प्रदेश नम्बर ५ को रोल्पा जिल्ला प्राकृतिक सुन्दरता, हरियाली वनजंगल, नदिनाला, जडिबुटि र बन्यजन्तुले भरिपूर्ण छ।
पर्यटन क्षेत्रमा थप विकास गर्ने भन्दै २०७० सालमा यो क्षेत्रकै पहिलो होमस्टेको रूपमा गुरूङगाँउ सामुदायिक होमस्टे स्थापना भयो।
तत्कालिन जिविस रोल्पाको विषेश पहल र आर्थिक सहयोगमा सुरू भएको होमस्टे सदरमुकाम लिबाङबाट करिब ६ किमि उत्तरपूर्वमा पर्छ।
चिटिक्क परेका परम्परागत ढुंगा र माटाका करिब ७० घरधुरिको बसोबास रहेको सुन्दर गुरूङ बस्ती आफैंमा प्राकृतिक रूपमा सुन्दर छ। गुरूङ जातिको बाहुल्य रहेको यो गाउँमा दुई दलित र एक क्षेत्रि घर छन्।
रोल्पा नगरपालिका मेयर पूर्ण केसीको सहयोगमा रोल्पा आएको बेला यहाँको होमस्टे घुम्ने अवसर जुर्यो।
मित्र दिपक डाँगी, ज्योति दाइसहितका केही टोली गुरूङ गाँउ सोझियौं।
लिबाङबाट लहरे खोलाहुँदै करिब २० मिनेटको उकालो कच्चि सडक पहिल्याउँदै हामी गुरुङगाउँ पुग्दा आमा समूह फूलमाला लिएर स्वागतको लागि तयार भएर बसेका थिए।
चिटिक्क परेका घर, बारीभरि पहेलै भएर फुलेका तोरी, बोटमा लटरम्म फलेका सुन्तला, गोठमा पालेका गाई भैसी र बाख्रा तथा आँगनमा चरेका कुखुरा हेर्दा मनै फुरूङ्ग भएर आयो। त्यसमा वरिपरिका डाँडाहरूले मन लोभ्यायो।
यति रमाइलो गाउँ घुम्न पाउँदा म र ज्योति दाइ मक्खै पर्यौं। गाउँको सुन्दरतालाई तस्बिरमा संगाल्ने कोशिश गर्यौं।
तत्कालिन जिविसमा कार्यरत दिपकजीका अनुसार सदरमुकामबाट नजिक परेको गाउँ, यहाँको रहनसहन र गुरूङ संस्कृतिका कारणले यस गाउँमा होमस्टे सञ्चालनका लागि जिबिस रोल्पाले पहल गरेको थियो।
होमस्टे अध्यक्षसमेत रहेका स्थानीय जनप्रतिनिधि हरिजंग गुरूङले हामीलाई गाउँ घुमाए। केहि माथि डाँडाको चौर र सामुदायिक भवन डुलाए।
अध्यक्ष गुरुङका अनुसार गुरूङ जातिको संस्कृति, भेषभुषा, अर्गानिक खानपिन र स्वच्छ शान्त गाउँले वातावरण रूचाउनेका लागि गुरूङ गाउँ होमस्टे सबैभन्दा उपर्युक्त स्थान हो।
‘गाउँ सुन्दर छ, ढुंगा माटोले बनेका पराम्परागत शैलीका घरले थप मन आकर्षित गर्छ,’ उनले भने, ‘नजिकै रहेको काला सिद्धबाबा मन्दिर छ। यहाँबाट वरिपरिको रमणीय दृश्य अघाउन्जेल हेर्न सकिन्छ।’
प्रत्येक जेठ पूर्णिमामा मेला लाग्ने यहाँ धामि धमिनि नाच्ने चलन रहेछ। पूजामा बोका, भाले र भेडाको बलि दिने चलन रहेछ।
‘पिता पुर्खाले सदियौं पहिलादेखि चलाउँदै आएको पशु बलिद्वारा मनोकांक्षा पुरा हुने, परिवारमा निरोगि बन्ने, छरछिमेकमा सदभाव फैलाउने, अन्नबाली सप्रिने जनविश्वास रहिआएको छ,’ अध्यक्ष गुरुङले भने।
यहाँ घुम्न आउने पाहुनलाई खानपिनमा दाल भात, ढिँडो, साग सब्जी, अचार, सिस्नु, मौसमअनुसारको तरकारी सबै अर्गानिक र आफ्नै बारीमा उब्जिएको स्वादिलो खाना खुवाइन्छ।
यहाँका मुख्य पेशा कृषि, पशुपालन र बैदेशिक रोजगार हो।
खेतीपातिमा मकै, गहुँ, कोदो, तोरी, सिमी, साग सब्जि प्रसस्त उब्जनी हुन्छ। फलफूलमा सुन्तला, कागति, मौसम र आरू फल्छ।
पशुपालनमा गाई भैसी, भेडा, बाख्रा, कुखुरा आदि पाल्छन्।
यहाँका प्रमुख पर्बमा ल्होसार, दसैं, तिहार, तिज हुन् र वर्षभरिका अन्य चाड पर्वहरूमा पनि स्थानीय एकतृत भएर धुमधामले रमाइलो गर्छन्।
सिँगारू नाँच, सोरठी नाँच, भैलो, कृष्ण चरित्र यो गाउँका मुख्य सांस्कृतिक कार्यक्रम हुन्।
गुरूङगाउँ सुन्दर छ, गाउँलेहरू आत्मीय छन् र आतित्थ्य सत्कारमा निकै अगाडि भएकाले गुरूङ होमस्टेले जोकोहीलाई तुरून्तै मोहित बनाउँछ।
कसरी पुग्नेः
काठमाडौंबाट भालुबाङहुँदै लिबाङ ४५६ किमि छ। लिबाङबाट करिब ६ किमि, जिप र अटोमा २० मिनेट वा पैदल हिँडाइमा १.५ घण्टा गुरूङगाउँ सामुदायिक होमस्टे पुगिन्छ।
सम्पर्कः
- अध्यक्ष- हरि बहादुर गुरुङ ९८४७९११२८
- सचिब पबित्र गुरुङ ९८१२८०५००९
हेर्नुहोस् केही तस्बिरहरू