यात्राको तेस्रो दिन बिहान छ बजे नै ब्युँझिएँ। मातृका जी पनि ब्युँझिनुभयो। नाम्चेमा पनि एककोल्टे नफेरी निदाएँ। तर मातृका जीलाई निद्रा पर्न गाह्रो भएको सुनाउनुभयो।
लेक लाग्दा मुख्यत तीन वटा लक्षण देखिन्छ। लक्षण मानिस अनुसार फरक पनि हुन्छ। पहिलो हो, खाना नरूच्नु (भोक नलाग्नु), दोश्रो निद्रा नलाग्नु र तेस्रो टाउको दुख्नु हो। धेरै नै लेक लाग्दा बान्ता समेत हुन्छ।
मैले मातृका जीको बेलाबेलामा स्वास्थ्य अवस्था बुझ्थेँ।
‘बेलुका निद्रा लाग्न अलि गाह्रो भए पनि म हाम्रो मिसनको लागि फ्रेस छु।’ उहाँले उत्साहित हुँदै भन्नुभयो।
नियमित प्रणायम पश्चात नास्तामा उसिनेको अण्डा र चियासँगै चम्पा लियौं। चम्पा लेकको आयुर्वेदिक औषधी जस्तै हो। त्यसैले चम्पालाई मैले यात्रा संस्मरणमा धेरै उल्लेख गरेको छु।
बिहान सवा आठमा फोर्छे तिरको यात्रामा लाग्यौं।
नाम्चेबाट फोर्छेको यात्रा नौ किलोमिटर छ। स्थानियबासीले यो यात्रा तीन घन्टामा पार गर्छन्। तर हामीले छ-सात घण्टामा पुग्ने योजना बनायौं। किनकि हामीलाई हतार थिएन।
याक होटलबाट झण्डै १५ मिनेटमा नाम्चे भन्ज्याङमा पुग्यौं। त्यहाँबाट देब्रे उकालो लागेपछि खुम्जुङ गाउँ जान सकिन्छ। एभरेष्ट भ्यू होटल पनि यहीँ बाटो भएरै जाने हो।
यी दुवै ठाउँ भ्रमण लिष्टमा थिए तर समयले रोकेको थियो। देब्रे पट्टिको बाटोलाई बाइबाई गर्दै एभरेष्ट बेस क्याम्पको मूल मार्गतिर अगाडि बढ्यौं।
नाम्चे त्यस्तो स्टेशन हो जहाँबाट सातदिनमै र २७ दिनमै विभिन्न पदयात्रा, हिमाल आरोहण अनि साना साना पिकहरू चढ्न सकिन्छ। यहाँ सबैभन्दा प्रख्यात र लोकप्रिय पदयात्रामा सगरमाथा बेस क्याम्प पनि पर्छ।
विश्व प्रख्यात इबिसी (एभरेष्ट बेस क्याम्प) पदमार्ग राम्रो छ। दुईतर्फ मानिस र खच्चडहरू हिँड्दा सहज होस् भनेर बाटाहरू व्यवस्थित रूपमा निर्माण गरिएको छ।
डरलाग्दो भिरको बाटो हुँदै अगाडि बढिरहदा आँखा अगाडि नै उभिएको हिमालले मनलाई आनन्दित बनाउँथ्यो। भिरमुनि दूधकोशीको गर्जन प्रकृतिको अर्को अद्भूत छटा थियो।
बिस्तारै गुराँसहरू भेटिन थालेका थिए। तर रूख बिरूवाहरू भने होचो हुँदै गएको भान हुन्थ्यो।
मैले बाटोमा हिँडिरहेका स्थानीयलाई सोधेको थिएँ, ‘भाइ यता तिर डाँफे देख्न पाइँदैन?’
‘पाइछ तर यो वर्ष अति नै कम डाँफेहरू देखिएका छन्।’
‘किन यसरी कम होला भाइ? कतै कोरानाले त होइन नि?’, मैले जिस्काउने मोडमा भनेँ।
‘होइन हौ दाजु, मौसम परिवर्तनको असरले गर्दा भन्छन्। हामी गाउँलेलाई के थाहा र?’
‘तर दाजु बर्सेनि यसरी डाँफेहरू घट्दै जाँदा छिटै डाँफेहरू मासिन्छन् होला। खै कसले सोच्ने?’
हुन पनि हामी मानिसले नै प्रकृतिलाई अतिक्रमण गरिरहेका छौंं। मानवको लागि निर्मित पृथ्वीलाई मानवले नै तहसनहस गर्दैछ। विश्व परिदृश्यमा पनि यस्तो अवस्था देखिन्छ।
सगरमाथा बेस क्याम्पको यात्रामा गाउँका बटुवाले समेत मौसम परिवर्तनबारे चिन्ता जाहेर गरिएको देखियो। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सगरमाथा लगायत कयौं हिमालमा बर्सेनि ०.३ देखि १ प्रतिशतले हिउँ घटिरहेको तथ्याङ्क याद आइरहेको थियो।
हामी मानवले सबै जीवजन्तुलाई मात्र नभई आफैंलाई बस्न अयोग्य पृथ्वी बनाउँदै गइरहेका त छौनौं? सोच्न बेला आइसकेको छ।
खुम्बु भ्यालीको सगरमाथा आरोही, शेर्पा, पोर्टर र गाइडहरूले भरिएको एक गाँउ हो फोर्छे गाउँ। हाम्रो गन्तव्य त्यतैतिर थियो।
गाउँ तल दूधकोशीमा पानी बगेको आवाज सुनिरहँदा मनै आनन्द आइरको थियो। तर त्यही गाउँ पानीको अभावले छटपटाई रहेको थियो।
फोर्छे खुम्बु भ्यालीमा झण्डै ८० घर छन्। उक्त गाउँ खेतीयोग्य मलिलो बाटो भएको गाँउमामध्ये एक पर्दो रहेछ। यो गाउँ समुद्र सतहबाट ३९५० मिटरको उचाइमा अवस्थित छ। यहाँको मुख्य खेती आलु हो। त्यस्तै कोदो, जौ र उवा पनि उत्पादन हुन्छ।
हामी झण्डै एक घन्टामा सोमरे पुग्यौं। थकाइ पनि लागेको थियो। एक थर्मस चिया थियो। त्यहिँ खाएर थकाइ बिसाउने प्रयास गर्यौं।
कोभिडले थिलथिलो भएको बेलामा पदयात्रीहरूको भिडभाड देखिन्थ्यो।
नाम्चेदेखि नै हाम्रो यात्रा अति रोमाञ्चित हुँदै गइरकेको थियो। लेकाली जंगलको यो यात्रामा हिमालसँगको सामिप्यता, खुम्बुको प्राकृतिक सुन्दरताको भरपुर मज्जा लिँदै अगाडि बढिरहेका थियौं। जति अघि बढ्यो उति मनमोहकता थियो।
फोटो र सेल्फी खिचेर कहिल्यै नअघाउने। शरीर थाके पनि मनमस्तिष्क नथाक्ने, अद्भूतपूर्ण यात्राको अनुभव हुँदै थियो।
अर्को एक घन्टाको बीचमा हामीले सानसामा पाइला टेक्यौं। त्यहाँ ती वटा बाटाहरू जोडिने रहेछ। यस ठाँउबाट खुम्जुङ गाउँ जाने बाटो पनि थियो। अथवा नाम्चेबाट खुम्जुङ भएर एभरेष्ट बेस क्याम्पको पदयात्रा मार्ग यहीँ जोडिने रहेछ।
अर्को गोक्यो लेक जाने पदमार्ग र एभरेष्ट बेस क्याम्प जाने मुख्य पदमार्ग पनि यहीँबाट छुटिन्थ्यो। हुन त हिजोआज सगरमाथा बेस क्याम्प जाने पुरानो पदमार्ग बाहेक गोक्यो लेक हुँदै चोलापासबाट र फोर्छे गाउँ हुँदै पनि सगरमाथा बेस क्याम्प जाने पदयात्रीहरू बढिरहेका छन्।
हामी भने सानसाबाट सगरमाथा बेस क्याम्पको मूल पदमार्ग छोडेर गोक्यो लेक पदमार्गको बाटो लाग्यौं। यो पदमार्गलाई ‘गोक्य री ट्रोकिङ रूट’ पनि भनिन्छ ।
सानसाबाट मोङलासम्मको तीन घन्टाको यात्राले हामीलाई अत्याएको थियो। देख्दा तेर्सो देखिने तर उकालो। उकालो जति हिँडे पनि नसकिने थियो।
त्यहीँ होला जस्तो लाग्ने तर एकपछि अर्को खोल्सा पार गर्दा रबरको डोरी तन्केजस्तै तन्किएको तन्कै थियो। यो पदमार्गको हिँडाइ अनौठो थियो। हामी अघि बढ्दै गर्दा जंगलहरू बिस्तारै झाडी हुँदै थिए।
यो यात्रामा गुँराससँगको पहिलो फोटो पनि सानसामा नै खिचेका थियौं। गुराँसले ढाकेको जंगलले थप सुन्दरता थपेको थियो। हामी झण्डै दुई घन्टामा मोङ्ला पुग्यौं।
मोङ्लासम्ममा यात्रामा डाँफेसँग साक्षतकार गर्ने इच्छा पुुरा हुन सकेन। एक-दुई ठाँउमा कालिज जस्तै चरा उडेर भागेको देखेका थियौं। हामीलाई स्थानीयले त्यो नै डाँफे हो भन्दै हुनुहुन्थ्यो तर हामीले दर्शन गर्न पाएनौं।
यो मोङ्ला डाँडो दुधकोशीमाथि अवस्थित झण्डै ३६० डिग्रीमा फोटोहरू लिन सक्ने आमाडम्बल हिमाल त हातैले छुन सकिन्छ जस्तो लाग्थ्यो। त्यति नजिक हिमाल देखेपछि दुई घन्टाको थाकाइ पुरै बिर्सियौं।
दिउँसो एउटा होटलमा झोल थुक्पा अडर गर्यौं र फोटो खिच्न लाग्यौं। देख्दा बसेकै ठाउँबाट लङजम्प गरेर फोर्से गाउँ पुग्न सकिन्छ भनेर लाग्यो। फोर्छे गाँउ र मोङ्ला गाँउको डाँडालाई दुधकोशीले वारिपारि पारेको थियो।
थुक्पासँगै मातृका जीले लोकल छ्याङ पनि चाख्नुभयो। मीठो लाग्यो भन्दै हुनुहुन्थ्यो।
लजको मालिक ‘दाजु कोभिडले १५ लाख घाटा गरायो’ भाडा तिर्न गाह्रो भइरहेको दुःख सुनाउँदै हुनुहुन्थ्यो।
साढे एक बजे दुधकोशी किनारातिर ओरालो लाग्यौं। दुधकोशी पार गरेर ठाडो उकालो लागेपश्चात फोर्छे गाउँ पुगिन्थ्यो। त्यहाँबाट दुई घन्टामा फोर्छे गाउँ पुग्ने लक्ष्य राख्यौं।
यो यात्रामा पदमार्गीलाई दुधकोशीले छाड्दैन नत तपाईंलाई एक्लो महसुश गराउनेछ। दुधकोशीको शुसेलीको एकोहोरो धुनसँगै झोलुङ्गे पुल हल्लाउँदै, लुकामारी ख्ल्दै अघि बढ्दा थकित शरिरमा उर्जा प्रवाह भइहेको अनुभव हुन्छ।
सगरमाथाको दक्षिण भागलाई दुधकोशीको मुहान मानिदो रहेछ। दुध जस्तो सेतो पानी देखिने भएर यसलाई दुधकोशी भनिएको हो। दुधकोशीको संगमस्थल भने सुनकोशी हो।
पानी धेरै चिसो हुनुका साथै पानीको गति धेरै भएकोले नदि बग्दा लगातार चट्टानमा ठोक्किँदा सेतो देखिएपछि दुधकोशी नाम राखिएको रहेछ।
दुधकोशी पुग्दा नपुग्दै यहाँ २/४ वटा घर भएको बस्ति बन्दै थियो। त्यहाँबाट गोक्य लेक जाने र फोर्छे गाउँ जाने बाटो छुट्टिदो रहेछ। गोक्य लेक जाने पदयात्रीले दुधकोशी तर्नु पर्दैन।
यहाँबाट गोक्य लेक पदयात्रा जानेहरूको बास डोलेमा हुन्छ। झण्डै दुई घन्टामा डोले पुग्न सकिने स्थानीयहरूको भनाइ थियो। डोलेमा आर्मीको पोष्ट पनि छ जसले सगरमाथा राष्ट्रिय निकुञ्जको सुरक्षा गर्दछ।
फोर्छेको बाटोलाई ‘गोक्य री ट्रेकिङ ट्रेल’ भनिन्छ हामी त्यतै तिर अघाडि बढ्यौं। यहीँ बटोबाट गोक्य री, एभेरष्ट बेस क्यम्प, आमाडब्लम बेस क्याम्प लगायतका पदयात्राहरू पनि गर्न सकिन्छ।
हामीले तीन बजे फोर्छेमा पाइला टेक्यौं। भोलिको खानेपानी योजना समुदायलाई हन्तान्तरण गर्ने कार्यक्रमका संयोजक टासी जीको लिटल शेर्पा लजमा पुग्नुपर्थ्यो।
गुगलको सहायतामा हिँडरेहका हामीलाई गुगलले पनि बाटो देखाउन सकेन। हामी बीच गाँउ मै अल्मलियौं।
केही समयपछि एक जना बहिनी बाटोमा भेटिइन र उनको सहयोगमा लिटल शेर्पा लजमा पुग्यौं। टासी जी र उहाँको धर्मपत्नी हामीलाई पर्खी बस्नु भएको रहेछ।
उहाँले हामीलाई स्वागत गर्दै कोठाको चाबी दिनुभयो। फ्रेस भएर चिया नास्ताको लागी आउन टासी जीले भन्नुभयो।
शारीरिक रूपमा थकित थियौं। त्यसैले ५ बजेपछि मात्र तल झर्न सक्यौं। चिया लिँदै टासी जीसँग भोलिको कार्यक्रमबारे छलफल गर्यौं।
रोटरी क्बल भाँदगाउँको संस्थापक अध्यक्ष र परियोजना हस्तान्तरणको मुख्य जिम्मेवारी लिएर आएको नाताले पनि भोलिको कार्यक्रमबारे जानकार हुन आवश्यक थियो।
‘भोलि दिदिबहिनीहरूको मात्र उपस्थिति होला जस्तो छ सर’, टासी जीले भोलिको कार्यक्रममा उपस्थितीको अति बढि नै चिन्ता गरेको देखियो।
‘किन र सर के भयो र दिदिबहिनी मात्र ?’ मेरो प्रश्न थियो।
‘यस गाँउबाट ९० जना पुरुषहरु हिमाल आरोहणको लागी विभिन्न काममा गएका छन्। यहाँ तीन महिना काम गरेर एक वर्ष बाँच्नु पर्छ सर। यो मुख्य सिजन हो। त्यही भएर भोलि लगभग दिदिबहिनीको मात्र उपस्थिति हुन्छ।’
‘टाँसी जी पानीको दुःखको बोध दिदिबहिनीले बढि गरेका हुन्छन्। घर हेर्ने तिनै महिला दिदीबहिनी नै त हुन्। पुरूषभन्दा महिलाको उपस्थितीले झन राम्रो भयो। पक्कै पनि उहाँहरू पानीको धारा गाउँभरी झरेको देख्दा खुसी हुनु भएको होला।’
‘धेरै खुशी हुनुहुन्छ’, टासी जीको अनुहारमा पनि खुशी छायो।
‘टासी जी हामी त्यो खुशी हेर्न र साट्न चाहान्छौं। उपस्थितीको बारेमा कुनै पनि चिन्ता नलिनु होला। हामी राजनीतिक पार्टीका नेता होइनौं, ठूलो भिड चाहिने।’
मेरो कुराले उहाँको अनुहारको तनाब कम भयो।
‘हो सर तपाईंले धेरै सही कुरा गर्नुभयो।’
हामीले खाजा भने थुक्पा, चाउमिन नखाने, फोर्छे आलुको लागि प्रख्यात भएको सुनेका थियौं। उसिनेको आलु हरियो खुर्सानीसँग खान आग्रह गर्यौं।
‘सर ल आयो उसिनेको आलु’, टासी जीले उसिनेको आलु राखिदिनुभयो। हामी आलु खानतिर लाग्यौं। बेलुकाको लागि भने चिकेनको सुप र फापरको ढिडो तयार हुँदै थियो।
यो परियोजनालाई सफल बनाउन उपभोक्ता समितिसँग काम गर्ने छिरिङ शेर्पाजी पनि कार्यक्रममा सहभागी हुन आउनु भएको थियो।
टासी जीले हामीलाई परिचय गराउनु भयो। हामीले भोलिको लागि आआफ्नो कार्य विभाजन गर्यौ। अति स्वादिष्ट नेपाली डिनर सँगै लियौं । भोलि बिहान ७ बजे भेट्ने सहमती सहित बिदा भयौं।
हामीलाई निदरी देबीले झक्काई सकेकी थिइन्। हामी सुत्न गयौं।
क्रमश:
यी पनि:
मिसन सगरमाथा बेस क्याम्प–१: जब लुक्ला जाने जहाज छुट्यो!
‘कुइरे पाल्ने ठाउँ भन्नु न भाइ’
मिसन सगरमाथा बेस क्याम्प–३: दिदी उवाको सातु पाइन्छ?
मिसन सगरमाथा बेस क्याम्प-४: यो पुलमुनि हजारौं टोपी होला है! (तस्बिरहरू)
मिसन सगरमाथा बेस क्याम्प–५: सबै सुविधा छ तर आकाशमा तार नै छैन!
(मनोजकुमार कँडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)