अमेरिका डायरी-६
कार्यक्रम सकिएपछि सबै जना आ–आफ्नो बाटो लाग्नु नै थियो, लागे। म पनि ट्याक्सी लिएर होटल लोसबाट निस्केँ। एक्लै।
नाइजेरियन मूलका ट्याक्सी ड्राइभरले अमेरिका बस्न लायक ठाउँ भएको बताए। हुन पनि अमेरिकाले धेरैलाई आफ्नो बनाएको छ र धेरैले अमेरिकालाई आफ्नै मानेका छन्।
मेरो लघु अनुसन्धानको मर्म पनि यही थियो कि सबैको कर्म र लगनको कुल योगदान हो अमेरिका। र, विकसित अमेरिकाका चार खम्बा हुन्- फ्रिडम, सिस्टम, भ्वइसेज एन्ड च्वाइसेज।
योभन्दा धेरै बुझ्न मैले अझै फराकिलो र गहिरो अध्ययन गर्नुपर्थ्यो।
मायामी विमानस्थलमा मसँग पर्याप्त समय थियो। पानी खाँदै पिसाब फेर्दै मैले धेरैजसो समय बियालेँ। त्यसै बेला त्यहाँका अत्याधुनिक शौचालयमा विकासका विभिन्न आयाम अनुभव गरेँ।
मेरा लागि शौचालयको विम्ब हो– गनाउने, गुट्खा खाएर वरपर थुकेको, फोहोर र सानो कोठा। तर त्यहाँका शौचालय निकै शानदार। विशाल कोठा। सफा कमोड र युरिनल। दिसा वा पिसाब गर्नासाथ आफैं पानी आउने अटोमेटिक धाराहरू।
उचित ठाउँमा हात पुछ्ने पेपर टावेल र प्रयोगपछि त्यसलाई फाल्ने डस्टबिनहरू। अनि आफैंलाई नियाल्न ठूल्ठूला ऐना। मान्छेले आफैंलाई राम्रोसँग हेरोस् भनेर त्यसो गरिएको हुनसक्छ।
मलाई मज्जा लागेको कुरा के भने शौचालयभित्र पनि झोला झुन्ड्याउने ठाउँ र 'बेबी चेन्जिङ स्टेसन'।
हाम्रोतिरको शौचालय सोच हो– 'केटाकेटीले बाहिरफेरै मुते हुन्छ।'
'बच्चा एकछिन कसैलाई समात्न दिए भइहाल्यो नि।'
'ट्वाइलेटमा किन चाहिन्छ अनावश्यक सुविधा?'
'हग्ने ठाउँ त गनाइहाल्छ नि।'
यस्तै यस्तै।
पहुँचयुक्त शौचालयको सोच भर्खरै भित्रिँदै छ। कतिपय स्थान त अझै पनि 'खुला दिसा क्षेत्र' नै छन्। हात धुन र शौचालय सफा राख्न सिकाउन ठूल्ठूला वास परियोजना चालू छन्।
विमानस्थलमा फ्रेन्च फ्राइज खाँदै मैले दिमागमा धेरै कुरा चपाएँ। पुरुष शौचालयमा बेबी चेन्जिङ स्टेसनको अर्थ के? निस्कने ठाउँमा ढोकैनेर किन लेखेको होला 'हाउ वुड यु रेट द क्लिनिनेस अफ दिस रेस्टरूम टुडे?'
सबै ठाउँमा मान्छेलाई सम्मान र अभिप्रेरित गर्ने खालका अभ्यास। मान्छेलाई कसरी सहज हुन्छ भनेर राखिएको सोच। अनि मानवतावादी दृष्टिकोण। मानव केन्द्रित विकास भनेकै यही होला सायद।
मायामीबाट जसै जहाज उड्यो मैले आकाशबाट अमेरिका अवलोकन गरेँ। सहर, सडक, खोला, खेतीयोग्य जमिन, जंगल, गाउँ सबै उस्तै व्यवस्थित। सबैतिर योजनावद्ध विकास।
मायामीबाट उत्तरतिर डिज्ने वर्ल्डको आकाश हुँदै दुई घन्टा उडेपछि म नर्थ क्यारोलाइना राज्यको चार्लोट विमानस्थल ओर्लेँ। दैनिक १६ सय विमानले उडान र अवतरण गर्ने उक्त विमानस्थलमा मैले पहिलो पटक जहाजहरूको जाम देखेँ।
समय थोरै भए पनि मलाई त्यहाँ जहाज चढ्ने गेट खोज्न समय लागेन। संकेतहरू हेर्दै म फटाफट हिडेँ। जीवनमा संकेतको कति ठूलो अर्थ हुन्छ हगि!
चार्लोटबाट भर्जिनियातर्फ उड्दा भने झिसमिसे अँध्यारो भइसकेको थियो। भुवन दाइले जति राति भए पनि म एयरपोर्टमै लिन आउँछु भनेकाले म ढुक्क थिएँ।
समस्या हुने भनेको सञ्चारको हो। किनकी मसँग फोन लाग्ने नम्बर थिएन। यद्यपि सबैजसो सार्वजनिक स्थानमा चल्ने फ्रि वाइफाइले मलाई सबैसँग जोडेकै थियो। अलिअलि अंग्रेजी जान्ने हुँदा वितरा नै परिएला भन्ने कहिल्यै भएन।
जहाजमा म टीना र क्यामेलको बीचको सिटमा बसेँ। टीना आउँदै गरेको क्रिसमस मनाउन बेलायतबाट घर फर्किँदै गरेकी अमेरिकन एयरलायन्सकी अनुभवी पाइलट। क्यामेल भने पहिलो पटक घर छोडेर जहाज चढेकी १७ वर्षीया ठिटी।
उनीहरू दुबैजनाको कुराकानी नसुनी मलाई सुखै थिएन। जसरी पनि म गफगाफमा मिसिइहाल्थेँ। घरी उनीहरू मलाई प्रश्नले घेर्थे। घरी मैले उनीहरुलाई केही सोध्थेँ। एक प्रकारको 'डिभाइन डायलग' थियो त्यो।
टिनाले आफूलाई नेपाल घुम्न जान मन लागेको बताइन्।
मैले भनेँ–'यु आर मस्ट वेल्कम। सुड भिजिट वन्स इन योर लाइफटाइम।'
अमेरिका पुगेर पनि मैले नेपाल नराम्रो छ भनेर कसैलाई भनिनँ। किनकी मलाई थाहा छ 'जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी'।
क्यामेल भने घरसल्लाहमै वासिङ्टन डिसीस्थित आफ्नो प्रेमीलाई भेट्न हिँडेकी रे। उनले एक हप्ते उक्त भेटघाटमा गर्ने कामको लामो सूची सुनाइन्। जसमा हाम्रोतिर 'भन्न नहुने' कुरा पनि थिए।
कुराकानीकै क्रममा क्यामेलले टिनासँग भनिन्, 'बाइ द वे, माइ मम्स ब्वाइफ्रेन्ड इज अ पाइलट'।
टिनाले तुरुन्तै भनिन्–'वाउ'।
आफ्नो मनमा लागेको कुरा गर्न पनि अर्काले के भन्ला भन्दै तीन दशक बढी बिताएको मैले तीनछक पर्दै भनेँ–'वाउ'।
भर्जिनियास्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुँदा रातको सात बजेको थियो। जहाजबाट ओर्लेर म र क्यामेल टीनाको पछिपछि लाग्यौं।
झोला झाम्टा बोकेर विमानस्थलबाट बाहिर निस्किँदै गर्दा इलेक्ट्रिक एलेभेटरमा मैले सम्झनाका लागि एक सेल्फी खिचेँ। हामी तीनैजनाले क्यामरातर्फ हेर्दै भन्यौं–'चीज'।
जहाजमै हुँदा टिनाले मेरो मोबाइलका फोटा हेरेर भनेकी थिइन्, 'ह्वाइ डन्ट यु स्माइल बिइङ फोटोग्राफ्ड? यु सुड।'
यत्तिकैमा हामी तीनको मुस्कान क्यामरामा कैद भयो। अनि हामी अलग अलग गेटबाट बाहिर गयौं।
चिसो हावा खाँदै केहीबेर कुरेपछि मलाई लिन एउटा कार आयो। जसबाट निस्केर भुवन दाइ र गीता भाउजूले भन्नुभयो– 'यु आर मस्ट वेल्कम इन भर्जिनिया, युएसए'।
घर जाने बेला जसै दाइले रफ्तारमा गाडी हाँक्नुभयो, त्योभन्दा तीव्र बेगमा मेरो मनमा पानोरामा आयो। दृश्यसँगै केही प्रश्नले पनि मसँगै यात्रा गरे। अमेरिका आखिर कसले बनायो? कहिले बनायो? कसरी बनायो? के मेरो देश बनाउन मिल्दैन/सकिँदैन?
मसँग भेटेर हर्षित हुँदै दाइ-भाउजूले नेपालतिरको हालखबर सोध्नुभयो। अनि यस्तो अप्ठ्यारो समयमा पनि म अमेरिका पुगेकोमा अचम्म मान्दै भन्नुभयो– हजुर त धेरै नै भाग्यमानी।
मैले मनमनै भनेँ– कर्मले डोर्याएको हो मलाई अमेरिका।
लाग्यो– अमेरिका पुग्ने कुरा नै हाम्रा लागि किन यति असामान्य? आखिर यो पनि पृथ्वीको एक भू–भाग न हो। कुरा के मात्रै हो भने यहाँका शासकले जनतालाई सधैं केन्द्रमा राखे। जनताको हितमा दिनरात खर्च गरे। उपलब्ध स्रोत साधनको समूचित प्रयोग गरे। परिणाम देशको विकास भयो।
हाम्रो नियति बदल्नेहरूले चाहिँ किन बेइमानी गरेको होला? जति व्यवस्था बदलिए पनि अवस्था किन उही होला? के हामी उच्चतम विकासका हकदार होइनौं/छैनौं? सोच्दासोच्दै गाडी रोकियो। कारले हामीलाई पुर्याएको ठेगाना थियो– '९६१ पार्क एभ, हर्नडन, भिए २०१७० युएसए'।
त्यो छोटो यात्रामा थाहा पाएको कुरा नि अमेरिका भनेकै अविचलित पद्धति र हरेक कुराको पहिचान भएको व्यवस्थित ठाउँ हो। जहाँ सबै सडकको नाम छ। हरेक घरको नम्बर छ। प्रत्येक व्यक्तिको पहिचान छ। अनि पारस्परिक मर्यादा छ।
मेरो दृष्टिमा अमेरिकाको पर्याय हो खुलापन। र, यही नै व्यवस्थित अमेरिकाको कडी हो। खुला र ठूला बाटामा हिँड्दा हिँड्दै मान्छेको मन पनि फराकिलो भएको हुनसक्छ। किनकी त्यहाँ कोही पनि कहिल्यै खुम्चिन पर्दैन। सबैले दिल खोलेर चाहेको गर्न सक्छ।
हामीलाई भने अझै पनि लाग्छ कसैलाई छाडा छोड्नु हुँदैन। शासकले सोच्छन्– सबलाई ठीक पार्नुपर्छ। तर केही पनि ठीक हुँदैन। हामी कस्न खोज्छौं। उनीहरू खुकुल्याउन खोज्छन्। खुकुलो पार्नु भनेको बिगार्नु होइन रहेछ।
उनीहरू जति खुकुला छन् त्यतिनै कसिला छन्। नियमबद्ध छन्। पारस्परिक रूपमा एकअर्काप्रति जिम्मेवार छन्। अतः स्वतः व्यवस्थित छन्। खुलापनले आपसी एकता हुँदो रहेछ। पद्धति मजबुत बन्दो रहेछ। मान्छे कर्तव्यनिष्ठ हुँदो रहेछ। अनि त्यसैले रहेछ देशप्रेम उजागर गर्ने।
सधैं अरूको अदपमा बस्ने मान्छे त अधम हुँदोरहेछ। स्वतन्त्र व्यक्तिले न स्वतन्त्रताको सम्मान गर्न सक्छ। लेख्न त शास्त्रमा लेखिएकै हो– आत्मा र परमात्माको सम्बन्ध बारे। तर हामीले त्यसलाई भगवान र भजनमा मात्रै सीमित गरिदियौं। मान्छे मान्छेबीच बैरभाव राख्यौं। यसरी कसरी हुन्छ आत्मसम्मान?
नागरिकको आत्मसम्मानमा ठेस नलागोस् भन्नेमा उनीहरू सचेत छन्। स्वतन्त्रता जोगाउन अत्यावश्यक सेवा सुविधाबाट कसैलाई वञ्चित हुनुपरेको छैन। आखिर जहाँ भए पनि हामी सबैलाई चाहिने भनेको राम्रो सुविस्ता न हो। विकास त त्यसको साधक मात्रै।
त्यति बेलै थाहा लाग्यो त्यहाँका सरकारले त्यसैका लागि भरपूर प्रयत्न गर्दा रहेछन्। विमानस्थलदेखि घरसम्मको बीस मिनेटको बाटोमा न त हामी कतै उफ्रिनुपर्यो न कतै अकारण रोकिनुपर्यो- स्मुद एन्ड चिल।
त्यहाँ कसैलाई अरू कसैको तनाव लिनुपरेन। केवल आफ्नै चिन्ता गरे पुग्यो। आफ्नै प्रगति गरे पुग्यो। आखिर हाम्रो चाहना सबैको समुन्नति न हो। सबै सुखी भए न देश समृद्ध हुने हो।
नेपाल छोडेदेखि नै मुखले नेपाली खाना खोजिरहेको थियो। घरभित्र पसेपछि भान्सामा भाउजूले मिठो भोजन गराउनुभयो। अनि टिभीमा नेपाली भजन लाउनुभयो- संसारी माया विचित्र..।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
भाग ४- अमेरिका जाँदा दुइटा जहाज छुटेपछि...
भाग ५- मायामीमा बितेका रंगीन ६ घन्टा!
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush