पाङबोचेको निदाइ पनि राम्रो भयो। यो रात भने हामीलाई अलि जाडो महसुस भएको थियो। ६ बजे ब्युँझियौं। नियमित शौच, सरसफाइ, प्रणायाम र नास्ता लियौं।
आजको यात्रा आजसम्मको यात्रामध्ये लामो थियो। हिजो रातीको योजना अनुसार हामी पाङबोचेबाट थुक्लासम्म ११ किलोमिटर हिँड्ने तयारीमा थियौं। मौसम खुलेको थियो। मैले होटलको साहुजीलाई आमाडब्लमको साथ फोटो खिचिदिन आग्रह गरें।
होटलको आँगन अगाडि चुम्बन गर्न सकिने गरी आमाडब्लम उभिएको थियो। फोटो खिचेर बिहानको आठ बजे सुरू भयो पाँचौं दिनको थुक्लासम्मको यात्रा।
यहाँबाट आमाडब्लम बेस क्याम्पको यात्रा लगभग तीन किलोमिटर छ। साधारणतय पदमार्गीहरूको लागि २ घन्टाको बाटो रहेछ आमाडब्लम बेस क्याम्प।
तेङबुचे हुँदै इबिसी पदमार्ग, पाङबुचेबाट इबिसी जाने पदमार्गी र आमाडब्लम बेस क्याम्पबाट आउने पदमार्गीहरूको इम्जाखोलाको भिर संगम रहेछ। आमाडब्लम बेस क्याम्पमा जान यही इम्जाखोला तरेर पारी जानुपर्ने र इविसीमार्ग जाने वारिवारि यही खोलाको माथि-माथि इम्जाखोलाको सुसेलीसँगै अगाडि बढ्ने रहेछ।
यही संगममा पुगेपछि पहिलोपल्ट हामीले इबिसीमार्गमा अलमलियौं। केही साथीहरूले हामीलाई गाइड राख्न यसकारण पनि सुझाएका रहेछन् तर हामीले गाइड राखेका थिएनौं। जुनबाटोमा धेरै पदमार्गीहरू हिँडेका छन् त्यही बाटो इबिसीमार्ग मानेर हिँड्ने गरेका थियौं।
मैले एक जना भाइ हतारमा ओरालो नलागेर तेस्रो बाटो हिँडेको देखें र तुरून्तै दगुरेर उनलाई भेट्न खोजें। मैले कुदेको र त्यो भाइले हिँडेको भाइले नै जितिरहेका थिए। जसोतसो भाइलाई टाढैबाट बोलाएर रोकें र इबिसीमार्गबारे सोधें।
इबिसीमार्ग त यही रहेछ। धेरै पदमार्गी देखेका त्यो बाटो त आमाडब्लम बेस क्याम्पको बाटो रहेछ। म फेरि दगुर्दै फर्कें र मातृका जीलाई रोकें। अन्तत: हामी इबिसीमार्गलाई समाउन सफल भयौं।
हामी झण्डै २ घन्टामा सोमरे पुग्न सफल भयौं। पाङबुचेपछि बस्ती भएको, केही लज र राम्रो रेष्टुरेन्टहरू भएको सानो गाउँ रहेछ सोमरे।
सोमरेमा हामीले केहीबेर आराम गर्ने सोच बनायौं। रेष्टुरेन्टकी बैनीले सानो थर्मसको एक थर्मस तातोपानी र एक चिया व्याग माथि हालेर हाम्रो अगाडि राखिदिनु भयो।
फोटो खिच्दा खिच्दा मेरो मोबाइलको चार्ज रातो भइसकेको थियो। मैले रेष्टुरेष्टको बहिनीलाई मोबाइल चार्जको लागि अनुरोध गरें।
‘दाजु घाम नलागेसम्म यहाँ चार्ज हुँदैन नि। दिनभरीको चार्ज त्यही दिनको साँझलाई पनि पुग्दैन,’ उहाँको निरास जडित मुहारको उत्तरबाट प्रष्ट देखिन्थ्यो खुम्बु क्षेत्रमा विद्युतको समस्या कति विकराल छ भनेर।
यो यात्रा विवरण लेखिरहँदा (भाद्र १८, २०७१) म समाचार सुन्दै थिएँ अथमन्त्री जनार्दन शर्मा ‘आउँदो एक वर्षभित्र नेपालीहरूको सबै घरमा बत्ती बल्ने छ’ भाषण गर्दै थिए।
अपत्यारिला विकासका नारा जुन देशको आर्थिक तथा सामाजिक परिस्थितिमा सम्भव छैन हामी अजिव र निर्जीव प्राणीजस्तो सुन्ने, ताली पड्काउने अनि सपनामा रमाउने बानीले नेपालको राजनीतिको विरासत चलिरहेको छ। देश झन् गरिब हुँदैछ।
हामी आधा घन्टाको सोमरेको आरामपश्चात् याकको बथानलाई थिचोल्दै अघि बढ्यौं। नाम्चेभन्दा माथि भने खच्चडलाई प्रवेश निषेध रहेछ। नाम्चेसम्म खच्चड र नाम्चेबाट भने याकलाई ढुवानीको साधन बनाइएको रहेछ। यसबारे हामीले एक स्थानीय खच्चडको मालिकलाई सोधेका थियौं।
यहाँ पनि सिन्डिकेट रहेछ खच्चड र याकको। खुम्बु क्षेत्रको यो पदमार्गमा झण्डै आधा-आधा खच्चड र याकलाई भाग गरिएको रहेछ।
हामी पाङबुचेबाट झण्डै १.५ किलोमिटरको यात्रामा पर्ने ४१४० मिटर उचाइमा रहेको चुराबाट दोस्रोपटक इबिसी पदमार्गलाई बाईबाई गर्दै फिरिचेतर्फ अगाडि बढ्यौं। इबिसी पदमार्गलाई पछ्याउनेहरू पाङबुचेबाट दिङबोचेमा बास बस्दछन्।
पाङबुचेबाट दिङबुचेको यात्रा लगभग ८ किलोमिटर छ। दिङबुचेबाट थुक्लाको यात्रा पनि झण्डै ९ किलोमिटर छ। हामीले यो यात्रामा दिङबुचेलाई भने छोड्ने पक्का भयो।
हामी फिरिचेतर्फ उकालो लाग्यौं। पाङबुचेबाट फिरिचेको यात्रा लगभग ७ किलोमिटर थियो। फिरिचेभन्दा पहिला त्यस्तो कुनै खानपिन बस्ने सुविधाको बजार भने रहेनछ यसकारण पनि हामी फिरिचेमा दिउँसोको खाना लिने योजनामा थियौं।
पाङबुचेबाट मातृका जी अलिबढी तनावमा जस्तो देखिनु भएको मैले महसुस गरेको थिएँ। उहाँलाई पटक पटक घरबाट फोन आइरहेको थियो। फोनमा कुरा गर्दा मभन्दा टाढा जाँदै कुरा गर्नु हुन्थ्यो।
उचाइको यात्रा उहाँको पहिलो पटक थियो। मेरो योजना भने उहाँलाई अक्लामाइजेसन गर्दैै अगाडि बढाउने थियो तर उहाँले अलि बढी नै हतार गरेको महसुस हुन्थ्यो। मैले समय समयमा कुनै समस्या पो परेको हो कि भनेर सोध्ने गरेको थिएँ र सबै ठिक भएको सुनाउनु हुन्थ्यो।
हामी विस्तारै ठूला मैदान, चौरी र याकको ठूला चरण क्षेत्र हुँदै अगाडि बढिरहेका थियौं। साथमा खुम्बुत्से, पुमोरी, आमाडब्लमलगायत हिउँले ढाकिएका सुन्दर हिमालहरूको दृश्यस्वदनले हिँडाइको थकाइ बिर्सन सहयोग गर्दथ्यो।
बिस्तारै यात्रामा हावाको गति बढ्दै गएको महसुस भएको थियो। पहिलो ४ दिनको यात्रामा भन्दा हामीले कान छोप्ने, छातीलाई तातो बनाउने र टाउको समेतलाई चिसो हावाबाट बचाउन थप कपडा प्रयोग गरेका थियौं।
दुई घन्टामा हामी फेरिचे प्रवेश गर्यौं।
फेरिचे खुम्बु क्षेत्रको एउटा सानो गाउँ हो। यो सानो गाउँ ४३७१ मिटरको उचाइमा त्सोला नदीमाथि अवस्थित छ। त्सोला नदी फेरिचेको तलबाट बग्दै इम्जा खोलातिर बग्छ भने इम्जा खोला भने पाङबुचेमा दुधकोशीमा गएर मिसिन्छ।
मुख्यतयाः आलु र गहुँको खेती हुने, याक पाल्ने र याकबाट बनेका परिकारहरूको यहाँको विशेषता हो। तर हिजोआज याक पाल्ने, खेती गर्नेभन्दा पनि मुख्यतय यहाँका पुरूषहरू पदयात्रीहरूको गाइड र भरियाको रूपमा काम गर्ने र रेष्टुरेन्ट तथा लजहरू सञ्चालन गर्दा रहेछन्। यसरी आम्दानीको स्रोत खेती किसानबाट पर्यटन व्यवसायमा सरेको रहेछ।
हिमालयन उद्दार संघले सञ्चालन गरेको खुम्बु क्षेत्रमा पदयात्रीहरूलाई लेक लाग्दा अथवा दुर्घटना हुँदा उपचार गर्ने एक मात्र प्राथमिक अस्पताल फेरिचेमा रहेछ। यो अस्पताल जापानीहरूको सहयोगमा १९७५ मा निर्माण गरिएको रहेछ।
फेरिचेमा दुई हेलिप्याड बनाइएको रहेछ। बिरामीहरूलाई प्राथमिक उपचार गर्न ओराल्ने र प्राथमिक उपचारपश्चात उपचारको लागि काठमाडौं लैजान पनि यहीँबाट उडान गर्ने हुदाँ यहाँको आकाश हेलिकप्टरले अति नै व्यस्त हुने रहेछ।
जब हामी फेरिचे प्रवेश गर्यौ मातृका जीले आश्चर्यको साथ ‘यहाँ त एयरपोर्ट पो रहेछ। हेलिकप्टरहरू उडेको उडैछन्।’
मलाई पनि त्यस्तै लाग्यो तर पछि थाहा भयो सबै हेलिकप्टरहरू यहाँ विशेष गरेर लेक लागेका र हिमाल चढ्दा दुर्घटनामा परेका बिरामीहरूलाई बोकेर आउने रहेछ। यहाँको अस्पतालमा काम गर्ने चिकित्सकहरू स्वयंसेवी रहेछन् उनीहरू प्रायः अमेरिका, युरोप, क्यानडा र अष्ट्रेलियाबाट आउँदा रहेछन्।
अर्को महत्वपूर्ण पक्ष भनेको प्रत्येक दिनको ३:३० बजे यस अस्पतालमा लेक लाग्दाको लक्षण र प्राथमिक उपचार विधी सम्बन्धमा कक्षा नै सञ्चालन हुनेरहेछ। तपाईंहरू पनि फेरिचेमा रहँदा अवश्य पनि कक्षामा सहभागी हुनुहोला।
इबिसी मार्गमा दिङबुचेलाई ट्रेकिङ सञ्चालकहरूले अक्लामाइजेसनको लागि रोज्ने गरेता पनि फेरिचेलाई राम्रो मानिँदो रहेछ।
फेरिचेको यो मार्गबाट आउँदा एक दिन छिटो हुँदा पनि खुम्बु क्षेत्रको सबभन्दा पुरानो विश्व प्रख्यात तेङबुचे गुम्बाको भ्रमण छुट्ने भएकोले होला फेरिचे भन्दा दिङबुचेलाई रोजेको।
दिङबुचेबाट झण्डै १०० मिटर होचो फेरिचेमा बस्ने पदयात्रीहरूले अक्लामाइजेनको लागि नाङ्कार्तशाङ चुचुरो जहाँबाट अदभुत दृश्यवलोकन गर्न सकिन्छ अथवा चुकुङ ट्रेल पनि जान सकिन्छ। यो यात्रा झण्डै २ देखि ३ घन्टाको हुनेछ।
कफीको सौखिन मेरो लागि फेरिचे अर्को यादगार भयो।
४३७१ मिटरको उचाइमा हिमालयन जाभाको आउटलेट नै रहेछ। यात्राको पाचौं दिनमा मेसिनबाट बनाएको अमेरिकानो पिउन पाएकोमा आनन्द आयो।
उक्त रेष्टुरेण्टको सनरूममा बसेर अमेरिकानो र थुक्पा लिँइै वाईफाई चलाउँदाको क्षण जीवनभरिको हामी दुबैलाई यादगार रहनेछ।
यही सनरूममा असी वर्षीय हेनरी नामका स्वीस नागरिकसँग पनि कुरा गर्ने अवसर मिल्यो। हेनरी प्रत्येक बर्ष नेपाल आउने गरेको ३० वर्ष भएछ। उनीसँग गाइड पनि थिए। धेरैचोटि इबिसीको यात्रा गरेका हेनरी जवानीमा एक्लै हिँड्थे रे। उमेरको कारणले गर्दा साथीको रूपमा गाइड लिएका रहेछन्।
हेनरीको फेरिचेको बसाइ २ दिन भएछ। उनले थुक्लाभन्दा माथि उक्लन नसक्दा आज नाम्चेतिर फर्कने योजना सुनाउँदै थिए।
मेरो उनलाई अर्को प्रश्न थियो ‘तपाईंले पहिलो चोटिको यात्रा र आजको यात्रामा के फरक पाउनु भयो?’
उनी चिन्तित हुँदै हामीसँग कुरा गर्न थाल्नु भयो। मुख्यतय उनको पदमार्ग मासिँदै गएकोमा गुनासो थियो। अर्को स्थानीय खाना सबै मासिएको, स्थानीयहरूले खेती तथा पुरानो याक तथा चौरीपालन छोडेकोमा थियो।
उनको भनाइ थियो ‘मौलिकता गुमेपछि राष्ट्रियता गुम्छ अनि विस्तारै देशको चिनारी हराउँछ’ उनको आशय यस्तो थियो।
‘पहिला-पहिला यहाँको स्थानीय उत्पादनबाट उत्पादित वस्तुहरूबाट बनेको परिकार खान पाइन्थ्यो। पहिला पाउरोटी खोज्नु पर्दथ्यो तर अहिले यहाँको आलु, गहु, उवाहरू खोज्नुपर्ने भयो।’
हुन पनि नेपालमा आउने असी प्रतिशत पर्यटकहरू पदमार्गको लागि आउने गर्दछन्। हामीले हाम्रो मौलिक पदमार्ग, मौलिक खनापान, संस्कृति गुमाउने हो भने कोही पनि पदमार्गीहरूले दोहोर्याउने छैनन्।
हुन त यो हाम्रो पनि पहिलो यात्रा थियो। हामीले नि महसुस गरेका थियौं। पटकपटक प्रत्येक ठाउँमा हामीले स्थानीय परिकारहरूबारे सोधपुछ गर्दा उहाँहरू अचम्म मानेर हाँसेको मात्र भेटेका छौं।
झण्डै एक घन्टाको लामो बसाइ पश्चात हामी थुक्लातिर उक्लियौं। हामीले फेरिचेबाट थुक्ला ढिलोमा ४ बजे पुग्ने योजनाका साथ लम्कियौं।
फेरिचेको त्यो चौरीको चरनको मैदान, मनोरम फेरिचे उपत्यकाको आँखामा कैद गर्दै थुक्लाको खहरे खोला जसलाई थुक्लाको झरना भनिँदो रहेछ पार गर्दै थुक्लामा ३ बजे पाइला टेक्न सफल भयौं।
हामीलाई टासी जीले याक लजमा बस्न सिफारिस गर्नु भएको थियो। मैले याक लजमा रुमको लागि कुरा गरें तर उहाँले पूरै भरिएकोले व्यवस्था नहुने भयो। हामी यो भन्दा उचाइमा जान तयार थिएनौं हुन त हामीलाई लुबुचे पुग्न सक्ने समय नभएको होइन।
मैले टासी जीले पठाउनु भएको र हामी लिटल शेर्पा फाउण्डेसनमा काम गर्ने कुरा भनें।
‘उहाँले चिया पिउनुहोस्, थकाइ मार्नुस् मलाई केही समय दिनु’ भन्दै चियाको लागि अर्डर दिएर हराउनु भयो।
चिया नसकिँदै ‘मैले भरियाहरू बस्ने रूमको व्यवस्था गरेको छु। राम्रो छैन। पाहुनालाई कोठाबाट हटाउन सक्दिनँ सर। भरियाहरूलाई भने यही बाहिर कतै सुताउला। हुन्छ भने रूममा जानु होला।’
हामीले पल्टने ठाउँ खोजेका थियौं। आजसम्मको लामो यात्राले होला हामी लोबुचे उक्लने सक्ने अवस्थामा थिएनौं।
‘हस, धन्यवाद सर।’ उहाँको हातको चाबी बोकेर रूमतिर गयौं।
कोठा ढुसीले गनाएको, अति चिसो, सरसफाइ नभएको, ढोकामा लक, कोठामा बत्ती केही थिएन। पछि थाहा भयो भरियाहरू बस्ने सबै कोठाहरूमा उचित सरसफाइ समेत हुने रहेनछ। हाम्रो कुनै विकल्प थिएन। हामीले कोठामा झोला फाल्यौं। एकछिन पल्टने कोसिस गर्यौं तर सकेनौं र होटलको लबीमा गयौं।
मैले एकछिन लबीमा बसेर यात्राको केही महत्वपूर्ण ठाउँ र बाटोमा भेटिएका मानिसहरूसँग भएका संवाद टिपें। जम्माजम्मी ४ बज्यो। अझ समय थियो। मैले अक्लामाइजेसनको लागि कहीँकतै विशेष ठाउँ भए जाने विचारले साहुजीसँग कुरा गरें। उहाँले एक घन्टाको दुरीमा ताल भएको तालको अवलोकन गर्न सकिने सल्लाह दिनुभयो। हामी तालको अवलोकनतिर अगाडि बढ्यौं।
हामी हिँडेको झण्डै आधा घन्टापछि बादलले विस्तारै आकाश ढाक्न थाल्यो। झाडीले भरिएको र मान्छेहरूको आवतजावत नभएकोले अनुमानको भरमा बाटो पहिल्याउनु पर्ने। मातृका जीको अनुहार हेर्दा अलि डराएको महसुस भयो तर म जसरी पनि पुग्ने लक्ष्यको साथ अगाडि बढें।
उहाँ ताल भेटिँदैन अब फर्कियौं भन्दै हुनुहुन्थ्यो। मैले जबर्जस्ती नै उहाँलाई अगाडि बढाएँ। तर पछि झाडी र बुट्यानले गर्दा मलाई छोड्नु भएछ। मैले सोचे उहाँ आउँदै हुनुहोला।
मातृका जीलाई नदेखे पछि मलाई पनि डर लाग्यो। झण्डै ३० मिनेटको हिँडाइपश्चात् मैले ताल देखें र तालको छेउमा पुग्ने कोसिस गरें तर मातृका जीलाई लामो समय नदेखेकोले मनमा डर लागिरहेको थियो। एक्कासि तालको साइडमा ढुंगा खस्न थाले। ढुङ्गा खसेको आवाजले मेरो मुटु नै हल्लियो। अति नै डर लाग्यो।
कालो बादलसहित पानी पर्लाजस्तो गरेर मेघ गर्जन थालेपछि म एक सासमा पुरानो बाटोतिर फर्किएँ। मातृका जी डराएर फर्किसक्नुभएको रहेछ। उहाँले मलाई मोबाइलमा सम्पर्क गर्न खोज्नु भएको रहेछ तर मोबाइलको टावर नै थिएन। ४५ मिनेटको आरालो बाटो फर्कंदा उकालो हुँदा पनि २० मिनेटमा थिचोल्दै मातृका जीलाई होटल नजिकै भेट्न पुगें।
उहाँ आत्तिएर तपाईं झण्डै हराउनु भएन भन्दै कराउन थाल्नुभयो। हामी होटलमा पुग्नासाथ पानी पनि पर्न थाल्यो। हामी दुबै एक अर्कोलाई हेर्दै हाँसेर खानको अर्डर गर्यौं। मैले नजिकै पुगेर चोला लेकसँग सेल्फी खिचेको फोटो देखाउन थालें।
क्रमश:
(मनोज कँडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)