२०७४ को प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत परिणामलाई आधार मान्दा चितवन क्षेत्र नम्बर ३ को प्रमुख शक्ति नेपाली कांग्रेस हो। समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो शक्ति हुन्।
२०७४ को संसदीय चुनाव र गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ मा प्रमुख चार दल कुनैले पनि एक्लै प्रतिष्पर्धा गरेनन्।
प्रतिनिधि सभामा एमालेसँग मिलेको माओवादी केन्द्र पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग मिल्न पुग्यो।
पाँच वर्षअघि प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेससँग तालमेल गरेको राप्रपाले गत स्थानीय निर्वाचनमा एमालेलाई साथ दियो। २०७४ मै भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए।
तसर्थ २०७० सालपछि प्रत्यक्ष मतदानबाट भएका निर्वाचनमा प्रायः दुई दलका बिचमा गठबन्धन भएकाले त्यसबाट आएको परिणाम भन्दा समानुपातिक तर्फको परिणाम दलहरूको शक्ति मापन गर्ने आधार हुन सक्छ।
व्यक्तिलाई नभई राजनीतिक दललाई भोट हालिने समानुपातिक प्रणालीमार्फत् चितवन-३ बाट नेपाली कांग्रेसले २६१३७, एमालेले २४१५५, माओवादी केन्द्रले २२९८८ र तत्कालीन राप्रपा प्रजातान्त्रिकले ५६३३ मत प्राप्त गरेका थिए।
चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको जनाधार २०७० सालको निर्वाचन यता लगभग उस्तै देखिन्छ।
दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला जित्नका लागि सजिलो क्षेत्र खोज्दै त्यतिबेलाको चितवन क्षेत्र नम्बर ४ मा आइपुगेका थिए। यो क्षेत्रको अधिकांश हिस्सा अहिलेको क्षेत्र नम्बर ३ मा पर्छ। उक्त निर्वाचनमा कोइरालाले २० हजार ७६० भोट ल्याएका थिए। उनका प्रतिद्वन्द्वी माओवादीका चित्रबहादुर श्रेष्ठले १० हजार ७३९ भोट पाएका थिए। २०६४ सालको संविधान सभाको निर्वाचनमा श्रेष्ठ यो क्षेत्रबाट २३ हजार ९४२ भोट ल्याएर विजयी भएका थिए।
त्यतिखेर नेपाली कांग्रेसका टेकप्रसाद गुरूङले ११ हजार ८०२ भोट ल्याएका थिए। २०७१ असारमा भएको उपनिर्वाचनमा कांग्रेसका रामकृष्ण घिमिरे २० हजार ३१२ भोट ल्याएर विजयी भए। उनकी प्रतिद्वन्द्वी एमालेकी पार्वती रावलले १७ हजार २७२ भोट ल्याइन्। उक्त निर्वाचनमा माओवादीका खुसिराम पाख्रिनले ७ हजार ८५५ भोट ल्याएका थिए।
२०६४ सालमा सबैभन्दा ठूलो शक्तिका रूपमा रहेको माओवादी २०७४ सम्म आइपुग्दा घट्दै गएको थियो। हालको चितवन–३ मै पर्ने तत्कालीन क्षेत्र नम्बर ५ बाट ०७० मा राप्रपाका विक्रम पाण्डेले चुनाव जिते। यो क्षेत्रबाट २०६४ विजयी भएका माओवादीका अमिक शेरचन २०७० मा पराजित भएका थिए। शेरचनलाई एमालेका दानबहादुर तामाङले पनि जितेका थिए।
०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेर भरतपुर महानगरपालिकालाई आफ्नो भागमा पर्यो। यहाँबाट मेयरमा उठेकी रेनु दाहालले झिनो मतान्तरले निर्वाचन जितिन्। माडी नगरपालिकाको मेयरमा माओवादीकै ठाकुर ढकाल पनि झिनो मतान्तरले विजयी भए। माडीमा भने कसैसँग तालमेल भएको थिएन।
सोही साल भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं चितवन–३ मा चुनाव लड्न आइपुगे। नेपाली कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई साथ दियो। प्रचण्ड ४८ हजार २७६ भोट ल्याएर निर्वाचित भए। पाण्डेले ३८ हजार ९३५ भोट ल्याए।
प्रचण्ड, रेनुको उपस्थिति र माडीमा पनि आफ्नै पार्टीका मेयर हुँदा चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका र माडी नगरपालिकामा खस्किँदै गएको माओवादीको जनमत पुनः बढेको देखिन्छ। त्यसैको परिणाम हुनसक्छ गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले मतान्तर १२ हजार ४४६ पुर्याइन्। जबकी उनका लागि अवस्था अघिल्लो निर्वाचनमा भन्दा प्रतिकूल थियो। गठबन्धन उही दलसँग थियो तर कांग्रेसका बलिया बागी उम्मेदवार थिए। अघिल्लो पटक एक्लै लडेको एमालेले गत वैशाखको चुनावमा राप्रपासँग गठबन्धन गरेको थियो। पछिल्लो स्थानीय चुनावमा माडीमा भने मेयर पद एमालेले जित्यो।
जनमतमा सुधार भए पनि माओवादी एक्लैले चुनाव जित्ने अवस्थामा छैन। त्यसमाथि यसपालि प्रचण्डले यो निर्वाचन क्षेत्र छाडेका छन्। त्यतिखेर उनलाई सहयोग गरेको एमाले पनि फरक कित्तामा छ।
माओवादी केन्द्रले फिजिसियन डाक्टर भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ। उनी यसअघि सक्रिय राजनीतिमा थिएनन्। अधिकारीलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको पनि साथ छ। तर नेपाली कांग्रेसका बागी धेरै छन्। गठबन्धनका उम्मेदवार अधिकारीका लागि सबैभन्दा ठूलो चुनौती नै कांग्रेसका बागी हुन्। निर्वाचन जित्न उनले कांग्रेसको ५० प्रतिशत भन्दा बढी मत तान्न सक्नुपर्छ।
गत स्थानीय चुनावमा यो क्षेत्रमा गठबन्धनका २८ जना वडाध्यक्ष उम्मेदवारले ४५ हजार १७२ भोट पाएका थिए। नेकपा एमालेका वडाध्यक्षहरुले ३० हजार ६०९ र राप्रपाका वडाध्यक्षले ७ हजार ४५४ भोट ल्याएका थिए। भरतपुर महानगरपालिकाबाट कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले क्षेत्र नम्बर ३ मा पर्ने १९ वटा वडाबाट ८हजार २५३ भोट ल्याएका थिए।
पौडेल यसपालि प्रतिनिधि सभा सदस्यका लागि पनि उम्मेदवार छन्। नेपाली कांग्रेसका पुराना कार्यकर्ताको भोट उनले यसपालि पनि तान्न सक्छन्। माडी पनि थपिँदा उनको भोट १० हजार आसपासमा आउन सक्ने आँकलन उनीनिकट कार्यकर्ताको छ। महानगरको मेयरमा पौडेललाई सहयोग गरेका कांग्रेसका तारानाथ पौडेलले पनि यो क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
भारतसँग जोडिएको ठोरी र चीनसँग जोडिएको केरूङसम्मको सडक र पश्चिम चितवनलाई नवलपुरसँग जोड्न नारायणी नदीमा पुल बनाउने मुख्य एजेण्डा उठाउँदै आएका पौडेलले विकास र समृद्धीका लागि आफ्नो उम्मेदवारी रहेको बताउने गरेका छन्। राजनीतिलाई अधिकार सँगमात्र नभएर विकास र समृद्धिसँग जोड्नुपर्छ भनेर बहस गर्दै आएका पौडेलले कांग्रेसको केही भोट काट्न सक्छन्।
एमालेले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कार्यालयलाई पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइदिए। नेकपा एमालेले यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई सहयोग गर्दैछ। पार्टी निर्णयविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य कोइरालासहित उनको उम्मेदवारी दर्ता गर्न प्रस्तावक र समर्थक बनेका कार्यकर्तालाई नेपाली कांग्रेसले पार्टीबाट ५ वर्षलाई निलम्बन गरेको छ। यद्यपी कोइरालाको प्रभाव चितवनको क्षेत्र नम्बर ३ मा राम्रो मानिन्छ। एमालेको साथ पाएको अवस्थामा उनलाई नेपाली कांग्रेसका कार्यकर्ताले पनि भोट हाल्न सक्छन्।
‘नेतृत्वले सधैं अर्को पार्टीका मान्छेलाई सहयोग गरेपछि आफ्नो पार्टी जोगाउन कोइरालाले विद्रोह गरेका छन्। त्यसैले मेरो साथ उहाँलाई हुन्छ,’ भरतपुर-२६ का कांग्रेस कार्यकर्ता निराजन बोहोराले भने, ‘नेतृत्वले जे भन्छन् त्यो मान्दै जाने हो भने त अब भरतपुरमा कांग्रेसको शिला खोज्नुपर्ने अवस्था आउन सक्छ।’
कोइरालालाई निर्वाचन जित्न नै भने सजिलो छैन। उनलाई एमालेले समर्थन गरे पनि एमालेको सबै भोट नआउन सक्छ। निर्वाचन जित्न उनले एमालेको सबै भोट पाएर कांग्रेसबाट करिब ४० प्रतिशत भोट ल्याउनुपर्छ। आफ्ना उम्मेदवार नहुँदा एमालेको भोट सबैतिर बाँडिन सक्छ। उम्मेदवारी दर्ता गरिसकेका उम्मेदवारलाई फिर्ता गरेकोमा एमालेका कार्यकर्ता पार्टी नेतृत्वसँग रूष्ट छन्। नेतृत्वसँग रूष्ट कार्यकर्ताले नेतृत्वले भनेकै ठाउँमा सबै भोट नखन्याउन सक्छन्।
२०७० सालको समानुपातिक मत परिणाममा राप्रपाको मत कम देखिए पनि उक्त पार्टीका उम्मेदवार विक्रम पाण्डेको प्रभाव माडी र पश्चिम चितवनका केही वडा राम्रो छ। उक्त क्षेत्रबाट सधैं उम्मेदवार बनेका, एक पटक निर्वाचन जितेका, मन्त्रीसमेत भइसकेका पाण्डेले अन्य पार्टीको भोट पनि तान्न सक्छन्। पैसा बाँडरै पनि मतदाता किन्न सक्ने नेताको रूपमा पनि परिचित छन् पाण्डे। प्रमुख पार्टीहरू कांग्रेस र एमालेका आफ्नै उम्मेदवार नभएको अवस्थामा उनलाई ती पार्टीको भोट तान्न अझ सजिलो भएको छ।
०७० मा पाण्डेले नेपाली कांग्रेसकै भोट पाएर चुनाव जितेका थिए। असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पाण्डेले आफूले कसैलाई प्रतिष्पर्धी नदेखेको बताएका थिए। अघिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका उनी यसपटक पनि प्रचण्डसँगै लड्न तयार थिए।
‘प्रचण्ड नभएको, कांग्रेस र एमालेको आफ्नो उम्मेदवार नै नभएको अवस्थामा पाण्डेका लागि निर्वाचन जित्ने वातावरण बन्दैछ,’ राप्रपाका भरतपुर महानगरपालिका सचिव सुलभ सिग्देल भन्छन्, ‘गठबन्धनका उम्मेदवार उहाँका प्रतिष्पर्धी नै होइनन्, अरू त पार्टीका उम्मेदवार नै होइनन्।’
पाण्डेले चुनाव जित्न उनका कार्यकर्ताले सोचेजस्तो सहज भने छैन। चितवन क्षेत्र नम्बर ३ मा बढी भोट भएका भरतपुर महानगरपालिकाका वडामा राप्रपाको जनाधार कमजोर छ। वैशाखमा भएको स्थानीय निर्वाचनमा एमालेलाई समर्थन गरेका कारण महानगरका धेरै वडामा राप्रपाको जनमत कस्तो छ ठ्याक्कै भन्न कठिन भए पनि मतगणनाको क्रममा देखिएको ‘भोटिङ ट्रेण्ड’ हेर्दा पश्चिम चितवनका वडा नम्बर २३ र २४ मामात्रै राप्रपाका मतदाता बढी देखिएका थिए।
यसपालि पाण्डेलाई महानगरका मुख्य सहरसँग जोडिएका वडाबाट केही हिन्दुवादी भोट पनि आउन सक्छ। माडी नगरपालिकामा भने राप्रपाको जनाधार प्रतिष्पर्धी छ।
महानगरका वडाबाट गठबन्धनका उम्मेदवार भोजराज अधिकारीलाई राम्रो भोट आउन सक्छ। पेशागत रूपमा उनले कमाएको ख्यातिको प्रभाव महानगरका वडामा देखिने सम्भावना छ। अधिकारी भन्ने गर्छन्, ‘मैले यो क्षेत्रका करिब १ लाख १५ हजारको उपचार गरें होला, उहाँहरू मध्ये ५० हजार जना जति अहिले पनि मेरो सम्पर्कमै हुनुहुन्छ। उहाँहरूसँग मेरो सम्बन्ध बेग्लै खालको छ, यो पनि मेरो जितको एक आधार हो।’
उनको भनाइमा सही थाप्दै भरतपुर-१७ की ५६ वर्षीया मनमाया गुरूङले भनिन्, ‘आफ्नो पार्टीको नभए पनि आफूलाई जाँचेको डाक्टर उठेको रहेछ। उनैलाई भोट दिने त होला नि।’
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रभाव पश्चिम चितवनमा बढी छ। पश्चिम चितवनलाई केन्द्रित गरेर सडक संरचनाको विकास गरेको जस उनलाई छ। दाहाल सक्रिय भएर लागेको अवस्थामा त्यो भोट अधिकारीका लागि सुरक्षित हुनसक्छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जिता बराललाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ। उनले स्थानीय निर्वाचनमा भुइँकटहर निर्वाचन चिन्ह लिएर उठेका जगन्नाथ पौडेललाई सहयोग गरेकी थिइन्। यस क्षेत्रबाट २० जना उम्मेदवारहरू मैदानमा छन्।
चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यहाँ यसपालि १ लाख ४४ हजार २८३ जनाले मतदान गर्न पाउँछन्।