महोत्तरीको गौशाला नगरपालिकाको मेयर र उपमेयर दुवैमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन्।
जसपाका उम्मेदवार दिपेन्द्र महतोले माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर योञ्जनलाई ३१७२ मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन्।
महतोले ८७९९ मत प्राप्त गरे। योञ्जनले ५६२७ मत ल्याए।
उपमेयरमा जसपाकी रेणु कुमारीले ८४५५ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनक दुलारी साहले ५४९० मत प्राप्त गरिन्।
यसअघि २०७४ को स्थानीय निर्वाचनमा गौशाला नगरपालिकामा माओवादी केन्द्रले जितेको थियो। महोत्तरीका बर्दिबास, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा पनि माओवादी केन्द्रले जितेको थियो।
तर माओवादी केन्द्रबाट यी सबै पालिकाहरू खोसिएका छन्।
गौशाला र सम्सीमा जसपा विजयी हुँदा बर्दिबासमा स्वतन्त्र उम्मेदवार र रामगोपालपुर एमालेले जितेको छ।