पदयात्रा जीवनमा अनिवार्य छ। मानव र प्रकृति बीचको सम्बन्धलाई सूक्ष्म क्रियाद्वारा अध्ययन गर्न भावनात्मक तरिकाले जोडिन पनि यात्रा जरूरी छ।
निराकारबाट आकारमा परिणत हुन पनि त मान्छेले केही देख्ने, बुझ्ने, सुन्ने र महसुस गर्ने हुन सक्नुपर्छ। कुनै पनि सिर्जनाको कही कतै मूल तत्व छ भने त्यो पदयात्रा नै हो, यात्राका दौरान जति नै कष्ट भएता पनि अन्त्यमा यसले आनन्द नै दिन्छ। हामी सधैंभरि आफ्ना काममा लाग्छौं र भुलिरहन्छौं आत्मप्रकाशन हुने तत्वको खोजीमा। हो त्यही तत्व सम्झाउने ग्राह्य रूप नै पदयात्रा हो।
गोरखालाई आफ्नो कार्यक्षेत्र बनाएपछि नै हो मलाई धेरै हुटहुटी भएको। गोरखाका माथिल्ला हिमाली क्षेत्रहरूको पदयात्रामा निस्किने लोभ लागेको। तर आफूले चाहेर मात्र पनि नहुने कर्मचारी भइसकेपछि कार्यालयको समय र बिदा पनि मिलाउनुपर्ने आवश्यकता रहन्छ। यस्तैमा एउटा अवसर जुट्यो र हामीले हाम्रो लार्के पासको यात्रा सुरू गर्यौं।
असोज ८ गते सौरभ सर म आफ्नो कार्यक्षेत्रबाट निस्कियौं। गोरखा बजारबाट आरूघाट हुँदै आरखेतसम्मको यात्रा हाम्रो बाइकमा रह्यो। त्यसपश्चात बाइकलाई त्यतै सुरक्षित स्थानमा राखेर हामी हेलीको प्रतीक्षामा रह्यौं। सिम्रिक एयरको हेली हामीलाई लैजान अवतरण गर्दै गर्दा स-साना बच्चाबच्चीहरूमा देखिएको हर्षोल्लासले मन जितेको थियो। त्यहाँबाट हामी हेलीमा सामागाउँका लागि प्रस्थान गर्यौं।

हेलीको यात्रा अनुभव पहिलो थियो। माथि माथिबाट खुट्टालाई बिना कुनै दुःख प्राकृतिक बनोटहरू हेर्न पाउनु कुनै जादूभन्दा कम थिएन। प्रविधिले नयाँ नयाँ प्रबन्ध गरिदिएको थियो त्यो पनि त एउटा कला थियो। बूढीगण्डकीलाई पछ्याउँदै पछ्याउँदै गोरखाका उपल्ला गाउँहरूको स्वरूप, बनावट र सौन्दर्यलाई आकाशबाट निहाल्यौं। लगभग आधा घण्टाको हेली यात्रा पश्चात सामागाउँ पुग्यौं।
३५३० मि.को उचाइमा रहेको सामागाउँ धेरै नै चिसो थियो। तर त्यो भूगोलको भावमा डुबुल्की मार्दा चिसोहरू पनि बाइपास भएर गए। हामीले ढिलो नगरी आफ्नो सामान होटलमा राख्यौं र कफी खाएर वीरेन्द्र तालका लागि प्रस्थान गर्यौं। ३६४४ मिटरमा रहेको उक्त ताल निकै नै मनमोहक छ। तालको किनार पुग्दा मनभित्र गुम्सिएर रहेका चिच्याहटहरूबाट एकैछिन भने पनि फुत्किन मन लाग्यो। मनास्लुबाटै बगेर आएका पानीका छहराबाट बनेको ताल आफूमा धेरै शान्त बसिरहेथ्यो।
हामी त्यहाँबाट फर्किएर त्यो रात सामागाउँकै होटलमा बास बस्यौं। र बिहानै हेली एभरेष्टबाट मनास्लु बेस क्याम्पतर्फ लाग्यौं। ४८०० मि को उचाइमा रहेको बेस क्याम्पमा ओर्लिन साथ यस्तो लाग्यो सहरी हाउभाउमा यतिन्जेल निस्सासिँदो भएका सासहरू पनि बेफिक्री फेरिरहेका थियौं।त्यतै पलेँटी मारेर एउटा कविताको पंक्ति लेख्न मन लाग्यो-
म हराएको छैन
बस्!
एक्लै हुन मन छ
हरेक समाचारका बतासहरूबाट
जहाँ नटिपोस् कुनै नेर्टवर्क
अनि नबजोस् घण्टीका फोनहरू!
बरू आओस् एउटा याद तिम्रो
हिउँ जस्तै ओढेर
सेतो च्यादर
मेरै सामुन्ने
अनि छपक्कै पारोस्
हुरूक्कै पारोस्!
बेस क्याम्पमा धेरै चिज साक्षात्कार गर्न पाइयो। ८१६३ मि को मनास्लु समिट गर्ने सिजन थियो। हिमाल चढ्न चाहनेहरूको लाम थियो। भरियाहरू भारी बोक्दै थिए, कामदारहरू बस्ने ठाउँ मिलाउन माटो सम्याउँदै थिए। फुर्सदिलो त्यहाँ कोही थिएन, हिमाल आरोहणको कामना स्वरूप धुपहरू पनि बलिरहेका थिए, हावा पनि उस्तै बहिरहेको थियो अनि हावालाई बेग हान्दै हेली पनि ओहोर दोहोर गरिरहेको थियो। त्यही कफी र थुक्पा खाएर हामी हिँड्दै ओह्रालो लाग्यौं। ठाडै बाटो ओह्रलिँदै गर्दा मन आफ्नो नियन्त्रणमा थिएन। सामुन्नेको वीरेन्द्र तालको आकारले मन लोभ्याउँथ्यो भने भारी बोक्दै उक्लिएका भरिया अनि खच्चडका दुःख देखेर मन अमिलो हुन्थ्यो। अनेकौं झरनाहरूलाई पार गर्दैगर्दै प्रकृतिको लहडको दास भएर हामी अनेक तरंगको मजा लिइरहेका थियौं।
सामागाउँ नै फर्किएर आएपछि हामी खाना खाएर एकैछिन रेष्ट गरेपश्चात लार्केपास जाने तयारीमा जुट्यौं। आवश्यक पर्ने छुटेका लुगा र सामानहरू त्यही किन्यौं र लाग्यौं साम्दोतर्फ। तेर्सो तेर्सो बाटो हुँदै झमक्कै रात परेपछि मात्र हामी साम्दो पुग्यौं। ३८७५ मि उचाइमा रहेको साम्दो पुग्न साथ खाना खाएर हामी विस्तारामा पल्टियौं।

असोज १० गते बिहानै उठेर मनमोहक साम्दो गाउँलाई पृष्ठभूमिमा राख्दै हामी धर्मशालाका लागि अघि बढ्यौं। निरन्तर उचाइ बढिरहेको थियो र थकान पनि स्वाभाविक नै थियो। हामीलाई कसैले घिच्याएर नाक डोरी लगाएर यो पदयात्राका लागि ल्याएको थिएन। स्वतस्फूर्त आफ्नै स्वादले यात्रा रच्ने मिठो कल्पना लिएर हिँडेका थियौं। त्यसैले थाक्ने छुट कहाँ थियो र? ज्यान थाक्थ्यो होला तर मन थाक्थेन। कानमा गुन्गुनाउँदै थियो प्रकृतिको मिठो धुन। अझै चाख लिएर सुन्न अनि सुनाउन आफ्नो अन्तस्करणलाई हामी हिँडिरह्यौं।
हरियो चौउरमा झोलालाई सिरानी हालेर मनमनै कल्पिएँ एक पंक्ति कविता-
ए मनुष्य!
कति बस्छौ
चारकुने कोठाभित्र
चारखुट्टे खाट माथि
ओढेर बासी सपनाहरू!
आउ
कहिले काहीँ त
निदाउन
चौउरको ओछ्यानमा
ओढेर खुला आकाश
हेर्दै
लजाएर
कुहिरोको घुम्टो ओढेको
सेतो हिमाल!
जसोतसो दिउँसोको ११ बजेतिर ४४६० मि उचाइमा रहेको धर्मशाला पुग्यौं। त्यहाँ खाना खाएर केहीबेरको आराम पश्चात लाग्यौं हामी लार्केपासतर्फ। हरेक चिज त्यहाँ महंगा थिए। तर त्यहाँसम्म ल्याउँदाको दुःख र कष्ट सम्झँदा सहजै तिर्न मन लाग्थ्यो। केही क्षणको हिँडाइपश्चात 'काल ताल' सँग हाम्रो झम्का भेट भयो। निकै रहस्यमय निलो उक्त ताल समिप बस्दा लाग्थ्यो एकान्तमा मिठो संगीत बहिरहेछ। हामी विस्तारै उक्लिँदै गयौं। हावा बेजोड चलिरहेको थियो पानीले पनि सताइरहेको थियो। हामी दुई जना मात्र थियौं। बाटो सुनसान थियो। थर्मस बेच्न हिँड्नुभएकी दिदी र खच्चडमा सामान ओसारपोसार गर्नेहरू पनि कहाँ पुग्थे कहाँ? भेट्टाउनै नसकिने। बाटामा पनि धेरै तालहरू थिए जो कोही सुकेका थिए त कोहीमा बालुवा र छिपछिपे पानी मात्र सीमित। हामी घाम ढल्किँदै गर्दा ४ बजे आसपास ५१०६ मिमा अवस्थित लार्केपास पुग्यौं।
भगवानले तँ आँट, म पुर्याउँछु भन्छन् अरे! लार्के पास पुग्दा त्यही अनुभूति भयो। गोरखा र मनाङको सिमानामा रहेको यो पास पुग्न ७-८ दिनको ट्रेक आवश्यक भएता पनि सामागाउँ सम्मको हेली यात्राले हामीलाई निकै सहज बनाइदियो। तर एल्टिच्युड सिकनेसको भने डर कायमै रहन्छ त्यसैले सबै पदयात्रीले स्वास्थ्य सतर्कता गरेर मात्र यात्रा अगाडि बढाउनुपर्ने हुन्छ।
गोरखा आएपछि नै मलाई रातदिन एउटै चित्रले सताउँथ्योः लार्केपास गर्न पाए हुन्थ्यो! ती आँखा अगाडिका चित्रलाई समेत सजिव बनाउन पाइयो।त्यो नै गजब थियो। समयले कसो कसो घुम्दाघुम्दै आफू भित्रको मसिनो चाहनालाई विशाल बनाएर प्रकृतिको स्वरूपमा एकाकार गरिदिँदो रहेछ, पत्तै नहुने। प्रतिक्षण लहराउन मन पराउने म जस्तो पदयात्रीलाई यस्तै चमत्कार भइरहोस् भन्ने धन्यवाद ज्ञापन गरियो लार्केपासमा। फोटो खिचियो टन्नै तर फोटो भन्दा उपस्थितिबोध नै खँदिलो भएर आएको थियो।
हामी त्यहाँबाट ढिलो नगरिकन ओह्रालो लाग्यौं। किनकि रात नपर्दै बास बस्न फेदी पुग्न थियो। तर यात्रा भने जस्तो सहज थिएन। होस नै उडाउने बाटाहरू थिए। माथिबाट ढुंगा कति बेला खस्ने हो? पत्तो थिएन। म हिँड्न जान्दिनँ वा सक्दिनँ भने पनि खुट्टाले चाल अघि बढाइरहेको थियो।किनकि अब त्यहाँ आँट र हिम्मत होइन डर मात्र थियो। रात आँखै अगाडि पर्यो तर कुनै गाउँ अझै आइपुगेन। मनास्लु संरक्षण क्षेत्रले राखेका डण्डी रूपी इसारालाई पछ्याउँदै लाइट बालेरै अघि बढ्यौं। जब पानी पनि पर्न थाल्यो हामी आँत्तियौं, जंगली जनावारहरूको नमिठो याद आयो।जसोतसो आफ्नै बाँकी रहेको शक्तिमा निर्भर रहेर फेदीको होटेलमा पुग्यौं। त्यो रात आफूले आफैलाई बाँचेर आएकोमा धन्यवाद दिन मन लाग्यो।
असोज ११ गते बिहानै हामी फेदीबाट हिँडेर भिमफेदी पुगेर नास्ता खायौं। सूर्योदयसँगै मिलेको आनन्द र स-साना खोलाका मधुर लहरहरूमा ढलीमली गर्दै हामी ओर्लिरह्यौं। लुगैभरि प्रकृति गाँसिएकी थिइन्, कतै गएर फेरि टकटकिने मन थिएन। झुत्रोझात्रे मन लिएर उक्लिएका हामी मनलाई रंगरोगन गरी सुनौलो बनाएर झर्न सफल भएका थियौं। मनाङ पनि आफैमा सुन्दरताको चौरासी व्यन्जन लिएर बसेको थियो, हामी त भोका थियौं रसस्वादन नगर्ने कुरै भएन।

दुघखोलाको ध्वजा युक्त काठे पुलमा बसेर फूलका थुंगा हातमा लिएर एउटा पंक्ति कल्पिएँ-
यी फूलहरू तिनै प्रति समर्पित गर्न चाहेँ
जसका निम्ति म आजसम्म बाँचेँ
र जसका निम्ति म अब बाँच्नेछु!
मिठो संयोग त के भने यो मनास्लु सर्किटको, मनास्लु संरक्षण क्षेत्रबाट प्रारम्भ गरेको यात्रा अन्नपूर्ण संरक्षण क्षेत्रसँग गाँसिएर अन्त्य हुँदो रहेछ। दिनैभरि हिँडेर तिल्चे पुगेपछि मैले सोचेँ- हाम्रो हृदय त भिकारी थियो होला तर प्रकृतिसँगको मिलापले कुवेरभन्दा धनी बनाएको छ। यसका निम्ति धन्य धन्य।
त्यो रात तिल्चेमा नै बास बसेर भोलिपल्ट १२ गते हामी धारापानी हुँदै बेसीसहरतर्फ लाग्यौं। त्यहाँबाट दसैं मनाउन सौरभ सर गोरखा जाँदै हुनुहुन्थ्यो भने म भोर्लेटार जाँदै थिएँ। बेसिसहर आउँदै गर्दाका बाटाका बुङबुङ झरना,अक्टोपस झरना कम्ता मनमोहक थिएनन् र? तर दसैं घर आँगनमै आइसकेकाले हामी परिवारसँग भेट्न पनि आतुर थियौं। मनाङ घुम्न फेरि आउने हाम्रो बाचा भयो।
सुन्दरबजार हुँदै मध्यपहाडी लोकमार्ग पछ्याउँदै घर जाँदा मैले सोचिरहेँ- पृथ्वीमा नै स्वर्गको मिठास अनुभव गर्न पाउने हुँदाहुँदै पनि मानिस किन कल्पनाको स्वर्गमा फस्छन् होला है? दु:ख, लोभ, अहंकार र खिचातानीमा अल्झिएकाहरूलाई हाम्रै पहाडका पल्लापट्टि यति धेरै मोहनी छ भनेर थाहा नभएको हो कि? जे होस्! गोरखाबाट सुरू भएको यात्रा लमजुङमा टुंग्याउँदै गर्दा यात्रालाई सहज बनाइदिनुहुने सिम्रिक एयर, हेली एभरेष्ट, मनास्लु संरक्षण क्षेत्रका निकाय, सुरक्षा निकायहरू र यात्राका क्रममा अभिभावकीय भूमिका निर्वाह गर्नुभएका गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी आदरणीय रामुराज कडरियाज्यूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। फेरि फेरि प्रकृति देवीको सहानुभूतिले यो मन उद्घाटन गर्न रोमान्चकारी भाव पैदा गर्ने यात्रा गरिराख्न पाइयोस्।
