वारि कुश्मा बजार, पारि बलेवा। दुई आत्मीय मित्र जस्तै अटल उभिएका यी दुई पहाड जोड्न कालीगण्डकीको खोँचमाथि पाँच सय २० मिटर लामो अनि २ सय २८ मिटर अग्लो झोलुंगे पुल। त्यही पुलमाथि उभिँदा अझै माथिमाथि सर्दै गएको थियो चिसो हावा र तल गर्जँदै बगिरहेकी थिइन् कालीगण्डकी। त्यही नीलो आकाश र भय एकै ठाउँमा भेटिन्छन्, र हरेक सासले एउटा निर्णय मागिरहेको हुन्छ — हामफाल्ने कि फर्कने?
आफैले सुन्ने गरी बढिरहेको थियो मुटुको ढुकढुकी। फुल्दै थियो सास बिस्तारै बिस्तारै। अरूले देखे — देखेनन् थाहा छैन, तर गोडा साँच्चै काँपेका थिए।
मैले आँखा बन्द गरेँ। शरीर बिस्तारै हावामा छोडेँ। अनि म शून्यमा हराएँ। केवल म र आकाश। केवल म र शून्यता।
त्यो शून्यता पनि कति शान्त, कति निस्पन्द।
त्यो क्षण म जीवित थिएँ, साँच्चिकै जीवित।
***
जब जब जीवनको भाग दौडमा आफैलाई बिर्सिएझैँ लाग्छ, दैनिकी बोझ जस्तो लाग्छ, सबै पीडा, डर र तनाव एकै झोलामा राखेर हिँडिरहेको महसुस हुन्छ। त्यो बेला एउटा इच्छा जाग्छ। सबै बन्धन तोड्ने, आकाशमा हराउने, स्वतन्त्र हुने। त्यस्तै स्वतन्त्रताको अनुभव भयो अग्लो ठाउँबाट फाल हालेर। बन्जी जम्प गरेर।
एक पटक होइन — तीन–तीन पटक।
दुई पटक पोखराको हाइग्राउन्डमा, र एक पटक सबैभन्दा अविस्मरणीय, कुश्माको द क्लिफमा। विश्वकै दोस्रो अग्लो बन्जीबाट।
हरेक पटक बन्जी गर्दा मैले आफैलाई नयाँ पाउने गरेको छु। कुस्माको द क्लिफमा मेरो तेस्रो पटकको बन्जी अनुभव हो। बन्जीमा बाउन्स भैरहँदा मैले हावासँग कुरा गरेँ। नदीसँगै बात मारेँ। छालसँगै हाँसेँ। मन भित्रको उकुसमुकुस, पीडा, डर र किञ्चित उत्सुकता — सबै कालीको काखमा राखिदिएँ। म पुनर्जागृत भएँ।
द क्लिफले पनि बन्जीको प्राविधिक पक्षलाई विशेष जोड दिएको थियो। बन्जीमा प्रयोग हुने विभिन्न टेक्निकल सामानको प्रत्येक दिन परीक्षण। फरक फरक तौल अनुसारको प्रत्येक डोरी, प्रत्येक फूल बडी हार्नेस र एङ्कल हार्नेसको पटक पटक परीक्षण। शरीरको पूरै सुरक्षाका लागि फूल बडी हार्नेस अनि अपसाइड डाउन हुनका लागि एङ्कल हार्नेस।

डर जित्नका लागि सेल्फ मोटिभेसन हो, बन्जी। कोही छेवैमा पुगेर फर्किन्छन् अनि कोही पूर्ण आत्मविश्वासका साथ बन्जी गरेरै फर्किन्छ। मलाई लाग्छ बन्जी मुक्ति हो, शून्यताको अनुभव हो र जीवनको चरम अनुभूतिमध्ये एक हो। अनेकौं प्रश्न तेर्स्याउने जीवनलाई नै जबाफ दिने तरिका हो बन्जी: म जीवित छु, म निडर छु, म स्वतन्त्र छु। म अजय छु।
***
फाल हालेर उल्टो झुण्डी सकेपछि फेरि सुल्टो हुन खुट्टाबाट लक खोल्न डोरी तान्न पर्ने थियो। म त आफैमा यति हराएँ कि डोरी तान्ने समयको चेत नै रहेन। माथिबाट सिट्ठी फुकेपछि मात्रै म तन्द्राबाट निस्किएँ। दाहिने हातले डोरी तानेर लक खोलेँ – एङ्कल हार्नेसको। लक खुलेपछि भने म सुल्टो पोजिसनमा फर्किएँ। फेरि नियालेँ त्यो हरियाली, त्यो शान्ति, भदौरे झरीपछि उर्लिएको कालीगण्डकी – जसलाई झण्डै छोएर म भर्खरै सुल्टो भएकी थिएँ। मलाई त्यही डोरीमा झुण्डी बस्न मन थियो अझै केहीबेर। तर सबै कुराको समय जो हुन्छ। मलाई माथि तान्न बन्जी टोली तम्तयार थियो। माथि आउँदा त्यही डोरी समातेर नाच्दै आएँ। भिडिओ खिचिदिए क्लिफका स्टाफले अनि परबाट छुट्टै पनि – विष्णु दाइ र साथी स्वपनले। म दुवै खुट्टा हल्लाएर खुसी हुँदै डोरीमै समातेर नाचिरहेँ।
माथि आइसकेपछि मैले आफैलाई नयाँ पाएँ। नयाँ योजनाका साथ दैनिकी अघि बढाउन जोश लिएर। विश्वकै दोस्रो अग्लो बन्जीमा मैले पनि नयाँ कीर्तिमानी गरेझैँ यसै प्रफुल्लित भएँ। जम्प मास्टर सुनिल लामाले फाल हाल्नुअघि बन्जीको म मार्किङ गर्छु भनेका थिए। फर्केर आएपछि उनले तपाईंको साहसलाई १० मा १० नै दिएँ है भन्दा म फुरूङ्ग भएँ। उनको टोलीले नै हो बन्जी गर्न जाने सबैलाई मानसिक रूपमा तयार बनाउने। शारीरिक रूपमा तयार भए नभएको जाँच्ने। अनि सके जति आँट भरेर पठाउने। आमाले पाथीभरि धान भरे जस्तो।
बन्जी ह्याट्रिकको उत्साह र स्वतन्त्रताको अनुभूतिले मुटु भरिएको भए पनि, शरीरले आराम मागेको जस्तो लाग्यो। अघिल्लो दिन द क्लिफकै कटेजमा बसेकी मलाई मेरै मनले दोस्रो रात पनि त्यहीँ बस्न आग्रह गर्यो।
आधुनिक सुविधा सहितको, आफ्नै छुट्टै कटेज — ढुङ्गे पालि भएको हाम्रो गाउँको घर जस्तो सानो र सुन्दर। पिँढीमा रहेको पिङले बालापन सम्झायो, धादिङको ज्यामरुङ्गमै भए जस्तै। त्यो आरामदायी परिवेश, स्वादिष्ट खाना, अनि साँझमा ईश्वर दाइ, विश्व दाइ र प्रकाश दाइसँगको गफ, जहाँ हामीले द क्लिफको योजनादेखि सपना साकार पार्ने सबै पाटो केलायौ, यी सबले मेरो बसाइँलाई अझ पूर्ण र अविस्मरणीय बनायो।
***
नेपाल अब केवल पर्वतीय पर्यटनको गन्तव्य मात्र रहेन। एड्भेन्चर स्पोर्ट्सको हब बनेको छ। साहसी पर्यटनको पर्याय बनेको छ नेपाल। प्रकृतिको काखमै उभिएर 'विश्वासको फड्को' मार्न सिकाउने थलो भएको छ नेपाल। कुश्माको द क्लिफ साधारण बन्जीस्थल मात्र नभई एउटा पूर्ण रोमाञ्चक भू–दृश्य हो। जहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिका हिमशिखरहरू उपत्यकामाथि उभिएका रक्षकझैँ चम्किरहेका देखिन्छन्।
कुनै चलचित्रको उत्कृष्ट सेटअप जस्तो लाग्ने त्यो दृश्यले साँच्चै सास रोकिन्छ। विश्वकै अग्लो स्विङ, स्काई–साइकल, मेगाट्रोल, जायन्ट पिङ र स्काइ–ब्रिज, स्काइ–क्याफे जस्ता अचम्मका अनुभवहरू सबै एकै ठाउँमा पाइन्छ। कुश्मामा बिताएको प्रत्येक पल सपनाजस्तै लाग्छ। हिमालसँग लुटपुटिन, जुनसँग बात मार्न अनि हावाको रफ्तारसँगै दौडिन अचाक्ली मन पर्ने मलाई कुश्मा उपयुक्त लाग्यो।
यसपाला मैले बुझेँ, म बन्जी जम्पको लतमा परेकी होइन, म त त्यसले दिने स्वतन्त्रताको नशामा छु। हरेक पटक हावासँग नाच्दा, नदीसँग हाँस्दा, म आफ्नै अस्तित्वसँग नजिक भएकी छु। त्यसैले म फेरि जम्प गर्न आतुर हुन्छु। त्यो रगत उम्लिने क्षणको फेरि अनुभव गर्न। अनि फेरि एक पटक आफूलाई सम्झाउन – जीवन जति नै गह्रौँ किन नहोस्, त्यसलाई हल्का बनाउने एउटा बाटो सधैँ हुन्छ।
मलाई थाहा छ यो अन्तिम पटक भने होइन। जहिले जहिले जीवन बोझिलो हुनेछ, श्वास भारी हुनेछ, म फेरि उचाइ चढ्नेछु र आफैलाई भन्नेछु — वान्स मोर बेला।