चन्द्रागिरि डाँडासम्म बाइकिङ, साइक्लिङ र हाइकिङ गर्न सकिन्छ। अहिले हिमाल खुल्ने मौसम, चाँदीझैं टलक्क टल्केका हिमाल अनि लालीगुराँसको यौवन हेर्दै भालेश्वर दर्शन गर्न जाने कि?
***
कोरोना भाइरसका कारण स्थगित हाइकिङ अभियानलाई प्रकृतिप्रेमी समूहले मंसिरदेखि फेरि सुरू गरेको छ। अब त महिनाको दुई पटक हाइकिङ गराइन्छ। यही चैत १४ गते दोस्रो शनिबार पनि हाइकिङ हुँदैछ।
***
प्यागोडा शैलीको दुई तले भालेश्वर मन्दिरभित्र कालो शिवलिङ्ग राखिएको छ। भालेश्वर महादेवका प्राचीन दुई शिला र त्रिशुल चाहिँ मन्दिर नजिकै ठूलो पिपलको रुख मुनि राखिएको छ।
चन्द्रागिरिको उकालो चढ्दै गर्दा आकाशबाट हिउँ फुस्फुसायो। सबै साथीहरू रमाउँदै खेल्न थाले। छातामा सेतो कपास जस्तै हिउँ परेको देख्दा ओजस्वी श्रेष्ठ निकै रमाइन्। बाबा अनुपसँग लगनखेलबाट आएकी हाम्रो पदयात्री समूहकी कान्छी सदस्य ओजस्वीले नौलो अनुभव सँगालिन्।
अचेल प्रविधिको विकासले गर्दा कम्प्युटर, मोबाइल र ल्यापटपमा झुम्मिन्छन् बालबालिका। उनीहरूमा हिँड्ने बानी धेरै कम भएको छ। जब हिँडेर गाउँघर वनपाखा पुग्छन् तव बालबालिकाहरु निकै रमाउँने गर्छन्। यसरी खुल्ला प्रकृतिको सुन्दर काखमा पुग्दा बालबालिकाहरुले धेरै कुरा सिक्न पाउँछन्।
त्यसैले अनुपलेझैं सबै अभिभावकले आफ्ना बालबालिकालाई सके सधैं बिहान १ घण्टा सफा वातावरणमा हिँडाउने, नसके महिनाको एक पटक भए पनि नजिकैका सफा वातावरण भएका डाँडाकाँडा वा फाँटमा पदयात्रा गराउँदा धेरै फाइदा मिल्छ। पहिलो कुरा खुल्ला हावामा रमाउन पाउँछन्, दोस्रो कुरा प्रकृतिको नियम र देशको भौगोलिक अबस्था बुझ्न पाउँछन्, ग्रामीण जीवनशैलीको ज्ञान मिल्छ भने शरीरिक र मानसिक रुपमा स्वस्थ रहन पनि सहयोग गर्छ।
हामी चन्द्रागिरि उकालिएको दिन बिहानैदेखि आकाश धुम्म थियो। उकालो लाग्दै गर्दा केहीबेर हिमपात भयो अनि केही बेरमै बादलको घुम्टो उर्घादै सूर्यले आफ्नो किरण छर्यो।
प्रकृतिको कति सुन्दर सृष्टि! छिनमा हिमपात त छिनमै न्यानोपन। हामी चन्द्रागिरि टाकुरामा पुग्दा झलमल्ल घामले स्वागत गरिरहेको थियो। डाँडाबाट चारैतिर सुन्दर दृश्य देखिएको थियो। आगन्तुकहरू सबै आआफ्नै धुनमा मस्त थिए।
काठमाडौं र मकवानपुरको साँधमा पर्ने चन्द्रागिरिमा यस्तै रमणिय मौसम हुन्छ। मौसमअनुसार प्रकृतिले सुन्दर रुप फेर्ने गर्छिन्। उचाइमा (२,५०० मिटर) रहेको हुनाले छिनमै तलबाट उडेर आएका भुइँकुहिरोले डाँडालाई ढपक्क ढाक्दा चन्द्रागिरि बादल माथिको स्वर्ग जस्तो देखिन्छ भने छिनमै कुहिरो फाट्दा चारैतिर अपार सुन्दरता लिएर मुस्कुराउँछिन्।
यही धार्मिक एवं ऐतिहासिक गन्तव्यमा हामी माघको चौथो शनिबार प्रकृति प्रेमी समूहको १५६ औं हाइकिङमा पुगेका थियौं। कोरोना भाइरसका कारण स्थिगित हाम्रो समूहको मासिक पदयात्रा २०७७ मंसिर देखि पुन नियमित भएको छ।
त्यो दिन (२०७७ माघ २४ शनिबार) हामी निरोगधाम, सातदोबाटोबाट ३ वटा गाडीमा कलंकी हुँदै थानकोटको गोदाम भन्दा करिब २ किमि माथिसम्म पुगेका थियौं। त्यहाँबाट हाम्रो पदयात्रा सुरु भयो। हाम्रो पदयात्रा गन्तव्य थियो चन्द्रागिरि भन्ज्याङ हुँदै भालेश्वर मन्दिर र त्यहाँबाट चखेलदेउराली हुँदै मातातीर्थ सशस्त्र प्रहरी बेस क्याम्पसम्म।
थानकोट गोदाम
थानकोटबाट करिब दुई किमि दूरीमा पर्छ गोदाम। उहिल्यै यहाँ सामान गोदाम राख्ने गरिन्थ्यो। सामान गोदाम राख्ने ठाउँ भएकाले यस ठाउँको नाम थानकोट गोदाम रहन गएको भनाई छ। चन्द्रागिरि, तोप्लाङ, चित्लाङ, भालेश्वर आदि पदयात्रा गर्दा गोदामबाट सुरु गरिन्छ। हामीले भने गोदामबाट करिब २ किमि माथिबाट सुरु गर्यौं।
चन्द्रागिरि भन्ज्याङः
गोदामबाट चन्द्रागिरि भन्ज्याङ पुग्ने दुई बाटा छन्। मोटरेबल र पुरानो जंगलको उकालो। मोटरबाटोबाट हिँडे ६ किमि दूरी पर्छ भन्ज्याङ भने ठाडो जंगलको उकालो चढे ४ किमिमा पुगिन्छ। मोटरबाटो चित्लाङ हुँदै हेटौंडा पुगिन्छ। पहिला काठमाडौंबाट तराई जान यही गौंडाको प्रयोग हुन्थ्यो। पदयात्रा गर्दा जंगलको ठाडो उकालो चढ्नु उपयुक्त हुन्छ। चराको चिरविर सुन्दै, हरिया रुख मुनि हिँड्दा शरीरमा ऊर्जा बढ्छ।
मकवानपुर र काठमाडौंको साँधमा पर्ने भन्ज्याङ (२,२५० मिटर) मा चौबाटो छ। उहिले यहाँ चैत्य थियो, अहिले सडक बिस्तार भइरहेकाले त्यसलाई भत्काइएको छ। भन्ज्याङमा सानो भाई जिम्बाको पुरानो खाजा पसल छ जहाँ खाजा, नास्ता खान सकिन्छ। भन्ज्याङबाट पश्चिम ओरालो लागे सुन्दर नेवार बस्ती चित्लाङ पुगिन्छ भने उत्तर लागे ५ किमिमा तामाङ बस्ती तोप्लाङ। त्यसैगरी दक्षिण जंगलको ठाडो उकालो लागे पुगिन्छ चन्द्रागिरि डाँडा।
चन्द्रागिरि डाडाँः
भन्ज्याङबाट ठाडो जंगलको ढुंगा ओछ्याइएको उकालो करिब ३ किमि चढे पुगिन्छ धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्थल चन्द्रागिरि। काठमाडौंबाट मात्र १९ किमि दूरीमा अवस्थित डाँडा आफैंमा भ्यू टावर हो। मौसम खुल्दा उत्तरतिर सेता हिमालको लश्कर देखिन्छ, गौरिशंकर देखि सगरमाथासम्म। तलतल भने काठमाडौ उपत्यकाको पुरा दृश्य देखिन्छ। डाडाँको दक्षिणतिर महाभारत सृङ्खला र मकवानपुर तराई भुगोलको दृश्यावलोकन गर्न सकिन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि देखिन्छ।
यहाँ पुसमाघमा हिउँ पर्छ। त्यतिबेला हिउँ खेल्नेहरूको भिड लाग्छ। फागुनचैतमा भने गुरासँको लालीले डाँडा नै राताम्मे बन्छ।
बाह्रै महिना पदयात्रा गर्न सकिने चन्द्रागिरिमा नयाँ भालेश्वर मन्दिर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक, भ्यू टावर, पार्क र केबलकार बनाइएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले मन्दिर बनाएपछि डाँडामा पर्यटक चहलपहल बढेको छ। यसले गर्दा वरपरका गाउँलेलाई समेत लाभ पुगेको छ।
मोटर बाटो पनि चन्द्रागिरिसम्म बनेको छ। प्रदुषण र कोलाहलबाट मुक्त स्थल चन्द्रागिरि शान्त छ जहाँ घण्टौं समय विताउन सकिन्छ। काठमाडौंबाट सफा निलो आकास देख्न पाइँदैन तर चन्द्रागिरिबाट सधैं निलो आकाश देखिन्छ।
भालेश्वर मन्दिरः
उहिले चन्द्रागिरिमा पुरानो भालेश्वरको मूर्ति थियो। अहिले डाँडामा चन्द्रागिरि हिल्स प्रालिले भालेश्वरको नयाँ मन्दिर बनाएको छ। प्यागोडा शैलीको दुई तले मन्दिरभित्र कालो शिवलिंग राखिएको छ। मन्दिर नजिकै दक्षिणपट्टि खुल्ला आकाश मुनि ठूलो पिपलको रुख मुनि भालेश्वर महादेवका प्राचीन दुई शिला र त्रिशुल राखिएको छ। उहिले पृथ्वीनारायण शाहले काठमाडौंलाई जित्न यिनै भालेश्वरको भाकल गरेको भनाई छ।
मन्दिरबाट काठमाडौंको राम्रो दृश्य देखिन्छ। यहाँ वैशाख १ गते मेला लाग्छ। मन्दिर वरपर गणेश, महादेवको बहान नन्दी र अरु देवी देवताका मूर्ति पनि छन्।
पृथ्वीनारायणको सालिकः
मन्दिरको बायाँ उत्तरतिर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक छ। सालिक मुनि लेखिएको छ, ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया।’
बाइसी र चौवीसी राज्यलाई एकीकरण गरि सिंगो नेपाल बनाउने अभियानका नायक पृथ्वीनारायण। उनले धेरै मेहनत, परिश्रम र कुटनीतिले ससाना राज्यहरूलाई एकता अभियानमा सामेल गराएका थिए। तर, आज एकता भन्दा ठूलो अरु केही छैन भन्ने पाठलाई हामी भुल्दैछौ!
सालिक नजिकै पृथ्वीनारायणले आफ्नो भारदारसंग चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालिरहेको कलाकृति राखिएको छ। उनले मामाघर हुँदै यो बाटो हिँड्दा सुन्दर दृष्य देखेर काठमाडौंलाई जित्ने चाहना राखेका थिए। र, उनले नजिकैको भालेश्वरसँग भाकल गरेको इतिहास छ। सालिक पछाडि झलमल्ल खुलेका हिमाल र उपत्यकाको पूर्ण दृश्य सुन्दर देखिन्छ।
भ्यू टावरः
मन्दिर नजिकै गोलो भ्यू टावर बनाइएको छ। चार तल्ले टावरको तल रेष्टुराँ छ। चौंथो तल्लामा दुरविन राखिएको छ जहाँबाट हिमाल र उपत्यकाको दृश्यावलोकन नजिकबाट गर्न सकिन्छ। ५० रुपैयाँको टिकट लिनुपर्छ दुरविनबाट उपत्यका र हिमाललाई नियाल्न। निलो आकाश मुनि सुन्दर सफा मन्दिर, उत्तरतिर हिमालका लश्कर, चारैतिर ठूलठूला हरिया पहाडका थुम्का र उपत्यकाको पूर्ण दृश्य हेर्दा मन पुलकित बन्छ।
पार्कः
मन्दिर नजिकै पार्क छ जहाँ थकाई मार्न सकिन्छ। हरियो घाँस जस्तै ओछ्याइएको हरियाली पार्क। पार्कमा बालबालिकालाई पनि खेल्न मिल्ने बनाइएको छ जहाँ बालकालिका रमाउँछन्।
केबलकारः
थानकोटबाट भालेश्वरसम्म केबलकार बनेको छ। मनकामना पछि दोस्रो ठूलो केबलकार। २.५ किमि लम्बाइको केबलकारमा १० मिनेट चढेपछि पुगिन्छ डाँडामा। केबलकार स्टेसनबाट करिब ५ मिनेट हिँडे पुगिन्छ डाँडाको टुप्पामा रहेको भालेश्वरमा। केबलकार बनेपछि सधैं घुइँचो लाग्न थालेको छ। केबलकार चढ्न ७०० रुपैयाँको टिकट लिनुपर्छ। केबलकारबाट चारैतिर सुन्दर दृष्याबलोकन गर्न सकिन्छ। सधैं खुल्छ केबलकार।
यहाँ शारिरीक समस्या भएकालाई ५० प्रतिशत छुट गरिएको छ भने ६० बर्ष भन्दा माथि र विद्यार्थीलाई २५ प्रतिशत छुटमा चढाइन्छ।
चन्द्रागिरि हिल्स रिसोर्टः
मन्दिरबाट करिब २ किमि मुनि सुविधायुक्त रिसोर्ट बनाइएको छ। जहाँबाट बेलुकी उपत्यकाको झिलिमिली, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ। पारिवारिक वातावरण भएको रिसोर्टमा विकेन्ड मनाउन उपयुक्त हुन्छ। साथै साथीभाइ वा परिवारसँग रमाउन सकिन्छ।
चखेल देउरालीः
चन्द्रागिरिबाट करिब २ किमि दक्षिण ओरालो झरे पुगिन्छ चखेल देउराली। चन्द्रागिरिमा केवलकारका संरचना बाहेक अरु बस्ती छैन। बस्ती पुग्न चखेल पुग्नुपर्छ। देउरालीमा तामाङ बस्ती छ। यहाँ (२,३०० मिटर)बाट हिमाल र उपत्यकाको राम्रो दृश्य देखिन्छ। यहाँबाट सिधा मोटरबाटो गएमा कुलेखानी हुँदै हेटौंडा पुगिन्छ।
बस्तीमा माने देख्न पाइन्छ भने रोप वे पनि छ। राणाकालमा हेटौंडादेखि काठमाडौंसम्म सामान ओसार्न बनाइएको रोप वे जुन अचेल चल्दैन। यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ। संरक्षण गरेर यसलाई पर्यटकीय आकर्षण बनाउन सकिन्छ। विद्यार्थीका लागि पनि अध्ययन केन्द्र बन्न सक्छ।
***
हामीले पदयात्रामा मन्दिरको तल चौरमा बसेर खाना खायौं। अहिले सबैतिर हाइकिङ गर्नेको समूह बढेको छ। हिँड्दा स्वास्थ्य लाभ हुन्छ भन्ने ज्ञान पनि छ तर स्वास्थ्यका लागि गरिने पदयात्रामा भने जानी नजानि खाना भने नमिलेको पाइन्छ जसले गर्दा जुन उद्देश्यले हिँडेको हो त्यो पूर्ण सफल हुँदैन। तसर्थ हामी हाम्रो पदयात्रामा स्वास्थबद्र्धक आहार जसमा अन्न, हरिया तरकारी र सलादमा मौसमअनुसारका फलफुल खुवाउने गर्छौं।
खाना पछि केही बेर अन्तरक्रिया गरेर हामी चखेलतिर लाग्यौं। त्यस्तै हाम्रो एउटा समूह चार दिने पदयात्राका लागि चित्लाङतिर ओरालो झर्यो।
कोरोना हल्ला पछि मानिस विस्तारै जीवनको लयमा फर्कंदै छन्। पदयात्रा गर्न थालेका छन्। चन्द्रागिरिमा पनि साउनदेखि चहलपहल बढेको स्थानीयले बताए। तर, पहिलाको तुलनामा मानिस कम पुग्ने गरेका रहेछन्।
प्रकृतिप्रेमी समूहले आन्तरिक पर्यटन विकास गर्ने उदेश्यले मंसिरदेखि फेरि नियमित बहुदिने पदयात्रा सुरु गरेको छ। यसैक्रममा केही महिना अघि गोटिखेल–कालेश्वर पदयात्रा गरिएको थियो भने यसपालि चिल्लाङ, मार्खु कुलेखानी, दामनको चार दिने पदयात्रा गरियो।
चन्द्रागिरिबाट चखेल झर्ने गोरेटो थियो तर अहिले मोटरबाटो खुलेकाले धेरै ठाउँमा गोरटा मासिएको छ। बिग्रेको छ। विकास हुनु, सडक बन्नु राम्रो हो तर मोटर गुड्ने सडक बन्दा गोरेटोलाई बिगार्नु हुदेन। गोरेटोलाई जोगाएर सडक बनाउनु पर्छ। तब पदायात्रा गर्न चाहानेहरू हिँड्नेछन् भने सडकमा गुड्न चाहनेहरू गाडीमा हुइँकिनेछन्।
हामीले चन्द्रागिरिबाट चखेल हुँदै मातातीर्थको शसस्त्र प्रहरी बेस क्याम्पसम्म पदयात्रा गर्यौं। चखेलबाट पनि हिँड्ने बाटो विगारिएकाले हामी मोटरेबल सडकमा हिँड्यौं। चखेलबाट गोरेटोमा जंगलैजंगल हिँड्दा ४ किमिमा शसस्त्र पुगिन्छ भने मोटरबेल सडकमा भने करिब ७ किमि हिँड्नु पर्छ।
चन्द्रागिरि पदयात्रा निकै रोमान्चक र साहसिक छ। ठाडै उकालो चढेर त्यत्तिकै ओरालो झर्नुपर्ने भएकाले पदयात्रा साहसिक छ। पदयात्रा गर्दा माथिमाथि केबलकार हिँडेको र प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइन्छ।
चन्द्रागिरि डाँडासम्म सडक जोडिएकाले बाइकिङ, साइकलिङ, हाइकिङ सबैका लागि उपयुक्त छ। केबलकार चढ्न चाहनेहरु केबकारमा जान सकिन्छ।
यहाँको मुख्य आकर्षकमा सफा मन्दिर, हरिया महाभारत श्रृखला, पूर्ण उपत्यकाको सुन्दर दृष्य अनि मैसम खुलेका बेला पूर्व देखि पश्चिमसम्म खुलेका हिमालहरु। अहिले चैतवैशाखमा डाँडामा राताम्मे हुने गरी गुराँस फूल्छन्। चाँदिझैं टलक्क टल्केका हिमालसंगै लालीगुराँसको यौवन हेर्दै भालेश्वर दर्शन गर्न जाने कि?
कसरी पुग्ने:
थानकोट गोदामसम्म गाडीमा करिब १४ किमि। गोदामबाट चन्द्रागिरि भन्ज्याङ हुँदै भालेश्वर मन्दिर र भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थ ससस्त्र प्रहरीसम्म पदयात्रा। गोदाम–चन्द्रागिरि भन्ज्याङ ४ किमि ठाडो उकालो। भन्ज्याङबाट ३ किमि ठाडो उकालोमा भालेश्वर मन्दिर। मन्दिर–चखेल २ किमि र चखेल–ससस्त्र ७ किमि मोटरेबल ओरालो। जम्मा पदयात्रा दूरी १६ किमि। समयः ६ देखि ७ घण्टा।
(स्वास्थ्यविज्ञ महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)