कागको सानो बच्चालाई कसको डर हुँदैन?
सबैको डर हुन्छ।
हावाको सानो झोक्काले उसलाई धुलोमा मिलाइदिन सक्छ। एक धर्सो चट्याङले खरानी बनाइदिन सक्छ।
पानीमा नुहाउँदै गरेको न्याउरी मुसा होस् वा घाम तापेर दंग परिरहेको गोही! सारस चरोको हाच्छिउँ होस् वा सर्पको विषयुक्त आवाज!
उसलाई सबैको डर हुन्छ। उसले यी सबैबाट आफ्नो ज्यान गुमाउन सक्छ।
झन् कागको बच्चा भोकको छटपटीले नमर्ने त कुरै भएन!
आमा बुढनीले पनि आँखैसामु दुई बच्चा गुमाइन्। उनले लाख कोसिस गरिन्, तर दुई बच्चा भोकले पुक्लुक–पुक्लुक ढल्दा पनि केही गर्न सकिनन्।
त्यसपछि बुढनीको जीवनमा जे–जस्तो उतारचढाव आउँछ, त्यसैलाई पुनर्निर्माण गरेर लेखिएको कथा प्रवीण अधिकारीको नयाँ किताब 'बुढनी' मा पढ्न पाइन्छ। थारू लोककथामा पढेको र नाटकका रूपमा हेरेको कथालाई उनले आफ्नै तरिकाले बुनेका छन् — नयाँ पात्र र नयाँ कथाहरू थपेर।
हुन त नेपालमा परम्परागत लोककथाहरू नयाँ तरिकामा सुनाउने चलन नयाँ होइन। त्यसलाई समसामयिक शैलीमा ढालेर लेख्ने चलनले भने अहिले आएर व्यापकता पाइरहेको छ।
प्रवीणलाई पनि बुढनीको कथा त्यही समयमा पुगेर नयाँ ढंगले लेख्ने मन भयो। खासमा लोककथाहरू जसरी भनिँदै आएको छ, त्यसमा उनको चित्तबुझाइ छैन। बुढनीकै कथा पढ्दा र त्यसलाई नाटकका रूपमा हेरिरहँदा उनलाई चित्त नबुझेका धेरै पाटा थिए।
बुढनीको कथा दुई भागमा विभाजित छ। पहिलोमा बुढनी काग हो भने दोस्रोमा केटी। काग जीवनमा उनले जुन अन्याय भोग्नुपर्यो, त्यसको पीडाले उनलाई केटी जीवनमा पनि सताइरहेको छ। उनी त्यसैको न्याय खोज्ने प्रयासमा छिन्।
थारू लोककथामा बुढनीले राजालाई मारेर राजकुमारसँग विवाह गरेको प्रसंग छ। राजालाई हराउनुको उपलब्धि राजाकै छोरा अर्थात् राजकुमारसँग विवाह गर्नु! यो कस्तो न्याय हो?
कथाको यो पाटोसँग प्रवीणको चित्तबुझाइ थिएन। त्यही भएर उनलाई फरक तरिकाले कथा लेखिनुपर्छ भन्ने लाग्यो।
'लोककथालाई साना केटाकेटी भुलाउने माध्यमका रूपमा मात्र बुझ्नु गलत हो। त्यसमा केही समसामयिक र व्यक्तिगत राजनीति घुसाएर संसारमा भएका केही अन्याय रोक्न सकिन्छ,' उनले भने, 'जसरी कथाहरू बन्छन्, त्यसले नै के गलत हो र के सही हो भनेर भाष्य खडा गर्छन् भन्ने मलाई लाग्छ। हामीले कथामार्फत् अर्को मान्छेलाई आफ्नो धारणामा ल्याउन सक्छौं। बुढनीको लोककथाले जुन भाष्य खडा गरेको थियो, त्यसलाई भत्काउन पनि मैले यो कथा पुनर्निर्माण गर्न आवश्यक ठानेँ।'
'खासमा भन्दा बुढनीको पीडा मेरो मनमा गढेर बस्यो, जसले मलाई त्यो कथा लेख्न बाध्य बनायो,' उनले भने।

यो लोककथासँग प्रवीणको पहिलो साक्षात्कार दाङको लमहीमा भएको थियो। त्यति बेला उनले निर्देशक अनुप बरालको नाटक हेरेका थिए। बरालले लेखक कृष्ण सर्वाहारीको किताबमा संकलित दुईवटा थारू लोककथाको नाट्य रूपान्तरण गरेका थिए। पहिलो दिन ठूलो आँधीबेहरीका कारण नाटक बीचमै रोक्नुपरेको थियो। त्यही नाटक हेर्न भोलिपल्ट झन् धेरै मानिस आए।
थारू लोककथामा आधारित उक्त नाटक हेरिरहँदा प्रवीणलाई दुइटा कुराले आकर्षित गर्यो — नाटकप्रति कलाकारहरूको झुकाव र कथामा दर्शकहरूको लगाव।
'त्यो नाटकले मानिससँग सिधा संवाद गरिरहेको छ भन्ने लाग्यो। नाटकमा पात्र काग नभई अर्कै चरा थियो। तर आमाछोरीको जुन प्रकारको सम्बन्ध र संवाद थियो, त्यस्तो मैले खासै पढ्न पाइरहेको थिइनँ। त्यहाँ जुन घटना भइरहेको थियो, त्यो कुन समाजले सिर्जना गर्यो भन्ने खोज्न मन लाग्यो,' उनले भने, 'कथामा बुढनी भन्ने पात्र बाठी छे। तर साना केटाकेटीले आफ्नो अबोध बाल्यकाल छाडेर किन बाठो हुनुपर्छ? किन परिवारको समस्याको सामाधान बन्नुपर्ने परिस्थिति आउँछ? मलाई यही हेर्न मन लाग्यो।'
प्रवीणलाई बुढनीको यो कथा विशेष वा नौलो भने लागेको थिएन। यस्तो कथा उनले संसारभर देखेका थिए, पढ्दै–सुन्दै आएका थिए।
'बुढनीको कथामा जे छ, त्यो अन्य संस्कृति र समाजमा पनि पाइने कुरा हो। एक हिसाबले भन्ने हो भने एसियाको साझा कथा हो भन्दा फरक पर्दैन। आमाबुबा बच्चाका लागि लड्ने, कोही शक्तिशाली राजालाई निरीह र निर्बल मान्छेले जुक्ति लगाएर हराउने कथा संसारभर प्रचलित छ,' प्रवीणले भने, 'कमजोर मान्छे बाठो र बुद्धिमान भएकै कारण शक्तिलाई टक्कर दिनसक्छ। त्यस्तै कथा भएको बुढनी मलाई संसारको साझा कथाजस्तै लागेको थियो।'
यस प्रकारको कथा एसिया र युरोपमा टन्नै भेटेको उनी बताउँछन्। उनले आयरल्यान्डदेखि भियतनामसम्म उस्तै प्रवृत्तिका कथा पाएका छन्। झन् आफूलाई मन पर्ने लेखक इटानो क्याल्भिनोका दुई सयवटा लोककथा समेटिएको 'इटालियन फोक टेल्स' पढेपछि त उनी झन् विश्वस्त भए – प्रायः लोककथा उस्तै खालका हुन्छन्।
'काठमाडौं उपत्यकामा मनाइने जात्राहरूको कथा हेर्ने हो भने पनि ती प्रायः उस्तै छन्। मानव विकाससम्बन्धी विभिन्न समुदायको कथा छ। तिनमा कथाका केही तत्व यताउता होलान् तर मूलकथा उस्तै हुन्छ,' प्रवीणले भने, 'संस्कृति, समुदाय र वर्ग विभाजनको कुरा बिस्तारै कसरी लोककथामा आउँछ भन्ने त्यसलाई नजिकबाट नियाल्दा थाहा पाउन सकिन्छ।'
उनका अनुसार देश, सहर र ठाउँपिच्छे कथामा थोरै फरक किन आयो भन्ने कुरा मात्र हेर्दा पनि कथा भनेको बच्चा भुलाउने माध्यम मात्र होइन भन्ने बुझ्न सकिन्छ।
भइरहेको कथा पुनर्निर्माण गरेर लेख्ने काममा उनी जापानी लेखक आकुताग्वालाई सम्झन्छन्। आकुताग्वा पहिले आख्यान लेख्थे। पछि पुनर्निमाण गरेर लोककथा लेख्न थाले। उनलाई जापानी लघुकथाका पिता पनि मानिन्छ।
लोककथा पुनर्निर्माणको त्यही शैलीलाई प्रवीणले 'बुढनी' मा निरन्तरता दिएका छन्।
प्रवीण अधिकारीले अंग्रेजीमा लेखेको किताबलाई थारू भाषामा इन्दु थारूले अनुवाद गरेकी छन्। अनुवाद गर्दा उनले आफ्नो समुदायको लोक बालगीत पनि घुसाएकी छन्। अंग्रेजीमा जुन मिठास छ, त्यसलाई थारूपन दिएर त्यस्तै मिठास भर्न आफूले धेरै मिहिनेत गर्नुपरेको उनले बताइन्।

'मैले यो कथा पहिले पढेको वा सुनेको थिइनँ। सर्वहारी सरले लेख्नुभएको छ भन्ने सुनेको थिएँ तर पढ्न पाएको थिइनँ। म बसेको थारू समुदायमा सत्तलसिंह रजुवा, सुनकेशरी लगायतको कथा छ तर बुढनीको छैन,' इन्दुले भनिन्, 'प्रवीण सरले यति मिहिनेत गरेर लेखिदिनुभएको छ, त्यसमा मिठास थप्न केही शब्दलाई थारू भाषामा कसरी राम्ररी भन्न सकिएला भनेर आमा, हजुरआमा र साथीहरूसँग पनि कुराकानी गरेको थिएँ।'
यो किताब अंग्रेजीमै पहिलोपटक पढेको भए पनि थारू समुदायमा पाइने अन्य किताब इन्दुले पढेकी छन्। ती पढ्दा त्यसमा पुरूषको सोच हाबी भएको उनले भेटेकी छन्। जस्तो, आफ्ना गीतहरूमा उनले 'पुर्खा' भन्ने शब्द पाएकी छन्। तर त्यसले जिजुबुबा, हजुरबुबाहरूलाई इंगित गर्ने तर जिजुआमा, हजुरआमाहरूलाई नगर्ने उनी बताउँछिन्।
बुढनीको कथा पुरूषले लेखेको भए पनि महिला प्रमुख पात्र भएको कथा हो। यसमा महिलालाई कमजोर देखाइएको छैन। पितृसत्ताका धेरै तत्वमाथि महिला हाबी रहेको देखाइएको छ।
उदाहरणका लागि — हतियारधारी सेना भएको राजदरबारमा बुढनी आफ्नो बुद्धि र तर्कले राजालाई जित्न सक्छिन्। त्यस्तै, चरा अवस्थामा हुँदा बुढनीको श्रीमान कोर्भिन उनकै ठाउँमा गुँड बनाउन आइपुग्छ। नेपाली समाज हेर्ने हो भने महिलाहरू विवाह गरेर पुरूषकहाँ जान्छन्। बुढनी भने श्रीमानको गुँडमा नगई श्रीमान नै बुढनीको गुँडमा आउनु यो आफ्ना लागि एकदमै ठूलो कुरा भएको इन्दु बताउँछिन्।
'अहिलेसम्म विवाहपछि महिलाहरू नै आफ्नो घर छाडेर श्रीमानकहाँ जान्छन्। केटा हाम्रो घरमा आएर बस्नु त हाम्रा लागि कति ठूलो गौरवको कुरा हो,' इन्दुले भनिन्, 'यो किताबमा महिलालाई बलियो पात्रका रूपमा देखाइएको छ। थारू समुदायमा एक–दुई जना महिला बलिया हुनु अपवाद हो। नभए हाम्रो समाजमा पितृसत्ता नराम्ररी हाबी छ।'
बुढनीको गाउँमा पनि पितृसत्ता नभएको होइन। तर त्यति बलियो रूपमा आएको देखिन्न। नारीवादका कुरा पनि सचेत भएर नराखेको प्रवीण बताउँछन्।
आफू थारू समुदायको नभएकाले यो कथा आफूले लेख्नु गलत हो कि भनेर प्रवीणले पटक पटक इन्दुलाई सोधेका रहेछन्। तर कसैले त्यसलाई न्यायपूर्ण तरिकाले लेख्छ भने त्यो जायज हुने इन्दु बताउँछिन्।
'थारू समुदायले आफूले पनि नलेख्ने र अरूले पनि नलेखिदिओस् भन्नु गलत हो। थारू समुदायलाई चोट नपुर्याउने गरी, कथाको मर्म नमर्ने गरी कसैले यति राम्ररी लेख्छ भने म गर्व गर्छु,' उनले भनिन्।

यो कथा थारू समुदायको हो भनेर इंगित गर्न बुढनीलाई थारू केटी अनि उनका बुबा बरघर (गाउँ प्रमुख) भएको प्रसंग प्रवीणले निकालेका छन्। तर यसलाई थारू लोककथा नै भन्न आवश्यक नहोस् भन्ने पाराले आफूले लेखेको उनी बताउँछन्।
'यो नेपालको जुनसुकै समुदायसँग मिल्ने कथा हो। नेपालका जुनै पनि महिलासँग मिल्ने कथा हो,' उनले भने, 'कसरी एउटा पुस्ताले भोग्नुपरेको पीडाको स्मृति अर्को पुस्तामा सर्छ भन्ने कुरा हामीले भोग्दै आएको कुरा हो।'
उनले अगाडि भने, 'यस्ता कथालाई लोककथा भनिरहने हो र त्यसमा भएका नराम्रा पक्ष भत्काउन नदिने हो भने त्यसले समस्यालाई जस्ताको त्यस्तै राख्छ। त्यसैले यस्ता कथा पुनर्लेखन भइरहनुपर्छ।'
यो कथा इन्दुले थारू भाषामा अनुवाद गरेको भए पनि धेरैले इन्दुले लेखेर प्रवीणले अनुवाद गरेको ठान्न सक्छन्। हुन् त प्रवीणले 'द भ्यानेसिङ एक्ट', 'फोक गड्स र सेयर्ड सेक्रेड ल्यान्डस्केप्स्' नाम किताब लेखेका छन्। तर दक्षिण कोरियाली लेखक हाङ काङको 'द भेजिटेरियन' लाई अंग्रेजीबाट नेपालीमा र इन्द्रबहादुर राईको 'रातभरि हुरी चल्यो' लाई नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका प्रवीणको छवि पछिल्लो समय अनुवादकका रूपमा पनि बनिरहेको छ।
'म त लेखक हो नि। लेखक हुन छाडेर अनुवादक भन्दा चित्त दुख्न थालेको छ,' उनले हाँस्दै भने, 'यो किताब थारू र अंग्रेजी भाषामा आउने भएदेखि नै मलाई अनुवादक ठान्छन् भन्ने थाहा थियो। तर यो कथा न मैले नयाँ लेखेको हो, न अनुवाद नै गरेको हो। त्यही भएर 'रिफ्याबुलेटेड' भनेका छौं।'
नेपालीमा 'रिफ्याबुलेटेड' शब्दको ठ्याक्कै अनुवाद नभेटेपछि आफूहरूले इन्दु थारूको नाम मात्र राखेको पनि उनले बताए।
अहिले प्रवीणको अंग्रेजी अनुवादमा नारायण वाग्लेको किताब 'कोरियाना कफी गफ' आउन लागेको छ। त्यसबाहेक उनी काठमाडौं उपत्यकाको इतिहासलाई आख्यानीकरण गरेर किताब निकाल्ने सोचमा छन्।
'मलाई तीन हजार वर्षअघिको काठमाडौं कल्पना गरेर फिक्सन लेख्न मन छ। त्यसबारे हामीसँग त्यति धेरै लिखित प्रमाण छैन। तर विभिन्न ठाउँमा त्यसका संकेत भेटिन्छन्। जात्राहरू खोज्यो भने पनि चाखलाग्दा कुराहरू फेला पर्छन्,' उनले भने।
इन्दु भने अनुसन्धानमूलक काममा बढी सक्रिय छिन्। उनी थारू ट्याटु (गोदना) को किताब निकाल्ने सोचमा छिन्। उनी बुबाले प्रकाशनमा ल्याएको थारू पत्रिका 'मुक्तिक डगर' लाई अभिलेख गरिरहेकी छन्।
अहिलेलाई भने प्रवीण र इन्दु दुवैको संयुक्त चासो शनिबार सार्वजनिक भएको 'बुढनी' किताब नै हो।
'यो किताब पढेर अन्य समुदायका मानिसले हाम्रा कथा पनि यसरी नै पढ्न पाए हुन्थ्यो भन्छन् भने पनि हामी सफल हुने थियौं,' उनीहरूले भने, 'थारू समुदायका मानिसले यो कथालाई कसरी लिन्छन् भनेर जान्न पनि हामी उत्सुक छौं।'
***
