सुनसरीको इटहरीमा अहिलेसम्म भएका तीनै निर्वाचनमा कांग्रेसले पराजय भोगेको छ। यही उपमहानगरपालिका पनि समेटिने संसदीय निर्वाचनमा भने प्राय:जसो जित्ने गर्छ।
इटहरीमा भोग्दै आएको यो चुनावी नियति यसपालि कसैगरी बदल्न चाहन्छ कांग्रेस। अर्कोतिर स्थानीय चुनाव एकपटक पनि नहारेको एमाले आफ्नो वर्चश्व जोगाउन चाहन्छ।
कांग्रेसले यसपालि गठबन्धन दलहरूको सहयोगमा इटहरी नगर सभापति हेमकर्ण पौडेललाई मेयरमा उठाएको छ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केशवकुमार बिष्टलाई उपमेयर उम्मेदवार बनाएको छ। गठबन्धनका उम्मेदवारसँग भिड्न नेकपा एमालेले नगर अध्यक्ष यामकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरका रूपमा उठाएको छ।
सत्तागठबन्धन र एमाले दुबैबाट मेयर र उपमेयरमा उम्मेदवार बनेकाहरू पहिलो पटक चुनावमा होमिएकाले पनि इटहरीको चुनाव रोचक बनेको छ।
२०४६ को परिवर्तनपछि ०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन इटहरी गाविसमा एमालेका प्रमोद श्रेष्ठले अध्यक्षमा जितेपछि यहाँ एमालेको नेतृत्व सुरू भएको थियो।
इटहरी २०५३ मा नगरपालिका भयो, ०७१ मा उपमहानगर भयो। गाविसदेखि उपमहानगरसम्मको यात्रामा इटहरीमा सधैं एमाले वर्चश्व कायम रहँदै आएको छ।
अहिले प्रदेश १ का सांसद रहेका एमाले नेता सर्वध्वज साँवा २०५४ को निर्वाचनमा इटहरीको मेयर बनेका थिए। सोही निर्वाचनमा एमाले उम्मेदवारले नै जितेका अन्य चार वटा गाविसहरू हाँसपोसा, पकली, खनार र एकम्बालाई मिसाएर २०७१ मा उपमहानगर बन्यो इटहरी।
२०५४ मा हाँसपोसा अध्यक्ष जितेका द्वारिकलाल चौधरी २०७४ को निर्वाचनमा उपमहानगरको मेयरमा निर्वाचित भए।
रोचक पाटो के छ भने, स्थानीय तहको निर्वाचनमा सधैं एमाले हाबी हुँदै आएको इटहरीमा प्रतिनिधिसभा र संविधानसभा निर्वाचनको चित्र भने फरक देखिने गर्छ।
उपमहानगर हुनु अघिसम्म इटहरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्दथ्यो, जहाँ ०४८, ०५१ , ०५६ को प्रतिनिधिसभा र २०६४ को पहिलो संविधानसभा चुनावमा विजयकुमार गच्छदारले जीत हासिल गरेका थिए। तीन वटा चुनाव कांग्रेसबाट जितेका गच्छदारले पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट जिते।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला इटहरी दुइटा क्षेत्रमा बाँडियो। सुनसरी २ र ३ मा बाँडिएको यहाँका दुई क्षेत्रमध्ये दोस्रो संविधानसभामा ३ मा गच्छदारले जित्दा क्षेत्र नम्बर २ मा एमालेका रेवतीरमण भण्डारीले जीत हात पारेका थिए। भण्डारीले एमालेका तर्फबाट केन्द्रमा पहिलो प्रतिनिधित्व जनाए पनि एमालेको यो सफलता लामो समय टिकेन।
२०७४ मा वाम गठबन्धन गरेर चुनाव लड्दा पनि इटहरी क्षेत्र समेटिएको ३ मा कांग्रेसबाट गच्छदारले र २ बाट कांग्रेसकै सीताराम मेहताले जीत हासिल गरे।
त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो। कांग्रेस एक्लै चुनाव लडेको थियो।
मेहताले माओवादी केन्द्रका डम्मरू सुवेदीलाई ६ हजार १ सय ४६ मतले पराजित गरेका थिए भने गच्छदारले एमालेकी भगवती चौधरीलाई ३२१ मतले हराएका थिए।
संघीय चुनाव कांग्रेसले जित्ने तर स्थानीय चुनावमा सधैं एमालेले बाजी मार्ने इटहरीको विशेषता यसपालि परिवर्तन हुने सम्भावना बलियो देखिएको छ।
सेतोपाटीले इटहरी उपमहानगरका २० वटै वडामा पुगेर फरक-फरक ठाउँका ८५ जना मतदातासँग गरेको कुराकानीमा उनीहरूले दिएको जवाफलाई आधार मान्ने हो भने यसपालि इटहरीको मेयर कांग्रेसले जित्ने सम्भावना बलियो छ।
हामीले कुरा गरेकामध्ये ४२ प्रतिशत मतदाताले यसपालि मेयरमा कांग्रेसका हेमकर्ण पौडेललाई मत दिने बताए।
एमालेका यामकुमार सुब्बालाई मत दिन्छु भन्नेको संख्या ३३ प्रतिशत भेटिए। १४ प्रतिशत मतदाताले अहिले नै केमा मत दिने भन्ने निधो गरिसकेका छैनन् भने साढे ८ प्रतिशत मतदाताले राप्रपालाई भोट हाल्ने बताएका छन्।
अहिले मतदातामा देखिएको रुझान, गएको निर्वाचनमा इटहरीमा कांग्रेस-एमालेबीच मतको अन्तर र यसपालि स्थानीय राजनीतिमा कायम भएको नयाँ शक्ति सन्तुलनले पनि कांग्रेसका हेमकर्णले जित्ने सम्भावना बलियो देखाउँछ।
२०७४ को स्थानीय चुनावको नतिजाले देखाउँछ, इटहरीमा कांग्रेस र एमालेबीच मतान्तर धेरै ठूलो छैन। ०७४ मा एमालेका द्वारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत ल्याएर विजयी हुँदा कांग्रेसका रोहितप्रसाद प्रसाईंले १९ हजार ९ सय ८५ मत पाएका थिए।
अर्थात् कांग्रेसलाई अघिल्लो चुनावमा एमालेले २ हजार ७ सय ५ मतले जितेको थियो। यसपालि इटहरीको चुनावमा धेरै ‘फ्याक्टर’ छन्, जसले कांग्रेसलाई यो मतको अन्तर पूरा गर्न सजिलो हुनेछ।
पहिलो, ३० वर्षदेखि इटहरीमा लगातार जित्दै आएको एमालेले यसपालि सत्तामा हुँदा (इन्कम्बेन्सी) को घाटा व्यहोर्नु पर्ने देखिन्छ। हामीले कुरा गरेका ८५ जनामध्ये ३८ जनाले २०७४ मा एमालेलाई मत हालेको बताएका थिए। तर तीमध्ये १३ जनाले यसपालि एमाले छाडेर अन्यलाई मत दिने बताएका छन्।
उनीहरूले अहिलेका जनप्रतिनिधिको व्यवहारका कारण दिक्क भएको बताए।
तिनैमध्येकी एक हुन्, इटहरी-४ की ५० वर्षीया आशा चौधरी।
टोलकै मुख्य चोकमा चिया-नास्ता पसल चलाउने उनी यसबीचमा आफ्नो ठाउँबाट बारम्बार विस्थापित भइन्। आफैंले मत दिएर जिताएका वडाध्यक्षले पटक-पटक पसलबाट लखेटेको उनको गुनासो छ। अहिले वडा कार्यालय सामुन्नेको निजी खाली जमिनमा पसल गरेर चार जनाको परिवार धान्दै आएकी एकल महिला चौधरी ‘एमालेसँग आफ्नो मन भाँचिनुको’ मुख्य कारण वडाध्यक्षको व्यवहार भएको सुनाउँछिन्। यो वडामा एमालेका चन्द्रप्रसाद भट्टराई वडाध्यक्ष छन्।
बिहीबार बिहान पसलमा भेटिँदा आशा ग्राहकका लागि आलुपरौठा बनाउँदै थिइन्।
‘मैले जहिलेदेखि भोट हाल्न पाएँ, सधैं सूर्यमा दिँदै आएको थिएँ’, उनले भनिन्, ‘अस्ति पनि सबै सूर्यमै हालेको थिएँ। तर, हामीले भोट दिएका वडाध्यक्षले मेरो पसल हटाइदिए। तोडफोड गर्न लगाइदिए। गरिखाने ठाउँसमेत नराखिदिनेलाई म फेरि किन भोट दिऊँ ?’
अहिले उनलाई पसल चलाउन आफ्नो थोरै जग्गा उपलब्ध गराएकी ५२ वर्षीया किशोरी श्रेष्ठ पनि चौधरीलाई पसलमा रोटी बेल्न सघाइरहेकी थिइन्। चौधरीले पीडा सुनाइनसक्दै उनले पनि रोष प्रकट गरिन्, ‘म पनि एमालेकै मतदाता थिएँ। तर, उनीहरूले गरेको व्यवहारले दिक्क पारेको छ। यसपालि कहाँ र कसलाई दिने टुंगो छैन। तर, सूर्यमा चाहिँ हामी पनि नदिने।’
पछिल्लो पाँच वर्षमा सधैंजसो विवादमा आइरहने मेयर द्वारिकलाल चौधरीको कार्यशैली र कमजोरी पनि केही मतदाताहरू यसपालि एमालेबाट टाढा हुनुको कारण बनेको छ।
इटहरी-१७ का ७० वर्षीय सरूपलाल चौधरी एमालेका पुराना मतदाता हुन्। पछिल्लो चुनावमा द्वारिकलाल चौधरीसहितका एमाले उम्मेदवारलाई मत दिएको बताउने सरूपलालले यसपटक ‘व्यक्ति हेरेर’ भोट दिने बताए।
‘मेयरमा रूख र उपमेयरमा कलममा हाल्छु’, सरूपलालले चुनावी योजना सुनाए, ‘पहिले जिताएकाहरू खाली लफडा गर्ने मात्रै परे। यसपालि त्यस्तो गल्ती गर्दिनँ।’
इटहरी-१८ का फराज लारी वडा नम्बर ४ को बजारमा जुत्ताचप्पल पसल गर्छन्। उनी पनि एमालेका पुराना समर्थक नै हुन्। कुनैबेला एमालेको संगठित सदस्य रहिसकेका उनले अहिले भने सदस्यता नवीकरणसमेत नगराएको र एमालेलाई भोट दिने नदिने टुंगो गरिनसकेको सुनाए। उनको पनि एमालेसँगको साइनोमा चिसोपन आउनुका पछि जनप्रतिनिधिको कार्यशैलीगत कमजोरी नै कारण देखिन्छ।
‘हामीले इटहरीको विकास होस्, राम्रो काम गरोस् भनेर सधैं भोट हाल्दै आएको हो,’ फराजले भने ‘तर, यहाँका मेयरहरू खाली विवादमा पर्ने, लफडामा पर्ने काममा अल्झिए। उनीहरूले के काम राम्रो गरे भन्नु त ?’ यसरी उल्टै हामीलाई प्रश्न गरेका उनले उत्तर पनि आफैं थपे ‘केही गरेनन्। त्यसैले पहिला-पहिला एमालेको नाराजुलुसमा हिँड्ने म यसपालि भोट दिने कि नदिने दोधारमा छु।’
यसअघि एमालेलाई मत दिएकामध्ये १८ प्रतिशतले यसपालि कांग्रेसलाई मत दिने निधो गरेका छन्।
इटहरी- ९ मा पसल चलाउने ४९ वर्षीया शोभा भट्टराईले २०७४ मा एमालेलाई मत दिएकी थिइन्। यसपालि उनले मन फेरेकी छन्।
'ठूला नेताले पार्टी फेर्न हुने, हामी जनताले चाहिँ नेता फेर्न नहुने भन्ने कहाँ लेखेको छ र?,' उनले भनिन्,'२०७४ मा सूर्यलाई भोट हालेकी थिएँ, यसपालि त हेमकर्णलाई भोट दिने हो।'
इटहरी-२ का ३० वर्षीय साहस भण्डारीले २०७४ मा एमालेलाई भोट दिएका थिए। यसपालि उनी स्वतन्त्र उम्मेदवार पदम अधिकारीलाई मत दिँदैछन्।
'उहाँले चुनाव जित्नुहुन्न थाहा छ तर कुनै पार्टीले जस्तोसुकै नराम्रो काम गरे पनि जतिसुकै नराम्रो व्यक्तिलाई उम्मेदवार बनाए पनि जनताले भोट दिएर जिताइहाल्छन् भन्ने सोचविरूद्ध उहाँलाई भोट दिने हो,' भण्डारीले भने।
एमालेले यसअघि पाएको केही भोट यसपालि राप्रपालाई पनि जाने देखिन्छ। अघिल्लो पटक एमालेलाई मत दिएका १३ प्रतिशत मतदाताले यसपालि राप्रपालाई भोट दिने बताएका छन्।
इटहरीमा राप्रपाको उपस्थिति यसअघिको चुनावमा पनि थियो। २०७४ को चुनावमा राप्रपाका मेयर उम्मेदवार रोहितबहादुर कार्कीले ३ हजार ७ सय १५ मत ल्याएका थिए। त्यतिबेला उनले सदर मतको ७ प्रतिशत भोट पाएका थिए।
राप्रपाले यसपालि आकाश सुब्बालाई मेयर उम्मेदवार बनाएको छ। उनी पूर्वमन्त्री रामकुमार सुब्बाका छोरा हुन्। पञ्चायत कालमा लामो समय इटहरीको प्रधानपञ्च रहेका सुब्बाको स्थानीय स्तरमा राम्रो प्रभाव छ। २०५४ को चुनावमा मेयर उम्मेदवार बनेका सुब्बाले दोस्रो बढी मत पाएका थिए। यसपालि सुब्बाका छोरा मेयर उठेकाले राप्रपाको मत पनि अघिल्लो पटकभन्दा बढ्ने सम्भावना छ।
पहिला कांग्रेसलाई मत दिएका तर यसपालि एमालेलाई मत दिने सोच बनाएका मतदाता पनि हामीले भेट्यौं। तर त्यस्ता मतदताको संख्या ५ प्रतिशतभन्दा कम छ।
हामीले कुरा गरेकामध्ये ८ प्रतिशत मतदाताले पहिलो पटक भोट हाल्न लागेको बताए। उनीहरूमध्ये केहीले कसलाई भोट दिने निधो गरेका छैनन् भने केहीले रूखलाई मत दिने बताए।
इटहरी-८ की २१ वर्षीया आश्मा खत्रीले आफ्नो मत 'फिक्स्ड' भइसकेको बताइन्।
होटल म्यानेजमेन्ट पढिरहेकी उनले भनिन्, 'म पहिलो पटक भोट हाल्दैछु। मैले रूखमा भोट हाल्ने फिक्स्ड भइसक्यो।'
कांग्रेसलाई यसपालि सबैभन्दा सजिलो बनाएको भने गठबन्धन र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको कांग्रेसमा विलयले हो।
इटहरीमा अघिल्लो चुनावमा माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी हरिमाया जिमीले ३ हजार ३ सय ६४ मत ल्याएकी थिइन्। माओवादीको त्यो मतको ठूलो अंश पनि गठबन्धनका कारण कांग्रेसलाई जाने देखिन्छ।
इटहरी-२० का ३२ वर्षीय मिलन सेवाले २०७४ मा माओवादी केन्द्रलाई मत हालेका थिए। 'यसपालि म गठबन्धनका उम्मेदवारलाई भोट हाल्छु,' उनले भने।
इटहरीमा यसपालि उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का केशवकुमार बिष्ट उम्मेदवार बनेका छन्। उनी राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव हुन्। इटहरीको उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार भए पनि मतदाता भने एकीकृत समाजवादीका नगन्य छन्। हामीले कुरा गरेका ८५ जनामा एक जनाले मात्रै आफू एकीकृत समाजवादीमा आस्थावान् भएको बताए।
इटहरी-१३ का २६ वर्षीय मनीष चौधरीले कलम चिन्हमा मत हाल्ने बताए।
'म पहिला एमालेमा थिएँ। यसपालि कलम छापमा भोट दिन्छु। गठबन्धन भएकाले मेयरमा रूखलाई भोट दिन्छु,' उनले भने।
कांग्रेसलाई २०७४ भन्दा यसपालि सजिलो हुनको अर्को प्रमुख कारण विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा मिसिनु पनि हो।
२०७४ मा फोरम लोकतान्त्रिकले इटहरीमा मेयर उठाएको थियो। उसका उम्मेदवार अरून चौधरीले १ हजार ४ सय ३७ मत ल्याएका थिए। त्योमध्ये धेरै भोट यसपालि कांग्रेसलाई आउन सक्छ।
यसको अर्थ इटहरीमा एमाले कमजोर छ र कांग्रेसको जित सुनिश्चितनै छ भन्ने पक्कै हैन। हामीले कुरा गरेका मानिसको संख्या मतदाताको तुलनामा निकै थोरै हो। तर प्रतिनिधिमूलक भने पक्कै हो।
इटहरीमा १ लाख ४ हजार मतदाता छन्। तीमध्ये ठूलो संख्या थारू र राई-लिम्बू समुदायको छ। एमालेले मेयरमा सुब्बा र उपमेयर चौधरीलाई उम्मेदवार बनाएर समुदायगत भोट आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ। यसले थारू मत आकर्षित गर्न एमालेलाई बाटो दिएको छ।
इटहरी-१३ का ३९ वर्षीय भगतनारायण चौधरीले अघिल्लो चुनावमा कांग्रेसलाई भोट दिएका थिए।
'यसपालि एमालेलाई भोट दिने हो,' उनले भने।
याम सुब्बाको लोकप्रियता र संगीताले ल्याउने थारू समुदायको भोटले आफूहरूले जित्ने एमाले कार्यकर्ताको आशा छ।
'यसपालि इटहरीमा प्रतिस्पर्धा छ तर याम सुब्बाको लोकप्रियता र संगीता चौधरीले सामाजिक क्षेत्रमा गरेको कामले राम्रो छवि बनाउनु भएको छ,' एमालेका संगठित सदस्य इटहरी-६ का निर्दीप काफ्लेले भने, 'हामी कमजोर छैनौं, कडा टक्कर हुन्छ।'
तर इटहरीको राजनीतिक अंकगणित र हामीले फिल्डमा प्रत्यक्ष कुरा गरेका मतदाताका आधारमा भन्दा कांग्रेसका हेमकर्णको पल्ला यसपालि एमालेका उम्मेदवारको भन्दा भारी देखिन्छ।