उत्सुकताको आभास मात्र पनि आफैमा रमाइलो कुरा। नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र? छुट्टै आकर्षणले रङ्गिदिन्छ मन। यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई। हत्तपत्त जाने निर्णय गरिहालेँ।
बडादसैंको पूर्वसन्ध्या। काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रिबसमा खचाखच थिए यात्रु। असोज ९ गते साँझ त्यसमै चढेर प्युठानतर्फ हुइँकिएँ म। साहित्यिक कार्यक्रम त केबल एउटा बहाना। मुख्य ध्येय घुम्नु नै थियो। कारण भनिसकेँ, मेरो यो पहिलो प्युठान यात्रा।
कार्यक्रममा सहभागी हुन हिँडेका मजस्तै निम्तालुहरू केही काठमाडौँबाट र केही मुग्लिङबाट जोडिएका थिए यात्रामा। समीर सिंह, भावेश भुमरी र आविष्कार कलाबाट यात्रामा राम्रो सहजीकरण भयो, आयोजकका तर्फबाट।
लामो दूरीको यात्रा। हुइँकिरहन्छ बस एकतमासले। एकरसताको कैदी भइरहँदा कसलाई पो पट्यार नलाग्ला र? समय कटाउने बहाना नै सही, बेलाबेलामा हामी मज्जैले गफिन्छौं। ठट्टा र हाँसो त झन् पट्यार हटाउने ओखती। जे होस्, रुचि मिल्ने साथीहरू सँगै हुँदा लामो यात्रा पनि पट्यारलाग्दो नहुने रहेछ।
दाङको भालुबाङ, त्यसको केही पर ददेरी। हो, त्यहीँबाट सुरु हुन्छ प्युठानी परिदृश्य। रातभर निरन्तर यात्रा। बिहानतिर मात्र हामीले प्युठानको भूमिलाई स्पर्श गर्न सकेका थियौँ। हाम्रो गन्तव्य उन्मुख भूगोलको एकापट्टि मोहोडा। त्यसको पनि अलिकति साक्षात्कार।
तर अनायासै मनमा उज्यालोको आभास छिरिसकेको थियो। बिहानी घामका कलिला किरणहरूसँगै प्युठानी परिवेशमा रम्न थाले आँखाहरू। रातभरिको यात्राको थकान पनि सायद गायब हुने कोसिसमा थियो। प्रकृतिको कञ्चन सुगन्ध नै त्यस्तै।
बाङ्गेसाल भन्ने ठाउँ कटेपछि माडीको तिरैतिर बसको यात्रा अगाडि बढ्दै गयो। प्राकृतिक दृश्यहरूमा नजरलाई एकाकार गराउँदै गन्तव्यतर्फ गतिशील भइरह्यो यात्रा।
स्वर्गद्वारी, प्रसिद्ध पर्यटकीय गन्तव्य। यसको फेदीतिर रहेछ भिङ्ग्री बजार। रोल्पा जाने बसबाट बिहान १० बजे यहीँ ओर्लियौँ हामी। प्युठान साहित्य परिषदका अध्यक्ष नवराज आचार्य हामीलाई पर्खिदै हुनुहुँदो रहेछ। खानपिन र केही समय आराम पनि त्यहीँको एक होटेलमा। तन र मन दुवै ताजा। त्यति भएपछि घुमफिरमा किन ढिलाइ गर्नु? लाग्यौँ सारीतर्फ।
स्थानीय क्षेत्रमा गुड्ने बसबाट हामी गयौँ, अलि अगाडिसम्म। त्यसपछि झोलुङ्गे पुलबाट माडी नदी तरियो। एकैछिन हिँडेपछि हामी एउटा रमाइलो ठाउँमा पुग्यौँ। त्यो ठाउँको नाम सारी। आहा, कस्तो गज्जबको भूबनोट दृश्य!
कलात्मक आकृतिका माटोका ढिस्काहरू रहेछन् त्यहाँ, अनगिन्ती। अनेक बुट्टा र कलाले सजिएका। टाढाबाट झट्ट हेर्दा मन्दिरका लहरजस्ता। रातो माटोका ढिस्काढिस्किीभित्र धेरै खोच र सुरुङहरू पनि बनेका रहेछन्। ए रात्तै, प्रकृतिको कलाकारिता पनि कस्ता-कस्ता! यहाँका दृश्यले रोचक अनुभूति गरायो।
प्युठानमै जन्मिएका स्रष्टा हुन्, आविष्कार कला। उनीसँगै थिएँ म। कुराकानीका क्रममा उनीसँग पनि सारीको विषयमा सोधेँ मैले। ‘माटोलाई पानीले क्षयीकरण गर्दा अनौठो किमिसले बनेका भूआकृतिहरू हुन् यी,’ उनले भने, ‘पछिल्लो समय यसलाई हेर्न आउने पर्यटकहरू बढ्न थालेका छन्।’
सारीको सौन्दर्यमा भुल्दा दिन ढल्किन लागेको पत्तो पाइएन। आकाशमा एक जुवा घाम बाँकी थियो होला, हामी त्यहाँबाट फर्किँदा। यो कलामय भूबनोट दृश्य अवलोकनपछि स्वर्गद्वारीतिर लागियो। मनोरम दृश्यमा रम्ने र त्यहीँको धर्मशालामा एक रात बिताउने प्रबन्ध मिलाइएको रहेछ।
प्युठानका केही साहित्यकार र साहित्यानुरागीहरू पनि भेटिए भिङ्ग्रीमा। त्यहाँबाट १४ किलोमिटर उकालो बाटो यात्रा गर्नुपर्ने स्वर्गद्वारी पुग्न। त्यसका लागि हामी बसमा अगाडि बढ्यौं। बसको यात्रा त्यति सहज रहेनछ। केही पर पुगेपछि जिपबाट यात्रा गर्नुपर्ने भयो।
दुई जना रक्तिम पविारका कलाकारहरू पनि हुनुहुन्थ्यो म चढेको जिपमा। उहाँहरूले गरिब, मजदुरका जीवन भोगाइ र उन्मुक्तिका जोसिला गीत गाउँदा चालकले पनि जोसिएर गाडी बत्ताएको भान हुँदै थियो।
मनमा लाग्यो, यस्ता गीत गाइएको र त्यस्तै विचारको जगमा राजनीति गरिएको पनि दशकौँ बितिसक्यो तर गरिखाने जनताका हालत आज पनि किन ज्युँका त्युँ?
गीतको रन्कोमा उकाली र घुम्तीहरू पार गर्दै झमक्क अँध्यारो हुँदा स्वर्गद्वारीको डाँडामा पुगियो। सिँढीहरूबाट केही बेर उकालो चढ्न अझै बाँकी नै थियो। त्यहाँको दृश्यमा रमाउँदै २ हजार १२१ मिटर उचाइमा रहेको स्वर्गद्वारी आश्रममा पुगियो। त्यहाँ पुगेपछि झनै चङ्गा भयो मन।
सात्विक तर स्वादिष्ट। यही नै स्वर्गद्वारी आश्रमको भोजनको विशेषता। आनन्दले पेटपूजा गरियो। यहाँका धर्मशालामा सुत्ने व्यवस्था पनि रहेछ। सामूहिक सुताइका लागि त्यहीँको एउटा ठूलो कोठा रोज्यौँ। निद्रा नपरुन्जेल गफ त चल्ने नै भयो।
प्युठानका पूर्व शिक्षक देवेन्द्रकुमार रिजाल पनि हामीसँगै थिए, त्यस रात। गफ गर्न सिपालु मान्छे। स्थानीयकै बेथितिमाथि दोहोलो काडे। जानेभ्याएसम्म हाँस्यव्यङ्ग्यका बिम्ब पस्किन बाँकी राखेनन् उनले। नहाँस्ने को पो थिए र त्यहाँ? सबै पेट मिचीमिची हाँसे। गुञ्जायमान बनिरह्यो कोठा निकै बेर। गफमा भुल्दाभुल्दै राति कतिबेला निदाइयो पत्तै पाइएन।
बिहानै उठेर चारैतिरका दृश्यलाई अवलोकन गर्न व्यस्त भएँ म। आँखै अघिल्तिर टल्किरहने सेता हिमाल। डाँडाकाँडा र हरिया जंगल सबै छ्याङ देखिने। मनमा लाग्यो, प्रकृतिको यही सौन्दर्यबाट प्रभावित भएर नै महाप्रभु यहाँ आएर बसेका थिए होलान्। खासमा उनकै तपस्यास्थलका रूपमा परिचित छ, यो ठाउँ।
स्वर्गद्वारी डाँडाबाट केही पर एउटा गुफा रहेछ। बिहान हामी डुल्दै पुग्यौँ त्यहाँ पनि। हरियालीयुक्त परिवेश। चाँप, लालीगुराँस, बाँझ आदिका रूखहरू जताततै। रूखका बोटहरू छिचोलेर नजर डुलाइरहेँ केही बेर। जताततै रमणीय दृश्य। यस्ता डाँडाका टुप्पामा पुग्दा कसको पो मन नरमाउला र?
प्रभातकालीन घुमफिर र चियापानपछि बिहान १० बजे स्वर्गद्वारीकै सभाहलमा प्युठान साहित्य उत्सवको उद्घाटन भयो। गीतसंगीत, कला, साहित्यका विविध रङ र रसहरूको इन्द्रेणी। यसैले त उत्सवमय बन्ने हो, कार्यक्रम। हेमराज आश्रम र लक्ष्मी रिजालका गीतले मन्त्रमुग्ध बनायो। निकै मिहीन भावमा प्रस्तुत भएका थिए गिती बिम्ब।
काठमाडौँ, दाङ, रोल्पाबाट आएका र स्थानीय केही साहित्यकारहरूबाट रचना वाचन भए। स्वर्गद्वारी आश्रमका बटुकहरूले पनि सुनाए आफ्ना कविताका लय। नेपाली साहित्यका गुरुद्वय गोपिन्द्र पौडेल र गितु गिरी, साहित्यकार प्रमोध प्रधानलगायतले पनि साहित्यका विविध पक्षबारे बोले। एकदम सुन्दर कुरा। हो, यसैगरी मौलाउँदै जानुपर्छ प्राज्ञिक उन्नयनका आयाम।
कार्यक्रम तालिकामा भोलिपल्टको कार्यक्रम थियो ओखरकोटमा। त्यसका लागि स्वर्गद्वारीको कार्यक्रम सकेर हामी बास बस्न मच्छीतिर लाग्यौँ। हरिया जंगल र पहाड। खोला अनि बेसीतिरका उर्वर फाँट। लगगभ यस्तै दृश्यहरूमा आँखाहरू नाचिरहे यात्रामा।
कहिलेकाहीँ मलाई आफ्नै जिन्दगीको यात्राजस्तै लाग्छ, पहाडी बाटोको यात्रा। कतै उकालो, कतै ओरालो। कतै अप्ठ्यारा भूबनोट, कतै सजिला सतह। भेटिइरहने सानाठूला घुम्तीहरू त्यस्तै।
पक्की र कच्ची दुवै खाले रोडका यात्राको अनुभव गराउँदै बसले हामीलाई मच्छी पुर्यायो, साँझमा।
मच्छीमा हामी फरक-फरक घरमा बाँडियौं, बास बस्न। संयोगले म एक भद्र मानिसको घरमा परेछु। कुराकानीका क्रममा थाहा भयो, नेता मोहनविक्रम सिंहका आठ दाजुभाइमध्ये उनी सातौँ नम्बरका भाइ।
बाफरे, आठ जना दाजुभाइ! जेठा, माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे र कान्छो। यसमध्ये उनी जन्तरे। अझ दिदीबहिनी कति होलान्? केही बेर दुःखसुखका कुराकानी गरियो। छोटै भए पनि बिर्सन नसकिने कुरा भए, यी जन्तरे काकासँग।
प्युठान पुगेको तेस्रो दिन। निलो आकाशमुनि छरिँदै थिए घामका कलिला किरण। बिहान सात बजे बसमा चढेर मच्छीबाट ढाँड, आहालखोला हुँदै हामी ओखरकोटको उकालो चढ्यौँ। सात किलो मिटरको उकालो र घुम्ती बाटो।
डाँडाकाँडा, हरियाली र गाउँबस्ती नियाल्दै पुगियो ओखरकोटको प्रवेशद्वारमा। धेरै वटा सिँढीहरू पार गरेपछि टुप्पोमा केही समतल भाग भेटियो। त्यहीँ रहेछ, एउटा निकै पुरानो इतिहासको साक्षी ओखरकोट।
रमाइलो दृश्यावलोकनसँगै केही बेर साङ्गीतिक र साहित्यिक कार्यक्रम भयो त्यहाँ। त्यो अग्लो र सुन्दर थुम्को आफै एउटा भव्य काव्यजस्तो लाग्यो मलाई। गायकहरूले गाए जागरणका गीत। कविहरूले सुसेले कविताका बिम्ब। यति भएपछि सायद सम्बोधन पुग्यो कि, डाँडाको त्यो उचाइलाई?
भुरेटाकुरे राजाहरूका समयका कुरा। यो कोटमा राजाको दरबार थियो रे। पछि परस घर्ती क्षेत्रीले हमला गरी यो राज्य कब्जा गरेको भन्ने सुन्न पाइयो, सिद्धिमान जिसीबाट। त्यही समयको भनेर कोटमा सुरक्षित राखिएका केही हतियार अझै देख्न सकिन्छ।
त्यो भव्य थुम्कोबाट फर्किने क्रममा ढाँडमा रोकियौ हामी, केही बेर। ढाँड अर्थात् ढुङ्गैढुङ्गाले भरिएको ठाउँ। अनेक आकार र आकृतिका ढुङ्गाहरू। ‘रक गार्डेन’ भन्ने गरिन्छ अचेल यस्ता ठाउँलाई। प्रकृतिका सिर्जना न हुन्। कहिलेकाहीँ यस्ता फरक पृष्ठ पढेर पनि त रमाउन सकिन्छ।
ओखरकोटबाट ओर्लियौँ मच्छीमा नै। खाना खाउन्जेल मात्र रोकियौँ त्यहाँ। त्यसै दिन पुग्नु थियो खलङ्गा। मच्छीबाट बिदा भई त्यतै लागियो। लगभग डेढ घण्टाको बसको यात्रा।
हामी प्युठानको सदरमुकाम खलङ्गा पुग्दा दिउँसोको ४ बजिसकेको थियो। जिल्ला समन्वय समिति, प्युठानका प्रमुख धर्मबहादुर जिसीलगायत केही खलङ्गाबासीबाट त्यहाँ पुगेका हामी सबैलाई स्वागत गरियो।
पन्चैबाजा र लाखेनाच। रमाइला गीत र र नृत्य। खलङ्गाको कार्यक्रममा स्थानीयले सक्दो सांस्कृतिक रङ र रौनक देखाए। पाहुना बनेर पुगेकाहरूको प्रस्तुति त छँदै थियो।
दिन ढल्किसकेको थियो कार्यक्रम सकिँदा। कहाँ जान भ्याइनु अन्त? त्यस रात खलङ्गाकै होटेलमा बिताइयो।
खलङ्गा पुग्नु र मल्लरानी नघुमी फर्किनु! के यो सुहाउने कुरा हो र? अहँ, होइन। भोलिपल्ट बिहान सबेरै उठियो। नउठेकालाई उठाइयो। सुर कसिसकेपछि केको बियाँलो? फटाफट अघि सारिहाल्यौँ पाइलाहरू।
जनश्रुतिमा बाँचेकी पात्र, मल्लरानी। प्राचीन समयमा उनकै दरबार रहेको रमणीय थुम्को छ, खलङ्गामाथितिर। उकालो लाग्दै गयौं हामी। अहिले यो ठाउँ मल्लरानी डाँडोका नामले चिनिन्छ। त्यही डाँडाको टुप्पोलाई ताकेर हामी हिँड्दै गयौँ।
खलङ्गाबाट करिब ४० मिनेटको हिँडाइपछि पुगियो, थुम्काथुक्कीकी रानीजस्तै मल्लरानीमा। नामजस्तै सुन्दर ठाम। प्युठानको एउटा पर्यटकीय गन्तव्यको चिनारी बनाएको छ यो थुम्कोले पनि।
टुप्पातिर केही समतल भाग पनि रहेछन्, सानासाना घाँसे मैदानजस्ता। यहाँबाट धेरै डाँडाकाँडा र बेसीका भूभाग मज्जाले देखिँदो रहेछ। स्वच्छ, शान्त र शीतल परिवेश। सिर्रसिर्र बहने हावा। बिहानै यहाँ डुल्दा र दृश्यावलोकन गर्दा मनमा आनन्दको आभास भयो।
मल्लरानी नजिकैको एउटा गाउँ मरन्ठाना। साहित्यकार भावेश भुमरीको गाउँ। हामीलाई प्युठान घुम्न मेलोमेसो मिलाउने आयोजकमध्येकै एक सदस्य पनि हुन्, उनी। आफू जन्मीहुर्केको गाउँ कसलाई पो प्यारो नलाग्ला र?
घरगाउँ देखाउन र बिहानको खाजा आफ्नै घरमा खुवाउन चाहे उनले। त्यसको लागि उनी हामीभन्दा पहिल्यै पुगेर तयारी गरिसकेका रहेछन्। भोक लागेको बेला खिर नै खाजा। यो त गज्जब कुरा भएन र? थपीथपी खाइयो खिर र तरकारी।
पहाडको माथितिर भए पनि समतल परेका केही भूभाग। उर्वर र हराभरा उस्तै। मान्छेका मनलाई उज्यालो बनाउन अघिल्तिर मुस्कुराइ बस्ने हिमाल। रमाइलो लाग्यो मरन्ठनाको परिवेश।
केही समय भुमरीको घरको पारिवारिक आत्मीयतामा रमाएपछि हामी झर्यौँ खलङ्गा। बाग्दुलामा आयोजित हुँदै थियो अन्तिम दिनको कार्यक्रम। त्यहाँ सहभागिता जनाएर त्यसै दिन काठमाडौँ फर्किने योजना हाम्रो। विलम्ब गर्ने कुरै भएन। सिधैं लागियो बाग्दुलातिर।
प्युठानको एक व्यापारिक केन्द्र बाग्दुला। व्यापारिक चहलपहलमै व्यस्त देखिनु उसको विशेषता। बजार नजिकैको एक विद्यालयको प्राङ्गण भने फरक रौनकमा रम्दै थियो, त्यस दिन। नितान्त कवितामय, सङ्गीतमय र नृत्यमय। उल्लास र आकर्षण नै अर्कै।
कलासाहित्यका पारखीहरू जम्मा भएका थिए, ठाउँठाउँबाट। त्यहाँ जिल्लास्तरीय कविता प्रतियोगिता पनि हुँदै थियो। प्युठानी प्रतिभाहरू कस्सिएका थिए कविताका रङ र रस पस्कन।
कार्यक्रम सकिने बित्तिकै एक निम्तालुको नाताले विनयी भावमा मैले हात जोडेर भनेँ- ‘यस पटकलाई बिदा पाउँ प्युठान!’
रमाइलो अनुभूतिको पोको बोकेर म काठमाडौँ फर्किएँ, रात्रिबसमा सर्र...सर्र...।