पर्यटकीय दृष्टिकोणले धनी गोसाईंकुण्ड गाउँपालिकाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जनसंख्या कम रहेको छ। यहाँ पैदल मार्ग मात्र यातायातको विकल्प भएकाले समुदायका मानिसहरू दैनिक आवश्यक वस्तुका लागि काठमाडौं, धुन्चे, स्याफ्रुबेँसीमा निर्भर रहेका छन्। सामान ढुवानी गर्न लाङटाङ राष्ट्रिय निकुञ्जका होटल व्यवसायीहरू महँगा भरिया र खच्चडहरूमा भर पर्छन्।
हिमाली क्षेत्रका कारण गोसाईंकुण्ड गाउँपालिका पैदलयात्रीको लागि अति नै रोमाञ्चक गन्तव्यको रूपमा रहेको छ। यहाँ लाङटाङ, मुण्डु, क्यान्जिन करिब ४,४०० मिटर उचाइमा अवस्थित छ।
अधिकांश पर्यटकहरूले आफूसँग लगेका सामान प्रयोग गरेपछि फोहोरहरू जथाभावी फाल्दा बाटोमा जताततै प्लाष्टिकजन्य फोहोरहरू देखिन्छ। स्थानीयले पनि जथाभावी फोहोर फाल्दा र आगो लगाउँदा वातावरणमा असर पर्दै आइरहेको छ।
प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा लाङटाङ राष्ट्रिय निकुञ्जको सौन्दर्यतामा समेत दिर्घकालीन असर पुगिरहेको छ।
नेपालको संविधान २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ। सो धाराको उपधारा (१) ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको छ।
मैलिक हकमा स्वच्छ वातावरण उल्लेख हुँदा, त्यसको अक्षरसः कार्यान्वयन गर्नु गराउनु संघीय, प्रादेशिक र स्थानीय तह सरकारको प्रमुख कर्तव्य हो भने, त्यसको पालना गर्नु रहेक नागरिक तथा सरोकारवालाहरूको जिम्मेवारी पनि हो।
स्याफ्रुबेँसीदेखि लाङटाङ हुँदै क्यान्जिनसम्मको पैदल मार्गमा तीन वटा (लाङटाङ, मुण्डु, क्यान्जिनमा) ठूला डम्पिङ क्षेत्र बनाइएको छ।
त्यसैगरी, धुन्चेदेखि टिमुरेसम्म तीनवटा डम्पिङ क्षेत्र बनाइएको छ। ब्याम्बुदेखि लाङटाङ खोला जाने बाटोका विभिन्न बिन्दुहरूमा ढुंगाले बनाइएका फोहोर संकलन गर्न छ वटा बिनहरू राखिएको छ।
गोसाईंकुण्ड गाउँपालिकामा दैनिक एक मेट्रिक टन फोहोर उत्पादन हुन्छ। जसमध्ये प्लाष्टिकजन्य फोहोर (बोतलहरू, खाजा र चाउचाउका प्याकेजिङ, पोलिथिनका झोला, प्लास्टिकका सामान, प्याकेजिङ सामग्री) फाटेको लत्ता-कपडाको टुक्रा, रबरको टायर, जुत्ता, फुटेको सिसाको बोतल लगायतका फोहोरहरू पैदलयात्राका क्रममा देख्न सकिन्छ। यसबाहेक पदयात्रामा खच्चरको मुत्र तथा गोबर पनि देखिन्छ।
यसरी थुुपारिएका वस्तुमा आगो लगाउँदा, वर्षेनी लाखौं रुपैयाँको फोहोरबाट मोहर बनाउन सकिने सम्भावित आम्दानी खेर गइरहेको छ।
फ्याकिएका फोहोरको थुप्रो करिब ७० प्रतिशत रिसाइकल गर्न सकिने वस्तु छन् जसलाई उचित व्यवस्थापन मात्रै गर्न सके पनि पालिकाले राम्रो आर्थिक लाभ लिन सक्छ। अर्कातर्फ गोसाईंकुण्ड गाउँपालिकामा फोहोरको समस्यालाई दिगो रूपमा व्यवस्थापन पनि गर्न सकिन्छ। त्यसका लागि ठोस फोहोरलाई प्रशोधन केन्द्रमा जम्मा गर्ने, प्लाष्टिक बोतल, कागज, सिसा, धातुजन्य वस्तुहरूको छुट्टै भण्डारण गर्ने र संकलन भएका वस्तुहरूलाई कबाडी व्यवसायीलाई बेच्न सकिन्छ। त्यसो हुँदा गाउँपालिकाले आम्दानी समेत गर्न सक्छ।
धुन्चे, स्याफ्रु र टिमुरेजस्ता शहरी क्षेत्र र पद मार्गहरूमा खुला रूपमा फोहोर जलाउने अभ्यास व्यापक छ। अर्कातर्फ स्थानीय बासिन्दाहरूमा फोहोर जलाउँदा हुने हानिकारक प्रभावबारे ज्ञान नहुँदा बालबालिका, वृद्धवृद्धा र असक्तहरूमा असर परिरहेको छ।
फोहोरमैला व्यवस्थापन जटिल समस्या बन्दै गइरहेको अवस्थामा, त्यसको नवीनतम निकास र फोहोरबाट मोहोर बनाउन रिसाइकल र कम्पोष्ट विधि समस्या समाधानको उपाय बन्न सक्छ।
त्यसका लागि गोसाईंकुण्ड गाउँपालिका एकलको प्रयासले मात्र हुँदैन। यो योजनालाई सार्थक बनाउन लाङटाङ राष्ट्रिय निकुञ्ज, सरकारी निकाय, निजी क्षेत्र, स्थानीय बासिन्दा, सामाजिक संघ संस्थाहरूको समेत महत्वपूर्ण योगदान आवश्यक छ।
गोसाईंकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जमा देखिएको फोहोरको उचित व्यवस्थापनका लागि केही उपायहरूः
- दिगो फोहोर संकलन प्रणाली लागू गर्नेः होटलहरूबाट निस्कने फोहोरको संकलन स्वयं होटललाई नै गराई, भरिया वा खच्चडमार्फत् संकलन भएको ठोस फोहोर ढुवानी गरी स्याफ्रुबेँसीमा रहेको प्रशोधन केन्द्रमा ढुवानी गराउने, ढुवानीको लागत खर्च होटलहरू आफैंले बेहोर्ने र वडा कार्यालयबाट नियमन र तथ्यांक अद्यावधिक गर्ने।
- प्लाष्टिक प्रशोधन केन्द्र स्थापना गर्नेः फोहोरको उचित व्यवस्थापनको लागि प्लाष्टिक प्रशोधन केन्द्रको निर्माण गर्ने, जसमा फोहोर छुट्याउने, प्लास्टिकको आकार संकुचन गरी काठमाडौं, पोखरा र नुवाकोट जस्ता शहरमा फोहोर संकलन कम्पनीसँग उचित मूल्यमा सबै बहुमूल्य फोहोर बिक्री गर्ने।
- फोहोरको स्रोतमा वर्गीकरण गर्नेः गाउँपालिकामा हरेक निकाय, होटल, तथा घरधुरीहरूले कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गीकरण गर्ने। कुहिने फोहोरलाई स्थानीय रूपमै जैविक मलमा रूपान्तरण गर्ने वा पशुको आहारको रूपमा प्रयोग गर्ने।
- फोहोर जलाउन प्रतिबन्ध लगाउने र जनचेतना प्रवर्द्धन गर्नेः फोहोर जलाउँदा हुने हानिकारक प्रभावबारे जनचेतनामूलक अभियान सञ्चालन गर्ने। फोहोर जलाउने स्थानमा प्रतिबन्ध लगाउने, नागरिकहरूमा रिसाइक्लिङ सम्बन्धि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने।
- फोहोर डम्पिङ स्थानहरू सुधार गर्नेः उचित मापदण्ड पालना गरी हाल भएका फोहोर संकलन स्थलहरूको सुधार वा पुनःनिर्माण गर्ने, पानीको ढल निकासलाई व्यवस्थित गर्ने।
- सूचनापाटी सहितको फोहोर संकलन बिनहरू स्थापना गर्नेः पदमार्गहरूमा स्पष्ट बुझिने गरि सूचनापाटी राख्ने, पद मार्गहरूमा पर्याप्त फोहोर संकलनका बिनहरू राख्ने।
- फोहोर व्यवस्थापन गर्ने सफाइकर्मीको स्वास्थ्य सुरक्षामा ध्यान दिनेः सफाइकर्मीलाई व्यावसायिक, सुरक्षा तालिम र सरसफाई तथा व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउने, साथै फोहोर व्यवस्थापन गर्ने सफाइकर्मीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने।
- स्थानीय सरोकारवालाहरूको संलग्नता र सुदृढीकरण गर्नेः फोहोर व्यवस्थापनका गतिविधिहरू, फोहोर तथा वातावरण संरक्षणका लागि बजेट विनियोजन, र अनुगमन प्रक्रियाहरूमा पालिका, वडा, मध्यवर्ती वन क्षेत्रहरू, स्थानीय समुदायहरू र गैरसरकारी संस्थाहरूलाई संलग्न गराउने। आर्थिक वर्ष २०८२/८३ मा स्थानीय स्तरमा फोहोर व्यवस्थापनको लागि पर्याप्त बजेट विनियोजन सुनिश्चित गर्ने। गोसाईंकुण्ड गाउँपालिकाको लागि न्यूनतम पाँच वर्षे फोहोर व्यवस्थापन योजना तयार गर्ने।
- मासिक शुल्कः होटल, घरपरिवार, जलविद्युत कम्पनीहरू तथा संघ संस्थाहरूबाट फोहोर व्यवस्थापनको लागि मासिक फोहोर व्यवस्थापन शुल्क निर्धारण गरि लागू गर्ने। यसले गोसाईंकुण्ड गाउँपालिकामा फोहोरको दिगो व्यवस्थापनको लागि पर्याप्त कोष सुनिश्चित गर्नेछ। फोहोरमा रहेको चर्को करलाई न्यूनीकरण गर्ने, र फोहोर व्यवस्थापनका लागि काम गर्ने नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने।
माथि उल्लेख गरिएका सुझावहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा स्वच्छ सफा नेपालले नेपालका उच्च हिमाली क्षेत्रहरूमा ठोस फोहोर व्यवस्थापनका लागि चक्रिय अर्थतन्त्रका उपायहरु परियोजना गोसाईंकुण्ड गाउँपालिकामा संचालनमा ल्याएको छ।
परियोजनाले धुन्चेका स्थानीय समुदायका २५ जना व्यक्ति तथा व्यवसायीहरूलाई कम्पोष्ट मल बनाउने तालिम दिएको छ।
साथै जुन ५, विश्व वातावरण दिवसको अवसरमा धुन्चेमा रहेको डम्पिङ साइटमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागितामा सरसफाई अभियान संचालन गरेको छ। जसबाट ३०० केजी फोहोर संकलन भएको छ। संकलन भएको फोहोरलाई रिसाईकलको लागि भण्डारण गरिएको छ। सरसफाई अभियानबाट संकलन भएको फोहोरको 'वेस्ट अडिट' गरिएको छ।
उनीहरूलाई 'Extended Producer Responsibility' को माध्यमबाट वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न पैरवी गर्ने। साथै सरसफाई कार्यक्रमपछि पालिकामा रहेका अन्य अव्यवस्थित फोहोर फ्याकिने क्षेत्रहरूको नियमित सरसफाई अभियान गर्दै जाने प्रतिबद्धता गाउँपालिकाबाट भएको छ।
(लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।)