'यस्तो पनि जागिर खाने हो?' शीर्षकमा सेतोपाटीको ब्लग पढ्दै गर्दा मनमा धेरै विचार आए। पहिले त शीर्षक हेरेर पढ्न उत्सुक भएकी थिएँ। तर विषयवस्तुभित्र प्रवेश गरेपछि थाहा भयो यो सबै शिक्षक वर्गसँग सम्बन्धित रहेछ।
पढ्न जाँगर त्यसै पलाएर आयो। पढेँ पनि। लेखक र मबीच सबै कुरा समान रहेर पनि फरक केमा देखेँ भने, उहाँ सरकारी शिक्षिका हुनुहुँदो रहेछ, म परेँ निजी संस्थामा। खैर शिक्षक आखिर शिक्षक नै हुन्। आफ्नो पेशाप्रतिको मायाले होला, शिक्षा र शिक्षकका कुरा आउँदा कान ठाडा भैहाल्छन् स्वत: नै।
बिहान सबेर निस्केर साँझ अबेर कोठा पुगेर ज्यानलाई आराम दिन नभ्याउँदै आउने आमाको फोन र जाँगररहित कुराकानीसँगै आमाको सुझाव 'छोड्दे हौ त्यस्तो जागिर्' ले दिनभर उत्साहसँग गरिएको काम पखालेर लागिदिन्छन् मेरा। र म चुपचाप फोन राखेर मौन बस्छु अनि त्यो मौनतालाई कुनै एक विद्यार्थीको फोनले चिरिदिन्छ 'म्याम एमएस टिम्स् को पासवर्ड नै बिर्सेँ खुल्दै खुलेन के गर्ने होला ?'
म यो बन्छु भनेर कहिल्यै अगाडि बढिएन, तर जे बनियो यसमा सबै नीति-नियम पालना गरेर एक अब्बल व्यक्ति जरुर बनूँ भन्ने मनमा सधैं नै लाग्यो। यसै हिसाबले अगाडि बढियो पनि।कति रहर, कति बाध्यताले शिक्षा पेशा अंगालिसकेपछि यसैमा जीवन खोज्न र भेट्नतर्फ लागियो।
समयको माग भनौं या के, कोरोना आयो र सरल रूपले बगिरहेको मजस्ता धेरैको जिन्दगीलाई एकाएक अप्ठ्यारो बनाइदियो।
भौतिक दुनियाँबाट भर्चुअल दुनियाँमा जाँदै गर्दा निश्चय नै धेरै बाधा व्यवधान आए पनि। म आफू प्रविधिमा त्यस्तो अब्बल नरहे पनि थोर बहुत चासो राख्ने भएकोले समस्या धेरै भएनन् र भएका पनि आफैं खोज तलास गरेर समाधान गरेँ। तर धेरै शिक्षकहरूलाई देखेँ जसलाई प्रविधि फिटिक्कै नआउने र सामान्य समस्यामा समेत आत्तिने। उहाँहरूलाई देख्दा लाग्थ्यो, जीवनमा सबै कुरा सिकिराख्न पर्ने रहेछ।
शिक्षकहरू यही समाजकै अभिन्न अंग भएका कारण उहाँहरूको चर्चा-परिचर्चा समाजमा भैरहन्छ सधैं नै। थुप्रै सुनियो, देखियो, भोगियो पनि। देख्दा सुन्दा भन्दा भोग्दै गर्दा मलाई के लाग्यो भने शिक्षकहरूले पढाउने धूनमा लागेर कतिले त पढ्नै बिर्सिने रहेछन्। सुरूमा जागिर टिकाउन गरिने मेहनत र त्यसपछि व्यवस्थापन पक्षलाई पारिएको प्रभाव अनि समयक्रमसँगै हासिल गरिएको कन्फिडेन्स लेभलले काम गर्ने भएपछि धेरैजना शिक्षकले आफूलाई अपडेट गराउन पनि बिर्सने रहेछन्।
समग्रमा शिक्षकले किताबी कोर्सका कुरा जाने पुग्ने भन्ने संकुचित दायराभित्र आफूलाई सीमित राख्ने गरेको पनि पाएँ मैले।
गत वर्षबाट परिमार्जित कोर्सलाई अगाडि बढाउन शिक्षकहरूबीच नै अन्यौलता छाएको देख्दा यो प्रष्ट हुन्थ्यो कि हामी परिवर्तनको कुरा सिकाउँछौं तर हामी आफैंलाई परिवर्तनसँग कत्रो नफ्रत रहेछ।
सिकाइका केही तरिका परिवर्तन गरेर ल्याइएको पाठ्यक्रममा सुरूमा धेरै अल्मलिएको पनि पाइयो र धेरैले यसलाई झन्झटको रूपमा लिएको समेत देखियो। यो देख्दा हामी नयाँपनको पक्षमा साँच्चिकै छौं त भन्ने प्रश्न मनमा आयो र उत्तर अलि असहज रूपमा देखियो।
सायद संयोग मानिनुपर्छ, कोरोनाले लकडाउन ल्याउनु र शिक्षा क्षेत्रमा त्यसमा कक्षा ११/१२ को नयाँ पाठ्यक्रम एकैपल्ट लागू गरिनु।
धेरैले बहाना बनाउने मौका पाए, कतिले यसैलाई जागिर छोड्नुपर्ने कारण र धेरैले यसैबीच आफूलाई अब्बल बनाउनुपर्ने मौकाको रूपमा समेत लिए।
एक हिसाबले भन्ने हो भने हरेक घटनाका सकारात्मक र नकारात्मक दुवै पक्ष भेटिन्छन्, यी घटनाहरूले पनि शिक्षा क्षेत्रमा थुप्रै परिवर्तन जरूर ल्याएका छन। को-कति कसरी मर्यादामा बसे र कसले कति यो समयलाई सदुपायोग गरे भन्ने कुराको हिसाब-किताब त समय कालखण्डसँगै निस्कँदै जान्छ नै, तर चार कोठाभित्र जुन कुराहरू हामीले देखाउन, पढाउन सम्भव थिएन ती कुरा समेत बाहिर निस्किएको भने जरूर छ। धेरै विद्यालयहरूले व्यवस्था गर्न नसकेको प्राविधिक पक्षलाई अहिले बाध्यात्मक परिस्थितिसँगै लागू गरिनुपर्ने बेला जो भएको छ।
रिलायन्स कलेजको तर्फबाट हरेक हप्ता क्लब हाउसमा शिक्षा क्षेत्रसँग सम्बन्धित छलफल हुँदै गर्दा शिक्षकहरूमा के गुण हुनुपर्छ जसले राम्रो शिक्षकको परिभाषा दिन्छन् भन्ने छलफलमा 'शिक्षक भनेका मान्छे बनाउने मान्छे हुन्' भनेर रविन्द्र सर भन्नुहुन्छ। यी वाक्यांश भन्न र सुन्न जति सजिलो छ, गहिराइमा जाने हो भने त्यसको सयौं गुणा अर्थपूर्ण पनि छ। मान्छेलाई मान्छे बनाउन जानिएन भने योभन्दा गाह्रो काम अर्को नहोला। यसैलाई आधार मानेर शिक्षकहरूले आफूलाई मूल्यांकन गरेर अगाडि बढाउन सक्छन जरूर छ।
तर धेरैजसो बजारमा मानिसहरू शिक्षक पेसालाई अन्य कुरा प्राप्त नभएसम्म भन्ने रेखा राखेर यो पेसामा प्रवेश गरेको पाइन्छ। मेरा एक शिक्षक मित्रले समेत मलाई शिक्षक पेशा छोड्न जोड दिएका थिए। भन्थे 'मान्छे केही काम नपाएपछि जाने हो पढाउन'।
एकातिर शिक्षक पेशा भनेको मर्यादित र मान्छे बनाउने मान्छेहरूको जमात भनेर परिभाषा दिँदै गर्दा अर्कातर्फ अर्को काम नपाएसम्मलाई भनेर जाने जमातले यो पेशाको मर्यादालाई खसाल्दै गरेको देखिन्छ।
आज मेरी आमाले निर्धक्क रूपमा मेरी छोरी शिक्षिका हुन् है भनेर समाजको सामु भन्न नसक्नुमा हामी यस्ता जमातमाझ बस्नाले पनि हो।
यसो भन्दै गर्दा सबै जनाले मर्यादा बिर्से भन्न त मिल्दैन, तर समाजले बाहिर देखिने जमातको आधारमा मूल्यांकन गरिदिनाले पनि यो सब भएको भन्ने लाग्छ।
कमला अधिकारी जीले उल्लेख गर्नुभएका बुँदा पढ्दै गर्दा म आफूलाई नै पाएँ धेरै ठाउँमा र आफूले काम गर्दै गर्दा पनि धेरै शिक्षक साथीहरूले फलानाले यति कमाए उति कमाए र अक्सर आफूले कमाउन नसकेकोमा ग्लानी महसुस गरेको समेत पाएँ।
हो, जीवनमा अर्थ व्यवस्थाले थुप्रै अर्थ बोक्दछ, तर पेशागत मर्यादाभन्दा बढी भन्ने मलाई चाहिँ लाग्दैन। आफूले पढाएका विद्यार्थी भाइबहिनीले कहिलेकाहीँ आफूलाई कारबाट घरसम्म पुर्याइदिँदै गर्दा मैले भने आफूले कमाउन नसकेकोमा भन्दा बढी आफूले सिकाएको संस्कारले सही ठाउँ लिएको महसुस गरेर खुसी हुन्छु।
आखिर जीवन सकारात्मक कुराले अगाडि बढाउन सकिन्छ भने त्यसो किन नगर्ने ?
समयले ल्याएको अनलाइन कक्षामा धेरै विद्यार्थी उपस्थित नभएको र उपस्थित हुनेले पनि शिक्षकको निर्देशन अनुसार प्रतिक्रिया नदिएको धेरै शिक्षकको गुनासो सुनियो, तर त्यहीँ शिक्षकलाई अनलाइन कक्षा सञ्चालनमा प्राविधिक समस्या नपरोस् भन्ने हिसाबले तालिम दिँदै गर्दा धेरैले उपस्थिति नजनाएको र उपस्थित हुनेले समेत ध्यान नदिएर वा अरु कारणले पछि प्राविधिक पक्षका सँग गुनासो गरेको समेत भेटियो।
यसरी हेर्ने हो भने त ती विद्यार्थीलाई सभ्य बनाउन पहिले शिक्षक आफू पनि त्यो मूलधारमा उभिन पर्ने देखियो।
हामी सिकाउन बसेकाहरूले सिक्नै बिर्सन पर्छ भन्ने कहिल्यै रहन्न। हामी पढाउन बसेकाहरू आफूले पढ्न बिर्सनु भएन। हामी समाजलाई बाटो देखाउन बसेकाहरूले आफैं बाटो बिर्सेर खिया परेर बस्न मिल्दैन। मानिसले परिवर्तनका कुरा गरेर आफू सदैव यथास्थितिवादलाई रोजिरहेका हुन्छन्। तर शिक्षकहरूलाई योतर्फ मोडिन वर्जित छ।
अब पाठ्यक्रम र पढाउने माध्यम मात्र होइन हामीले पढाउनुपर्ने शैली र माध्यम पनि परिवर्तन भएका छन्। चार कोठाका बीच सीमित हाम्रा सीप अब घर-घरमा बसेर सबैले हेर्न मिल्ने गरी स्थापित भएको छ। यो समयलाई सदुपयोग गरौं। एउटा शिक्षकले चार कोठामात्र होइन आफ्नो कला चार दिशामा छर्न सकून्।
अब आफूलाई सावित गर्नुपर्ने समय आएको छ। अनलाइनमार्फत् दिइने शिक्षालाई यसरी सदुपयोग गरौं कि हामीबाट मानिस अभिप्रेरित भएर यो पेशातर्फ आकर्षित होऊन्।
जीवनमा विद्यालय नगएकाहरूले समेत घरैमा आफ्ना नानिबाबुहरूसँग बसेर हाम्रा कक्षा लिन उत्साहित होऊन्।
युग परिवर्तन गराउनमा शिक्षकहरूको सबभन्दा ठूलो योगदान रहन्छ सदैव। हामी शिक्षक समाजलाई सकारात्मक स्वरूप दिने हतियार हौं, हामीलाई भुत्ते हुने अधिकार छैन!
त्यसैले आजैबाट आफूलाई अर दाप्नुस्। ज्ञानले आफूलाई धारिलो बनाउनुस् र विश्वमा भैरहेका जे जति नकारात्मकता छन् ती सबैलाई हटाउँदै लैजानुस्। यो देखेर समाजले पनि भनून् कि जागिर खानु त यस्तो पो त!
यो समय र यो माध्यमलाई यसरी प्रयोग गरौं कि शिक्षकहरूलाई हेरिने दृष्टिकोण अबको पुस्ताले परिवर्तन गरून् र अब यो पेशा यस्तो रहोस् कि जहाँ केही काम नपाउन्जेललाई होइन अर्को काम पाउँदा समेत त्यो पेसा छोडेर शैक्षिक पेशातर्फ आउन सधैं उत्सुक र तत्पर रहून्।
यसरी अभिप्रेरित गर्ने दिन आएको छ कि मानिसहरूले हामीलाई देखेर भनून् जागिर खानु त यस्तो पो त! अब शिक्षाको पाठ्यक्रम मात्र हैन हामी शिक्षकहरू पनि सँगसँगै परिवर्तन हुँदै जाऔं र सारा दुनियाँले मनदेखि नै भनून् कि जागिर खानु त यस्तो पो !