गाडीमा यात्रा गर्दा सुनेकी थिएँ, ‘राजधानीमा तीन-चार तलाको घर बनाएको सबैले देख्छन् तर त्यो घर उसले कसरी बनायो कसैले देख्दैन।
चिल्ला कारमा हुइँकिएको सबैले देख्छन् वाह! भन्छन् तर त्यो कार कसरी जोड्यो त्यो कसैले हेर्दैन, भोज भतेरमा लाखौं खर्च गरेको सबैले देख्छन् तर त्यत्रो खर्च गर्ने हैसियत कसरी भयो कसैले चासो दिँदैनन्।
समाजले यस्तालाई हैसियतवाला ठान्छ, उनीहरूसँग आफ्नो तुलना गर्छ अनि आफूलाई निकक्मा ठान्छ। तर बेइमानले कमाएको धन खहरेको भेल हो इमान्दारिता समुन्द्र हो निरन्तर एकनासले बगिरहन्छ भन्ने कुरा उनीहरूलाई के थाहा? एउटा खरिदारले पनि बिहेमा १५ लाख खर्च गर्छ,उसको मासिक तलब तीस हजार पनि हुँदैन तर हैसियत हेरौं त? उसको यो हैसियत कसरी भयो कसैले सोच्दैन, खरिदारले त त्यत्रो खर्च गर्न सक्छ भने उनीहरूलाई देखाउनकै लागि भए पनि अरुले खर्च गर्न खोज्छन्।
यसले समाज नै आडम्बरी बनेको भान गराउँछ, हैसियतलाई बढावा दिएको स्पष्ट हुन्छ।
आफ्नो हैसियत अनुसारको व्यवहार देखाउँदा तल परिने भय छ सबैलाई। बाचुन्जेल ऋण तिर्न किन नपरोस् तर बिहे धुमधामसँग गर्नैपर्छ भन्ने सामाजिक दबाव छ ’।
दृश्य १. कुरा आफैंले देखेको घटनाबाट सुरू गरौं। ३ वर्षअघि, चिनजानकै एकजना आफन्तले छोरीको बिहेको टुंगो गरे। केटा पक्ष र केटी पक्षको पुर्खौली घर एउटै गाउँमा, केटी पक्षका उतै गाउँमै बस्छन् केटा पक्ष चाहिँ राजधानी सरेका रहेछन्।
केटाका बुवाआमा दुवै जागिरे, केटो अमेरिकाको ग्रिनकार्ड होल्डर, छोरी अस्ट्रेलियामा सेटल भइसकेकी। केटा पक्षका कोही आफन्तमार्फत बिहेको कुरा चल्यो, बालसखा, एउटै गाउँठाउँको साथीको छोरो, त्यतिको केटाको कुरा आउँदा नाइनास्ती गर्ने ठाउँ भएन।
छोरी पनि काठमाडौंमा मास्टर्स पढ्दै, स्कुलमा पढाउँदै गर्ने यत्तिको केटा पाइँदैन भनेर केटीका बुवाआमाले बिहे पक्का गरे।
इङ्गेज्मेन्ट गर्ने कि भन्ने प्रस्तावमा केटा पक्षले असहमति जनाए रे। ‘अनावश्यक खर्च किन गर्ने? तपाईंहरूलाई बाहिरबाट टिकाटालोमा आऊ, फेरि बिहेमा आऊजाऊ गर्न गाह्रो हुन्छ, एकैदिन बिहे गर्ने सकाउने’ भन्ने प्रस्ताव केटा पक्षले राखेछन्।
केटीपक्षले प्रस्ताव सहजै स्वीकारे। मंसिरको दोस्रो साता बिहेको मिति तोकियो, बिहेको मिति भन्दा एकसाता अघि बुवाआमा काठमाडौं आए, आफन्तकोमा बसे।
बिहेमा कुनै कसर बाँकी नराख्ने गरी तयारीमा छुटे। सहयोगका लागि भान्जी थिइन्।
नजिकैको बसाइ,ती भान्जी मेरी साथीको दिदी भएका कारण बेलाबखत गइरहन्थे, केही सहयोग गर्नुपर्छ कि सोध्थें।
‘केटो के काम गर्छन रे ’? एक जना उनीहरूकै आफन्तले सोधे, ‘के गर्नु नि अमेरिकामा बस्छन रे, काठमाडौंमा तीन तले घर छ, एउटी नन्द पनि अस्ट्रेलियामा, सासू ससुरा दुवै जागिरे महारानी बन्छे यो त .., यो पनि अब अमेरिका जान्छे,... सानैदेखि धपक्कै बलेकी थि, सबैले हिरोनी जस्तै छे भन्थे साँच्चिकै भाग्यमानी रहिछे, भनेजस्तो घर पाई’...
एकपछि अर्को भेट भयो कि केटाको हैसियतको र केटीको सुन्दरताको निकै ताारिफ गर्थे।
कुरा टुंगिएको दिन केटा र केटीको भेट भएको थियो रे। त्यसपछि भेट भएको छैन भन्थिन् हुनेवाला बेहुली। बिहेको दिन आयो, जन्ती सय जनाजति आएका थिए, राजधानीको एउटा पार्टी प्यालेसमा धुमधामसँग बिहे भयो।
बिहे सकाएपछि बेहुलीका आमा बुवासँगै हामी सबैजना घर फर्कियौं, अर्को दिन बिहानै भान्जी दिदीले बेहुलीलाई फोन गरिन् उठेन, पटक पटक फोन गर्दा पनि उठेन। भोलिपल्ट केटा पक्षको बिहेको पार्टी र सम्धी सम्धिनी भेटघाटको कार्यक्रम थियो, निकै पटक फोन गर्दा पनि बेहुलीको फोन उठेन। त्यो दिन न भोज खान माइतीपक्षका कोही गए न सम्धी भेट भयो।
अर्को दिन दुलहन फर्काउन आउने कार्यक्रम पहिले नै तय भएको थियो, कुनै सम्पर्क भएन, बिहेको कार्डमा केटा पक्षको सम्पर्क नम्बर थियो, ती सबै नम्बरमा डायल गर्दा पनि फोन उठेन, बुवाआमाको मन बेचैन भयो।
उता गाउँमा धान पाकेर पहेँलपुर भइसक्यो, यता मन आतिसक्यो, छोरी ज्वाइँलाई भेटेर आर्शिवाद दिएर फर्कौंला भनेको सम्पर्क नै भएन।
बेहुलीका बुवाले कुरा चलाउने ‘लमी’लाई फोन गरे। लमी आफैं अक्क न बक्क परे, केही समस्या भएर होला त्यस्तो खालका मान्छे त होइनन् ... यो भन्दा केही भन्न सकेनन्।
गाउँकै चिनेको मान्छे, सहरमा बस्दैमा के फेरियो होला र भनेर विश्वास गरें, मेरी छोरीको जिन्दगी के हुन्छ? बिहे गरेर अन्माएकी छोरीसँग एक कल फोन गर्न पाएको छैन, एकातिर आमा रुन कराउन थालिन् अर्कातिर बाउ अतालिन थाले।
आमा कराउन थालिन्, ‘मेरी छोरी कहीँ नबिक्नी खालकी थि र ? खुब काठमाडौंमा घर भा को, अमेरिकामा बस्ने भनेर केही नबुझी छोरी दिनुभयो कतै मेरी छोरीलाई विक्री त गरेन? मेरी छोरी कस्तो घरमा परी...???’
जे जे भए पनि घरभित्रै सीमित गरे, इज्जतको डरले बाहिर कुरा चुहाएनन्, मन भारी बनाएर बुवाआमा गाउँ फर्किए, भान्जी दिदीले केही खबर पाउनासाथ फोन गर्छु भनिन्।
रुँदैरुँदै बाआमा घर फर्किएको दृष्यले निकै चिमोट्यो।
बिहेको एक महिनापछि आधा रातमा बेहुली बनेर बिदाइ गरेकी तिनै युवती भान्जी दिदीको घरमा आइछन्। अर्कोदिन साथीले सुनाइन्, हतार हतार भेट्न पगें।
उसको रूप नै फेरिएको थियो। भान्जी दिदी मौन थिइन्, के भयो दिदी? ... केही बोलिनन् दिदी, जे नहुनु थ्यो त्यही भयो ... अब प्रश्न सोध्ने ठाउँ नै रहेन। के भयो भयो भन्ने लाग्यो। पछि बेहुली आफैंले सुनाइन्, ‘मेरा सोझा बा आमाको मनलाई निमोठे अपराधीले, साँझ घरमा भित्राउने बेलामा सासू ठूलो ठूलो स्वरमा कराउन थालिन्। म त केही बुझ्नै सकिन। निकै बेर आँगनमा उभिएपछि बल्ल भित्राउने काम सुरू भयो, केमा चित्त बुझेनछ नानाथरी भन्न थलिन्। बल्लतल्ल मुख हेर्ने काम सकियो । एकैछिन पछि एउटी सानी बच्ची श्रीमानलाई बाबा भन्दै गम्लङ्ग अँगालो हाल्न आइपुगी। श्रीमान पनि गालामा मोइ खाँदै के भो छोरी भने। मन चिसो भयो, दाइभाइका छोरीले पनि बाबा भन्छन् त्यस्तै होला भनें।
कोठामा एउटा कागज भेटें। छोरीको र आफ्नो नाममा संयुक्त बीमा गरेको कागज रहेछ। भूकम्प गएजस्तै भयो। केही बोल्नै, सोच्नै सकिनँ। आमालाई फोन गर्न लाग्दै थिएँ, मोबाइल लुकाइदे, कसैको नम्बर कण्ठ थिएन, बाहिर कहीँ निस्कन दिएनन्, पूरै नजरबन्द जस्तो। बिहेको एक सातापछि श्रीमान अमेरिका हिँडेँ। त्यही पनि हिँडेको तीन दिनपछि मात्र थाहा पाएँ।
नोकरभन्दा पनि बढी हेपिएर बसें। बरु बिष खाएर मर्छु, म त्यो घर फर्केर जान्नँ, छिमेकीको भरमा पर्दा मेरा बाउआमाले मलाई नर्कमा पुर्याए’ , निकै बेर बिलौना गर्दै रोइरहिन्।
चिनेकै मान्छेले सहरमा यतिसम्म गर्ने रहेछ? धिक्कार लाग्यो। चिनजानका आफन्तसँग सबै कुरा भनिन् उनले, वकिलले अदालती प्रकृयामा जान सुझाए। सबै कुरा बुझ्दै जाँदा थाहा भयो त्यो केटाले दुइटी श्रीमतीसँग डिभोर्स गरिसकेको रहेछ, सानी बच्ची कान्छी श्रीमतीतर्फकी रहिछ।
केटाकोबारे सबै कर्तुत खोलिन् उनले। केही महिनापछि बुवाआमा सहर आए अनि मुद्दा लडे। मुद्दा जिते पनि। मानाचामल पाउने गरी फैसला भयो। तर उसको आयस्रोत केही देखिएन।
तीन वर्षको बीचमा उनले कति मानसिक तनाव भोगिन् त्यसको लेखाजोखा कसले गर्ने? कति पटक प्रहरी केटाको घर घेर्न पनि पुग्यो, सासूले प्रहरीलाई भित्र छिर्न दिइनन्। माथिल्लो तहसम्मै पहुँच भएकालाई कसैले केही गर्न सक्दैन रहेछ, यो बीचमा फेरि कति पटक अमेरिकाको मोह देखाउँदै बिहे गर्यो होला? कतिजना युवती उसको ट्रयापमा परे होलान् थाहा छैन तर ती साथीका बाउआमा निकै विछिप्त बने, छोरीको घरबार बसाउन नसकेका कारण दुखी बने। छोरीकै कारण आमा बिरामी परिन्, पोहोरसाल छोरीकै चिन्तामा आमालाई हर्टअट्याक भयो। आमा सदाको लागि अस्ताइन्।
आफ्नो कारण आमाको निधन भएकोमा छोरी झनै डिप्रेसनमा परिन्, बुवा पनि बिरामी छन्।
हिजो निकै भाग्यमानी भन्नेहरूले अहिले उल्टै कुरा काट्न थालेका छन, अब यसलाइ कस्ले लान्छ? अर्काले सिन्दुर हालेर छोडेकी केटीलाई कस्ले पत्याउँछ र? रुप मात्रै राम्रो भएर के गर्नु ? भाग्यमा नभएपछि ... यही समाजलाई भन्न मन लाग्छ, राजधानीमा बसेर पटक पटक अमेरिकाको सपना देखाएर सोझा बाउआमाका छोरीको भविष्य बिगार्ने छोराले जतिपटक बिहे गर्दा पनि हुने तर नियतिले ठगिएकी महिलामाथि किन नकारात्मक टिप्पणी? व्यक्तिको प्रवृत्तिमाथि टिप्पणी गरौं, उसको व्यवहारमा टिप्पणी गरौं न कि ऊ महिला हो कि पुरुष हो भन्ने किसिमबाट टिप्पणी नगरौं।
केटाको हैसियतको पछि नलागेको भए, लमीको पूरै विश्वासमा नफसेको भए छोरीको घरबार बिग्रने थिएन, अकालमा आमा मर्ने थिइनन्, बाचुन्जेल छोरीको पीडा सहनुपर्थेन बाउले। आफन्तलाई कुरा काट्ने मसला बन्ने थिएन।
दृश्य २. अस्ति मात्रै राजधानीमा अर्को यस्तै घटना घट्यो। राजधानीको बानेश्वरस्थित एक पार्टी प्यालेसमा गत मंगलबार विवाहको तयारी धुमधामसँग भइरहेको थियो।
करिब सात सय जनाका लागि खानपानको व्यवस्था गरिएको थियो। छोरीको बिहे भव्य बनाउन माइतीपक्ष तम्तयार थियो, कुनै कसूर बाँकी राखेका थिएनन्, चिनजानका सबै आफन्त बिहेमा निम्ताइएका थिए।
१५ दिन अघिमात्रै धुमधामसँग टिकाटालो कार्यक्रम सम्पन्न भएको रहेछ। बिहे भन्दा आजकालको टिकाटालो महँगो हुन्छ, यहाँ पनि त्यस्तै भएछ। चार तोला सुन र पाँचलाखको फर्निचर अग्रिम रूपमा हुनेवाला ज्वाइलाई सुम्पिएका रहेछन्। चार जना साथीभाइको साथमा आएर टिकाटालो गरेछन्। डाक्टरका छोरा, आफू इन्जिनियर बताउने , काठमाडौंमा घर भएको फुइँ लाए पनि पत्ताइहालेछन् बाउआमाले पनि।
सामान्य दिमागले पनि बुझ्नुपर्ने होइन र? जतिसुकै व्यस्त भए पनि आफ्नै छोराको बिहेमा, इङ्गेज्मेन्टमा आउन नभ्याउने पनि बाउआमा हुन्छन् र ? भित्री कुरा बुझ्नतिर कोही पनि लागेन होला सायद या बिहेको कुरा चलाउनेले बाउआमाको दिमागमा केटाको हैसियतको भारी ओझिलो गरी बोकाएको हुनुपर्छ।
बिहेको त्यत्रो तयारी बेकार भयो, न जन्ती आए , न बेहुला भेटिए , हुँदाहुँदा बिहेको कार्डमा छापिएको बाउआमाको नाम समेत फर्जी रहेको पत्ता लाग्यो। काठमाडौंमा डेरा गरी बस्ने र केटा इन्जिनियर नभएको पत्ता लाग्यो।
माइती पक्षकाको तयारी खेर गयो, बेहुला भनिएका केटा सम्पर्कमा आएनन्, अनेकन बहाना बनाए अन्तत बिहे नै रोकियो।
माइती पक्षले प्रहरीलाई उजुरी गरे।
चलचित्रका पर्दामा देखाइने नाटकभन्दा कम देखिएन यो बिहे पनि।
‘के बुझेर यो बिहेको निधो गरे होलान्? यति कुरा पनि थाहा नपाउने कस्ता परिवार? केटो इन्जिनियर छ भन्दैमा छोरी दिइहाल्ने ? उसको पृष्ठभूमि बुझ्नु पर्दैन? अब त्यो छोरीको के हुन्छ भविष्य ? एउटाले टिकाटाले गरेकी केटीलाई कस्ले बिहे गर्छ ? बाउआमा निकै धनी होलान् त्यही धन कुम्ल्याउन यस्तो जुक्ति गरेको हुनुपर्छ केटाले यति कुरा पनि कस्तो थाहा नपाएका?’ यस्ता धेरै प्रश्नहरू सुनिन थालेका छन्।
इमान्दार लगनशील केटालाई सितिमिति विश्वास गरिँदैन्, उनीहरू ‘बिक्दैनन्’ पनि तर हैसियत देखाउनेको सामू बाउआमा पग्लिहाल्छन्। हैसियतभन्दा लगनशीलता, इमान्दारितामा विश्वास गर्ने गरौं। ताकी भोलिका दिनमा यस्ता घटना सुन्न नपरोस्।
यी घटनामा केटाको हैसियत नै मुख्य देखिएको छ। केटो हैसियत भएको चाहिन्छ, केटी राम्री चाहिन्छ तर अनुशासित केटा र व्यवहारिक केटी कसैलाई चाहिँदैन। क्षणिक खुसीको लागि, अर्कालाई देखाउनको लागि आफ्ना छोराछोरीको जिन्दगी बर्बाद नगरौं, नपारौं।