प्रदेश नम्बर १ को एक मात्र महानगर विराटनगरमा यसपालिको स्थानीय चुनाव पनि पाँच वर्षअघिको जस्तै त्रिपक्षीय भिडन्त हुने भएको छ।
विराटनगरको नेतृत्वका लागि सत्तारूढ गठबन्धनले मेयर र उपमेयरमा साझा उम्मेदवार बनाएको छ। तर दुबै पदमा सत्तारूढ गठबन्धनभित्रकै दुई प्रभावशाली नेताले बागी उम्मेदवारी दिएका छन्। अघिल्लो चुनावमा गठबन्धन गरेको नेकपा एमाले यसपालि एक्लै चुनावी मैदानमा होमिएको छ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार रहेको प्रदेशको राजधानी सहरमा एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको छ।
राप्रपाबाट मेयरमा प्रल्हाद साह र उपमेयरमा विन्दा लुइँटेल आचार्य उम्मेदवार बन्दा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयरमा अरूणकुमार मण्डल र उपमेयरमा अन्नुकुमारी कामतलाई उठाएको छ।
विराटनगरमा बलियो प्रभाव भएका कांग्रेस, जसपा र माओवादी केन्द्रबीच मेयर-उपमेयरमा गठबन्धन भएपछि जित सहजै हुनु पर्ने हो। तर यी दलहरुबीच वडा तहसम्म तालमेल हुन सकेन। अर्कोतिर जसपा र माओवादी केन्द्र भित्रैबाट प्रभावशाली नेताहरुले मेयर र उपमेयरमा वागी उम्मेदवारी दिएपछि विराटनगरको गर्मीमा गठबन्धनका नेताहरुको टाउको थप दुखेको छ।
अघिल्लो चुनावमा मेयरमा तेस्रो बढी मत ल्याएका जसपाका नेता उमेश यादव र उपमेयरमा दोस्रो धेरै मत ल्याएकी माओवादीकी नमिता न्यौपाने यसपटक मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि विराटनगर महानगरको चुनाव रोचक बनेको हो।
अघिल्लो पटक आफूले दुबै पद सहजै जितेको विराटनगरमा कांग्रेसले यसपालि उपमेयर जसपालाई दिएर गठबन्धन गरेको छ। परम्परागत मतमा गठबन्धन पनि थपिएपछि यसपालि विराटनगर महानगरको मेयरमा भने कांग्रेस उम्मेदवारको पल्ला भारी भएको छ।
विराटनगरका १९ वटै वडामा पुगेर सेतोपाटीले एक सय ३० जना मतदातासँग कुराकानी गरेको थियो। हामीसँग कुराकानी गरेकामध्ये ४० प्रतिशतले यसपालि मेयरमा कांग्रेसका नागेश कोइरालालाई मत दिने बताएका छन्।
एमाले उम्मेदवार सागर थापालाई भोट दिन्छु भन्ने मतदाताको संख्या १६ प्रतिशत छ भने नौ प्रतिशत मतदाताले स्वतन्त्र उम्मेदवार उमेश यादवलाई मत दिने बताएका छन्।
यसपालि कांग्रेस उम्मेदवारको पल्ला भारी हुनुका केही कारण छन्।
पहिलो, कांग्रेसको परम्परागत मत यथावत् रहनु। २०७४ को निर्वाचनमा दुइटा फरक गठबन्धनलाई एक्लै हराएको कांग्रेससँग विराटनगरमा बलियो परम्परागत मत देखिन्छ।
०७४ को चुनावमा विराटनगरमा कांग्रेसले दुइटा गठबन्धनसँगै एक्लै प्रतिस्पर्धा गरेको थियो। माओवादी र जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) बीच एउटा र नेकपा एमाले र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच अर्को गठबन्धन बनेको थियो। माओवादीले मेयर फोरमलाई दिएको थियो भने एमालेले उपमेयर फोरम (लोकतान्त्रिक) लाई दिएको थियो।
यी चार दलका दुई गठबन्धनलाई कांग्रेसले मेयर र उपमेयर दुबैमा फराकिलो मतान्तरले हराएको थियो। मेयरका लागि खसेको जम्मा सदर मत ६१ हजार २ सय ७० मा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए। अर्थात उनले ३७.५८ प्रतिशत मत पाएका थिए।
एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाएका थिए। उनको पक्षमा २८.२६ प्रतिशत मत आएको थियो।
समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ (२४.४१ प्रतिशत) मत ल्याएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रह्लादप्रसाद साहले ५ हजार ५ सय २४ (९ प्रतिशत) मत पाएका थिए।
उपमेयरमा कांग्रेसकी इन्दिरा कार्की २० हजार एक सय ६ मत ल्याएर विजयी हुँदा दोस्रो भएकी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन्।
मेयरका रूपमा भीम पराजुलीले धेरै राम्रो काम नगरे पनि नराम्रो पनि केही नगरेको ठहरमा कांग्रेसका पुराना मतदाताहरू भेटिए। त्यसैले कांग्रेससँग बिच्केका मतदाता संख्या थोरै छ। यसले उसको बहुसंख्यक परम्परागत मत कायमै रहेको देखिन्छ।
विराटनगर २ का ५६ वर्षीय प्रमोदराज आचार्य कांग्रेसका पुराना मतदाता हुन्। उनले हालका मेयर पराजुलीले ‘उत्पात राम्रो नगरे पनि नराम्रो केही नगरेका’ कारण आफ्नो मत फेरि पनि ‘कांग्रेसलाई जाने’ बताए। हामीले भेटेकामध्ये यसअघि कांग्रेसलाई मत दिँदै आएका धेरै मतदाता आचार्यको भन्दा फरक सोचमा छैनन्।
यसबाहेक कांग्रेसभित्रको असन्तोष नेता-कार्यकर्ता तहमा भए पनि मतदाता तहमा त्यसको प्रभाव न्यून छ। कांग्रेसबाट यसपटक नागेशबाहेक भीम पराजुली, अमृत अर्याल, डिला संग्रौलालगायतका नेता मेयर उम्मेदवारका दाबेदार थिए। पराजुलीबाहेक सबैजसो नेता अहिले नागेशको पक्षमा खुलेर चुनावी अभियानमा छन्। पराजुली पनि केही औपचारिक कार्यक्रममा भने सहभागी हुँदै आएका छन्।
आफ्नै निर्वाचन क्षेत्र भएका कारण कांग्रेस नेता शेखर कोइराला पनि अहिले स्थानीय चुनावका लागि आफैं खटिएर असन्तोष व्यवस्थापनमा सक्रिय छन्।
नागेश कोइराला बलियो देखिनुको दोस्रो कारण हो, उनको व्यक्तिगत छवि। यसअघि एक पटक पनि जनप्रतिनिधि नभएका उनी कांग्रेस राजनीतिमा भने तलबाटै उठ्दै आएका नेता हुन्। प्रजातान्त्रिक कांग्रेसको तरूण दल जिल्ला सभापति भएर राजनीतिक यात्रा थालेका उनले पार्टी एकीकरणपछि तरूण दलको जिल्ला नेतृत्व सम्हाले। त्यसपछि पार्टीको जिल्ला सदस्य, कोषाध्यक्ष, सचिव हुँदै अहिले जिल्ला उपसभापति भएका उनले सांगठनिक पकड बलियो बनाएका छन्।
उनलाई अधिकांश मतदाताले यति धनाढ्य ठान्छन् कि कम्तीमा उनले भ्रष्टाचार गर्दैनन् भन्ने धेरैको विश्वास देखिन्छ। अघिल्लो पटक कांग्रेसका भीम पराजुलीलाई भोट दिएका विराटनगर ६ का विवेक श्रेष्ठलाई लाग्छ, नागेशले भ्रष्टाचार गर्दैनन्।
‘उनलाई मेयर भएर कमाउनु छैन’, ३० वर्षीय श्रेष्ठले सेतोपाटीसँग भने, ‘उनी आफैं धनाढ्य छन्। उनलाई सम्पत्ति चाहिएको छैन। केवल काम र नाम चाहिएको छ। त्यसैले यस्तै मान्छेले राम्रो काम गर्नसक्छ।’
विराटनगरमा नागेशबारे यसो भन्ने उनी एक्ला मतदाता होइनन्। कांग्रेस मात्रै होइन, विगतमा अन्य दललाई मत दिनेहरूले पनि नागेशले ‘कम्तिमा भ्रष्टाचार नगर्ने’ भएका कारण यसपटक उनलाई मत दिने बताए।
तेस्रो, गठबन्धनको मत। त्यसो त विराटनगरमा कांग्रेस एक्लै चुनाव लड्ने प्रयासमा थियो। आफूलाई बलियो दाबी गर्दै आएको उसले महानगरमा तालमेलमा रूची देखाएको थिएन। तालमेलको विपक्षमा बलियो पैरवी गर्दै आएका नेता शेखर कोइरालाको गृहनगर भएका कारण पनि यहाँ गठबन्धनविरोधी माहौल थियो।
केन्द्रीय तहबाटै गठबन्धनको निर्णय भएको र मेयर आफैंले पाएका कारण अन्ततः विराटनगर कांग्रेस तालमेल बाहिर जान सकेन। यसरी तालमेल हुँदा पनि वडामा भने कतै पनि तालमेल भएको छैन। यसले गठबन्धनका मुख्य दुई घटक माओवादी र एकीकृत समाजवादी असन्तुष्ट छन्। यद्यपि जिल्लाकै अन्य पालिका र देशका अन्य स्थानीय तहमा भएको तालमेललाई असर गर्ने भयले माओवादी र समाजवादीका नेता/कार्यकर्ता गठबन्धनकै पक्षमा सक्रिय देखिन्छन्।
हामीले कुराकानी गरेकामध्ये १४ जनाले अघिल्लो पटक फोरम र माओवादीको गठबन्धनलाई मत दिएका थिए। तीमध्ये आधाले यसपालि मेयरमा कांग्रेस र उपमेयरमा जसपाको गठबन्धनलाई मत दिने बताए।
यसले गठबन्धनसँग असन्तुष्ट आधा मतदाताले कांग्रेसलाई मत नदिए पनि आधाले भने दिने सम्भावना देखाएको छ। त्यसैले एक्लै बलियो रहेका ठाउँमा गठबन्धनको केही प्रतिशत मत थपिँदा पनि नागेशलाई थप सहज हुने देखिएको छ।
विराटनगरलाई कांग्रेस आफ्नो परम्परागत गढ मान्छ। तर पञ्चायतकालमा जनपक्षीय उम्मेदवारले जितेको र २०५४ मा पनि आफैँले जितेको भन्दै एमाले पनि यो सहरमा आफ्नो वर्चश्वको दाबी गर्छ।
एमाले दाबीअनुसार २०४९ को स्थानीय तह निर्वाचनमा एमालेले विराटनगरमा बहिष्कार अभियान चलाएको थियो।
‘त्यसबेला मत कांग्रेस एक्लैले हाल्यो, गणना पनि एक्लै गर्यो अनि आफैंले आफैंलाई विजेता घोषणा गर्यो,’ एमाले नेता जीवन घिमिरे भन्छन्, ‘०५४ मा हामीले जितेको हो, २०७४ को चुनावचाहिँ कांग्रेसले जितेको हो।’
गठबन्धनका तर्फबाट मेयरमा कांग्रेस उम्मेदवार बलियो देखिँदा उपमेयरका उम्मेदवार अमरेन्द्र यादव भने असहज अवस्थामा देखिन्छन्।
लामो समयदेखि जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। अहिले पार्टीको महानगर अध्यक्षसमेत रहेका उनले यसपटक मुख्यतः दुईटा चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलो, उनले आफ्नै पार्टीको मत जोगाउनु पर्नेछ भने दोस्रो कांग्रेस र गठबन्धनका अन्य दलको मत तान्नुपर्नेछ। यी दुबै काम उनका लागि चुनौतीपूर्ण देखिन्छन्।
हामीले कुराकानी गरेका मतदातामध्ये मेयरमा कांग्रेसलाई मत दिने बताएका एक तिहाईले उपमेयरमा कसलाई दिने भन्ने टुंगो गरिनसकेको बताएका छन्।
तिनैमध्येकी हुन् विराटनगर-७ की कमला ५३ वर्षीया कमला शर्मा। अघिल्लो चुनावमा मेयर/उपमेयर दुबै भोट कांग्रेसलाई हालेकी उनले यसपटक पनि मेयरमा रूखमै भोट दिने योजना सुनाइन्। तर, उपमेयरमा कसलाई दिने भन्ने टुंगो नगरेको उनी बताउँछिन्। ‘मेयरमा त रूखमै दिन्छु’, उनले भनिन्, ‘तर उपमेयरमा दिने बेलामा धेरै सोच विचार गर्नुपर्नेछ।’
विराटनगर-१९ का ४६ वर्षीय सीताराम मण्डलले २०७४ सालको चुनावमा कांग्रेसलाई भोट हालेका थिए। यसपालि कांग्रेसले अरू दलसँग गठबन्धन गरेको उनलाई मन परेको छैन। 'मेयरमा रूखलाई दिन्छु। उपमेयरमा हलोलाई हालिदिन्छु,' उनले भने, 'कांग्रेसले गठबन्धन गरेर राम्रो गरेन।'
विराटनगर -९ मा चप्पल पसल चलाउने कैयुम खानले २०७४ को चुनावमा एमालेलाई मत दिएका थिए। यसपालि उनी मेयरमा कांग्रेसका नागेश कोइरालालाई भोट दिने सोचमा छन्।
'उहाँ हाम्रै वडाको मान्छे हो त्यही भएर दिन लागेको,' उनले भने। उपमेयरमा भने उनी गठबन्धनका उम्मेदवारलाई भोट दिने पक्षमा छैनन्। 'गठबन्धन नेताहरूले गरेका हुन्, हामीले गरेका छैनौं,' उनले भने,'उपमेयरमा म राप्रपालाई भोट दिने हो।'
मेयरमा कांग्रेसलाई भोट दिने तर उपमेयरमा एमाले र राप्रपालाई मत दिन्छु भन्ने मतदाता उल्लेख्य रूपमा भेटिएकाले पनि अमरेन्द्रले गठबन्धनको सबै भोट आफूतिर तान्न नसक्ने देखिन्छ।
यसअघि तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) लाई भोट दिएको बताउनेहरू मध्ये केहीले पनि गठबन्धन उम्मेदवार अमरेन्द्रलाई मत नदिने उल्लेख गरे।
अमरेन्द्रका लागि मुख्य चुनौती आफ्नै दलको भोट जोगाउनु हो। त्यसमा उनले भर्खरै जसपा छाडेर मेयरमा उमेद्वारी दिएका आफ्नै पूर्वसहकर्मी उमेश यादवसहितको चुनौती सामना गर्नुपरेको छ। उम्मेदवारी दर्ताको अघिल्लो दिन उमेशले अचानक पार्टी छाडेको मात्र होइन मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
विराटनगरमा जसरी कांग्रेसभित्र तालमेल गर्न नहुने मत बलियो थियो, जसपाभित्रै पनि तालमेलको विपक्षमा माहोल थियो। उमेश यादव, भूराज राई लगायतका नेताहरू जसपाले कांग्रेसबाहेकका दलसँग तालमेल गर्नुपर्ने त्यसो गरे मेयर/उपमेयर दुबै जितिने जिकीर गर्दै आएका थिए। त्यसो गरे कांग्रेस, एमालेको दुई फरक प्यानल र जसपा, माओवादी र एकीकृत समाजवादीको एउटा प्यानल हुने र परिणाम आफू अनुकूल आउन सक्ने उनीहरूको आंकलन थियो।
केन्द्रीय स्तरमा वीरगन्ज महानगरको मेयर र विराटनगर महानगरको उपमेयर लिएर गठबन्धन गरेपछि जसपा विराटनगरका नेताहरू असन्तुष्ट बनेका थिए। त्यो असन्तोष अझ उत्कर्षमा त्यसबेला पुग्यो जब उपेन्द्र पुत्र अमरेन्द्रलाई विराटनगरको उपमेयरको उम्मेदवार बनाउने निर्णय भयो। त्यसले जसपाको कार्यकर्ता तह र मतदाता दुबैलाई बिच्क्याएको पाइएको छ।
‘उपेन्द्र यादव र छोरा मिलेर यहाँ गद्दारी गरे,’ विगतदेखि जसपालाई मत दिँदै आएका विराटनगर -१८ का ७९ वर्षीय वर्षलाल यादवले भने, ‘यसपालि मेयर र उपमेयर दुवै भोट लालटिनमा जान्छ।’
लालटिन गठबन्धनका बागी उम्मेदवार मेयरका उमेश यादव र उपमेयरकी नमिता न्यौपानेको चुनाव चिन्ह हो। नमिता अघिल्लो निर्वाचनमा उपमेयरमा दोस्रो धेरै मत ल्याएकी माओवादी नेता हुन्। पार्टी महानगर सचिव उनले पार्टीबाट राजीनामा घोषणा गरेर उम्मेदवारी दिएकी थिइन्। उनलाई माओवादीले कारबाही प्रक्रिया थालेको छ।
वडाहरूमा कतै पनि कांग्रेसले नमिलाएको भन्दै उम्मेदवारी दिएकी उनी र उमेशबीच सहकार्य भएको छ। अघिल्लो चुनावमा जसपा-माओवादी गठबन्धन हुँदा उनीहरू दुवै मेयर-उपमेयरका उम्मेदवार थिए। त्यसैले पनि उनीहरुलाई सँगै उभिन र सहकार्य गर्न सजिलो भयो। उनीहरू मात्रै होइन, वडाध्यक्षहरूको टिम पनि लालटिन चिन्ह लिएर उमेश र नमितासँग सहकार्यमा छन्।
हामीले कुराकानी गरेका २४ प्रतिशत मतदाताले चुनावमा कसलाई मत दिने भन्नेबारे अझै टुंगो नभएको बताएका छन्। हामीसँग नखुलेका यस्ता मतदाताले चुनावको दिन कसको चिन्हमा स्वस्तिक छाप लगाउँछन् भन्ने कुराले पनि मतपरिणामलाई केही हदसम्म प्रभाव पार्नेछ।
यी सबै तथ्य केलाउदा विराटनगरको मेयरमा नागेशलाई चुनाव जित्न जति सजिलो छ, उपेन्द्र पुत्र अमेरन्द्रलाई त्यति सहज छैन। उनको जित अन्तत: परम्परागत कांग्रेसी मतदातामै निर्भर हुने देखिन्छ। यदी बहुसंख्यक कांग्रेसी मतदाताले गठबन्धनका उम्मेदवार यादवलाई मत दिए भने उनले जित्नेछन्, नत्र उनको जित कठिन हुनेछ।
यो पनि हेर्नुहोस्