बुटवल उपमहानगरपालिकामा एउटा वडाको मत गणना भइरहँदा नगर प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ।
१९ वटा वडा रहेको बुटवलमा १८ वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं. ११ को पनि तीन हजारको हाराहारी मत गणना हुन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार खेलराज पाण्डेले २५ हजार ६ सय १२ मतका साथ जित सुनिश्चित गरेका छन्। एमालेका बाबुराम भट्टराईले १८ हजार ६ सय ५९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा भने एमालेकी सावित्रादेवी अर्यालले २० हजार ६०४ मतका साथ जित सुनिश्चित गरेकी छन्। नगरप्रमुखमा पाण्डे र भट्टराईको मतअन्तर ८ हजार बढी हुँदा उपप्रमुखमा अर्याल र गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरूङको मतअन्तर ६ हजार हाराहारी रहेको छ। हालसम्म गुरूङले १४ हजार ७ सय ७५ मत प्राप्त गरेका छन्।
त्यस्तै नगरप्रमुखमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्रकुमार शेरचनले ३ हजार ७०९ मत पाएका छन् भने उपप्रमुखकी उम्मेदवार भगवती पाण्डेयले ५ हजार ६२६ मत प्राप्त गरेकी छन्।
बुटवलमा मतगणना सम्पन्न भएका १८ वटा वडामा वडा नं. १०, १४, १८ र १९ मात्रै एमाले विजयी हुँदा १३ वटा वडामा गठबन्धनका उम्मेदवार र वडा नं. १ मा स्वतन्त्रका उम्मेदवारले जित हात पारेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर नगरप्रमुख बनेका थिए। नेपाली कांग्रेसका खेलराज पाण्डेय २ हजार ३ सय ९८ मतले पराजित भए। उनले त्यतिखेर २० हजार ८ सय ५१ मत ल्याएका थिए।