लुक्लाबाट फाक्दिङको यात्रामा हामी दुईबाट पाँच भयौं। बाटोभरी हाँस्दै, हसाउँदै अनि ती बहिनीहरूले बोक्नु भएको लोकल केरा चाख्दै अगाडि बढिरहँदा हामीलाई बाटो काटेको पत्तै भएन।
विस्तारै मौसमले साथ दिइरहेको थियो। रेनकोट पनि हामीले निकालिसकेका थियौं। चिसो हावाले स्पर्श गरेको महसुस हुन्थ्यो नै।
झण्डै २७ डिग्रीको तातो काठमाडौंबाट १५ डिग्रीको चिसोमा मन्द हावाको गतिसँगै पातलो झरीमा हिँड्दा चिसो महसुस त हुने नै भयो तर हिँडाइसँगै शरीरले फालेको तापक्रमले सबैलाई निस्तेज पारिरहेको थियो।
उहाँहरू लुक्लाबाट नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरेर फर्कनु भएको रहेछ। लुक्लाको स्वास्थ्य चौकी सुविधा सम्पन्न नभएको र विशेषज्ञ डाक्टर पनि नभएकाले शिविरमा विशेषज्ञ डाक्टर आएको थाहा पाएर परीक्षणको लागि आउनु भएको रहेछ।
उहाँहरूको अनुरोधमा घाटमा रहेको ‘लोकल’ पसलमा खाजा खाने कुरामा सहमति भयो। लोकल पसलमा लोकल स्वाद पाउने उनीहरूको भनाइ थियो।
‘बहिनी यहाँको सबै पसलहरू ‘लोकल’ नै होइनन् र?’ मैले जिज्ञासा राखें।
मेरो जिज्ञासा मेटाउँदै ‘लोकल भन्नाले ट्रेकिङमा आउने पर्यटकहरूले नखाने तर स्थानीय बटुवाहरूले खाजा खाने पसललाई हामी लोकल भन्छौं। यस्ता पसल सस्तो नि हुन्छ र स्वाद पनि लोकल नै हुन्छ भाइ।’
हामी उहाँले रोजेको खाजा पसलमा पस्यौं।
खाजा पसलको दिदी पनि हँसिली र रसिली रहिछिन्। उहाँहरूसँग पुरानो परिचय भएकोले पनि होला हामी सहजै पुरानै चिनजानको मानिस जस्तै दिदीसँग गफिन थालिसकेका थियौं।
उहाँहरूले म:म र चाउमिन अर्डर गर्नुभयो।
खाजा पसलमा एक जना भाइ लोकल रक्सी र चट्नीमा मस्त हुनुहुन्थ्यो। कुरा गर्दैगर्दा थाहा भयो उहाँ गाइड हुनुहुँदो रहेछ र उहाँको विदेशी टिम भने फाक्दिङतिर अगाडि बढिसकेको रहेछ। पर्यटक लक्षित पसलमा भन्दा साना भट्टीजस्ता देखिने खाजा घरहरूमा लोकल स्वाद पाउने उनको पनि भनाइ थियो।
साथी मात्रिका ‘कस्तो छ हजुर ?’ उहाँ खाना पिउनमा रमाउने।
‘अच्छा छ चाख्नुहोस्, लोकल उत्पादनकै व्यापार बढाउनु पर्छ। हामीले’ गाइडको कुरालाई स्वीकार गर्यौं।
‘साहुनी एक गिलास तताएर है। अनि साथमा चट्नी पनि’ मात्रिकाले अर्डर दिनुभयो।
‘दाजु तपाईं चाहिँ के लिनुहुन्छ?,’ साहुनीको प्रश्नको जवाफमा ‘म त स्थानीय जे पाउँछ त्यही खाने हो बहिनी। के खुवाउनु हुन्छ?’
उहाँले मुस्कुराउँदै, ‘स्थानीय त के पाउछ र यहाँ? सबै काठमाडौंबाट आउने हो।’
‘केही त होला नि यहाँ कै केही स्पेशल?’
उहाँको जवाफ थियो, ‘यहाँको खेती भनेकै आलु, जौ र उवा हो। अब त कसैले पनि यस्ता कुरा खाँदैनन् भाइ। कि आलु उसिनेर खानुपर्यो।’
‘दिदी उवाको सातु पाइन्छ?’
‘चम्पा भनेको होला तपाईंले अहँ पाइँदैन’
‘१/२ चम्चा नि छैन?’
‘१/२ चम्चामात्र भए त दिन्छु। आफ्नो लागि भनेर बनाएको अलिकति बाँकी होला।’
उहाँले तातो पानीमा चम्पा र याकको घिउ हालेर दिनुभयो। उवालाई भुटेर पिधेर पिठो बनाएको यो पिठोलाई हामी भने सातु भन्ने गर्दछौं। यही सातुलाई यहाँ चम्पा भनिँदोरहेछ।
‘यो चम्पा विशेष रूपमा बालुवामा उवालाई भुटेर बनाएको हो। स्वास्थ्यको लागि धेरै राम्रो छ। बालुवामा नै भुटेर बनाएको चम्पा त किन्न पाइँदैन। तपाईंलाई मात्र चाख्न दिएको हुँ,’ साहुनीको अनुग्रहप्रति म आभारी भएँ र साहुनीलाई धन्यवाद दिएँ।
गहुँगोरी, हिस्सी परेकी साहुनी सधैं हाँसिरहने, चिया सकिनासाथ थपिदिनु हुन्थ्यो। झण्डै मैले तीन गिलास चिया पिएँ हुँला। साथी मात्रिकाले पनि तीन कप नै लोकल पानी पिउनु भयो।
दिपा बहिनीले जर्बजस्ती हामीले खाएको पैसा तिर्नु भयो। थाहा छैन किन र कसरी उहाँहरूसँग हामी २ घन्टा भन्दा कम समयमा यति नजिक भयौं।
सम्बन्ध भन्ने कुरा लेखन्त पनि हुन्छ कि जस्तो अनुभूति भयो। सायद यो पनि समयले दिएको एक सुन्दर उपहार थियो।
फाक्दिङको बाटोभरि भेटिएका ठूला र राम्रा ढुंगाहरू बौद्ध मन्त्रले नकुदिएको भेटिएन। यसरी बौद्ध मन्त्रले कुदिएको ढुंगा खुम्बुयात्राको सुन्दरता थियो।
ठाउँ-ठाउँमा बाटोको बीचमा मानेहरू थिए। गाउँ छिर्ने मूलबाटोमा गेट बनाएको हुने र गेटभित्र माने राखिएका थिए।
गाउँ छिर्ने ढोकाबाट माने घुमाउँदै गाउँ छिर्दा मन शान्त र गम्भीर हुने। मनमा केही नराम्रा विचारहरू खेलेका रहेछन् भने पनि अन्त हुने ।
दया, माया, करूणाबारे सम्झाउने यी मानेहरूले समाजमा एकता, सदभाव र शान्ति कायम गर्न ठूलो भूमिका खेलेको हामीले महशुस गर्यौं।
लुक्ला र फाक्दिङको बीचमा साना गाउँहरू छेप्लुङ, घाट, ठाटो कोशीहरू पर्दथे।
फाक्दिङ गाउँ र आसपासका गाउँहरूमा ठाडो कोशीबाट निकालेको घरेलु हाइड्रो पावरबाट उत्पादित विद्युत वितरण गरिएको रहेछ। विद्युतको राष्ट्रिय प्रसारण लाइनबाट नजोडिएको खुम्बु क्षेत्र कि स्थानीय साना हाइड्रोले कित सोलारको भरमा रहेछन्।
उहाँहरू दुई साखै बहिनीहरू हुनुहुँदो रहेछ। दिदीको फाक्दिङमा होटल अनि बहिनी दिपा मगरको टोकटोकमा। दिपालाई पनि दिदीले नै उदयपुरबाट यता होटल व्यवसायमा लगाउनु भएको रहेछ। उहाँको श्रीमान भने उदयपुरमा बढी बस्नु हुँदो रहेछ।
दिपासँग एक बहिनी थिइन् शशीकला राई उनी खोटाङको रहिछन् तर कामको लागि यहाँ बस्नु भएको रहेछ। शशीकलाको आफ्नै कथा रहेछ। गरिबीको कारण कलेजको पैसा जम्मा गर्नको लागि काम गर्न यहाँ आउनु भएको रहेछ।
शशीकला काठमाडौंमा व्याचलर गर्दै गर्दा दिपा बहिनीसँग भेट भएको रहेछ। काठमाडौंमा कलेजको शुल्क र कोठा भाडा तिर्न नसकेको कुरा उनले दिपा बहिनीलाई सुनाएकी रहिछन् र दिपाकै आग्रहमा उनी काम गर्न आएकी रहिछन्।
शशीकला ‘के गर्नु, उदयपुरमा जन्मेको यस्तो उकालोमा भारी बोकेको थिएन। तपाईंहरू हिँड्नु दाजु म त विस्तारै आउँछु।’
मैले महसुस गरेको थिएँ उनलाई कति गाह्रो भएको होला त्यो भारी बोकेर हिँड्नलाई।
हामी तीन घन्टामा फाक्दिङ पुग्यौं। दिपा बहिनीले ‘तपाईंहरू थाकेको होला फाक्दिङमै बस्नु’ भन्नु भयो।
हामीले दिपा बहिनीको मगर किचेनमा बस्ने निर्णय गर्यौं र टोकटोकतिर अगाडि बढ्यौं। टोकटोक फाक्दिङबाट एक घन्टामाथि छ।
त्यो दिन दिपा बहिनीको मगर किचेनमा कोही पाहुना थिएनन्। उहाँहरू होटल नै बन्द गरेर आउनु भएको रहेछ।
भोलिको नाम्चेको बाटो नि छोटो हुने भिडभाड बिना पारिवारिक वातावरणमा उहाँको हातको मिठो मसिनो खान पाउने कल्पनामा हामी सहजै साँझ ७ बजे टोकटोकको मगर किचेनमा पुग्यौं।
भारी बनेको सानो झोला फालेर सुस्केरा हाल्यौं। थकाइको बीच आराम गर्न पाउँदाको आनन्दको कसरी व्याख्या गर्न सकिन्छ र! हुन त हाम्रो झोला १२/१३ किलोको मात्र थियो तर लगातारको उकाली ओराली
हिँडाइबाट थाक्दा भने ५० किलोझैं भारी लाग्ने।
मगर किचेनमा हामी दुई जनामात्र पाहुना थियौं। त्यो चार घन्टामै हामी परिवारकै सदस्य बनिसकेका थियौं। साथीले नुन, तातो पानीले खुट्टा डुबाउने चाहना राख्नुभयो।
दिपा बहिनीले तुरून्तै व्यवस्था गर्नु भयो मैले पनि तातो तातो नुनपानीमा खुट्टा डुबाएँ र दुखेको खुट्टालाई भोलिको खतरनाक उकालोको लागि तयार पारें।
मगर किचेन हाम्रो होटल रहेन। हाम्रो घर बनेको थियो। हामीलाई पूरै घर खुला थियो।
उहाँहरू पनि हामीसँगै हिँड्नु भएको पक्कै थकित हुनुहुन्थ्यो नै। झन् खोटाङकी राई बहिनी त अति नै थाक्नु भएको थियो। उहाँहरू पनि हामीसँगै आएको हामीलाई नुनपानी चाहिएको थियो भने उहाँहरू नियमित काममा लागि सक्नु भएको थियो।
‘तपाईंहरू नि थाक्नु भएको हुनुहुन्छ, हामीले गर्दा अति दु:ख भयो नि।’
‘भाइ यो हाम्रो नियमित कर्म हो। कर्म गर्नु नै धर्म हो। तपाईंहरू त हाम्रो पाहुना पो हो त।’
उहाँको कुराले आनन्द लाग्यो पनि। मैले धेरै प्रकारको परिकार नबनाउनु होला है बहिनीलाई अनुरोध गरें।
हामीले अल्कोहल आज बिट मार्ने बाचा गरेका थियौं। उचाइमा बस्ने बानी नभएको व्यक्तिहरूले अल्कोहल लिनु राम्रो थिएन। यही समझदारीबीच हामीले १/२ प्याक खुकुरी रम, मह र तातो पानी लियौं। दिपा बहिनीले अति स्वादिलो मासु र चटनी बनाएर दिनुभयो।
‘बहिनीहरू पनि खानु है। अब पैसा तिर्ने पालो हाम्रो हो नि।’
‘हुन्छ नि भाइ। हामी त खाइहाल्छौं नि।’ दिपा बहिनीको बोली नै सुन्दा आनन्द आउने। ढिलो ढिलो विस्तारै बोल्दा सुर्नौ सुनौं लाग्ने।
‘ल है भाइहरू आजको थकाइ, भोली बिहानै नाम्चेको उकालो थिचोल्नु पर्छ। खाना पाक्यो। खाएर सुत्नु पर्छ।’ हामीले पनि उहाँको सल्लाह स्वीकार गर्यौं।
हामी छक्क थियौं उनले पस्केको खानाको परिकार देखेर। दुई दुई थरी अचार, दुई दुई थरी तरकारी, दाल, कुखुराको मासु। बास्नाले नै खाऊँखाऊँ लागिरहेको थियो।
धनियाँ, साग, मूला उहाँले त्यहीँ उमार्नु हुँदोरहेछ। दिपा बहिनी मेहनती भएको स्वाभाविक रूपमा देखिन्थ्यो। उनले नै उमारेको लोकलसँग टिप्दै पकाएका देखेका थियौं। चिकेनको सुपसहितको दालभात हामीले थपीथपी खायौं।
‘होइन दिदी यति धेरै परिकार किन पकाउनु भएको तपाईंलाई नै घाटा हामीले थपीथपी खाँदा’ मेरो कुराले मुस्कुराउँदै ‘पाहुनाहरूले जति धेरै खान्छन् हामीलाई त्यति धेरै खुसी लाग्छ नि भाइ’ भन्दै नाइँभन्दा पनि खाना थपिदिनुभयो।
हामी सबै नै थाकेको र रातको १० बजिसकेको थियो। निद्राले हामीलाई झम्टिरहेको थियो। तातो पानी र गिलाससहित हामी कोठातिर लाग्यौं। निदाउन हामीलाई ओछ्यानमा उल्टीपाल्टी गर्नु परेन।
क्रमशः
यो पनि:
मिसन सगरमाथा बेस क्याम्प–१: जब लुक्ला जाने जहाज छुट्यो!
‘कुइरे पाल्ने ठाउँ भन्नु न भाइ’