विराटनगर महानगरको उपप्रमुख पदमा निर्वाचित एमाले उम्मेद्वार शिल्पा निराला कार्कीले २५ हजार ६८० मत पाइन्। जबकि उपप्रमुख पदमा ३४ हजार १६७ मत बदर नै भयो।
जित्ने उम्मेदवारभन्दा बदर मत धेरै हुँदा राजनीतिक दलहरू निर्वाचन आयोगको भूमिकाप्रति असन्तोष प्रकट गरिरहेका छन्। एमाले नेता विनोद ढकाल निर्वाचन आयोगले मतदाता शिक्षामा पर्याप्त ध्यान नदिएकै कारण यतिधेरै मत बदर हुने समस्या दोहोरिएको बताउँछन्।
‘आयोगले मतदाता शिक्षामा पर्याप्त ध्यान दिएन’, एमाले केन्द्रीय सदस्य ढकालले भने, ‘दलहरूलाई पनि मतदातासँग यसबारे छलफल गर्ने पर्याप्त समय नै भएन। यसरी स्थानीय तहमा धेरैतिर धेरै मत बदर भयो।’
यसबाहेक धेरै स्वतन्त्र उम्मेदवार भएको र दलहरूको गठबन्धनका कारण पनि मत बदर बढेको ढकालको टिप्पणी छ।
त्यसो त विराटनगर महानगरमा बदर मत संख्या धेरै भएको यो पहिलोपटक होइन।
२०७४ मा २४ प्रतिशत मत बदर भएको महानगरमा यसपटक मेयरमा २४ प्रतिशत र उपमेयरमा ३८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार महानगरमा प्रमुख पदमा ६८ हजार ०३६ मत सदर भयो भने उपप्रमुखमा ५५ हजार २२९। यसपटक विराटनगरमा २१ हजार ३५८ मत प्रमुखमा बदर भएको छ।