काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ मा एमालेले जितेको छ। निर्वाचन आयोगका अनुसार ३२ नम्बर वडामा एमाले उम्मेदवार नवराज पराजुलीले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
पराजुलीले ५२२५ मत ल्याएका छन्। उनले एकीकृत समाजवादीकी सीता देवी कँडेल (पराजुली) लाई पराजित गरेका हुन्। कँडेलले ३१०८ मत ल्याएकी छन्।
यसअघि एमालेले काठमाडौंका वडा नम्बर १, २, ३, ४ र ५ जितिसकेको छ।
कांग्रेसले भने वडा नम्बर २८ र ३० मा जितेको छ।
अहिले ६, ७, ८, २६, २७, २९ र ३१ वडामा मतगणना जारी छ।
२६ नम्बर वडाको गणना भर्खरै सुरू भएको हो। यसमा सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ मतसहित अग्रता लिएका छन्। यो वडामा एमाले उम्मेदवार केशव स्थापितले २० र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १४ मत ल्याएकी छन्।
वडा नम्बर २७ मा भने स्थापितले अग्रता लिएका छन्। हालसम्म ९९२ मत गन्दा यो वडामा स्थापितले ४३८ मत ल्याएका छन् भने सिर्जनाले ३१८ मत पाएकी छन्। बालेनले भने २२८ मत मात्र पाएका छन्।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्। हालसम्म उनले २७ हजार ९६७ मत पाएका छन्। स्थापितले १४ हजार ७८२ मत पाएका छन् भने सिर्जना सिंहले १४ हजार ४३९ मत ल्याएकी छन्।
*यसअघि अन्यथा भएकामा सच्याइएको