आज विश्वका धनी, गरिब, विकसित, अविकसित, सबै देशहरू युद्ध लडिरहेका छन्। नेपाल यसबाट अछुतो रहन सक्ने कुरै भएन। यो २१ औं शताब्दीमा जाबो एक एनएम सानो परजीवीले भौतिक विकासमा सगरमाथा थिचोलेको बेला विश्वका मनुवाहरूलाई यसरी बन्धक बनायो कि, यी दुर्दशा हेर्नु सिवाय हामीले अरू केही गर्न सकिरहेका छैनौं।
सबै समस्याहरू समाधानको वीज बोकेर आएका हुन्छन्
हो, जब समस्याहरू आउँछन् ऊ एक्लै अवश्य आएको हुँदैन। जसरी मानिस जन्मिन्छ, मृत्यु सँगै आएको हुन्छ। अनि उसका क्षमता, बुद्धि, विवेक पनि सँगै आएको हुन्छ। मात्र हामीले समस्यासँगै आएको समाधानलाई पहिचान गर्न सक्नुपर्छ। समस्या र समाधान एक अर्कोका परिपूरक जस्तै हुन्। जब समाधानको पहिचान हुन्छ त्यो समस्या रहँदैन।
समस्याहरू एक्लै आउँदैनन्, साथमा अवसरहरू पनि लिएर आएको हुन्छ
विश्वमा जति पनि आविष्कार, परिवर्तन भएका छन्, ती सबै समस्याहरुले खडा गरी दिएको उत्पति हो। माथि भने जस्तै जब समस्यासँगै आएको समाधानको पहिचान हुन्छ, हो त्यही समाधान नै अवसर हुन्छ र नयाँ आविष्कारको उत्पति हुन्छ। आज विज्ञानले खडा गरेको यो भौतिक विकासहरु पनि यी नै सुत्रमा आधारित छन्।
निष्कर्षमा समस्या, समाधान, अवसर र आविष्कार एक अर्कोका परिपूरक हुन्। २०७६ सालमा विश्वमा तहाल्का मचाउँदै गरेको कोभिड–१९ समस्याको रुपमा खडा भएको छ। यसलाई नयँ वर्ष २०७७ सालमा कसरी अवसर र आविष्कारको रुपमा परिवर्तन गर्न सकिएला? यस बारेमा केही छलफल गर्ने कोशिस गर्दैछु।
भर्चुअल सम्बन्धको विकास
२१ औं शताब्दीको मुख्य उपलब्धी इन्टरनेटलाई मानिन्छ। इन्टरनेटले २० औं शताब्दीका ठूला उपलब्धीहरुलाई विस्थापित गरेको छ। एक मोबाइलले रेडियो, टिभी, क्यामेरा, पत्रपत्रीका सबैलाई च्यालेन्ज गरिरहेको छ। यहाँ सम्मकी सामाजिक संजालहरुले मानिसहरु बीचको सम्बन्धलाई प्रश्न खडा गरीदिएको छ।
मानिसहरु मोबाइल प्रेमी भएका छन्, एकान्त प्रेमी भएका छन्। प्रत्यक्ष बोल्नभन्दा अनलाइनमा कुरा गर्न रमाईरहेका छन्। मानिसहरुको लगभग ५० प्रतिशत दैनिकी समाजिक संजालहरुमा बिना उपलब्धी बितीरहेको छ। यसरी मोबाइल, समाजिक संजाल अपरिहार्य भएको यस अवस्थामा के हामी २०७७ सालमा समाजिक संजाललाई समाजिक र व्यक्तिगत विकासमा सदुपयोग गर्न सक्छौं? अवश्य सक्नु पर्दछ।
कोभिड–१९ ले खडा गरेको समाजिक दूरीसगै भर्चुअल बैठक, छलफल तथा अन्र्तक्रिया जस्ता कार्यक्रमहरुको सुरुआत भएको छ। हाम्रा बालबालिकाहरु भर्चुअल माध्यमबाट अध्ययन गरिरहेका छन्। मनोरन्जनको साधनको रुपममा प्रयोग भएको समाजिक संजाललाई समाजिक विकास, व्यक्तिगत विकास र समाजिक शिक्षाको विकासमा अगाडि बढाउन यो लकडाउनले सानोदेखि ठूलासम्मलाई प्रेरित गरेको छ।
यस अवस्थालाई अवसरको रुपमा अगाडि बढाई मानिसहरु बीचको भर्चुअल सम्बन्धलाई समाज उपयोगी बनाउन आवश्यक छ। छिट्टै आवश्यक पनि भर्चुअल सम्बन्धमा उपयोगी हुने नयाँ अविष्कारहरु सिर्जना हुने र भर्चुअल सम्बन्धको नयाँ आयम थपिने देखिन्छ।
अनलाइन व्यापारको प्रभाव
हुनत नेपालमा अनलाई व्यापार सुरु भएको केही समय भएको छ। तर यो सेवा तथा सुविधा धनाढ्याहरु र सिमित मध्यम वर्गीय मानिसहरुले मात्र यसको प्रयोग गर्ने गरेको थियो। त्यसमा पनि शहरीया जिवनमा सोख र सम्पन्नको मापदण्डको रुपमा मात्र समित थियो भन्दा अयुक्ति नहोला।
यस कोभिड–१९ सँगै अनलाइन व्यपार माथिदेखि तलसम्म, धनीदेखि गरिबसम्मको लागी अपरिहार्य आवश्यकताको रुपमा जर्बजस्त उभिएको छ। एटीएम मात्र होइन, अनलाइन भुक्तानी झण्डै डबल भएकोबाट पनि प्रष्ट हुन्छकी यस महामारीले आम नागरिकलाई अनलाइन व्यापार प्रति झुकाव बढाएको छ।
अवश्य पनि कोभिड–१९ को युद्धको जितसगै अनलाइन व्यापारमा बढोत्तरी हुनेछ। क्यासको कारोबार धेरै घट्नेछ र साना-साना व्यपारीले पनि अनलाइन भुक्तानीको साधन अनिवार्य प्रयोग गर्नुपर्ने बाध्यता खडा गर्नेछ। यस प्रकारको प्रभावले गर्दा आउँदा दिनहरुमा अनलाइन व्यवासाय संचालन गरी रहेकाहरुको लागि एक अवसरमा परिणत हुने कुरामा कुनै शंका देखिदैन।
आत्मनिर्भर अर्थतन्त्रमा जोड
आत्मनिर्भर अर्थतन्त्र यस समस्याले दिएको अर्को शिक्षा हो। आत्मनिर्भर अर्थतन्त्र तबसम्म सम्भव छैन, जबसम्म हामी रेमिट्यान्समा रमाउछौं। कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पारेको जबर्जस्त समस्याले नेपालसँगै विश्वका देशहरुमा आर्थिक संकट हुने कुरामा कुनै दुईमत छैन।
नेपालको अर्थतन्त्रमा जबजस्र्त पकट रहेको रेमिट्यान्स, पर्यटन जसरी बन्धक हुन पुग्यो, यसबाट हामीले दिगो आत्मनिर्भर अर्थतन्त्रको विकासको सुरुआत थालनी हुनु पर्ने देखिन्छ। त्यो भनेको अन्य मुलुकको निर्भरता विनाको आर्थिक प्रणाली हो।
आजसम्म हामीले कृषिलाई मात्र एक जिवीकापार्जन पारम्परिक रितिरिवाजको रुपमा लिएका छौं। हामीले अपनाएको कृषि उत्पादनलाई व्यवासायीक कृषिको रुपमा बुझेको छैन। यसको लागी राज्यले तुरुन्तै आधुनिक र व्यवसायिक कृषि प्रणालीमा कुनै पनि हिचकिचाहट विना यस क्षेत्रमा लगानी गर्नु जरुरी छ।
कोभिड–१९ पछि कम्तिमा ७५ प्रतिशत नेपालीहरु जो विदेशमा काम गरीरहेका छन्, उनीहरुको रोजगार खोसिने कुरा प्रष्ट छ। हो, यसलाई अवसरको रुपमा ती नेपालीलाई विदेशबाट फर्काई व्यवसायीक खेती गर्ने र राज्यले लगानी गर्नको लागि तुरुन्तै योजना बनाउनु आबश्यकता छ।
विश्व अर्थतन्त्र र व्यापारको जन्जीरबाट उम्कन पनि आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नु आबश्यकता हो र यहि नै यस महामारीले सिर्जना गरेको एक अवसर हो।
विज्ञानसगै विवेकलाई जोड
विज्ञानले विकासको फड्को मार्यो। त्यही विकाससँगै आएको समाजिक असहिष्णुता, वातावरणीय प्रभाव, यातायातको जबरजस्त संजाल, आर्थिक परर्निभता र भर्चुअल सम्बन्धहरु, जसले प्राकृतिक बनावटलाई लाथलिंग बनायो। जसले गर्दा हामी लगातार प्राकृतिक विपत्तीको समाना गरिहेका छौं।
मानव किन चन्द्रमामा छैन? किन मंगलग्रहमा छैन? किनकी त्यहाको वातावरण मानवको लागि पूर्ण छैन्। पृथ्वीमा छ, हामी छौँ, तर हामीले विज्ञान र विकासको नाममा पृथ्वीमाथि दोहन गदैछौं। जसले गर्दा मानवको अस्तित्व मै शंका हुने अवस्था सिर्जना भएको छ।
हामीले विज्ञानलाई मानवको साथीको रुपमाभन्दा पनि शक्तीको रुपमा प्रयोग गरिहेका छौं। आविष्कारहरु प्राकृतीक वातावरण विपरित भएको छ। अर्थलाई हामीले विनाशकारी समान बनाउन लगानी गरिहेकाछौं। प्राकृतीक भू-बनौट नै बिथोल्ने गरी भौतिक संरचनाहरु खडा गरिहेका छौं।
हामीले विज्ञानको उच्चतम प्रयोग गरिरहेका छौं तर सँगसगै मानविय विवेक गुमाउदै छौं। मानविय संवेदनामाथि खेलीरहेका छौं र आफैँले आफ्नो बासस्थानमाथि धावा बोलीरहेका छौं।
सायद हामीले आउँदा पिढीहरुले व्यहोर्नु पर्ने बिपत्ती प्रति नजर अन्दाज गरिहेका छौँ। हो यहि कारण प्रकृति र मानवबीचको युद्धको सुरुआत गरिरहेका छौं। यहि युद्धको सानो प्रहशन हो- कोभिड–१९। यसकारण विज्ञानसगै विवेकको प्रयोग आजको अहम् आश्यकता हो।
यहि यथार्थतालाई मनन गर्दै अब आउँदा दिनमा यसलाई अवसरको रुपमा प्रयोग गर्न सक्नु पर्दछ। विनाशयुक्त आविष्कारलाई कम गरी मनव उपयोगी आविष्कार तिर विश्व लाग्नु नै कोभिड–१९ दिएको शिक्षा हो।
भौतिक सम्पन्नता अधुरो सम्पत्ति
हामीले भौतिक विकास त गर्यौ तर भौतिक विकाससँगै जोडिएको अध्यत्मिकतालाई पूर्ण बहिस्कार गर्यौँ। जसले गर्दा मानव कहिलै सुखी रहन सकेन। प्रकृतिमा रमाएका हरेक जीव हाम्रा आहार भए, हामीले मानवता बिर्सेउँ। न त हामीलाई धनले पुग्यो, नत हामीलाई भौतिक संरचनाहरुले।
समुन्द्रदेखि जंगलसम्मलाई यसरी च्यालेन्ज गर्न पुगेऔँकी यिनको हामीलाई आवश्यकता नै छैन, यसरी हामी अतिक्रमणमा रमाएऔं। हो यसकै बदलामा आज मानवसँग युद्ध छेडिरहेको छ प्रकृतिले र भनिरहेछ कि सुध्रेर अघि बढ्, कि नाश होऊ। कोमिड–१९ को मानवजातीको लागि स्पष्ट सन्देश यहि हो।
यसकारण अध्यात्मिकता आजको युगको आचरण हुनु जरुरी छ, जसले जीवात्माहरु बीच मिलेर बाच्न सिकाउँछ। जसले प्रकृतिको पुजा गर्न सिकाउँछ। यसले मानवहरुको समस्यालाई उसकै शरीरबाट समाधान खोज्न सिकाउँछ। मानव बिरामी हुदाँ पहिलो अस्पताल ध्यान, योग, प्रकृति चिकिस्सा हो, जो काही खोज्न जानु पर्दैन र यो नि:शुल्क पनि छ। यहि सिकाउछ अध्यात्मिकताले।
यसरी मानवभित्र लुकेको र मानवले विज्ञानको नाममा दबाएको त्यो शक्तिको प्रष्फुटनको लागि अध्यात्मिक चेतको जरुरी छ। आज यो अवसर हो, हामीले अध्यात्मिकतालाई साथ दिऔं, यसको अनुशरण गरी साथसाथ भौतिक विकासको मज्जा लिऔं।
(लेखक अधिवक्ता तथा बाल अधिकारकर्मी हुन्।)