नेपालको कुनामा छ सुदूरपश्चिम र त्यसको पनि कुनामा छ दार्चुला। नेपालको नक्सामा ताप्लेजुङ र दार्चुला दुई जिल्ला हुन जसले भारत र चीन दुबै देशलाई छुन्छन्। डडेल्धुरा जाने र त्यो अघि कहाँसम्म पुगिन्छ अन्यौलकै बीच पुगियो त्यो टाढाको दार्चुला।
साथीको कार्यालय छ डडेल्धुरा, सुदूरपश्चिमका केही जिल्ला घुम्ने योजना बन्यो। कहाँ कहाँ पुग्ने भन्ने टुंगो चाहिँ थिएन। सुदूरपश्चिमका पहाडी जिल्ला पुग्न अत्तरिया हुँदै डडेल्धुरा पुग्नै पर्ने रहेछ। त्यसपछि महाकाली राजमार्ग हुँदै यात्रा गरियो भने बैतडी र दार्चुला पुगिने रहेछ भने सेती राजमार्गतर्फ लागे डोटी, अछामलगायत जिल्लामा पुगिने रहेछ। डडेल्धुरा पुगेर अन्तिम गन्तव्य तय गर्ने निधो भयो।
कोहलपुरबाट पहिलो दिन बिहानै यात्रा सुरू भयो। धनगढीसम्म पुग्ने गाडीमा अत्तरिया झर्यौं। बिहानको खाना त्यहीँ खाएर जाने टुंगो भयो। साथीले चिनेको उतै डडेल्धुराको कार अत्तरिया जाने रहेछ अनि केहीबेरमा फर्कने रहेछ। सोही कार चढी करिब ३.५ घण्टाको अत्तरिया देखिको यात्रापश्चात् डडेल्धुरा पुग्यौं।

साथीको कार्यालयकै आवासमा खाना र बास बस्ने व्यवस्था मिल्यो। पहिलो दिन त्यहीँ रात कट्यो। उता सेती राजमार्ग जाँदा खप्तडसम्म पुग्दा राम्रो हुने र हाल चिसोमा त्यता जान मुश्किल हुने भएपछि केही राम्रो मौसम रहेको बैतडी र दार्चुलातर्फ जानु उचित लाग्यो।
दोस्रो दिन बिहान छलफल गर्यौं, र अघिल्लो दिन आएको गाडीमा ३ दिनको यात्राको भाडाको कुरा गरी गाडी टुंगो गर्यौं।
१० बजे खाना खाएर बैतडी तर्फको यात्रा सुरू भयो। करिब ३ घण्टाको यात्रापश्चात बैतडी सदरमुकाम पुग्यौं। सहिद दशरथचन्दको नामबाट राखिएको नगरपालिका र बजार क्षेत्र खासै ठूलो थिएन।
एकछिन दिउँसोको नास्तापश्चात त्यहाँबाट १८ किमी परको भारतसँगको सीमाना झुलाघाट गयौं।
कोरोना महामारी सुरू भई लकडाउन सुरू भएदेखि सीमानाको पुल बन्द रहेछ।
नेपालतर्फ सम्पूर्ण पसल सबथोक बन्द भएर पूरै सुनसान थियो। सशस्त्र प्रहरीको कार्यालय र केही जवानहरू मात्र त्यहाँ भेटिए। बेलुका सहिद दशरथचन्दको आवास गृह अनि केही मठमन्दिर घुम्यौं।
उक्त दिन त्यहीँ बैतडीको एक होटलमा बास बस्यौं।
भोलिपल्ट बिहान सूर्योदयमा बजारकै एक घरमा सुन्तलाको बोटहरूमा टल्कँदै गरेका सुन्तला देखिएपछि सुन्तला किन्न गयौं। घरमा बुढी आमा र अन्य परिवार हुनुहुँदो रहेछ। आमाले कांग्रेस नेता रमेश लेखक "मेरो भतिजा हो" भनेर चिनाउँदै हुनुहुन्थ्यो। केही सुन्तला किनेपछि गाडीमा दार्चुलातिर हिँडियो। घुमाउरो अनि निकै साँघुरो बाटो रहेछ। कति ठाउँमा दुईतर्फी बाटो पास नभएपछि एकतिरको गाडी ब्याक गरी पास गर्नुपर्ने अवस्था हुन्थ्यो।
करिब ४-५ घण्टाको यात्रापश्चात् महाकाली राजमार्गको अन्तमा रहेको दार्चुला बजार पुग्यौं।
४ बजेतिर दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिका पुगेका हामी पहिले होटल टुंगो गर्यौं। बाटो साँघुरो रहेकाले गाडी होटलमै छाडी पारी भारत जाने पुलतर्फ गयौं। त्यहाँ पनि उता झुलाघाटमा जस्तै पुल बन्द रहेछ तर आवश्यक परेका बेला भने पुल खोलिने रहेछ।
यता दार्चुला प्रशासन र उता भारतको प्रशासनले सहमति जनाएमा केही समयको लागी आवतजावतको अनुमति दिइने रहेछ।
हामी त्यहाँ पुग्दा एक जना महिला, आफ्नो छोरा बिरामी रहेको र जचाउन पारी जानैपर्ने तर कहिले खुल्ने टुंगो नभएको भन्दै अत्तालिँदै थिइन्। हामीले प्रशासनमा सम्पर्क गर्नु है भनि सुझाव दियौं।

त्यहाँबाट नेपालको राजधानी काठमाडौं पुग्न करिब २४ घण्टा बढी लाग्ने रहेछ भने उता भारतको राजधानी पुग्न भने १५ घण्टा जति।
नेपालतर्फ ठूलो सहर दिपायल र धनगढी पुग्न पनि करिब १०-१२ घण्टा लाग्ने रहेछ र उता भारतको पिथौरागढ सहर पुग्न करिब ३-४ घण्टा, त्यसैले दार्चुलाबासी भारत निर्भर बढी रहेछन् जुन कुरा थाहा थियो तर पुगेर नै देखियो।
भारत जान गाउँबाट आउनेहरू बस्ने भनि लगभग सबै होटल खोलिएका हुने रहेछन्। कोरोनाको कारण अहिले भारतसँगको यताको सीमा नाका बन्द रहेछन्। त्यसैले पनि होटलहरूको व्यापारको अवस्था खराब रहेछ। पर्यटक थोरै आउने ती स्थानहरूमा गाउँबासिका लागि लक्षित होटलहरू भएकाले स्तरीय सुविधा दिने होटल भने भेटिएनन्।
सदरमुकाममै राम्रा भनिएका होटलमा पनि राम्रो वाईफाई, एसी, राम्रो बाथरूम जस्ता कुरा भेट्न गार्हो भयो।

अर्को दिन बिहान उठी होटलमै नास्ता गरी डडेल्धुरा फर्कियौं। पूरै दिन लगभग यात्रामा बित्यो। यात्राको अन्तिम दिन भने त्यहीँ डडेल्धुराका केही ठाउँ गयौं। त्यो क्षेत्रकै प्रख्यात उग्रतारा मन्दिर, घटाल बाबा र अमरगढी किल्ला पुग्यौं। अमरसिंह थापाले लडाइँका क्रममा बनाएको अमरगढी किल्ला पुनः निर्माणको काम हुँदै रहेछ।
बजेट नपरेको र पहुँचवालाले आउने भनिएको बजेट पनि अरू ठाउँमा पारेको भन्ने गुनासो पनि सुन्न पाइयो। त्यसदिन त्यहीँ डडेल्धुरा साथीको मै बास बसी छैठौं दिन कोहलपुर फिर्ता भयौं।