जिउ काँपेको थियो।
नाम्चे छिर्ने गेट कलात्मक कलाले भरिपूर्ण थियो। गेटभित्र कलात्मक माने पनि थिए। ती माने घुमाउँदै नाम्चेबजार प्रवेश गरियो। प्रवेश गर्नासाथ पहिलो नजरमै बौद्ध स्तुप, कलकल बगिरहेको झरना र सफा बाटो देखियो।
पहिलो पटक नाम्चे टेक्दै थिएँ। सानो हुँदा नाम्चेबारे पढ्दै गर्दा कोरेका दृश्य झलझली याद आइरहेको थियो। साथीहरूले नाम्चेबारे गरेको व्याख्याभन्दा झन् राम्रो थियो। म त्यस ठाउँलाई स्पर्श गर्न झन् लालाहित थिए।
मैले मातृका जीलाई नाम्चे छिर्नासाथ सोधेँ ‘बत्ती त होला नी नाम्चेमा!’
‘किन नहुनु, सबै सुविधा सम्पन्न बजार हब नि! टोकटोककी दिपा बहिनीले भनेकी होइनन् त! किन तपाईंलाई त्यस्तो लाग्यो हो?’ मातृकाजीको जिज्ञासा थियो।
‘कतै तारहरू देख्दिनँ त। तारबिना बत्ती कसरी हुन्छ र?’
कहीँ कतै आकाशमा तारहरू नझुन्डिएकाले आश्चर्य पर्यौं। होटल र बजारमा बत्ती, टेलिफोन, टिभीका च्यानल, इन्टरनेट सबैका सुविधा थिए तर आकाशमा तारै थिएन।
काठमाडौंमा गुजुमुजु झुण्डिएको तार हेरेर बसेका हामीलाई तार नदेख्दा आश्चर्य हुनु स्वाभाविक नै हो।
विकट भए पनि अति सुन्दर नाम्चेमा सबै तारहरू भूमिगत जोडिएका रहेछन्।
मोन्जोमा पनि तार नभएको त देखेका थियौं। नाम्चेमात्र होइन खुम्बु क्षेत्रको धेरै गाँउहरू ताररहित विकास गरिएको रहेछ।
तर तार रहित गाँउ, सहरको विकासलाई सरकारले व्यापक रूपमा अगाडि नबढाएको भन्ने प्रश्नको उत्तर हामीसँग थिएन। चाहे गर्न सकिन्छ भन्ने राम्रो उत्तर नाम्चेबजार हो।
पहिलो पटक नाम्चे पुग्दा मौसमले साथ नदेला भन्ने डर थियो। तर होटल नपुग्दै घाम लाग्न सुरू भयो। होटलमा पुगी फ्रेस हुनतर्फ लाग्यौं।
रोटरियन तथा रोटरी क्लब भादगाउँका पूर्वअध्यक्ष तुलबहादुर कँडेलको फोन आयो। पहिले पनि नाम्चे पुगिसकेका उनी हामीभन्दा अनुभवी हुनुहुन्थ्यो।
‘नाम्चेको मौसम कस्तो छ’ उहाँको पहिलो प्रश्न थियो।
हामीले अहिले घाम लाग्न थालेको कुरा गर्यौं।
‘नाम्चेमा मौसम खुल्नु, घाम लाग्नु र पूरै डाँडाकाँडा देखिनु भाग्यजस्तै हो’, उनले भने।
हेलिप्याड भएको क्षेत्रबाट पूरै नाम्चे देखिने भएकाले राम्रो फोटो आउने उनले बताए। त्यहाँ छिट्टै गई नाम्चे बजारको मनमोहक दृश्य मन मस्तिष्कमा कैद गर्न र सम्भव भए फेसबुकमा समेत लाइभ गर्न सल्लाह दिनुभयो।
हामीले उहाँको सल्लाह बमोजिम हेलिप्याड भएको ठाँउमा गयौं। त्यहाँ फेसबुकमा लाइभ गरी फोटोहरू खिच्न सफल भयौं।
लाइभमा धेरै साथीहरूले नाम्चे वरिपरिको दृश्यहरू देख्न पाउनुभयो।
नाम्चे बजार ३,४४० मिटर उचाइमा अवस्थित, खुम्बु क्षेत्रको सबैभन्दा लोकप्रिय बजार हो। यो बजार घोडाको नाल आकारको छ।
यहाँबाट पश्चिममा रहेको कोङ्देरी ६,१८७ र पूर्वको थामसेर्कु ६,६०८ मिटरको हिमाललाई नजिकबाट चुम्न सकिन्छ।
लाइभ संगीतसहित रेष्टुरेन्ट, सुविधा सम्पन्न होटलले भरिभराउ नाम्चेमा तीनवटा साना संग्रहालयहरू, एउटा स्तूपा र एउटा मठ पनि रहेछ।
खुम्बु क्षेत्रका सबै गाउँ, बजार तथा सगरमाथाको बेस क्याम्पसम्म नाम्चेबाट समानहरू आपूर्ति गरिँदो रहेछ। त्यसैले नाम्चे बजारलाई खुम्बु क्षेत्रकै व्यापारिक केन्द्र नै मानिन्छ।
नाम्चे बजार नेपालको धेरै उच्च हिमालय आरोहणद्वार पनि हो। हिउँले ढाकेका चुचुराहरूको अद्भूत दृश्यहरू आँखा अगाडि नै उभिने नाम्चे, ट्रेकिङ ट्रेलहरूको संगम पनि हो। यहाँबाट विभिन्न हिमाल प्रवेशको पदमार्ग सुरू हुन्छ।
आधुनिक सञ्चार सुविधाको पहुँचमा हिमालको काख र आधुनिकतामा झुमेको नाम्चे बजारले जो कोहीलाई तानिरहेको हुन्छ।
नाम्चेलाई नियालीरहेका हिमश्रृंखलालाई बादलले बिस्तारै ढाक्न थाले। मौसमले रूप फेर्न थाल्यो। हावाको वेग अत्यधिक बढ्न थाल्यो।
नाम्चेको उकालोले थाकेर होला जिउ काँपिरहेको थियो।
‘मनोज जी पानी पर्ला जस्तो छ’, मातृकाको कुरालाई साथ दिएर याक होटलतिर अगाडि बढ्यौं।
बिस्तारै सबै हिमालहरू बादलको घुम्टोमा छोपिए र पानी पर्न थाल्यो। हामी भने हतारहतार याक होटलमा पुग्यौं।
सगरमाथा बेस क्याम्पको यात्राको लागि नाम्चे स्टेसन एकदमै महत्वपूर्ण स्थल हो। लेक लाग्ने वा नलाग्ने संकेत नाम्चेमा नै पदयात्रीहरूले पाउने गर्छन्।
मैले तिलिचो लेक यात्रा गरिसकेको थिएँ। त्यसैले ढुक्क थिएँ। तर मातृकाजीको यो उचाइको यात्रा पहिलोपटक थियो। त्यसैले उहाँलाई ध्यानपूर्वक हेरिरहेको थिएँ।
भोलि यो यात्राको तेश्रो दिन थियो।
हाम्रो यात्रा फोर्से गाँउसम्मको थियो। चौथो दिन फोर्सेसम्म यात्राको अवस्था हेरी सगरमाथा बेस क्याम्प यात्राको तयारी गर्ने सहमती भएका थियो।
मातृकाजीले केही अप्ठ्यारो जस्तो महसुस भएको सुनाउनुभयो। हेलिप्याड एरियामा फोटो खिच्दा नै अलि बढी थाकेको महसुस भएको थियो।
हामीले लसुनको सुप र दालभातलाई नाम्चेमा रात्रीको भोजन छानेका थियौं। होटलको बाथरूम सहितको कोठा बुक भइसकेको रहेछ।
कोभिड पछिको यो समयमा देश र विदेशी पाहुनाहरूले नाम्चे बजार भरिएको थियो। स्थानीय व्यवसायी पाहुनाले गर्दा उत्साही देखिन्थे। हामीले थाहा पाए अनुसार आजमात्र मोन्जोमा ५ सयभन्दा बढी विदेशी पदयात्री नाम्चे उक्लिएका थिए।
दिनभरीको हिँडाइसँगै निस्केको पसिनाले गर्दा ननुहाई सुत्न सकिएन। हामीले पनि नुहाउनको लागि नाम टिपायौं। एक जनाको तातो पानीले नुहाएको दुई सय रुपैयाँ रहेछ।
नाम्चे बजारको अर्को रौनक नाइट लाइफ पनि हो। त्यसैले नुहाएपछि साँझमा बजार घुम्ने, लाइभ दोहोरी तथा संगीतमा झुमेका रेष्टुरेण्टहरू अवलोकन गर्ने सोच थियो।
तर मातृकाजीले अलि बढी नै थकान र अप्ठ्यारो महसुस गर्नुभएको थियो।
भोलिपल्ट लामो यात्रासँगै खानेपानी परियोजना समुदायमा हस्तान्तरणको पूर्व निर्धारित कार्यक्रम फेर्सेमा पुग्नुपर्थ्यो।
त्यसैले बेस क्याम्पबाट फर्कंदा नाम्चेको साँझमा रमाउने सहमति गर्यौं। खुम्बु क्षेत्रको नाम्चे काठमाडौंको ठमेल रहेछ।
नयाँ मौसम र हावापानीलाई शरीरमा पचाउनको लागि ‘अक्लामाटाइजेसन’ गराइन्छ। यो शरीरलाई नयाँ हावापानीसँग घुलमिल गराउने एक प्रकृया हो। उचाइमा पदयात्रा गर्ने यात्रुहरूको लागि ‘अक्लामाटाइजेसन’ अति नै महत्वपूर्ण पनि हुन्छ।
नाम्चेमा एक दिनको ‘अक्लामाटाइजेसन’ बसाइमा मानिसले आफ्नो रूची अनुसार नाम्चे वरपर विभिन्न क्रियाकलापहरू गर्न सक्छन्।
आध्यात्मिक मानिसले यहाँको प्रख्यात गुम्बा तेङबुचे भ्रमण गर्न सक्छन्। यो यहाँबाट ४-५ घन्टाको पदयात्रा हो।
सगरमाथा बेस क्याम्पको यात्रामा सगरमाथामा देखिने अन्तिम ठाँउ पनि तेङबुचे हो। यो गुम्बा पुरानो ऐतिहासिक गुम्बा भएकाले प्रख्यात पनि रहेको छ।
प्रकृति प्रेमी भने नाम्चेको सिरानमा रहेको एभरेष्ट भ्यू होटलमा पनि जान सक्छन्। यो विश्वकै पहिलो अग्लो ठाँउमा रहेको होटलको रूपमा गिनिज बुकमा नाम लेखाउन सफल छ। त्यहाँ घुम्न जान एक घन्टाको पदयात्रा गर्नुपर्छ।
त्यस्तै खुन्दे पिक भ्यू प्वाइन्ट पनि अर्को गन्तव्य हुन सक्छ। यसको लागि खुम्जुङ गाँउ पुग्नुपर्छ। यो भ्यू प्वाइन्ट खुम्जुङ गाँउबाट १५ मिनेटमा पूग्न सकिन्छ।
एभरेष्ट भ्यू होटल र खुन्दे भ्यू प्वाइन्टबाट ३६० डिग्रीबाट सुन्दर सगरमाथासहित थुप्रै हिमालहरूलाई नजिकबाट चुम्न सकिन्छ।
मुख्यत खुम्बिलाको उत्तरी भाग, चोलस्ते, तेङबुचे, नुप्से, लोस्से, लोस्से सार, पिक ३८, आइल्यान्ड पिक, आमाडब्लम, काङतेगा, थापसेर्पु, कुसुम खाङ्रु हिमालहरूको दुश्य अवलोकन गर्न सकिन्छ।
इतिहास रूचाउनेहरू म्यूजियम पनि जान सक्छन्। खुम्जुङ गाउँ पनि अर्को महत्वपूर्ण गन्तव्य हो। नाम्चे बजारबाट खुम्जुङ गाँउको पदयात्रा आधा दिनको मात्र छ।
खुम्जुङ गाँउ धार्मिकको आफ्नै विशेषता र महत्व रहेको छ। खुम्जुङ खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो बस्ती भएको गाँउ हो। जसलाई खुम्जुङ भ्याली पनि भनिन्छ। यो भ्याली खुम्बु यूला ९ खुम्बीला, ५७६१ मिटर हिमालको काखमा अवस्थित छ।
खुम्बु यूला ९ खुम्बीलाको शाब्दिक अर्थ खुम्बुका देवता हो। शेर्पा समुदायको खुम्बीला पवित्र भागवानरूपी हिमाल हो। जसलाई उनीहरू कुलदेवताको रूपमा पूज्ने गर्छन्। यस गाउँमा सानो गुम्बा पनि छ, जहाँ तपाईं यतिको खोपडीको बारेमा व्याख्या गरेको पाउनुहुनेछ।
यदि शुक्रबार र शनिबार नाम्चेमा बस्ने भाग्य मिलेमा पक्कै पनि यहाँको हाट जान नभुल्नु होला। दशकौं पहिले एक अर्कोले उत्पादन गरेको समान बिक्री गर्ने हाटबजार अब गाँउघरबाट विस्तारै हट्दै गएका छन्।
‘किसानद्वारा उत्पादित समानको बजार निक्कै रमालो हुन्छ’, याक होटलको संचालिका दिदीले सुनाउनुभयो। जुन हेर्ने मौका हामीले पाएनौं।
सोलुखुम्बुको सोलु तल्लो भागबाट मानिसहरूले उत्पादन गरेको तरकारी, आलुलगायत हरियो सागसब्जी तथा घरेलु समानहरू बेच्ने र आफूलाई चाहिने समान किनेर जाने गर्छन्। त्यसैले पनि नाम्चेको यो हाट एकदमै महत्वूर्ण छ।
‘हाटमा याकको धेरै प्रकारको चिज पनि चाँख्न पाइन्छ,’दिदीले फेरि सुनाउनुभयो।
बेलुका सुत्नेबेलामा मातृकाजी तोरीको तेलले खुट्टामा मालिस गर्दै हुनुहुन्थ्यो। यो पटक मैले पनि मातृकाजीलाई साथ दिएँ। हिँडाइले दुखेको खुट्टालाई शुद्ध तोरीको तेलले मालिस गर्दा रातमा निदाउन सहज भएको महशुस गरेँ।
तोरीको तेल लगाई मालिस गर्दा शरिरलाई चिसोबाट जोगाउन सकिन्छ। त्यस्तै अनुहारमा लगाए चिसो हावाबाट जोगाउन पहिलो लेयरको रूपमा मज्जाले काम गर्दो रहेछ।
भोलिको फोर्चेको यात्रा बिहान ८ बजेभन्दा अगाडि गर्ने सल्लाह भयो। हामीले ११ बजे राति यात्राको दोश्रो दिनलाई समेत बिदा गर्यौं।
दोश्रो दिन पनि तोरीको तेलले मालिस गरेपछि नाम्चेको त्यो हिलारी पुलदेखिको लामो उकालोबाट थकित शरिरलाई निदाउन कुनै कसरत नै गर्नु परेन।
क्रमशः
यी पनि:
मिसन सगरमाथा बेस क्याम्प–१: जब लुक्ला जाने जहाज छुट्यो!
‘कुइरे पाल्ने ठाउँ भन्नु न भाइ’
मिसन सगरमाथा बेस क्याम्प–३: दिदी उवाको सातु पाइन्छ?
मिसन सगरमाथा बेस क्याम्प-४: यो पुलमुनि हजारौं टोपी होला है! (तस्बिरहरू)