अमेरिका डायरी–४
माग्दै नमागेको चिज पाएर म यसै चकित थिएँ। एक मनले त यस्तो पनि सोच्न सक्यो– कतै गैरकानुनी सामान त होइनन?
अर्को मनले पहिलोको कुरा काट्यो। भन्यो– खुसी मनले दिएको कुरामा किन शंका?
जमैकन महिलाले जाने बेला मलाई अतिरिक्त तीन खिल्ली चुरोट उपहार दिएकी थिइन्।
यत्तिकैमा कोही आएर मसँग चुरोट छ कि भनेर सोध्यो। मनको डर मेट्न मलाई त्यो निकै राम्रो अवसर थियो। तीनमध्ये एक खिल्ली मैले उसलाई दिएँ।
अघि मलाई चुरोट छैन भन्ने पनि त्यहीँनिर ठूलो कपमा कफी पिइरहेकै थियो। एउटा खिल्ली उसलाई पिउनुस् भनेँ। अनि बाँकी एक खिल्ली आफैले सल्काएँ।
उनीहरूसँग केहीबेरको कुराकानीपछि हातको लाइटर खल्तीमा हालेर हलभित्र छिरेँ।
अब भने म सुरक्षा जाँचको बाटो भएर अघि बढ्ने भएँ। यसपछि उज्यालोमा हेर्दैहेर्दै न्युयोर्कदेखि मायामीसम्म यात्रा हुनेवाला थियो। जहाज उड्ने समय केहीपछि धकेलिएको इमेल नोटिफिकेसनले मोबाइल ट्वाङ्ङ भयो।
म भने अघिदेखि नै जहाज आउने गेट नम्बर सेभेन-एको मुखैमा बसेको थिएँ। नेपालमा मध्यरात भएकाले मोबाइलमा बासी समाचार मात्रै थिए। मोबाइल हेर्ने मन पनि भएन।
एकछिन बाहिरतिरको रनवे हेर्दै टोलाएँ मात्र। मनमा केही कुरा पनि आउनै सकेको थिएन। सूचनाहरू इन्पुट मात्रै भइरहे। वास्तवमा म विकासको आश्चर्यले चकित भएको थिएँ। जता हेर्यो उतै कार्यात्मक प्रणाली। उस्तै व्यवस्थित र प्रभावकारी व्यवस्था। खोट लाउने ठाउँ भेट्नै मुस्किल।
यत्तिकैमा सामुन्नेको कुर्चीमा एउटी सुन्दर युवती आएर बसिन्। उनले किताब निकालेर हेरिन्। मैले उनलाई। किनकि मैले अघिदेखि हेरिरहेकै ठाउँतिर उनी बसेकी थिइन्। उनलाई नहेर्न मैले कि आँखा चिम्लिनपर्थ्यो कि ठाउँ नै छोडेर अर्कैतिर जानुपर्थ्यो। मैले दुबै गरिनँ।
उनीसँग परिचय गरौंगरौं नलागेको होइन। तर 'गरेर के हुन्छ' जस्तो लाग्यो। पढिरहेको मानिसलाई डिस्टर्ब गर्नु पनि त ठीक होइन। म उठेर वासरूम गएँ।
फर्केर अघि बसेकै ठाउँमा बस्न गएँ। उनी झटपट उठेर हिँडिन्। त्यसपछि मलाई उनी 'कहाँ पुग्ने यात्रु होलिन्' जस्तो मात्र लागिरह्यो।
जसै उनी अलप भइन् गेट सेभेन-ए को स्क्रिनमा देखिएको अघिको जानकारीमूलक सूचना पनि हरायो। जबकी त्यही सूचनाकै भरमा म अघिदेखि त्यहाँ बसेको थिएँ। जसमा देखिएको थियो, डिसेम्बर १२, जेटब्लु फलानो, जेएफके टु मायामी, उडान हुने नयाँ समय १३ः५१ बजे।
त्यसको स्थानमा अर्कै सूचना आयो। म फेरि आत्तिएँ- ला, जहाज छुट्यो कि क्या हो! अब के गर्ने? कहाँ जाने? कसलाई सोध्ने?
जहाँ बस्नु भनिएको थियो, त्यहाँ जहाजै आएन। उसो भए जहाज कहाँ गयो त?
भौतारिँदै जाँदा बीचमा 'आस्क मी' थियो। सोधेँ– मायामी जाने मेरो जहाज खोइ? त्यहाँ बस्नेले उत्तर फर्काइन्, 'त्यो त गयो।'
उल्टै सोधिन्– गेट परिवर्तन भएको सूचना सुन्नु भएन?
मैले आफैलाई धिक्कारेँ–मलाई पनि खुबै वासरूम जानुपर्ने। सूचना सायद त्यसै समय बज्यो होला। अघिकी 'राम्री' केटीसँग चिनजान गरेको भए पनि हुने। तै उसले एकछिन कुरेर 'किन ढिला गरेको' भन्न पनि सक्थी।
मायामी नै जाने भएको भए सँगैको सिटमा बसेर हामी सँगै जान पनि सक्थ्यौं। मायामीमा उसले केही समय मलाई आफ्नै ठाउँमा न्यानो आतिथ्यता पनि दिन सक्थी। अनि केहीबेर फुर्सद निकालेर उसले आफ्नै कारमा मलाई रमाइला ठाउँ घुमाउन पनि सक्थी!
फ्रिडम डिनर सकिएपछि उसकै अनुरोधमा मेरो मायामी बसाइ केही दिन लम्बिन पनि सक्थ्यो। अनि उसले मलाई ड्राइभमा ओर्ल्यान्डोस्थित डिज्ने वर्ल्ड घुम्न जाने प्रस्ताव पनि त राख्न सक्थी!
म नै उस्तै। फस्सुवा!
फेरि सोधेँ, अब म के गरूँ? बिहानदेखि दुइटा जहाज छुटिसके। एउटा आउँदा आउँदै ढिला भएर छुट्यो। अर्को कुर्दा कुर्दै पनि छुट्यो। जसरी पनि छुट्ने त छुट्दोरहेछ नि आखिर।
उनले पुनः ७५ डलर लाग्छ भनिन्। मैले भनेँ– मिल्ने भए मिलाइदिनू।
निकै लामो टेलिफोन कुराकानीपछि उनले भनिन्–यसपछि साढे पाँच बजेको छ।
मैले फ्याट्टै भनेँ– ओके।
कालो उज्यालो अनुहार र उनको मुस्कानसहितको सेवाबाट म यसै सम्मोहित भएको थिएँ।
भनेँ– थ्यांक यु भेरी मच। यु वेलकम, उनले भनिन्।
त्यसपछि फेरि वासरूम गएँ। कोरोना महामारीका कारण बेलाबेला हात धुने सूचना प्रवाह भइरहेकै थियो। आफूलाई भने जति बेला पनि पिसाब आएजस्तो मात्रै हुने। हातमुख धोएर फ्रेस भएँ।
फ्लोरिडाको पर्यटकीय सहर मायामी आजै उज्यालो छँदै घुम्ने रहर थियो। भोलि बिहानैदेखि कार्यक्रम सुरू हुने भएकाले बेलैमा सुत्न पाए शरीरले पनि आराम पाउँथ्यो।
लामो यात्रा त्यसमाथि दिन र रात नमिल्दा जिउ नै अरू कसैको होजस्तो भएको थियो। खाने कुराको पनि ठेगान थिएन। त्यसै कस्तोकस्तो भएको थियो। अब भने घामको उज्यालो छँदै मायामी पुग्ने कुरा सोच्न छोडिदिएँ।
निराशाका बीच नयाँ बोर्डिङ पास बोकेर गेट तीन बीमा बस्दाका तीन घन्टा 'म किन अमेरिका आएछु' जस्तो मात्रै भयो।
हुन पनि 'अब धेरै ढिला भइसक्यो, हामीले यातायात खर्च दिन नसक्ने भयौं' भनेर आयोजकले भन्दाभन्दै पनि म नै अटेर गरेर गएको थिएँ। भिसा लागिसकेपछि अमेरिका पुग्नैपर्छ भन्ने जोस थियो।
'फर्केर ऋण धन गरौंला' भनेपछि देवजीले दुई लाखभन्दा बढीको दुईतर्फी टिकट उधारोमै काटिदिएका थिए।
त्यतिखेरै मलाई आफ्नो अंग्रेजी देखेर पनि दया लाग्यो। किनभने अघिको गेट बदल्ने सूचना मैले सुन्दै सुनिनँ वा सुनेर पनि बुझिनँ होला भन्ने मात्रै भयो। त्योभन्दा धेरै आफ्नै कोही साथी नभएकोमा पछुतो भयो।
यदि साथी भएको भए र ऊ मभन्दा जान्ने भएको भए उसैको पछि लाग्दा ढुक्क हुन्थ्यो। नजान्ने भए मलाई सोधिरहन्थ्यो। उसैका लागि भए पनि मलाई जान्नै कर लाग्थ्यो। तर एक्लै हुँदा निस्फिक्री मात्रै हुँदोरहेछ। त्यसबीचमा म पटकपटक आफैंसँग रिसाएँ। अनि आफैंलाई सम्झाएँ। आखिर साथमा कोही हुँदो हो त यस्तो अनुभव पनि त नहुँदो हो।
जहाज उड्ने बेला न्युयोर्कमै झिसमिसे अँध्यारो भइसकेको थियो। उड्नासाथ देब्रेपट्टी बीचतिरको सिटबाट जेटब्लुको पखेटा देखिने गरी मैले लङ आइल्यान्डको फोटो खिचेँ- खिचिक्क।
त्यसपछि जहाज दक्षिणतिर मोडियो। म उडेको समुद्रको दाहिनेपट्टी अमेरिका रातीमा पनि उज्यालो देखियो।
मभन्दा पहिल्यै मेरो सुटकेस मायामी पुगेर मलाई पर्खिबसेको थियो। किनकी ऊ दिउँसोको फ्लाइटमा चढ्यो। म रातीको। नबोल्ने भए पनि उसको जहाज छुटेन। म बोल्ने भए पनि मेरो जहाज छुट्यो।
मायामी ओर्लिँदा नै रातीको नौ बजिसकेको थियो। यो पनि चानचुने विमानस्थल कहाँ हो र? मैले त्यहाँ झनै ब्रिटिस एयरवेजको डबल–डेक जहाज रोकिराखेको देखेको थिएँ।
अलिअलि अनुभव भए पनि अलिअलि डर कायमै थियो। घुम्दै-फिर्दै ब्यागेज भेट्टाउनै मलाई आधा घन्टा लाग्यो। खानु न पिउनुले त्यस बेलासम्म म लत्रिसकेको थिएँ।
जेएफकेमा जहाज पर्खिँदा छेउछाउका रेस्टुरेन्टमा खानेकुरा नदेखेको पनि होइन। तर के खाने, के नखाने मैले मेसै पाएको थिइनँ। धेरैजसो परिकारमा गाईको मासु मिसिएको थियो। आफूलाई भने 'राष्ट्रिय जनावर'सँग 'लसपस' होला कि भन्ने मात्रै भयो।
सुटकेस लतारेर बाहिर निस्किएँ। पहेँलो रङको ट्याक्सी ढोकैनेर आयो। मैले मायामी बिचमा रहेको होटल लोसमा लैजानू भनेँ।
विमानस्थलबाट मायामीको डाउनटाउन हुँदै अघि बढ्दा ट्याक्सीले समुद्रको विशाल भंगालोमाथिको पुल तर्यो। मैले भने विशाल अमेरिकाको विशाल बाटाहरूमा आँखा बिच्छ्याएँ।
उस्तै योजनाबद्ध बाटाहरूको हारमध्ये एउटामा रोकेर ट्याक्सीवालाले भन्यो– 'दिस इज योर होटल'।
हुन पनि १८ तले उक्त भव्य होटल अबको तीन रातका लागि मेरै थियो। ट्याक्सीवालालाई कार्डबाट मैले कमिसनसहित ४५ डलर दिएँ। जाने बेला उसले भन्यो– 'गुड नाइट बोस'।
म सरासर होटलको काउन्टरमा गएँ। दुरीसहितको सानो लाइन पार गरेर चेक इन गरेँ। 'तलमाथि भएमा' भनेर छ सय डलर डिपोजिट लियो। रातीको १० बजेर १५ मिनेट जाँदा जब लिफ्टबाट उक्लेर म कोठा नम्बर १०१५ पुगेँ। तब मात्र मलाई अमेरिका पुगेको आनन्द आयो।
ढिलो गरी मायामी पुग्दा मैले उज्यालोमै सहर घुम्ने रहर त गुमाएँ नै, बेलुकाको खाना खाने अवसर पनि गुमाएँ। उसो त मैले बिहान सबेरै सात बजेतिर आकाशमै लन्च खाएको हो। त्यसपछि अलिअलि पानी र हावाबाहेक केही खाने मेसो नै मिलेन।
डिसी दाइलाई भेटेर ११ बजेसम्म बजार घुम्दा पनि खानेकुरा कतै केही भेटिएन। रेस्टुरेन्टहरू सबै 'क्लोज्ड' थिए। मलाई अमेरिका पुगेर पनि भोकै परिएला भन्ने नै भएन।
भोकले भाउन्न भएर टाउको पनि घुम्न थालेको थियो। धेरै बेर घुमेपछि बल्लबल्ल एउटा दोकान खुला देख्यौं। हामीले त्यहाँबाट स–साना छ बोतल भएको 'सिक्स प्याक' स्टेला किन्यौं।
डिसी दाइ र सन्देशजीसँगै स्वीमिङ पुलको साइडमा रहेको खुला क्षेत्रमा सुस्ताउँदा मैले केहीबेर आकाशका ताराहरू हेरेँ।
'ठोस नभए नि क्यालोरी त दिन्छ होला है' भन्दै रातको १२ बजेतिर एक दुई बोतल बियर खाएँ।
सुत्ने बेला चाहिँ मलाई नेपालबाटै चाउचाउ र बिस्कुट नबोकेकोमा आफैसँग रिस उठ्यो। कम्तीमा कतारमै पनि मैले 'हलालवाला' वाइवाइ देखेको थिएँ। तर त्योसँगै यो भविष्य भने देखेको थिइनँ।
काठमाडौंबाट हिँड्ने बेला त झनै यति हतार थियो कि मैले आफैंलाई सम्हाल्न सकेको थिइनँ। त्यसमाथि साढे दुई वर्षकी छोरी मानवीलाई छोडेर पहिलो पटक यात्रामा जो निस्केको थिएँ।
झ्यालबाट बाहिर केहीबेर मायामी सहर चियाएँ। पृथ्वीको पल्लो छेउबाट परिवार, प्रेमी र आफन्तजनलाई मिस गरेँ।
त्यसको केहीबेरमै आरामदायी ओच्छ्यानमा भोको ज्यानलाई सुताएँ। अनि आफैं भनेँ–गुड नाइट मायामी!
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush