मेरो बञ्जी गर्ने सपना पहिलेदेखिकै हो। इच्छा पूरा हुन समय पर्खंने धैर्यता चाहिने रहेछ।
२०७५ सालमा प्याराग्लाइडिङ गरे लगत्तै मलाई बन्जी गर्ने रहर जागेको हो। बन्जी गर्नुभन्दा म प्याराग्लाइडिङतर्फ लाग्नुमा त्यसबेला थोरै पैसा खर्चेर लामो समयसम्म आनन्द लिन पाइन्छ भनेरै हो। बन्जी दुई/तीन मिनेटमा सकिन्छ त्यतिनै पैसा खर्च गरे कम्तीमा आधा घण्टा आकाशमा चराझैं उड्न पाइयो।
प्याराग्लाइडिङ गर्ने इच्छाभन्दा डर कैयौं गुणा हुने रहेछ। पोखराका होटलदेखि सराङकोट पुग्दासम्मै डरले मनमा डेरा जमाइरह्यो। बिहानीपख सराङकोटको डाँडामा चिसो बतास चले पनि डरले मन भतभती पोलिराख्यो।
झन् साथीहरूले डर देखाइदिएका थिए- डेन्जर हुन्छ। फेवातालमा खसेर मर्न पनि सकिन्छ। यी त फगत त्रास देखाइदिएका पो रहेछन् त!
जब मेरो शरीरमा प्याराग्लाइडिङको डोरीहरू बेरिन थाले डरले सीमा नाघे। चालकले ब्रिफिङ गरे- नडराइ उड्नुपर्छ, नत्र लडिन्छ फेरि!
जब डाँडाबाट हाम फालेर हावामा पुगियो, आहा! कस्तो आनन्द। मलाई साथीहरूले बेकारमा डर मात्रै देखाइदिएका रहेछन्। आकाशबाट हेर्दा डर होइन मज्जा पो आयो। कहिल्यै बिर्सन नसकिने गरी। कहिलेकाहीँ फेरि त्यो क्षण सम्झेर म प्रफुल्लित भइरहन्छु।
तपाईंलाई पनि प्याराग्लाइडिङ गर्ने इच्छा र रहर छ भने मजस्तो नडराउनू है।
अब कुरा बन्जीको गरौं।
एकदिन ल्यापटप खोलेर आकाशमा उडेको भिडिओ आमालाई देखाएँ। आमा त झन् डराउनु पो भयो। यस्तो गर्न हुन्न पो भन्नुहुन्छ। प्याराग्लाइडिङको भिडिओ देखाउँदा डराउनुभएकी आमालाई म अब बन्जी हान्न जाँदै छु भन्ने आँट आएन।
दसैं सकिन दुई दिन बाँकी थियो, म काठमाडौं हानिएँ। भक्तपुर पुगेर साथीलाई कल गरेँ मोबाइल अफ रहेछ। दसैं सकिएको छैन बन्जी पो खुला छ कि छैन मनमा प्रश्न उठ्यो। एउटा साथीबाट नम्बर मागेर द लाष्ट रिसोर्टमा कल गरेँ। बन्जी खुल्ने रहेछ, मन ढुक्क भो। तर टिकट पो कहाँ काट्ने?
उसलाई फेरि फोन गरेँ। ठमेल आउनुस् भने। कोटेश्वरको जाममा छु, साँझ परिसक्यो कसरी आउने? यहीबेला सन्तोष भान्जाले कल गरे- कता हो मामा? मैले टिकट काट्न नसकेको बताएँ।
भाञ्जाले बाइकमै जाने कुरा गरे। ‘कोटेश्वर आकाशेपुल नजिक छु लिन आउनुस्’ मैले भाञ्जालाई बोलाएँ। दस मिनेटमै भाञ्जा आइपुगे। बाइकको कन्डिसन ठीक छ? भान्जाले भने- दसैंमा निकालेको नयाँ बाइक हो।
थकालीमा पुगेर भात खाएर रूम गइयो। बन्जीको कुरा गर्दागर्दै कुन बेला निदाइएछ पत्तै भएन।
भोलिपल्ट.. आँखा खुल्दा बिहान सात बजिसकेछ। भान्जालाई लिएर बन्जी टिकट खोज्न हिँडियो। बाइकमा बिहान-बिहान चिसो, आच्छु! हामी धुलिखेल हुँदै हुइँकियौं।
हामीले ठाउँ-ठाउँमा मानिसहरूलाई सोध्यौं-भोटेकोसी कति टाढा पर्छ? उनीहरूको जवाफ हुन्थ्यो, आधा पनि भएको छैन।
खाल्डाखुल्डी भएका बाटो हुँदै हामी अघि बढ्यौं। बाटो छेउको एक होटलमा खाना पनि खाइयो।
भोटेकोसी यात्रा हाम्रा लागि नयाँ थियो।
बाटो भुलियो कि भनेर ठाउँ-ठाउँमा सोध्दै गइयो। हाँसीमजाक गर्दै द लाष्ट रिसोर्ट पुगियो।
बाइक पार्किङ गरेर सिधै पुल पुगियो।
ओहो पुलबाट तल हेर्दा त आङ सिरिंग भयो। भोटेकोसी कति तल रहेछ। फेरि डर सुरू भो!
मुटु कमजोर हुनेले बन्जी गर्न सक्दैन भन्ने सुनेको थिएँ याद आइगो।
टिकट काउन्टर पुगेँ। फारम भरियो। बन्जी हान्न लाइनमा बसियो। जे त होला भनेर। कति रमाइलो दृश्य। मेरो पालो कतिबेला आउला भनेर पर्खिरहेँ। पुलमा पुगियो। पहिला म बन्जी हान्छु, भान्जालाई भनेँ।
शरीरमा बन्जीका लागि चाहिने डोरी लगाउन सुरू गरे। शरीर हलुका भएझैं लाग्यो। विस्तारै पुल बाहिर निस्कनुपर्ने भयो। आधा पैताला पुल बाहिर आधा भित्र। छेउमै पुगिसकियो। तल हेर्दा रिंगाटा छुटेझैं भयो। बन्जी मास्टर भन्दै थिए- बुर्लुक्क उफ्रनु। नभए हाम फाल्नू है।
ओ हो, एकछिन त सास रोकिएझैं भो। जब तल पुगेँ तब आनन्द पो हुने रहेछ। डरजति सबै आनन्दमा परिणत भए।
जीवनमा धेरै काम गरिन्छ। कहिले मजा हुन्छ त कहिले नरमाइलो। तर बन्जी र प्याराग्लाइडिङ त बिर्सनै नसकिने गरी अविस्मरणीय पो हुने रहेछन्। तपाईंलाई पनि आनन्द लिन र डर होइन मजा लिन रहर छ भने बन्जी र प्याराग्लाइडिङको मजा लिनुस्।