल संरचना देखेर। आँखाले पनि ठान्छ यो देखिने सबै भ्रम हुन्। आँखा एकछिन चकित खान्छ।
ग्रान्ड क्यान्यनमा बस्ने मन हुँदाहुँदै पनि हामी निस्कनु थियो। निस्कियौं। साँझ भेगासमा बास बस्ने र भोलिपल्ट बिहानै आफ्नो बासस्थान फर्कने कार्यतालिका थियो। कमल भाइले बिस्तारै गाडी अगाडि बढाए। हामी हिँड्नु र ग्रान्ड क्यान्यनमा सिमसिमे पानी पर्न सुरू गर्यो। क्षणभरमै ग्रान्ड क्यान्यनलाई दाहिने पार्दै हामी घरतिर फर्कियौं।
यो पनि:
अमेरिकामा समर छुट्टी: हाइवेमा कस्तो फोहोर शौचालय!