नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग नेपाली कांग्रेसभित्र तीव्र बनेको छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्। यहीबेला देशभरका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताउँदै कार्यतालिका नै प्रस्ताव गरेका छन्।
महानगर सभापतिहरू किन यस्तो अवस्थामा पुगे, उनीहरू किन तत्कालै महाधिवेशन चाहन्छन् भन्नेबारे सेतोपाटीले उनीहरूसँग कुराकानी गरेको छ।
कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाइँसँग हामीले गरेको कुराकानी:
नेपाली कांग्रेसका महानगर सभापतिहरूको बैठक नै बसेर पार्टीको नियमित महाधिवेशन माग गर्नुपर्ने अवस्था किन र कसरी आयो? 
जेनजी आन्दोलनपछि मुलुकको अवस्थामा व्यापक परिवर्तन आएको छ। यो परिवर्तनलाई पार्टीले बुझेर अघि बढ्नुपर्छ भन्ने बोध गरेर हामीले यस्तो कदम चालेका हौं। अहिले कांग्रेस भित्र महाधिवेशनबारे विभिन्न अन्योल देखिएको छ। विभिन्न पक्षका नै साथीहरूको फरक विचार देखिएको छ। कोही विशेष महाधिवेशनको कुरा गरिरहेका छन्, कोही नियमित महाधिवेशनको कुरा गरिरहनु भएको छ र कोही चाहिँ अहिले केही पनि गर्न सकिँदैन, केही समयपछि महाधिवेशनमा जानुपर्छ भन्ने खालका कुराहरू मिडियामा आइरहेका छन्।
यही सन्दर्भमा हामीले चाहिँ एकीकृत रूपमा सबै महानगरका सभापतिहरू एक ठाउँमा बसेर एउटा निष्कर्ष के निकाल्यौँ भने, यदि पार्टीको जिम्मेवारी लिएकाहरुले काम गर्ने हो भने महाधिवेशन नियमित समयमै गर्न सकिन्छ। र, नयाँ महाधिवेशनको नयाँ नेतृत्वले नेपाली कांग्रेसको सङ्गठनलाई मजबुत तरिकाले अगाडि बढाउन सक्छ भनेर हामीले आफ्नो राय राखेका हौं।
त्यही अनुसार हामीले नियमित महाधिवेशन समयमै हुनुपर्छ र यसको कार्यतालिका यो अनुसार गर्न सकिन्छ भनेर चाहिँ हामीले प्रस्ट रूपमा उल्लेख गरेर दिएका छौं। हामी नियमित महाधिवेशनकै माध्यमबाट कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा छौं। अब विशेष महाधिवेशन माग्दा पनि प्रस्ताव दर्ता भएको तीन महिना पछाडि मात्रै पुग्छ। त्यो झन् लम्बिने भयो। त्योभन्दा राम्रो हामीसँग समय छ, कार्यतालिका निकालौं। मंसिरको सुरूमा हामीले निकाल्यौं भने मंसिर-पुस भित्र त हामी महाधिवेशन नै गर्न सक्छौं। त्यो हिसाबले चाहिँ हामीले विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशनमा कांग्रेस जानुपर्छ भन्ने राय दिएको हो।
यो कार्यसमितिको म्याद एक वर्ष थप गर्ने बहस पनि छ। यही बेला महाधिवेशन चाहिँ किन चाहियो तपाईँहरूलाई? 
कांग्रेसमा अहिले रहेका र देखिएका पुराना अनुहारहरू, जसले वर्षौंदेखि कांग्रेसको विभिन्न पदमा रहेर काम गरिरहनु भएको छ, उहाँहरूकै नेतृत्वमा कांग्रेसको संगठनले ऊर्जा पाउँछ जस्तो हामीलाई लागिरहेको छैन।
अहिलेको नेतृत्वबाट संगठनले ऊर्जा पाउँदैन भन्नुको भन्नुको आधार के–के हुन्?
हामी पालिकाका पार्टी सभापतिहरू ग्राउन्डमा बसेर काम गरिरहेका छौं। हामीले वडा–वडाका जनताका विचारहरू बुझिरहेृका छौं। तलको लेभलको साथीहरूसँग हामीले कुरा गरिरहेका छौं, र त्यो कुराले के निष्कर्ष निक्लिरहेको छ भने जबसम्म कांग्रेसमा नेतृत्व परिवर्तन हुँदैन र नयाँ नेतृत्वले सङ्गठनको कमाण्ड लिँदैन, तबसम्म कांग्रेसलाई फेरि ऊर्जावान् बनाउन गाह्रो छ।
अहिलेकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने हो भने कांग्रेस बिस्तारै धराशायी हुँदै जान्छ भन्ने ग्राउन्ड लेभलको कुरा छ। सोही राय अनुसार हामीले नियमित महाधिवेशन माग गरेका हौं। यो महाधिवेशनलाई कुनै पनि बहानामा यो–त्यो भनेर चाहिँ पन्छाउन मिल्दैन। महाधिवेशन जसरी पनि हुनुपर्छ भन्ने हाम्रो कुरा हो।
विशेष महाधिवेशनको लागि पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यदि नियमित नभए विशेष महाधिवेशन गर्दा चाहिँ के हुन्छ? 
जो–जो साथीहरूले देशव्यापी रूपमा हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्नुभयो, उहाँहरूप्रति सम्मान छ। उहाँहरूको चाहना पनि जसरी भए पनि नेतृत्व परिवर्तन हुनुपर्छ र यो नेतृत्वले हाँकेको कांग्रेसले देशलाई निकास दिन सक्दैन भन्ने नै हो। उहाँहरूको भावनामा विमति छैन। यद्यपि विशेष महाधिवेशनको नाममा गुटगत राजनीति गरेर पार्टीलाई विभाजनको मनस्थितिमा पुऱ्याउने भन्दा पनि नियमित महाधिवेशन गरेर पार्टीलाई सही ढङ्गले अघि बढाउने, सबैलाई समेटेर, सबै पक्षका साथीहरूलाई एक ठाउँमा ल्याएर नयाँ नेतृत्व ल्याउन सकियो भने चाहिँ त्यसले नेपाली कांग्रेसलाई एउटा उपलब्धिमूलक ठाउँमा पुर्याउँछ भन्ने लाग्छ। संगठन विस्तारको काम गर्न सकिन्छ। हामी महानगर सभापतिहरूको कुरा पनि यही हो। विशेष महाधिवेशनले कतै पार्टीलाई फेरि अर्को दुरुगामी नकारात्मक असर पार्छ कि, एक–आपसमा फुटको स्थिति सिर्जना हुन्छ कि, गुटगत राजनीति अझै हावी हुन्छ कि! बरू त्योभन्दा राम्रो नियमित महाधिवेशनमा जान पाए राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो।
संस्थापन पक्षले त मंसिरमा महाधिवेशन गर्न समय पुग्दैन भनेर भनिरहेको छ। तपाईँहरूले चाहिँ एक महिनाभित्रै महाधिवेशन गर्न सकिने कार्यतालिका नै प्रस्ताव गर्नुभएको छ। के मंसिरमै महाधिवेशन गर्न सम्भव छ? 
हाम्रो निष्कर्ष चाहिँ के हो भने जो साथीहरू जुन–जुन पदमा बस्नुभएको छ र जसरी काम गरिरहनु भएको छ, उहाँहरू वास्तवमै कांग्रेसको महाधिवेशन गराउने बाटोमा लाग्नुभयो भने गराउन नसकिने हैन। आरामले गर्न सकिन्छ। अहिले त जुन हिसाबले काम हुनुपर्थ्यो, त्यो हिसाबले काम नभएको कारणले यसो भन्ने बहाना हो। केन्द्रीय कार्यसमिति र केन्द्रीय पदाधिकारीज्यूहरू चाहिँ त्यो कुरामा दत्तचित्त भएर नलागेकोले कांग्रेसको महाधिवेशन आलटाल हुँदै गएको हो।
केन्द्रमा जिम्मेवारी लिएकाहरुले काम गरेनन् भन्ने आरोप हो तपाईंको? 
त्यो भन्दा पनि समय थप गर्ने सुविधा छँदैछ भन्ने कोणबाट बढी सोचियो। समय थप गर्ने समय सीमा छँदैछ, विधानले दिएको व्यवस्था छँदैछ, त्यो विधानलाई टेकेर सत्तामा हालीमुहाली गर्नको लागि र भोलि फेरि निर्वाचनमा टिकट वितरण गर्न हामीले नै पाउँछौँ भन्ने मनसाय बोकेर केही साथीहरू पार्टीमा सक्रिय छन्। नेताहरू हाम्रै हातमा पार्टी रहिरहोस् र हामीले नै टिकट वितरण गर्न पायौँ भने भोलि फेरि सत्ताको खेलमा हामी हाबी हुन्छौँ भन्ने मनसायले केही समय टारेर अघि बढ्न खोज्दा यस्तो अवस्था आएको हो। दिनरात काम गर्ने हो भने महाधिवेशन गर्न नसकिने भन्ने हुँदैन।
महाधिवेशनको कार्यतालिका ल्याउने त केन्द्रीय समितिले हो, तपाईंहरू महानगर सभापतिले नै ल्याइदिनुभयो
हामीले किटान गरेको होइन, सुझाव मात्रै दिएको हो। यसरी गयो भने महाधिवेशन गर्न सम्भव छ, महाधिवेशन गर्नलाई कुनै गाह्रो कुरा होइन भनेको हो। महाधिवेशन गर्ने इच्छा शक्ति लिएरै केन्द्रीय समिति अथवा केन्द्रीय पदाधिकारी साथीहरूले यो मितिदेखि यो मितिसम्म गर्ने भनेर लाग्दा किन हुँदैन? महाधिवेशन आरामले गर्न सकिन्छ भन्ने हाम्रो एउटा सुझाव हो। त्यही कार्यतालिकालाई मानेर केन्द्रीय समितिले निर्णय गर्नुपर्छ भन्ने छैन, तर त्यो मोडलमा जान सकिन्छ।
चुनावअघि नियमित र विशेष महाधिवेशन पनि भएन र केन्द्रीय समितिले आफ्नो कार्यकाल थप्यो भने तपाईंहरूको भूमिका के हुन्छ अब ?
अब त कुनै किन्तु परन्तु वा कुनै पनि हालतमा कांग्रेसको अहिलेको समितिको मिति थपिँदैन। यो कुरा चाहिँ देशभरका साथीहरूको बीचमा भएको संवाद र भएका गतिविधिले देखाउँछ। चाहे महाधिवेशन नियमित होस् वा विशेष, महाधिवेशन गर्नै पर्छ। अब कार्यकाल थप्ने कल्पना कसैले नगरे हुन्छ। यदि नेतृत्वमा रहेका आदरणीय अग्रज नेताहरूको त्यो मनसाय छ भने पार्टीभित्र ठूलो विद्रोह हुन्छ र त्यो विद्रोहलाई उहाँहरूले ह्यान्डल गर्न सक्नुहुन्न। जसरी जेनजी विद्रोहले अहिलेको अवस्था आयो, पार्टी रूपान्तरणतिर अघि बढेन भने अकल्पनीय विद्रोह हुने निश्चित छ।
त्यो विद्रोह कस्तो हुनेछ? 
त्यो आउने समयको कुरा हो। जसरी यसपटक देशमा नसोचेको आन्दोलन भएर सत्ता परिवर्तन भयो, त्यसरी नै कांग्रेसभित्र पनि नसोचेको एउटा विद्रोह हुनेछ। त्यसले उहाँहरूलाई पार्टीबाट विस्थापित गर्ने रणनीतिमा अहिलेका ग्राउन्ड लेभलका कार्यकर्ता र तल्लो तहमा काम गर्ने साथीहरू लागिसक्नुभएको छ। नेताहरुले यो कुरा बुझ्नपर्छ। त्यसैले महाधिवेशनलाई टार्ने अथवा विशेष महाधिवेशन नगराउने नियमित महाधिवेशन पनि नगराउने र यही कार्य समितिलाई निरन्तरता दिएर एक वर्ष तान्ने भन्ने उहाँहरूको सपना छ भने म कृपया नेताजीहरूलाई आग्रह गर्न चाहन्छु, यो सपना तपाईँहरू छोड्दिनुस्, किनभने तलबाट बिस्तारै–बिस्तारै आगो बलिरहेको छ। कहाँ गएर बिस्फोट हुन्छ, तपाईँहरूले थाहा पाउनुहुने छैन। अब कुनै पनि बहानामा महाधिवेशन टार्न पाइँदैन, महाधिवेशन हुन्छ, महाधिवेशन गर्नुपर्छ र महाधिवेशन जसरी पनि हुन्छ भनेर देशभरीका कार्यकर्ताले भनिरहेका छन्। त्यही अनुसार हुन्छ।