चरा जस्तै उड्ने रहर कसलाई हुँदैन? सोच्नुस् त चराझैं हावामा कावा खाँदै उड्नुको मज्जा। अब मान्छेले ठ्याक्कै चराको रूप धारण गर्न त सक्दैन तर केही यस्ता गतिविधि छन् जसले तपाईंलाई चरा झैं महसुस गराउँछ। त्यहीँ गतिविधिमध्ये एक हो प्याराग्लाइडिङ।
एक साहसिक गतिविधि भनेर मानिने यस खेलका लागि नेपाल विश्वमा प्रख्यात छ। प्राय: एउटा पाइलटसहित प्याराग्लाइडिङ त हामी धेरैले पोखरामा गरेका छौं होला तर यो सिकेर आफै एकल उडान भर्न पनि अब सर्वसुलभ भएको छ भन्ने कुरा सबैमा जानकारी नहुन सक्छ।
यसैको एक उदाहरण हो उदयपुरको वेलकामा रहेको फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल।
जहाँ प्याराग्लाइडिङ सम्बन्धी सबै खाले प्रशिक्षण दिइन्छ। नेपालमा प्याराग्लाइडिङ भन्ने बित्तिकै प्राय: पोखराको आकाशको दृश्य आँखामा आउँछ तर त्यहाँभन्दा बिल्कुलै भिन्न भूगोल र पृष्ठभमि भएको पूर्वी तराईको फाँटमा यो केन्द्रको स्थापना भएको छ।
-1760784979.jpg)
हिमाली भूभागमा मात्रै प्याराग्लाइडिङ हुन्छ भन्ने मान्यतालाई चिर्दै नेपालको तराईमा यो पहिलो प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र स्थापना भएको छ। यसले नेपालको साहसिक पर्यटनको क्षेत्र थप विस्तार भएको छ।
अनुभवी प्याराग्लाइडिङ पाइलट सुरेन गुरूङ र साथीहरू श्यामकृष्ण खाँड, रूपम कक्षपति मिलेर स्थापना गरेको यो केन्द्रले स्थापनाको केही समयमै आफ्नो विशिष्ट नाम र पहिचान बनाउन सफल भइसकेको छ।
उदयपुरको वेलका नगरपालिकाको मेखबारी गाउँमा अवस्थित यो प्रशिक्षण केन्द्रमा सहज भौगोलिक अवस्थिति, उडानका लागि स्थिर वातावरण र मनोरम फराकिलो दृश्यावलीको अद्भुत संगम रहेको छ। नयाँ र अनुभवी दुबै किसिमका प्याराग्लाइडरहरूका लागि यो उपयुक्त गन्तव्य रहेको छ।
संस्थापकमध्ये एक गुरूङले सन् २००९ मा पोखराबाट आफ्नो प्याराग्लाइडिङ यात्रा सुरू गरेका थिए।
पोखराबाट विकल्प खोज्नु पर्ने आवश्कयताका बीच कतिपय प्याराग्लाइडिङ संस्थाहरू स्याङ्जामा सरे। गुरूङले भने उदयपुरलाई रोजे।
सन् २०१७ मा धरानका अर्का प्याराग्लाइडिङ प्रेमी साथी लेखमणि जिमीको सुझावमा गुरूङले धरानमाथि रहेको चिन्डे डाँडाबाट प्याराग्लाइडिङ गरेका थिए। त्यहीँ उडानले उनलाई तराई भूभागमा पनि प्याराग्लाइडिङको सम्भावना छ भन्ने भान भयो। त्यसपछि साथीहरूसँग मिलेर तराईंका ठाउँहरू खोज्न थाले। सोही क्रममा गुरूङले उदयपुरको मेखबारी भन्ने ठाउँ फेला पारे।
गुरूङका अनुसार यो ठाउँको विशेषता के हो भने धरान र पोखराको तुलनामा उडान र अवतरण गर्न धेरै सजिलो छ। बाेप्ताङ डाँडाबाट उडान भरेर ल्याण्ड हुन जम्मा १५ मिनेट लाग्छ। यसै कारण सिकारूका लागि पनि यो प्रशिक्षण केन्द्र अनुकूल छ। यसबाट विद्यार्थीहरूलाई ठूलो फाइदा पुग्ने उल्लेख गर्दै एकैदिन प्रशिक्षार्थी पाइलटले नौ वटा सम्म उडान भरेको गुरूङले सुनाए। जबकि उनै गुरूङले पोखरामा महिना दिन लगाएर प्याराग्लाइडिङ सिक्दा जम्मा नौचोटि उडान गरे रे।
-1760784979.jpg)
सन् २०२१ मा स्थापित यो प्रशिक्षण केन्द्रले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरस्पोर्ट्स एसोसिएसन, र प्याराग्लाइडिङ पाइलट र प्रशिक्षक संघको मान्यता प्राप्त गरेको छ।
हिमाली र पहाडी भूभागमा स्थापित अन्य प्रशिक्षण केन्द्रको तुलनामा यहाँ सडक र समथर जमिनका कारण विद्यार्थीहरूलाई आउन साथै आफ्नो तालिम स्थल पुग्न र अभ्यास गर्न धेरै सहज हुन्छ। उडानका क्रममा सप्तकोशी, कोशी टप्पु वन्यजन्तु आरक्ष र खुलेको दिनमा सगरमाथा सम्म पनि देख्न सकिन्छ।
यहाँ आफ्नो सीप र अनुभवको स्तर अनुसार ५ देखि १५ दिनसम्मका विभिन्न तहका तालिमहरू उपलब्ध छन्। तालिममा प्याराग्लाइडिङमा आफैं उडान भर्नका लागि चाहिने सम्पूर्ण सीपहरू सिकाइन्छ। जस्तो भुइँ छोड्ने तरिका, हावाको दिशा बुझ्ने, थर्मल उडान र निर्देशित एकल उडान। अहिलेसम्म १०० भन्दा बढी विद्यार्थीहरूले यहाँबाट प्याराग्लाइडिङ लाइसेन्स प्राप्त गरिसकेका छन्।
गर्मीको दुई महिना मार्च र अप्रिल उच्च तापक्रम र थर्मल अस्थिरताका कारण प्रशिक्षण बन्द रहने गर्छ। तर अनुभवी पाइलटहरूले भने उडान जारी राख्न सक्छन्। नयाँ सिक्नेहरूका लागि प्राय दसैंपछि मौसम अनुकूल हुन्छ।
यहाँ उडान सिक्न आउनेहरू प्राय: नेपाली छन्। तर पछिल्लो समय अन्तर्राष्ट्रिय मुलुकहरूबाट प्रशिक्षार्थीहरू आउने गरेका छन्। धेरैजसो पर्वतीय गाइड, आउटडोर पेशाकर्मी र साहसिक खेल यात्रीहरू प्रशिक्षण लिन आउने गर्छन्।
तिनैमध्ये एक तेन्जिङ शेर्पा पनि हुन्। तेन्जिङ आउटडोर ब्राण्ड एभरेष्ट आउटफिटका सह–संस्थापक र पर्वतीय गाइड हुन्। शेर्पाका लागि यहाँ सिक्न आउनुका कारण भनेको प्याराग्लाइडिङकै अनुभव लिनु रैछ। साहसिक क्षेत्रमा काम गरेका उनले बाँकी सबै साहसिक खेलको अनुभव लिइसकेको र प्याराग्लाइडिङ भने बाँकी रहेको रहेछ। उनले यहाँ आएर प्याराग्लाइडिङ गरेपछि आफूलाई छुट्टै आनन्द महशुस भएको सुनाए। शेर्पाले यहीँ तालिम लिएपछि २०२४ मा युरोपेली आल्प्समा पनि उडान भरे।
पोखरामा २०१९ मा घटेको दुर्घटना र बढ्दो हवाई यातायातले एकल प्याराग्लाइडिङ उडानमा अस्थायी प्रतिबन्ध लागेको थियो। त्यस हिसाबले हेर्दा वेलका प्याराग्लाइडिङका लागि अर्को हब हुनसक्छ। किनकी यहाँको वातावरण स्थिर र नियन्त्रित छ भने तालिम गर्नका लागि आकाशमा चाप पनि कम छ।
-1760784979.jpg)
यो प्रशिक्षण केन्द्र नेपालको भूभागलाई साहसिक खेल पर्यटनका लागि कसरी विस्तार गर्न सकिन्छ भन्ने एक उदाहरण हो। तराईको समतल फाँट, नदी, उपत्यका र साना थुम्काहरूको सुन्दर मिश्रण भएको पूर्वी तराई हवाई साहसिक केन्द्र बन्ने ठूलो सम्भावना बोकेको क्षेत्र हो।
गुरूङलाई लाग्छ- नेपालको तराई र मधेसमा पनि साहसिक पर्यटनको विकास गर्ने प्रचुर सम्भावना छ। पाकिस्तानको हुन्जा क्षेत्रको प्याराग्लाइडिङ विकासलाई उदाहरण दिँदै गुरूङले दक्षिण एसियाली क्षेत्रहरूले आफ्नो विविध भूबनोटलाई पर्यटन बढाउनका लागि प्रयोग गर्नु पर्ने औल्याएँ।
अनुकूल उडान, बाटोको सुविधा, अन्य व्यावसायिक केन्द्रहरूको तुलनामा सजिलो साथै सुलभ दर भएका कारण यहाँ प्याराग्लाइडिङ पाइलट बन्ने चाहना राख्नेहरू आकर्षित भइरहेका छन्। केवल क्षणिक रमाइलो मात्रै होइन नयाँ सीप, पेशा परिवर्तन वा जीवनमा केही नयाँ दृष्टिकोण खोजिरहनु भएकाहरूका लागि यस केन्द्र एक उपयुक्त विकल्प हुनसक्छ।
फेब्रुअरी २०२४ मा घुमन्ते नेपालको टोलीले फ्लाइङ वन्डर्समा प्रथम चरणको प्याराग्लाइडिङ तालिम लिएका थिए। यो लेख त्यसै तालिम र त्यसपछि बनाएको भिडिओमा आधारित रहेको छ। भिडिओ तल हेर्न सकिन्छ।
-1760784979.jpg)