काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ पालिकामध्ये १९ को अन्तिम मतपरिणाम आएको छ।
काठमाडौंका १० नगरपालिका र १ महानगरपालिका, भक्तपुरका चार नगरपालिका र ललितपुरका १ महानगरसहित २ नगरपालिका र तीन गाउँपालिकामध्ये अब काठमाडौं र ललितपु महानगरको मात्रै नतिजा आउन बाँकी छ।
उपत्यकाका १६ नगरपालिका र तीन गाउँपालिकाको मतपरिणाम आउँदा यसपालि सबैभन्दा ठूलो फाइदा कांग्रेसलाई भएको छ भने एमालेले धेरै घाटा व्यहोर्नुपरेको छ।
अघिल्लो चुनावमा काठमाडौंका ११ मध्ये महानगरपालिकासहित ७ नगरपालिकामा एमालेले जितेको थियो।
कागेश्वरी मनोहरा, कीर्तिपुर, टोखा, तारकेश्वर, बुढानिलकण्ठ र शंखरापुरमा एमालेले मेयर जितेको थियो। ११ मध्ये ८ पालिका एमालेका उपमेयरले जितेका थिए।
यसपालि एमालेले १० नगरपालिकामध्ये २ मात्रै मेयर जितेको छ। काठमाडौं महानगरमा पनि उसका उम्मेदवार दोस्रो स्थानमा छन्। उपमेयरमा भने एमाले उम्मेदवार निकै अघि छन्।
यसपालि दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ।
कीर्तिपुरमा मेयर कांग्रेसले जितेको छ भने उपमेयर पनि रूख चिन्हबाट चुनाव लडेकी जसपाकी शुभलक्ष्मी शाक्यले जितेकी छन्।
चन्द्रागिरीको मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ।
नागार्जुनमा मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ।
तारकेश्वरको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ।
टोखामा मेयर एमालेले जितेको छ भने उपमेयरमा कांग्रेस विजयी भएको छ।
बुढानिलकण्ठको मेयर र उपमेयर दुबै एमालेले जितेको छ।
गोकर्णेश्वरमा मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ।
कागेश्वरी मनोहरामा मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ।
शंखरापुरको मेयर राप्रपाले जितेको छ भने कांग्रेस उपमेयरमा विजयी भएको छ।
भक्तपुरका चार पालिकामध्ये गत निर्वाचनमा एमालेले मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायणमा मेयर जितेको थियो। सूर्यविनायक र चाँगुनारायणमा उपमेयरमा जित हात पारेको थियो।
यसपालि सूर्यविनायक नगरपालिकामा मेयर र उपमेयर दुबै एमालेले जितेको छ।
मध्यपुर थिमीमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेका छन्।
चाँगुनारायणको मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ।
भक्तपुर नगरपालिकाको मेयर र उपमेयर दुबै नेपाल मजदुर किसान पार्टीले जितेको छ।
२०७४ मा ललितपुरका ६ पालिकामध्ये एमालेले महालक्ष्मी नगरपालिकाको मेयर र महांकाल गाउँपालिकाको अध्यक्ष जितेको थियो।
यसपालि ललितपुरको महालक्ष्मी नगरपालिकामा मेयर एमाले र उपमेयर कांग्रेसले जितेका छन्।
गोदावरी नगरपालिकाको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ।
कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष एमालेले र उपाध्यक्ष कांग्रेसले जितेका छन्।
महांकाल नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेका छन्।
बागमती गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेका छन्।
उपत्यकाका हकमा माओवादीले अघिल्लो पटक एउटा गाउँपालिका अध्यक्ष जितेको थियो। यसपालि भने गठबन्धनको सहयोगमा उ भक्तपुर पनि पुगेको छ। मध्यपुर थिमीमा माओवादीले उपमेयर जितेको छ।