नेकपा एमालेले सिन्धुपाल्चोकमा २०७४ को स्थानीय निर्वाचनको तुलनामा यसपटक चार वटा स्थानीय तह गुमाएको छ।
एमालेले २०७४ मा जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी, भोटेकोशी गाउँपालिका र बाह्रबिसे तथा मेलम्ची नगरपालिका गरी ७ वटा स्थानीय तह जितेको थियो।
यसपटक एमाले जम्मा तीन वटा स्थानीय तहमा खुम्चिएको हो। एमालेले सिन्धुपाल्चोकमा यसपटक इन्द्रावती, पाँचपोखरी थाङपाल र सुनकोशी गाउँपालिका गरी ३ वटा स्थानीय तहमा मात्र जित निकालेको छ।
एमालेले सिन्धुपाल्चोकको एउटा पालिकामा मात्र विरासत जोगाएको छ। अघिल्लो पटक जितेको पाँचपोखरी थाङपाल मात्र एमालेले यसपटक पनि जितेको हो। पाँचपोखरी थाङपालमा एमालेका टासी लामा अध्यक्ष र सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्। पाँचपोखरीमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए। एमालेले पाँचपोखरीमा गठबन्धनलाई हराएको हो।
एमालेले जित निकालेका दुई गाउँपालिका इन्द्रावती र सुनकोशी २०७४ मा नेपाली कांग्रेसले जितेको थियो। यी दुवैमा एमालेले यसपटक जित निकालेको हो। इन्द्रावतीमा एमालेका झम्क नेपाल अध्यक्ष र एमालेकै शोभना तामाङ उपाध्यक्षमा निर्वाचित भएका छन्। इन्द्रावतीमा गठबन्धनका दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए।
सुनकोशीमा एमालेका टपिन्द्रप्रसाद तिमिल्सिना अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्छी लामा निर्वाचित भएकी छिन्। सुनकोशीमा माओवादी केन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएन। तर उपाध्यक्ष पदमा भने एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। कांग्रेसले उपाध्यक्ष पदमा जित निकालेको छ।
सिन्धुपाल्चोकमा २०७४ मा तीन वटा स्थानीय तह जितेको नेपाली कांग्रेसले यसपटक पाँच वटा स्थानीय तहमा जित हात पारेको छ। २०७४ मा नेपाली कांग्रेसले इन्द्रावती, सुनकोशी र हेलम्बु गाउँपालिका जितेको थियो।
यसपटक एमालेले जस्तै नेपाली कांग्रेसले पनि हेलम्बुमा मात्र विरासत जोगाएको छ। हेलम्बुमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा अध्यक्ष र उपाध्यक्षमा अप्सरा लम्साल लामिछाने विजयी भएका छन्। हेलम्बुमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेका थिए। कांग्रेस एक्लै लडेको थियो।
२०७४ मा जितेका बाँकी दुवै स्थानीय तह गुमाए पनि नेपाली कांग्रेसले यसपटक त्रिपुरा सुन्दरी गाउँपालिका, भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र मेलम्ची नगरपालिकामा जित हात पारेको छ।
त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका छन्। भोटेकोशीमामा नेपाली कांग्रेसका पासाङ नुर्पु शेर्पा अध्यक्ष र दिछेन शेर्पा उपाध्यक्षमा निर्वाचित भएका छन्। बाह्रविसे नगरपालिको मेयरमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत र उपमेयरमा मञ्ज तामाङले जित हात पारेका छन्। त्रिपुरासुन्दरी, भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा गठबन्धन नगरी कांग्रेस प्रतिस्पर्धामा उत्रिएको थियो।
त्यस्तै मेलम्ची नगरपालिको मेयरमा नेपाली कांग्रेसका आइतमान तामाङ विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी उमा प्रधान विजयी भएकी छिन्। मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। मेयर पद कांग्रेसले राखेको थियो भने उपमेयरमा माओवादी केन्द्र पाएको थियो।
सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रले पनि यसपटक थप दुई वटा स्थानीय तहमा जित निकालेको छ। २०७४ को निर्वाचनमा नेकपा एमालेले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिकामा जित निकालेको थियो। यसपटक माओवादी केन्द्रले पनि एमाले र कांग्रेस जस्तै चौतारा साँगाचोकगढीमा मात्र विरासत जोगाउन सफल भएको छ।
माओवादीले यसपटक जुगल गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखु पाखर गाउँपालिकामा जित निकालेको छ। जुगलमा माओवादीका रेशम स्याङ्बो अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका हिमालकुमार श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्। जुगलमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो। गठबन्धनका दुवै उम्मेदवार विजयी भएका हुन्।
त्यस्तै बलेफीमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले अध्यक्षमा र नेपाली कांग्रेसकी सरू लामा तामाङले उपाध्यक्षमा जित निकालेका छन्। बलेफीमा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्र गठबन्धन गरेको थियो। बलेफीको उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ।
माओवादी केन्द्रले लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा जित हात पारे पनि त्यहाँ उपाध्यक्ष भने नेकपा एमालेकी मिठूदेवी लामाले जित हात पारेकी छिन्। लिसंखुपाखरमा गठबन्धनका दलहरूबीच नै प्रतिस्पर्धा भएको थियो।