नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गर्न अगुवाइ गर्नेमध्ये एक नेता हुन् — गुरूराज घिमिरे।
चौधौं महाधिवेशनका ४७४३ प्रतिनिधिमध्ये २४८८ जनाले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका छन्। नेता घिमिरेसहित महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालय सानेपामै भेटेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए।
त्यसपछि पार्टी केन्द्रीय समिति र नेपाल तरूण दलको स्थापना दिवसका अवसरमा कार्यवाहक सभापति खड्काले 'नियमित महाधिवेशन गरेर विशेष महाधिवेशन माग गर्नेहरूको भावना पनि सम्बोधन गरिनुपर्ने' बताएका थिए।
कांग्रेस विधानको धारा १७ को उपधारा २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
देशभरबाट महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन अभियानमा संलग्न नेता गुरूराज घिमिरेसँग आज बिहीबारदेखि चल्ने केन्द्रीय समिति बैठक, नियमित वा विशेष महाधिवेशन लगायत विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौं —
तपाईंहरूको अग्रसरतामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्नुभयो। तर नेतृत्वले विशेष महाधिवेशनको कुरा सुन्न चाहेन र नियमित महाधिवेशन पनि टार्न खोजेको छ भन्ने कतिपयको आशंका छ, खास के हो?
यो निकै पेचिलो विषय छ। हामीले यो केन्द्रीय समितिको कार्यकाल सकिनु एक वर्षअघि नै नियमित महाधिवेशनको विषय उठाउँदै आएका हौं। नियमित महाधिवेशनको तयारी अघि बढाऔं भनेर गत वर्षदेखि नै सुझाव दिँदै आयौं।
हुन त हामीले १४औं महाधिवेशनमै अब १५औं महाधिवेशन चार वर्षभित्र हुनुपर्छ भनेका थियौं। तर गत वर्षदेखि सुरू गर्नुपर्ने तयारी प्रक्रिया प्रारम्भ भएन। यसमा तदारूकता पनि देखिएन। आधारभूत काम पनि सम्पन्न भएन। क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम हुन सकेन।
हामीले समय सदुपयोग गर्न सकेनौं। त्यसैबीच भदौ २३ र २४ गते जेन-जी आन्दोलनका रूपमा एक प्रकारको आँधीबेहरी आयो। त्यसले हाम्रो मुलुकको राजनीतिमा उथलपुथल ल्यायो। एक प्रकारले अकल्पनीयजस्तो देखिए पनि भित्रभित्रै जनताको मनमा गुम्सिएको आक्रोश प्रकट भयो। भदौ २४ गते राष्ट्रले ठूलो क्षति पनि बेहोर्नुपर्यो।
जेन-जी आन्दोलनपछि हामीलाई पनि बदलिएको परिस्थितिमा नीति र नेतृत्व बदल्नुपर्छ भन्ने लाग्यो। हाम्रा कार्यक्रमले नयाँ पुस्तालाई सम्बोधन नगर्ने र हामी सुध्रिएको, सच्चिएको प्रत्याभूतिको सन्देश नदिने हो भने फागुन २१ को निर्वाचन हामी सामना गर्न सक्दैनौं। ३५-३६ वर्षदेखि पार्टी र देश चलाएको समूहलाई नेतृत्व जमातमा बोकेर हामी निर्वाचनमा जान सक्दैनौं।
त्यसैले भविष्यको बाटो खोज्न पनि अहिले महाधिवेशन गर्नुपर्छ र नेतृत्व परिवर्तन गर्नुपर्छ। त्यसका लागि मंसिरभित्र नियमित होस् वा विशेष होस्, यी दुईमध्ये एक महाधिवेशन गर्नुपर्छ भनेर भनेका हौं।
उहाँहरूले नियमित महाधिवेशन गराउने सम्भावना हामीले देखेनौं। त्यसमा हामीलाई हिजो पनि शंका थियो, आज पनि शंका छ। किनभने, उहाँहरूले समयमै तयारी गरेको भए मंसिर मसान्तभित्र महाधिवेशन हुने एउटा आधार तयार भइसक्थ्यो। अहिलेसम्म महाधिवेशनको तयारी गर्नु भएन। अब गर्नुहुन्न भन्ने लागेर हामीले विशेष महाधिवेशन माग गरेका हौं।
अहिले पनि एउटा ढोका खुला छ। नियमित १५औं महाधिवेशन मंसिरभित्र गर्ने अग्रसरता केन्द्रीय समितिले देखाउँछ भने त्यसले विशेष महाधिवेशनको माग पनि सम्बोधन हुन्छ। नियमित महाधिवेशन गर्नुहुन्न र समय थप गर्नेजस्ता कार्य हुन्छ भने विशेष महाधिवेशनलाई कसैले रोक्न सक्दैन। यो बाध्यकारी छ।
आजदेखि फेरि केन्द्रीय समिति बैठक सुरू हुँदैछ, यो बैठकले महाधिवेशन कार्यतालिका ल्याउँछ कि ल्याउँदैन, के लाग्छ तपाईंलाई?
महाधिवेशन सम्पन्न हुने ग्यारेन्टीसहितको कार्यतालिका चाहियो। केवल कार्यतालिकाका लागि कार्यतालिका हामीले मान्ने कुरा होइन। हामीले त महाधिवेशन नै सम्पन्न गराउने कार्यतालिका मागेको हो।
हामी सहजै महाधिवेशन गर्न सक्छौं। कात्तिकभित्र क्रियाशील सदस्यताका सम्पूर्ण समस्या समाधान गर्न सकिन्छ। मंसिरबाट वडाबाट केन्द्रसम्म महाधिवेशन गर्न सक्छौं। त्यसमा समस्या आयो भने क्रियाशील सदस्यता टुंग्याएर वडाको, प्रतिनिधिसभा क्षेत्रको, एक मात्र प्रतिनिधिसभा निर्वाचन भएका जिल्लाको अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन एकैचोटि गर्न सकिन्छ।
केन्द्रीय महाधिवेशन गरेर हामी पालिकातर्फ फर्कन्छौं र आमनिर्वाचन हुँदासम्म अधिवेशनका काम सक्छौं। मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्छ, यो छोटो बाटो हो। कात्तिक मसान्तमा क्रियाशील सदस्यता टुंग्याएर मंसिर १ गते वडा तहबाट सुरू गरी मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्न सकिन्छ।
महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका आउनुपर्छ। झारा टार्ने गरी आउने कार्यतालिकामा हाम्रो मन्जुरी हुने छैन। महाधिवेशन टार्ने प्रयत्नलाई पनि हामी स्वीकार गर्नेवाला छैनौं। त्यसपछि विशेष महाधिवेशन अनिवार्य आयोजना गर्ने गरी अघि बढ्छौं।
फागुन २१ को चुनावअघि नियमित महाधिवेशन नगर्ने, विशेष महाधिवेशनको पनि प्रक्रिया नथाल्ने र महाधिवेशन नै नगर्ने रणनीति पार्टीले लियो भने के हुन्छ?
यो त एकदमै पार्टी नेतृत्वमा बसिरहने, आमजनताको र पार्टीका साथीहरूको मनोभावना नबुझ्ने रूढीवाढी सोच हो।
समाज धेरै अघि बढिसकेको छ। यो लोकतान्त्रिक र प्रजातान्त्रिक सोच पनि होइन। आमजनताले कांग्रेसमा परिवर्तन चाहेका छन्। एउटा प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिक आचरण अनुसार आफूलाई बदलोस् भन्ने जनताले चाहेका छन्। यो समयको माग र राष्ट्रिय आवश्यकता तथा पार्टीका साथीहरूको चाहना पनि हो। यसलाई नजरअन्दाज गर्ने काम हामीले गर्यौं भने कांग्रेस ठूलो संकटमा फस्छ।
त्यसैले यी कुराहरूबाट आफूलाई जोगाएर कांग्रेस मुलुक र लोकतन्त्र जोगाउने बाटोतर्फ अग्रसर हुनुपर्छ।
५४ प्रतिशत हस्ताक्षरलाई पूर्वउपसभापति विमलेन्द्र निधिले कार्यकाल सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भनिदिनुभयो। महाधिवेशन प्रतिनिधिको वैधानिकता के हो?
यो आधारहिन तर्क हो। त्यति ठूलो नेताले बोलेको कुरालाई म कुतर्क त भन्दिनँ। तर यसमा कुनै दम पनि छैन। १५औं महाधिवेशनका लागि प्रतिनिधि नछानिएसम्म १४औं महाधिवेशनका प्रतिनिधिको कार्यकाल रहन्छ।
महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो भन्नुको मतलब के वडादेखि केन्द्रीय समिति अहिले जिरोमा गए त? त्यसो भए केन्द्रीय समितिलाई मंसिर मसान्तभित्रै विघटन गरौं। प्रदेश समिति र जिल्ला समिति पनि विघटन भएको तुरून्त घोषणा गरौं। शून्यमा राखौं न त पार्टीलाई। शून्यबाटै सुरू गरौं।
जबसम्म नयाँ प्रतिनिधि अस्तित्वमा आउँदैनन्, तबसम्म हामी शून्यताको कल्पना गर्न सक्दैनौं।
आजको दिनबाट भन्दा अब तपाईंहरूको बटमलाइन के हुन्छ?
हाम्रो बटमलाइन भनेको मंसिर मसान्तभित्र नियमित महाधिवेशन सुनिश्चित होस् भन्ने हो। त्यसका लागि कार्यतालिका मात्र होइन, महाधिवेशन सम्पन्न हुने सुनिश्चितता नै पहिलो कुरा हो।
दोस्रो कुरा, यसलाई टार्न खोज्ने हो भने विशेष महाधिवेशनको अनिवार्यता रहन्छ। यो नै हाम्रो बटमलाइन हो।
मंसिरमा तयारीगत हिसाबले पनि महाधिवेशन गर्न भ्याइँदैन, वैशाखमा गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र रहेछ, के भन्नुहुन्छ?
यसरी महाधिवेशनको समय धकेल्ने कुरा त मन्जुर हुँदैन। यो व्यावहारिक र समयको आवश्यकता अनुसारको कदम पनि होइन।
यो कार्यसमितिको म्याद थप गर्न पाइँदैन भन्ने पार्टीका साथीहरूको पनि भावना हो र लोकतान्त्रिक जनमत र देशवासीको पनि भावना हो। अहिले देखिएका चुनौती सामना गर्न सक्ने पार्टी बनाउनु र त्यसरी पार्टीलाई उभ्याउनु अहिले हामी सबैको कर्तव्य र जिम्मेवारी पनि हो।
यो इतिहासप्रतिको पनि जिम्मेवारी हो। त्यसका लागि इमानदार र निष्ठापूर्वक कदम चाल्नुपर्छ।
नियमित वा विशेष महाधिवेशन सुनिश्चित नगरी केन्द्रीय समिति बैठक सकियो भने तपाईंहरूको कदम के हुन्छ?
विशेष महाधिवेशन बोलाउनुपर्ने कुरा त बाध्यकारी हो। यो त विधानमा भएको व्यवस्था हामीले देखाइदिएको हो केन्द्रीय समितिलाई। विधानमा भएको अर्को व्यवस्थाको ढोका खोलिदिएको हो हामीले।
नियमित महाधिवेशन गर्न सक्नुहुन्न भने विशेष महाधिवेशनको अर्को विकल्प छ भनेर केन्द्रीय समितिलाई ध्यानाकर्षण गराएको हो। यो बाध्यकारी छ।
विधानको धारा १७ को उपधारा २ अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाएपछि किन्तु-परन्तु गर्न पाइन्न, विशेष महाधिवेशन आयोजना गर्नैपर्छ। हामीले पार्टीका बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेर बुझाएका हौं। त्यसैले यसको विकल्प सोच्नै सकिन्न।
खालि पार्टीभित्रको आन्तरिक मामिला भएकाले नियमित महाधिवेशन गर्ने हो भने यो विषय सम्बोधन भयो भनेर त्यसमा समाहित हुन सक्ने हो।
नियमित महाधिवेशन नगर्ने, समय थप्ने र विशेष महाधिवेशनलाई निस्तेज पार्ने प्रयत्नलाई पार्टीका कुनै पनि सदस्यहरूले स्वीकार गर्न सक्दैनन्।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरिनु चाहिँ पार्टी विभाजित गर्ने अभ्यास हो भन्ने आरोप रहेछ नि!
त्यो त पार्टीका साथीहरूको अधिकार निस्तेज पार्ने र इमोसनल ब्ल्यामेलिङ हो। पार्टी फुट्ने खतरा देखाएपछि महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनबाट पछि हट्छन् भनेर त्यो अस्त्र प्रयोग गरेका हुन्। त्यो अस्त्रबाट हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरू पछाडि हट्ने अवस्था छैन।
चुनावअघि महाधिवेशन नहुने र संस्थापन पक्ष पेलेरै अघि बढ्ने रणनीतिमा लाग्यो भने तपाईंहरू कांग्रेसमै रहनुहुन्छ कि विद्रोह गर्नुहुन्छ?
त्यसपछि के पुष्टि हुन्छ भने उहाँहरू पार्टीलाई सग्लो राख्न चाहनुहुन्न। उहाँहरू पार्टी विभाजनको आक्षेप अरूलाई लगाउँदै हुनुहुन्छ, त्यो उहाँहरूतिरै फर्किन्छ। उहाँहरूले नै पार्टी एकता चाहनुभएको छैन भन्ने प्रमाणित हुन्छ।
जबर्जस्ती पेलेर, एकलौटी रूपमा अघि बढ्ने प्रयत्न गर्नुभयो भने उहाँहरू पार्टीलाई सग्लो राख्न चाहनुहुन्न, पार्टी एकता चाहनु हुन्न, पार्टीका सदस्यहरूको मनोभावना कुल्चेर अघि बढ्न चाहनुहुन्छ र पार्टीलाई फेरि पनि परम्परागत रूपबाटै अघि बढाउने र कब्जा गरी एकाधिकार लाद्ने मानसिकतामा हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ।
***