राप्ती गाउँपालिका वडा नम्बर ८ को आधिकारिक विवरणमा चन्द्रबहादुर गुरूङको नाम शुक्रबारसम्म पनि कार्यालय सहयोगीको रूपमा राखिएको छ।
३२ वर्षीय चन्द्रबहादुर गुरूङको शुक्रबार बेलुका ४ बजे वडाध्यक्षको सपथ छ।
नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्ष जित्नुभन्दा एक महिना पहिलासम्म गुरूङ सोही वडामा करार सेवामा कार्यालय सहयोगीको रूपमा काम गर्थे।
समाजसेवा सानैदेखि उनको रूचीको विषय थियो। उनीसँग पाँच वर्ष कर्मचारी र जनप्रतिनिधि सँगै काम गरेको अनुभव छँदै थियो। त्यसले आत्मबल थप्यो।
स्थानीय तहको निर्वाचनको चर्चा सुरू भएसँगै उनले पनि वडाध्यक्षमा उम्मेदवारी दिने निधो गरे। आफ्नो प्रस्ताव नेताहरूसमक्ष प्रस्तुत गरे।
वडा नम्बर ८ मा एमालेबाट चन्द्रबहादुरलगायत पाँच जनाको नाम सिफारिस भयो। यसअघिका अध्यक्ष गोकर्णबहादुर राना मगरको नाम पनि त्यसमा सिफारिस थियो। अन्तिममा पार्टीको बैठकले चन्द्रबहादुरकै नाम वडाध्यक्ष उम्मेदवारमा सदर गर्यो। पाँच वर्ष काम गर्दा चन्द्रबहादुर वडावासीको मनमा थिए। नजरमा परिसकेका थिए।
पहिला पनि एमालेले जितेको वडा थियो। तैपनि चन्द्रबहादुरले रातदिन मेहनत गरी भोट मागे। त्यसैको परिणाम वडाध्यक्षमा उनले ९५० मत प्राप्त गरे। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रभाकरदेव चौधरीले ८१६, नेकपा माओवादी केन्द्रका रामचन्द्र चौधरीले २०६, नेकपा एकीकृत समाजवादीका विष्णु गुरूङले ९८ मत पाए।
राप्ती-८ मा एमालेले प्यानल जित्यो। सदस्यमा आत्माराम पौडेल, चुमानसिंह खत्री क्षेत्री, महिला सदस्यमा पार्वती सुवेदी, दलित महिला सदस्यमा रञ्जना सुनाम निर्वाचित भए।
चन्द्रबहादुरले २०६२ सालमा एसएलसी उत्तिर्ण गरेपछि थप पढ्न पाएनन्। घरको स्थिति कारक बन्यो। एमालेको संगठनमा उनी पहिलेदेखि नै आवद्ध थिए। त्यही क्रममा २०७४ सालमा स्थानीय निर्वाचन भयो। वडा एमालेले जित्यो। त्यो चुनावमा पनि उनी खटिएका थिए।
अध्यक्षमा गोकर्णबहादुर राना मगर निर्वाचित भए। त्यसपछि चन्द्रबहादुरलाई भनेर उनले वडामा करार सेवामा कार्यालय सहयोगीको काम गर्न थाले।
‘कार्यालय सहयोगी एक श्रेणीविहीन कर्मचारी काम धेरै गर्नुपर्ने हुन्छ,’ गुरूङले भने, ‘म बिहान नौ बजेतिर कार्यालय खोल्न पुगिसक्थे र बेलुका कार्यालय समयपछि मात्रै फर्कन पाइन्थ्यो।’
कार्यालयको सरसफाइदेखि चिया, पानी पुर्याउनु, हाकिमको आदेशमा मागेको फाइल पुर्याएर सहयोग गर्नु, कार्यालय सरसफाइदेखि सबै काम गर्नुपर्थ्यो। चन्द्रबहादुरकै शब्दमा उनले इमान्दारीपूर्वक भनेको काम गरे।
सचिवसँगै बसेर काम गर्ने अवसर पनि पाए। सचिवकै संगतले सर्वसाधारणका धेरै सिफारिस उनले आफ्नो हातैले लेखे। त्यसैले अब उनी आफू निर्वाचित भइसकेपछि पहिलो काम इमेलमार्फत् सिफारिस गर्ने पद्दतिको विकास गर्ने चाहना व्यक्त गरे।
कार्यालय सहयोगीको रूपमा आफू पाँच वर्ष कार्यरत रहँदा चन्द्रबहादुले उठाउँदै आएको अर्को सवाल समान कामको समान ज्याला हुनुपर्छ भन्ने माग पनि थियो। अब उनी कार्यालय सहयोगीका हकमा पनि अतिरिक्त समय काम गरेबापत् अतिरिक्त सेवा सुविधा दिने गरी ऐन बनाएर कार्यान्वयनमा ल्याउने योजनामा छन्।
‘कार्यालय सहयोगीले जनप्रतिनिधि र कर्मचारीलाई चिया पानी पुर्याउने मात्रै हैन,’ चन्द्रबहादुरले भने, ‘सिफारिस लेख्नेदेखि जनप्रतिनिधि र माथिल्ला निकायका कर्मचारीको केही व्यक्तिगत काम पनि गर्नुपर्ने बाध्यता छ। म त्यो अन्त्य गर्ने छु।’
त्यस्तै जनप्रतिनिधिदेखि कर्मचारीहरूले कार्यालयको हितभन्दा पनि व्यक्तिगत लाभ लिन चाहने हुँदा त्यो रोक्न कदम चाल्ने चन्द्रबहादुरको अठोट छ।
कार्यालयहरूमा तल्लो तहका कर्मचारीलाई गरिने व्यवहार थप सम्मानजनक बनाउन पहल गर्ने, हरेक नागरिकलाई समान व्यवहार गर्ने योजना चन्द्रबहादुरको छ।
‘ठूलो होस् वा सानो,’ उनले भने, ‘सेवाग्राही सबैलाई समान र सम्मानजनक व्यवहार हुने छ।’
आफूलाई वडावासीले अमूल्य मत दिएर वडाध्यक्ष बनाएको हुँदा वडावासीकै सेवामा आफूले रातदिन नभनेर काम गर्ने उनले बताए।
वडावासीलाई श्रमप्रतिको महत्व जगाउने गरी आफैं खटेर काम गर्ने उनले चाहना व्यक्त गरे।
आफूभन्दा पहिलेका वडाध्यक्ष गरेका कतिपय राम्रा कामलाई निरन्तरता दिने र तीबाहेक गर्न बाँकी रहेका अपूरा काम पूरा गर्ने चन्द्रबहादुरले बताए।
‘पहिला कार्यालय सहयोगीको रूपमा जहाँ काम गरे आज म त्यही कार्यालयको प्रमुख पदमा पुगेको छु,’ उनले भने, ‘मैले हिजो तल्लो तहबाट काम गर्दा धेरै कुरा महशुस गरेको छु र मैले त्यही तथ्यलाई आत्मसात् गरी काम गर्ने छु।’
उनले कार्यालय सहयोगीका रूपमा वडा कार्यालयमा पाँच वर्ष काम गर्दा कहिले कसैबाट अपमानजनक व्यवहार खेप्नु नपरेको बताए।
‘हिजो म कार्यालय सहयोगी रूपमा काम गर्दा उपल्लो दर्जाका कर्मचारी तथा सरहरूले पनि मैले जितेपछि भेटेर र फोन गरेरसमेत बधाई दिनुभएको छ,’ चन्द्रबहादुरले भने, ‘मेरो व्यवहार उहाँहरूप्रति हिजो जस्तो थियो, भोलि पनि त्यस्तै रहन्छ।’