गत साउन २० गते भक्तपुरको गठ्ठाघरमा अवस्थित सङ्गिनी सहकारीले आयोजना गरेको तीर्थयात्राको सु-अवसर जुर्यो।
चारधाममध्येको एक पवित्र धार्मिकस्थल बद्रीनाथधाम र सामाजिक सञ्जालमा निकै चर्चित भुवनेश्वरी मन्दिर हाम्रो यात्राको गन्तव्य थियो।
बद्रीनाथधाम र भुवनेश्वरी मन्दिरलाई पृष्ठभूमिमा राखेर साथीहरूले खिचेका फोटाहरू जबजब मुहार पुस्तिकामा देख्थेँ, म पनि हुरूक्क हुन्थेँ त्यहाँ पुग्नलाई। आश्चर्यचकित भएकी थिएँ।
‘ओहो! काठमाडौंमा यस्तो राम्रो मन्दिर! कहिले समय मिल्ला हँ! मलाई पनि त्यहाँ जान?’ सोचेकी थिएँ जब त्यही ठाउँ जाने अवसर पाएँ, निकै खुसी भएँ।
शनिबारको बिहान निकै उत्साही भएर गुर्जुधारादेखि हाम्फाल्दै बिहान सातै बजे गठ्ठाघर चोकमा पुगिसकेका थियौं। हामी पाँच वटी दिदीबहिनीलाई पनि सँगै यात्राको अवसर जुरेको थियो।
अझ सङ्गिनीका दिदीबहिनीसँग सामूहिक यात्रा गर्दा आउने मज्जा छुट्टै थियो।
यात्रामा जाने संगिनीहरू जम्मा भइसकेपछि लाइन लागेर हिँडे सातवटा रिजर्भ गाडीहरू। गाडीको लस्कर हेर्न लायक थियो। बिना रोकटोक काठमाडौँको उत्तरी भेगतिर लम्किए हाम्रा सवारी साधनहरू।
गाडीभित्र निकै रमाइलो माहोल सृजना हुँदैछ। हामी दुई वटा समूहमा विभाजित भएर अन्ताक्षरी खेल्न सुरू गर्यौँ। निकै लामो समय भएको रहेछ अन्ताक्षरी नखेलेको। अचम्म भयो, बाल्यकालमा गाएका गीतहरू त फ्याट्फ्याट् मुखमा आइरहेका थिए। नाच्दै, गाउँदै हामी एकाग्र भएका थियौं। साँच्चै खुसी र आनन्द त एकाग्रतामा पो हुन्छ कि क्या हो?
हामी प्रतिपलमा रमाएका थियौं, बाँचेका थियौं, नाचेका थियौं। हामी वर्तमानमा बाँच्न सके? के जीवन उत्सव हुने थिएन र? वास्तवमा भूत र भविष्यको गह्रुंगो भारीले जीवन बोझिलो लाग्ने रहेछ।
म किन यति खुसी छु भनेर, आफूले आफैँलाई नियाल्दै थिएँ।
चिन्ता र समस्याहरू हटेका त थिएनन् तर पनि म निकै प्रफुल्ल थिएँ। केही नखाए पनि स्फूर्ति उस्तै थियो।
खुसी हुँदा समय कटेको पत्तै नहुने रहेछ हामीले त बालाजु पार गरिसकेछौँ, पत्तै भएन।
बालाजु कटेपछि बाहिरको दृश्य हेर्छु भन्दै थिएँ, भुसुक्कै बिर्सिएछु। काभ्रेस्थली नै पो आइपुग्यौं। सातैवटा गाडी लाइनले रोकिए।
सप्तरंगी रङमा रङ्गिएर गुटुङटुङ बाटोभरि पोखिँदा त बोटोमा हिँड्नेहरूका आँखा पनि हामीबाट हट्न सकेनन्। हामीलाई हेर्नेका आँखा लोभिएकाझैं लाग्यो।
अब हामी ठ्याक्कै मन्दिर परिसरमा छौँ। अग्लो स्थानमा अवस्थित रहेछ बद्रीनाथधाम। मन्दिर प्राङ्गणबाट वरिपरिको रमणीय दृश्यहरू देखिँदै छ। मन्दिरभन्दा ठीक माथि हरियो सल्लोको वनले बद्रीनाथधामलाई शिथिलता प्रदान गर्न चमर हम्किरहेको छ।
पसिनाले लुछुप्प भिजेकी म, एउटा कुर्सीमा गएर थुचुक्क बसेँ। एकैछिममा प्राकृतिक चमरले शितलता प्रदान गर्यो। मेरा आँखाहरू चारैतिर घुम्न थाले। आकाश उस्तै हेरिरहुँजस्तो सफा छ।
निलो आकाशमा सेता बादलहरू महान् चित्रकारको अब्बल कलाकारिता जस्तो छ।
बद्रीनाथधाम तारकेश्वर नगरपालिकाको सुरम्य वातावरणमा मुस्कुराइरहेको देखेर त होला भारतीय नागरिकहरू पनि हामीभन्दा ठीक अगाडि रमाइरहेका थिए। यो दृष्यले हृदय गद्गद् भयो।
आहा! बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्न सफल यो संरचनालाई झुकेर नमन गरेँ। नेपालमै चारधामको संरचना निर्माण गर्ने सोच लिएर अगाडि बढेका परियोजनाकारलाई सम्झेर नतमस्तक हुँदै फेरि शिर झुकाएँ।
आर्थिक पाटोमा बलियो बनाउन पक्कै यस्ता परियोजना सहायक हुनेछ। देशभित्रको पैसा देशभित्रै रहोस्। अझ बाहिरको पैसा देशभित्र भित्रियोस् भन्दै बद्रीनाथलाई प्रणाम गरेँ।
यो रमणीय ठाउँमा शान्तिको अनुभव प्राप्त हुने भएर होला यो ठाउँलाई शान्तिधामले पनि सम्बोधन गरिँदो रहेछ।
शिखरबाट बेसीमा हेर्दा उकुसमुकुस भएर सिमेन्टका भवनहरू स्वच्छ हावा खोज्दै टाउको ठड्याउँदै मलाई नै हेरिरहेका थिए।
साँच्चै उपत्यका वरपरका हरिया डाँडाहरूले नै हामी कंक्रिटनगर वासीहरूको प्राणमा ऊर्जा सम्प्रेषित गरिरहेको आभास भयो।
मन्दिरको बाहिरी संरचना निकै आकर्षक रहेछ।
उज्यालो रङ्गरोगले आँखाहरू चञ्चल भएका छन्। फोटो खिच्ने र टिकटक बनाउनेहरूको रमिता उस्तै छ। मन्दिरको संरचना लोभलाग्दो भएकाले मैले पनि टन्न फोटो खिचाएँ।
मन्दिर ठ्याक्कै भारतको बद्रीनाथधामको प्रतिरूप छ। मूर्ति चाहिँ भारतको भन्दा फरक भएको कुरा बिमु दिदीले बताउँदै हुनुहुन्थ्यो।
मन्दिरको एकातिर ठूलो सत्सङ्ग भवन छ। दश दिनदेखि पुरूषोत्तम महात्यको कथा वाचन हुँदै आएको रहेछ। भजन मण्डलीहरूले श्रुतिमधुर भजनहरू गाइरहेका छन्। भजनले भक्तजनहरूको ऊर्जा बढाइरहेको छ। नाच्न चाहनेहरू भोक प्यास बिर्सेर नाच्दैछन्।
मेरा आँखाहरू अचानक ठोक्किए पुगे एकजना बयोवृद्ध बुवाको ऊर्जाशील नृत्यमा।
म छक्क परेँ, कुन ऊर्जा उहाँमा जागृत भएको होला। उहाँको अनुहार नियालेँ, उज्यालो मोहोडा, टलटल टल्किएको आकर्षक तेजिलो अनुहार। निकैबेर मेरा आँखा उहाँको वरिपरि घुमिरहे।
हेर्दाहेर्दै सङ्गिनीहरूको भीड नाच्न थाल्यो। सत्सङ भवनको प्राङ्गणलाई अझ उल्लासमय बनाउन सफल भए हाम्रा सङ्गिनीहरू।
मन्दिरको वास्तुकला आकर्षक छ। हृदय लोभ्याउने गगनभेदी स्तम्भ छ। सिसामहल झलमल छ। चारैतिरको दृश्यले आगन्तुकको हृदयलाई मनमोहक पारेरै छोड्छ। भक्तजनहरूको ओइरो देखेर म तीन छक्क परेँ। हुन त शनिबार त्यहाँमाथि पुरूषोत्तम मास अनि हिन्दुहरूको विशेष महिना साउन भएकाले होला भागवत प्रेमीहरूको मुहारमा ऊर्जा उर्लेको।
सङ्गिनीहरूले आफ्नो संस्थाप्रतिको गरेको विश्वास र भरोसालाई सम्झिन पुगे।
सङ्गिनीका पदाधिकारीहरूको बफादारी, इमानदारी र जिम्मेवारीलाई हेरेर दङ्ग परेँ। अनि तुलना गर्न पुगेँ माइतीघर मण्डलामा महिनौँदेखि सहकारी र वित्तीय संस्थाबाट पीडित नागरिकहरूको चित्कार।
सङ्गिनी सहकारी सुरक्षित भएको देख्दा आनन्दविभोर हुँदै सङ्गिनीकी सञ्चालन समितिको पदाधिकारीलाई सोधेँ संस्था सफल हुनुको राज। उहाँले भन्नु भएको कुरामा म पनि सन्तुष्ट भएँ- ‘सङ्गिनीभित्र सम्पूर्ण कर्मचारी एक त महिलाहरू मात्र छन्। अझ सञ्चालक समितिमा संवेदनशील नारीहरू सजग भएर लागिपरेका छन्। मन, वचन र कर्मलाई एउटै ध्रवमा हिँडाउन सफल भए गर्न नसकिने केही छैन। निजी स्वार्थबाट अलिकति माथि उठ्ने हो भने असम्भव केही छैन।’
दिदी बोलिरहँदा उहाँको आत्मविश्वासलाई सलाम गर्दै थिए, मेरा आँखाहरू अगाडिको शिला लेख टक्क अडिए।
‘बहून सन्ति तीर्थानि देवपुर्या तथा क्षितौ
बदरी सदृशं तीर्थ न भूतं न भविष्ति।।’
काठमाडौँ तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा मिति २०७३ आषाढ ३ गते निर्जला एकादशीको शुभ अवसरमा शिलान्यास भई मिति २०७४ चैत्र ११ गते , राम नवमीको पावन तिथिमा निर्माण सु-सम्पन्न भएको देवभूमि नेपालमा निर्माण हुने चारधामहरू मध्ये सत्य युगी भगवान् श्रीबदरी नारायणको मन्दिर तथा गोपुरको समुद्घाटन सम्मानित राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सुसम्पन्न भयो।
२०७५ बैशाख ६ गते शुक्लपक्ष चतुर्थी वृहस्पतिवार शुभम्।"
एउटा ब्यानर पनि दृष्टिगोचर भयो।
‘तन समर्पित, मन समर्पित अरू यो जीवन समर्पित। चाहन्छु हे मातृभूमि! तिमीलाई अरू पनि केही दिऊँ।।
हिन्दु स्वयंसेवक संघ नेपाल श्री गुरुदक्षिणा समर्पण कार्यक्रम।"
यस्तो लेखेको ब्यानर हामीहरू बसेको स्थानभन्दा ठिक माथि टाँगिएको थियो। हामीले पनि आ-आफ्नो क्षमता अनुसार गुरुदक्षिणा अर्पण गर्यौं। शान्तिधाम आश्रमले (बद्रीनाथ) चार वटा विद्यालय स्थापना गरेको रहेछ।
अनाथ बालबालिकाहरूलाई नि:शुल्क खाना र शिक्षा प्रदान गर्दै आएको पुनित कार्यलाई सम्झिँदा हृदय आल्लादित भयो र सेवामा मन लाग्यो। मञ्चमा आसिन वक्ताहरूको मन्तव्य सुन्ने क्राममा एक जना पूर्वप्रहरी अधिकृतको अनुभवले मन छोयो -
‘नेपालीहरू गरिब भएर धर्म परिवर्तन गरेका होइनन् भन्ने कुरा मैले इन्डिया घुम्न गएको बेला अनुभव गर्न पाएँ। रेलवे स्टेसनमा एक जना मुस्लिम भिखारीले अल्लाहको नाममा केही मागिरहेको थियो। अल्लाहको नाममा एक रुपैयाँ त देऊ भन्दै थियो। मैले उसको धर्मप्रतिको कट्टरतालाई जोख्न खोजेको थिएँ। मैले भने हामी त हिन्दु हौँ कसरी अल्लाहको नाममा तिमीलाई एक रुपैयाँ दिनु, बरु यसो गर तिमी भगवानको नाममा माग म तिमीलाई एक सय दिन्छु। म तीन छक्क परेँ। त्यो भिखारीले मरिगए पनि भगवानको नाममा भिख मागेन।
के हामी नेपालीहरू ती भिखारी भन्दा पनि गरिब छौं? हामी आखिर के पाउन आफ्नो धर्म नै परिवर्तन गर्न लालायित हुन्छौँ?’
परर ताली बज्यो। मेरो त आँखै रसिला भएछन्। मेरो हृदयले भन्यो, सबै जना आ-आफ्नो परम्परा, रीतिरिवाज, चाडपर्व र संस्कार, संस्कृति र धर्ममा अडिक भएर सबैको मनोभावनालाई सम्मान गरेर त भैहाल्थ्यो नि किन धर्मको नाममा कलह गर्नु पर्थ्यो र। म निकैबेर टोलाएछु।
दिदीहरूले प्रसाद खाने बेला भएको जानकारी दिनुभयो। खानाको व्यवस्था पनि संस्थाले मन्दिर परिसरमै गरेको थियो। प्रसाद ग्रहणको लागि लामो लाइनमा बस्यौं। भोक र भोजन दुवै मीठो भएर होला प्रसाद खाएपछि त खलखल पसिनै आयो। पवित्र मनले बनाएको प्रसाद भएर होला हामी तृप्त भयौँ। केहीबेर पुनः शितल प्राकृतिक वातावरणमा डुल्दै आल्लादित भयौं।
अब सबै जना पुनःआ-आफ्नो गाडीमा गएर बस्न खबर आयो। हामी सबै गाडीतिर लाग्यौँ भुवनेश्वरीको दर्शन गर्ने उत्साह बोकेर।
क्रमशः
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)