अमेरिका डायरी–५
मायामीमा पहिलो रात सुतेर उठेपछि ज्यान चंगा भएको थियो। त्यसमाथि मनमा अमेरिकाको उमंग पनि मिसिएकै थियो।
मायामी पर्यटकीय क्षेत्र भएको र अमेरिकाकै विभिन्न ठाउँबाट मानिसहरू त्यहाँ घुम्न आउने कुरा थाहा पाउन मलाई धेरै समय लागेन। सदाबहार हावापानी र 'ह्वाइट सी' नै मायामीको मुख्य आकर्षण थियो। समुद्र त सबैतिर छ तर जति उत्तर गयो उति चिसो। न्युयोर्कतिर त समुद्र पनि फोहोर छ रे!
घामको पहिलो झुल्कोभन्दा पहिल्यै म होटलबाट निस्केर नर्थ एटलान्टिक ओसनको किनारमा झुल्किसकेको थिएँ। समुद्र किनारको सानो करिडोरमा केहीले साइक्लिङ गर्दै थिए। कोही बगरमा दौडिँदै थिए त कोही हिँड्दै थिए। दिनभरि हुने 'वाटर स्पोर्टस्' र 'बीच एक्टिभिटिज'का लागि तयारी पनि हुँदै थिए।
रातभरि छालले फालेका छेस्का छोपिने गरी ट्रयाक्टरले समुद्र किनारको बालुवा सम्याउँदै थियो। केहीले छाता र कुर्ची मिलाएर राख्दै थिए। सबै देख्दा लाग्थ्यो, आज यहाँ भव्य कन्सर्ट हुनेवाला छ।
यत्तिकैमा सामुद्रिक चराका बथान मेरो माथिबाट यता उता उडे। पूर्वतिर पर हेर्दा छालसँग उछालिँदै एउटा विशाल पानीजहाज आफैंतिर आउँदै गरेको देखेँ। त्योभन्दा पनि पर पानीबाट नुहाएर निस्किँदै गरेको घाम देखेँ। मायामीको यही सौन्दर्य मोबाइलमा खिचिक्क पारेँ।
पैदलै हिँड्दा मैले तौलिया काँधमा राखेर घुम्न निस्केकी तारिणीसँग पाइला मिलाएँ। उनी इन्डियाको सेन्टर फर सिभिल सोसाइटीबाट आएकी थिइन्। म नेपालको ऋति फाउन्डेसनबाट। तारिणीसँगको त्यो भेट नै मायामीमा मेरो पहिलो 'नेटवर्किङ' थियो। छुट्टिने बेला उनको अनुमति मागेर मैले मेरो मोबाइलमा एक सेल्फी खिचेँ। खिचिक्क।
होटल पुगेर समयमै नुहाइवरि म 'नेटवर्किङ पड'मा निस्केँ। मलाई कसैसँग चिनजान गर्नुपहिले केही खानु थियो। नास्तासँगै परिचयात्मक कार्यक्रम थियो। यद्यपि कसैले सहजीकरण गरेर आफ्नो नाम र ठेगाना भन्ने कार्यक्रम भने हैन।
साढे सात सय जनाको नाम, ठाम र काम भन्न न त समय हुन्थ्यो। न त्यो कसैले सम्झन सक्थ्यो। न व्यावहारिक नै हुन्थ्यो। मन लागेकासँग आफैं परिचय आदानप्रदान गर्न सबैलाई उत्तिकै स्वतन्त्रता थियो।
त्यसो त दुई दिनको कार्यक्रमभरि नै नयाँ नयाँ मान्छेसँग चिनजान भइरह्यो। कुराकानी भइरह्यो।
खाजा खाएपछि केही कार्यक्रम ठूलो हल र केही साना हलमा ब्रेकआउट सेसन दिनभरि भइरहे।
कार्यक्रमको तालिका हातमा लिएर मैले कहिले यता, कहिले उताको हल चहारेँ। आफूलाई मनपरेको सत्रमा बस्न कसैको अनुमति लिइरहनु पर्थेन। सत्रहरू सुन्न मन नलागे नेटवर्किङ पडमा कोही न कोहीसँग केही न केही कुरा गर्दा पनि लाभदायी नै हुन्थ्यो।
अचम्मको कुरा त के भने सबै कार्यक्रम तोकिएकै समयमा सुरू र अन्त्य हुन्थे। ब्रेकफास्ट, लन्च र डिनर खाँदै पनि कार्यक्रममा सहभागी हुन मिल्थ्यो। कार्यक्रम र समय त्यसैगरी मिलाइएको थियो। सायद समयको सदुपयोग गर्ने काइदा पनि हुनसक्छ यो।
हलभन्दा बाहिर तातो-चिसो पानी, चिया, कफी, सोडा वा हलुका पेय पदार्थ। जसलाई जति बेला मन लाग्छ लिन सक्थ्यो। रिसाइकलवाला खाली ग्लासहरू फाल्न ठाउँठाउँमा डस्टबिन थिए।
सरसर्ती हेर्दा सबै कुरा त्यसैत्यसै व्यवस्थित भएजस्तो हुन्थ्यो। तर त्यस्तो कहाँ होला र? यसका लागि नेपथ्यमा कति जनाले कति दिन काम गरेका होलान्।
धेरैजसो काममा सेल्फ सर्भिस हुन्थ्यो। यो हेर्दा लाग्थ्यो–सबै जना कार्यक्रमका आयोजक हुन्। स्वयंसेवक हुन्। कोही 'ठालू' र कोही 'सुसारे' जस्ता थिएनन्।
वास्तवमा त्यहाँ एकले अर्कालाई बुझिरहेको हुन्थ्यो। भव्य र सभ्य ढंगले सहयोग पुर्याइरहन्थ्यो। दुई दिनको कार्यक्रममा मैले त्यहाँ कोही ठूलो र कोही सानो मान्छे देखिनँ। यद्यपि मेरा आँखाले जति बेला पनि तहगत श्रृंखला मात्रै खोजी हिँड्थे। 'कोभन्दा को ठूलो होला' जस्तो मात्रै लागिरहन्थ्यो।
पदले को के हो भन्दा पनि काम र भूमिकाले मान्छेहरू व्यस्त थिए। मस्त थिए। त्यहाँ न कसैले कसैको चाकडी गरेको देखियो। न अनावश्यक प्रशंसा नै सुनियो।
दुई दिनको कार्यक्रममा मैले बुझेको सबैभन्दा महत्वपूर्ण कुरा के थियो भने अमेरिकनहरू हरेक कुरामा स्वतन्त्रतापूर्वक आलोचना गर्छन्। र, अरूको कुरा सुन्छन्। सुनिरहँदा लाग्थ्यो, आलोचनात्मक चेतले नै अमेरिका अघि पुगेको हो।
हामी विरोध गर्नेलाई सहन्नौं। न त हामीलाई फरकपन स्वीकार्न सहज हुन्छ। त्यसैले हामी पछाडि छौं भन्ने प्रतीत हुन्थ्यो।
मलाई उति बेलै लागेको कुरा के भने हामी नेपालभित्रै पनि नेपाली हुन सकेका छैनौं। भोटमा बस्ने 'भोटे', मधेसमा 'मधेसी', कोही 'मुसलमान', कोही छुनै नहुने 'तल्लो जात' र बाँकी 'आइमाई-केटाकेटी'। हामीकहाँ कित्ताकाट मात्रै बढी छ। चर्को विभेद र 'शासन' छ। पारस्परिक सम्मानको सधैं अभाव छ। नत्र नेपालमा बस्ने हरेकले नेपाली महसुस गर्न सकेको छ त?
उसो त संसारभरबाट मान्छे अमेरिका गएका छन्। अमेरिका बस्ने सबैले अमेरिकी हुन पाएकोमा गर्व गर्छन्। चाहे उनीहरू नेपाली नै किन नहून्। कुनै पनि देश समृद्ध हुनुको भाव यही हो सायद।
लिबर्टी फोरममा अमेरिकी अदालतका न्यायाधीश पनि थिए। विश्वविद्यालयका प्राध्यापक थिए। विभिन्न देशका सामाजिक अभियन्ता थिए। निजी क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति थिए। धेरैजसोसँगको कुराकानीलाई बिट मार्दै गर्दा मैले भनेँ– 'स्याल आइ टेक अ सेल्फी।'
हजारौं मान्छे अट्ने होटलका हल र त्यहाँको अतिथि सत्कार कम्ती लोभलाग्दो थिएन। हरेक पटक खानेकुरा हेर्दा अमेरिकाको भव्यता झल्किन्थ्यो। कतिथोक तयार गर्न सकेको होला भन्ने लाग्थ्यो। यसको पछाडिका अदृश्य हातहरूलाई मैले मनमनै धन्यवाद दिएँ।
खाने बेला भने कतै 'बीफ' मिसिएको छ कि भन्ने चिन्ता हुन्थ्यो। शंका दुर गर्न कति-कति बेला त मेनु र मोबाइल भिडाउनुपर्थ्यो।
जेहोस् दुई दिने लिबर्टी फोरममा मलाई धेरै देशका मान्छेसँग भेट गर्ने मौका मिल्यो। धेरै कुरा देख्ने, सिक्ने र सुन्ने अवसर मिल्यो। अन्ततोगत्वा अमेरिका अनुभव गर्ने मेसो मिल्यो।
कार्यक्रमको अन्तिम दिन बेलुका हामी फ्रिडम डिनरका लागि लोन डिपो पार्कको एसीवाला स्टेडियममा गयौं। त्यहाँ सांगीतिक साँझसहित डिनरको आयोजना गरिएको थियो। क्युबाली युवा गायक युटुलको लाइभ कन्सर्ट हेर्दै मैले स्टेला भरिएको ग्लास ठोकेर भनेँ– चियर्स।
फ्रिडम डिनरमा नोबेल पुरस्कार विजेता मारिया भोर्गास लोसा आउने थाहा पाएपछि मैले काठमाडौंबाटै चारवटा किताब बोकेको थिएँ। अटोग्राफका लागि। पछि सम्झना हुन्छ भनेर रोशन दाइले दिनुभएको।
डिनर खाँदै गर्दा मैले उक्त किताबमा नोबेल लरेटको हस्ताक्षर गर्न गएँ। उनले मेरो नाम सोधे। अनि 'डिस्क्रिट हिरो' लेखेको मुन्तिर खाली ठाउँमा स्पेनिस भाषामा लेखे– प्यारा कमल...। लगातार उनले अरू किताबमा अटोग्राफ दिए। त्यति बेला उनले के सोचे थाहा भएन। तर, मलाई भने बच्चा र आमाको भेट गराएजस्तै भयो।
फ्रिडम डिनरमै पनि केही कार्यक्रम तय गरिएका थिए। जसमध्ये नोबेल लरेट लोसाको योङ जर्नालिजम प्राइज घोषणा, टम जि पाल्मरको टोस्ट टु फ्रिडम र ब्राड लिप्सको टेम्पलटन फ्रिडम अवार्ड घोषणा।
रंगशालाभित्र छिर्ने बेला ढोकैमा आयोजकले टेबलको कुपन दिएका थिए। संयोगवस् तारिणी र म एउटै टेबलमा थियौं। उनी आबद्ध संस्था अर्थात् सेन्टर फर सिभिल सोसाइटीका लागि प्रशान्त नराङले एक लाख डलरको टेम्पलटन अवार्ड उचाल्दा मलाई भने उनैलाई उचालिदिऊँ जस्तो लागेको थियो।
बेलुकाको छ बजे रंगशाला छिरेका हामी रंगीन ६ घन्टा बिताएर होटल फर्कियौं।
डिसेम्बर १५ को बिहान सबेरै निद्रा खुल्यो। बसन्त दाइले हिजैदेखि समुद्रको पानी खुट्टाले मात्रै भए पनि खेल्नुपर्छ भन्नुभएको थियो। उहाँलाई आउनू है भनेर म होटलबाट निस्केँ।
मायामी छोड्ने दिन। मलाई कस्तो अर्कैअर्कै भएको थियो। तर नरमाइलो भएर के गर्नू? जे गर्न आएको हो त्यो गरिनै सकिएको थियो।
म बगरको बालुबातिर हेर्दै अघि बढ्दै थिएँ। एक जनाले 'हाइ! कम अन' भनिन्। म उनी भएतिरै गएँ। विन्दास पाराले बालुवामै बसेकी उनलाई मैले पनि हातले हाइ फर्काएँ।
नजिकै जाँदा थाहा भयो, उनी रक्सीले मातेकी थिइन्। यति सबेरै त पिइनन् होला. हिजो रातीदेखिकै ह्याङ हो जस्तो लाग्यो। सोचेँ– यही बगरमा के उनी रातभरि निर्धक्क निदाउन सकिन्? उनीबाट टाढा भए पनि एउटा जिज्ञासा भने नजिकै आयो–उनी स्वतन्त्र थिइन् वा गरिब?
बसन्त दाइ आएपछि हामी समुद्रको पानी छेउ पुग्यौं। मलाई सेतो छालसँगै छिहिलिन मन लाग्यो। मैले बाहिरी वस्त्र उतारेर उताबाट आउँदै गरेको छालमाथि हाम फालेँ– झ्वाम्म। ऐनमौकामा बसन्त दाइले मोबाइलमा पार्नुभयो– झिलिक्क।
हाम्रो फोटो सेसन चल्दै गर्दा क्यानडाकी फोतु आइन्। उनी पनि हिजोअस्ति हामीसँगै कार्यक्रममा थिइन्। स्पोन्सर संस्थामध्ये एकको प्रतिनिधि।
पौडिन नजाने पनि उनी अर्धनग्न भएर पानीमा आइन्। पानीमै रमाइन्। गहिरोतिर जान खोज्दा छालले धकेलेर छेउमै ल्याउँथ्यो। छालले हिर्काएर घरीघरी हामी दुबैलाई एकै ठाउँमा लडाउँथ्यो। हामी उठेर फेरि छालको सामना गर्थ्यौं।
केहीबेर पानीमा खेलेपछि किनारमा संयुक्त फोटो सेसन भयो। फोटो खिच्ने बेला फोतुले मेरो नांगो ज्यानलाई च्याप्प समातिन्। मैले मनमनै लाज मानेँ। बसन्त दाइको मोबाइलले भने बिना कुनै हिचकिचाहट हामी दुईको तस्बिर खिच्यो। खिचिक खिचिक।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
भाग ४- अमेरिका जाँदा दुइटा जहाज छुटेपछि...
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush