नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छन्।
एकीकृत समाजवादीका अध्यक्ष सहितको पंक्तिले माओवादी केन्द्रसँग एकताका लागि निर्णय गर्ने तयारी गरेपछि त्यसको प्रतिक्रिया स्वरूपमा झाक्रीले व्यक्तिको आवश्यकता पूरा गर्न एकतामा जान नसकिने बताएकी हुन्।
‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ,’ उनले भनेकी छन्।
उनले इतिहासको वास्तविकता यस्तै भएको बताएकी छन्।
नेता झाक्रीले मान्छे नै थपेर बहुमत पुर्याउन सकिने तर त्यस्तो बहुमतले सबैको भावना नबोक्ने बताएकी छन्।
‘मान्छे नै थपेर बहुमत पुर्याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन,’ उनले भनिन्।
माओवादी केन्द्रसँग एकतामा नजाने एकीकृत समाजवादीका यी १२ नेता
नेकपा (एकीकृत समाजवादी) का १२ नेता माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने भएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी छ। आज बस्ने केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्नेछ।
यो एकता प्रक्रियामा सम्मानित नेता झलनाथ खनालसहित १२ नेता सामेल हुने छैनन्।
एकता प्रक्रियामा तीन पदाधिकारी सामेल नहुने एक नेताले जानकारी दिए। सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भूसालले एकतामा नजाने बताइसकेका छन्।
स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाक्री पनि माओवादी केन्द्रसँग एकतामा जाने छैनन्।
पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि एकता प्रक्रियामा नजाने एक केन्द्रीय सदस्यले बताए।