मनसुनको यात्रा रोमाञ्चक हुन्छ, हरियाली डाँडा, सफा र सुन्दर वातावरणले मन त्यसै फुरूङ्ग हुन्छ। अझै भूइँ कुहिरोको लुकामारी खेलेको दृश्य आँखैमा टाँसिन्छन्।
भर्खरै मात्रै दोलखाको जिरी, चरिकोट र सेरोफेरो घुम्न पानासिया फाउन्डेशनका सेन्से (शिक्षक, जापानिज भाषामा) अर्जुन, प्रज्वल, गणेश, सुशील, विकाससँगै मित्र अमृत भादगाउँले र स्थानीय लिलाराम खड्कासहित ८ जनाको टोली नेपालकै स्वीटजरल्याण्ड जिरी यात्रामा निस्कियौं।
अघिल्लो समय खड्काकै पहलमा कवि तथा संचारकर्मीसहितको टोलीलाई जिरी घुमाएको बेला आफू नपरेकोमा पश्चाताप लागिरहेको थियो। तर, यो बेला सबै जुर्यो र लागियो जिरी यात्रामा।
लामोसाँघु–चरिकोट सडकको स्तरोन्नती भइरहेकाले हामी खुर्कोट- मन्थली हुँदै जिरी लाग्यौं।
धुलिखेल, भकुण्डेबेसी, नेपालथोकहुँदै रोशी खोला र सुनकोशी नदी किनारै किनार बिपी राजमार्गमा हुँइकियौ।
गुरूजीले बजाएको लोप्साङे सेलोमा रमाउँदै तामाकोशीको तिरैतिर भएर गाडी मन्थली पुग्दा दिउँसोको १ बजेको थियो ।
मन्थलीकी माइजु
बाटोभरी मन्थली माइज्यूले चिन्तितहुँदै लगातार लिलाजीलाई फोन गर्नुभयो। कहाँ पुग्यो, कतिखेर आईपुग्ने, खाना सेलायो है! उहाँले हाम्रो टिमलाई दिउँसोको खाना खुवाउने बाचा गर्नुभएको थियो।
मन्थली पुग्दा गर्मीले खलखली भइयो, पसिनाले भिजेको शरीर चिसो बियरको चुस्कीले एकैछिनमा आनन्द भयो।
अनेक परिकारसहित माइजुको सत्कार, क्या मिष्ठान्न भोजन। खसीको मासुसित दाल भात, गोलभेडाको अचार, दही र डल्ले खुर्सानीको साथ भोजन जिब्रोमा टाँसिएको छ।
माइजु हुन् त मन्थलीकी जस्तो।
तामाकोशी बजारमा रामेछापको काँक्रो खाँदै पुल काटेर देब्रे उकालो लाग्यौ। मैनापोखरी, खावाहुँदै हुँइकिएको गाडी अलि अलि वर्षात र कुहिरोले दिउँसै अँध्यारो भएको सडक छिचोल्दै खावा पुगियो।
‘लौ बर्बाद भयो, हनुमन्ते जाने योजना ढिलो भएर खत्तम भयो,’ मित्र अमृतजीको चिन्ता जिरी पुगेर पदमचालसँगै खाजा खाँदा सेलायो।
रोमान्टिक जिरी
‘हामी सानो छँदा, जिरीमा दुई वटा कुरा मात्र देख्थ्यौं– खच्चड र खैरे’, लिला सेन्सेई बताउँदै थिए, ‘अचेल जिरीमा विदेशी पर्यटक फाट्ट फुट्ट मात्रै देखिन्छन्।’
देशमा चलेको दस वर्षे द्वन्दताका जिरीमा पर्यटक लगभग शून्य थियो। २०६२/६३ को शान्ति प्रकृयापछि स्वदेशी पर्यटकले हल्का तंग्रिएको जिरी फेरि २०७२ सालको भूईँचालोले ठप्प बन्यो।
दुई दशक अगाडिसम्म जिरी पर्यटकले भरिभराउ हुन्थ्यो। सगरमाथा पदयात्राको मुख्य द्वार मानिएको जिरीमा विदेशी पर्यटकहरू सगरमाथा जाँदा यहीबाट पदयात्रा गर्थे।
सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्दा यही बाटो प्रयोग गरेका थिए।
पछि मेलोरीलगायत हजारौं पर्यटकले यहीबाट पदयात्रा गरे। त्यसैले जिरीलाई ‘गेटवे टू एभरेष्ट’ अर्थात सगरमाथाको प्रवेशद्वार पनि भनिन्थ्यो ।
‘अहिले यो कथा मात्रै भएको छ, लुक्लासम्म सिधै हवाइ यात्रा सुरू भएपछि जिरी सुक्यो’, पचासको दशकदेखि जिरीमा होटल जिरेल गाबिला चलाउँदै आएका समाजसेवी केशर जिरेलले सुनाए।
पछिल्लो समय जिरीलाई ‘रोमान्टिक डेस्टिनेशन’ बनाउनु पर्ने भादगाउँलेले सुझाए। ‘यति सुन्दर, शान्त र शितल जिरी हरेक उमेर समूहका पर्यटकका लागि उत्कृष्ट गन्तब्य हो,’ उनले भने, ‘यसको रिब्रान्डिङको खाँचो छ, बिभिन्न प्याकेज बनाई प्रर्बदन गरे जिरीले पुर्नजिवन पाउनेमा शंका छैन।’
यसका लागि स्थानीय सरकार, उद्योग वाणिज्य र स्थानीय संघ संस्था तात्न जरूरी देखिन्छ।
जिरी सेरोफेरोमा घुम्नका लागि थुप्रै मन्दिर, गुम्बा, छोर्तेन, र सुन्दर गाउँ छन्।
वरपर डाँडाले घेरिएका सुन्दर उपत्यका जिरी, बिहान उठ्दा भुर्इँकुहिरोले ढपक्कै ढाकेको हुन्छ र एकैछिनमा उघ्रिएर छ्याङ्ग भएपछि साँच्चिकै स्वीटजरल्याण्ड पुगेको भान हुन्छ।
नागपञ्चमीको बिहानै हामीले एक हुल झाँक्री भेट्यौ। बजारबाट करिब आधा घण्टामा पुगिने जिरेश्वर मन्दिर पुग्दा भक्तजनको घुईँचो थियो।
त्यसैगरि बजारबाट करिब २ कि.मिको दूरीमा रहेको दूर्गेश्वर मन्दिर, १.५ कि.मि. राङ राङेश्वरि मन्दिर, १ कि.मि. देवि मन्दिर र ३ कि.मि. मा जिरेश्वर महादेवको मन्दिर तथा ४ किमीको दूरीमा चिया बगान छ।
यस्तै करिब अढाई घण्टामा च्योर्दोङ चिज कारखाना पुग्न सकिन्छ।
च्योर्दोङ डाँडा (३,६९० मिटर) बाट रोल्वालिङ, नुम्बुर, लाङताङ हिमशृंखला अवलोकन गर्न सकिन्छ।
त्यसैगरि जिरी बजारबाट केही माथि भूलडाँडा बुद्ध पार्क छ, नजिकै शेर्पा बस्ति, अलि तल चिहान डाँडाबाट जिरी बजारको मनरोम दृश्य देखिन्छ।
जिरीबजारदेखि करिब ३ किमि पश्चिममा लौटी झरना छ। जिरी घुम्न जानेले मन्दिर तथा गुम्बा दर्शन गरेर वर माग्ने, भाकल गर्ने अनि आशिर्वाद माग्न बिर्सिनु हुँदैन।
आँखा भरि, मनभरि बसि रह्यो जिरी! साच्चै रोमान्टिक रहेछ जिरी, कोन्निचिवा जिरी !
जिरीका युवा अभियन्ता
युवा पर्यटन अभियान्तासमेत रहेका खड्का हाम्रो यात्राका मुख्य योजनाकार थिए।
२७ वर्षे युवा जोशिला उद्यमीसमेत हुन्। उनलाई आफ्नो व्यवसायसँगै गृहनगर (जिरी) को पर्यटनबारे चासो र चिन्ता हुन्छ। कसरी पर्यटनको विकास गर्ने र जिरीमा पर्यटक भित्र्याएर विश्वसामू चिनाउन लागिपरेका छन्।
व्यवसायिक यात्राका दौरान राजधानीमा बस्दै आएका खड्का समय र मौका मिल्नासाथ जिरी हानिन्छन्।
लिलाजस्ता युवाले आ–आफ्ना ठाउँको चासोमात्र राख्ने हो र सकेको योगदान दिए जिरी मात्र होइन। प्रधानमन्त्री केपी ओलीको नमूना नेपाल बन्न समय लाग्दैन।
टोनि हेगेन-फादर अफ जिरी
जिरीको भौगोलिक बनावट, हावा पानीले स्वीजरल्याण्डको जुरिक जस्तो भएकाले स्वीसहरूले ‘नेपालको स्विट्जरल्याण्ड’ पनि भन्दा रहेछन्।
जिरी विकासमा स्वीसहरूको ठूलो भूमिका रहेको लामो समय शिक्षण पेशामा आबद्ध र समाजसेवी टेकबहादुर जिरेलले बताए।
चिज फ्याक्ट्री, जिरी टेक्निकल स्कुल र लामोसाँघु–जिरी सडक स्वीसहरूकै सहयोगमा खोलिएको हो। विषेशगरी शिक्षा, स्वास्थ्य र सडक क्षेत्रमा लामो समय स्वीसहरूको ठूलो योगदान छ। यसको मुख्य श्रेय चर्चित भुगोलविद् टोनी हेगनलाई जान्छ।
जसले नेपालका कुना कन्दरा घुमेर नेपालको सुन्दरता विश्वभर प्रवद्र्धन गरे। उही टोनि हेगनको पहलमा स्वीस सरकारले सन् २०१४ सालमा स्वीस विकास परियोजना मार्फत दोलखा लगायतसहित जिल्लामा थुप्रै विकासका कामहरु गरे।
नमन सर टोनि हेगेनलाई, हाम्रो मन मश्तिष्कमा तिमी सधैं बाँचिरहनेछौं ।
सुन्दर सिक्री गाउँ
जिरी बजारदेखि करिब ३.५ किमि दक्षिण–पश्चिम सानो उपत्यका, सिक्रि खोलाको नजिक घना बस्ति!
पुरै जिरेलहरुको बसोबास रहेको सिक्रि गाउँमा करिब १७-१८ घर छन्। हरियाली खेत, प्रशस्तै बालीनाली हुने उर्वरभूमि, लट्टरम्मै फलेको किवि, डल्ले खुर्सानी, मकै, सिमी, तुर्लुङ झुण्डेका काँक्रा। हेर्दै रहर लाग्दा!
२०७२ सालको भूइँचालोले यहाँका पराम्परागत शैलीका घरहरु ध्वस्त पारेपछि विस्तारै तंग्रिदै छ गाउँ। होमस्टेको सम्भावना अध्ययन गर्न त्यहाँ पुगेका थियौं।
मिजासिलो स्थानीय, मिठो परिकार, र उत्कृष्ट पायौं हामीले। जिरेल भेषभूषामा सजिएको अनुहार खिच्ने हाम्रो इच्छा अधुरै रह्यो।
आफ्नो संस्कृति झल्काउन र पर्यटकको आकर्षण बढाउन पनि स्थानीय भेषभुषा, अर्ग्यानिक लोकल परिकार चाहिन्छ।
जिरेल घरमा खानपिन र स्थानियसँगको भलाकुसारी पछि, १५ मिनेट उकालो हिँडेर बज्यूथान दर्शन गर्न गर्यौ।
हँसीयाँ चढाइँदो रहेछ मन्दिरमा। सयौं हँसियाले थान भरिएको थियो।
लिलाजीले हँसियाको गेट बनाएर चढाउने परिचर्चा भो। बाक्लो जिरेलको घनाबस्ती, रहन सहन, र संस्कृतिको धनी सिक्रिमा होमस्टेको सम्भावना देखियो। त्यसका लागि गाउँलेलाई तालिम र सचेतना जरुरी छ ।
जिरेलहरू किराति हुन् र बौद्ध र हिन्दुधर्मालम्बी दुवै मान्छन्। कुलदेवताको पूजा र पितृ पूजा गर्ने चलन रहेको जिरेल संघ नेपालका पूर्व महासचिव टहल जिरेलले बताए।
भञ्ज्याङ, चौतारा, देउरालीमा, ढुंगा ठड्याई प्रतिबिम्बको रूपमा मान्ने चलन छ। जिरेलको नामको उत्पत्ति बारे बिभिन्न भनाई रहे पनि जिरी भूगोलबाट जिरेल जात रहन गएको स्थानीय शिक्षकद्वय टेक बहादुर जिरेल र सुमन जिरेलको एकमत छ।
कालिन्चोक भगवति
जिरी घुमघामपछि, हामी कालिन्चोक दर्शन गर्न चरिकोटबाट करिब २ घण्टा ठाडो उकालो जिपयात्रामा कुरी बजार पुग्दा झमक्कै साँझ परेको थियो।
कुहिरोले ढपक्कै ढाकेको कुरी बजार अफसिजन परेकाले सुनसान थियो।
हामी एउटा होटलमा बास बस्यौं, बेलुकी क्याम्प फायर गरेर मध्य रातसम्म सेनसेईहरु खुब नाचगान गरियो, रमाए।
कुरी बजारमा थुप्रै होटलहरु छन्, यहबाट कालिञ्चोकसम्म केबुलकारको निर्माण धमाधम हुँदैछ।
बिहानै हामी एक घण्टाको उकालो पैदल यात्रामा कालिञ्चोक (३७००मिटर) पुग्दा कुहिरोले हिमाल ढाकिसकेको थियो।
बिहानै हिमाल खुलेको कुरा स्थानीय एकजनाले बताउँदा थकथकी लाग्यो। हिमाल खुलेका बेला गौरिशंकर, लाङटाङ, सगरमाथासम्मको लश्कर देखिन्छ, अफसोच हामीले हेर्न पाएनौं।
बरू भूइँकुहिरोले परपर डाँडाहरु ढाकेको देख्दा रमाइलो लाग्यो। तस्बिर खिच्यौं। पानासियाका सेन्सेहरूले करिब डेढ घन्टा पूजामा बिताए।
हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो कालिञ्चोक।
सिधै फर्केर कुरीबाट जिपमा दोलखा भीमेश्वर दर्शन गर्यौं। यहाँ जे सम्झेर पूजा गर्यो त्यही फल प्राप्त हुने जनविश्वास छ।
फर्किने बेला फेरि उही मन्थली माईजुकोमा खाना खाएर काठमाडौं फर्कियौ।