ढल्किँदो साँझ । खाली मञ्च । वरपर बाक्लो भिड । सबैका नजर मञ्चमै । उद्घोषकले संकेत गरेपछि बरर ताली बज्यो । हामी सबै त्यही क्षणको व्यग्र प्रतिक्षामा थियौं । मञ्चमा क्याटवाक सुरु भयो । तर, त्यहाँ उत्रिएका स्थानीय मोडलहरुले आधुनिक पहिरन लगाएका थिएनन् । बरु उनीहरु आफ्ना पुराना मौलिक भेषभुषा देखिए । कोही धनुकाँढ बोकेर आए त कोही काठे बन्दुक ।
क्याटवाक गर्ने पुरुषहरुले भांग्रा, चौबन्दि, पगरी, छडके, पटुका, डांग्रे, सहित गहनामा बिरगुलि, मुन्द्रा, टोपि र धनुकाण भिरेका थिए । त्यस्तै महिलाले चोलि (ख्यो), गादा (सुर), लुंगी, खुगुप, व्हाफो, सहित गहनामा मारुनी, तिलहरी, बुलाकि, खोंकड, नांगी, मुन्द्रि, चुरा, फुली, टिकुलि साथै डोको (भे),नाम्लो
(न्हम)मा सजिएर पिरुंगा बोकी प्रदर्शनमा उत्रेका थिए ।
यस्तो विशुद्ध नेपालीपनको पहिरन प्रदशर्नी मैले देखेकै थिइन् । गाउँलेहरु भन्दै थिए १८ मगरात क्षेत्रमा यस्तो फेशन परेड पहिलो पटक भएको हो । रोल्पाको चर्चित गाउँ थवाङमा आयोजित पहिरन प्रदर्शनी हेरर नत मन अघायो, नत आँखा नै । क्यामेराले भटाभट फोटा खिचिरहें ।
मगर समुदायको महान पर्व माघे संक्रान्ति मेलामा पहिरन प्रदर्शनी गरिएको हो । यसमा स्थानीय युवाको होस्टेमा थवाङ गाउँपालिकाले हैंसे गरेको थियो । करिब दुई घन्टा चलेको फेशन परेडले एउटा राम्रो सञ्देश दिएको छ, हामीले आफ्नो मौलिक संस्कृति बिर्सनु हुँदैन भन्ने ।
पहिचानसँग जोडिएका मगर भेषभुषा प्रदर्शनमा अठोट रोका मगर, अदिका रोका मगर, जिबिका रोका मगर, जनबाद रोका मगर, युङका झाँक्री मगर, अबिरल बुढा मगर, धन रोका मगर, बिशाल रोका मगर, आकृतिक पुन मगर, तृष्णा बुढा मगर, राम राखी घर्ति मगर सहित १२ जना सहभागी थिए । प्रदर्शनमा पुरुषतर्फ बिशाल रोका मगर र अदिका रोका मगर उत्कृष्ट घोषित भए । विजेता सहित सबै सहभागीलाई पुरस्कार दिइयो ।
मगर कला संस्कृतिक संरक्षण मञ्चका सल्लाहकार उदय घर्ति मगरका अनुसार मौलिक संस्कृति संरक्षण गर्न पहिरन प्रदशर्नी गरिएको हो । यो कदमको सबैले तारिफ गरे । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्य बिश्वकर्माले भने, आधुनिक युवालाई आफ्नोपनमा गौरब गराउन सहयोग होस् भनेर हामीले पहिरन प्रदशर्नीलाई सघाएका हौं ।
मलाई लाग्यो विभिन्न जातजातिका यस्ता मौलिक पोशाकको प्रदर्शनी केन्द्रीय राजधानी काठमाडौं र संघीय राजधानीहरुमा समेत आयोजना गर्न सके राम्रै हुनेछ ।
गाउँपालिकाले आयोजना गरेको मेलाको एउटा आकर्षण पहिरन प्रदर्शनी थियो । त्यसबाहेक त्यहाँ प्रथम थवाङ कप भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । पाँच दिनसम्म लगातार मेलामा झुमिरह्यौ थवाङ ।
यही मेसोमा ५४ वर्ष पछि छुर्ररे नाच व्युँताइयो । त्यस्तै पैसेरी, नचाउरु, सिंगारु, धंगे, मयुर लगायत नाचको रौनकले कार्यक्रम बिछट्टै रमाइलो बन्यो । त्यस अबसरमा कविता प्रतियोगिता समेत गरियो ।
मगर खाम भाषा कबिता प्रतियोगितामा राम बाबु, अनेरा रोका, सत्य जिवन बुढा, नियुक्ति रोका, हितमान बुढा, बेल बहादुर रोका, स्वर्णिम रोका र वीर भक्ति बुढा सहभागि थिए । कबितामा वीर भक्ति बुढा प्रथम, हितमान रोका दोस्रो, बेल बहादुर तेस्रो र सान्त्वना पुरस्कार सत्य जिवन बुढाले प्राप्त गरे ।
जनयुद्धको उद्गमथलो थवाङे यात्रा धेरै हिसाबले सुखद बन्यो । सांस्कृतिक मुल्यका धेरै तस्बिरहरु हाम्रा क्यामेरामा कैद भए । सहयात्रीहरु ज्योतिकेशर सिंह र विरन पुनका क्यामेरामा पनि भिडियो दृश्यहरुको राम्रै संग्रह भयो । हिउँ पनि खेल्न पाइयो । इतिहास, प्रकृति र संस्कृतिको त्रिबेणीधाममा पुगेर फर्केपछि आँखाभरि थवाङ टल्किरहेछ ।
धन्यवाद थवाङ!