पूर्वमा तादी, दक्षिणमा त्रिशुली नदी। बीचमा नुवाकोटको सदरमुकाम बिदुर। यहाँबाट ६ किलोमिटर पूर्वमा छ नेपालको ऐतिहासिक तथा धार्मिक रुपले सुपरिचित स्थल नुवाकोट। इतिहासका पाना पल्टाउँदा एक पटक पुग्नै पर्ने ठाउँ।
नुवाकोटडाँडा प्राचीनकालीन ऋषिमुनि बसोबासस्थल थियो। त्यसैले यो ठाउँलाई ‘ऋषिपतन’ पनि भनिन्थ्यो। नुवाकोट पौराणिकका साथै ऐतिहासिकस्थल रहँदै आयो। मध्यकालको पूर्वाद्धमा सामरिक दृष्टिले सुरक्षित प्रदेश वस्ती बसाउने लहर चलेको बेलामा नुवाकोटलाई मूलकोटको रुपमा लिई वरपरका कोटहरूलाई सम्मिलित गरी सञ्चालन गरियो।
मूलकोट भएकाले यो ठाउँले नवकोट, नुहाकोट, नवक्वाठ, नौकोट हुँदै नुवाकोट नाम पायो। वरिपरिका कोटहरूमध्ये बेलकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालिकाकोट, धैबुङ्गकोट, सल्यानकोट र प्यासकोट हन्।
काठमाडौं उपत्यका र नुवाकोटको चाडपर्व, रितिरिवाज, धर्मसँस्कृतिमा समानता पाइन्छ। नुवाकोटका अधिकांश नेवारहरु उपत्यकाबाटै व्यापारिक उद्देश्यले बसाइँ सरी आएका इतिहास छ। त्यसैले विभिन्न परम्परागत सँस्कृतिहरू काठमाडौंकाभन्दा खास भिन्न छैनन्। स्थानमा पनि धेरै फरक देखिँदैन। काठमाडौंका असन, इन्द्रचोक, भुटोल जस्तै बजार छन्। काठमाडौंकै परम्परागत शैलीमा जात्रा चलाउनेमा नुवाकोट, त्रिशुली, बट्टार, देवीघाटलगायत क्षेत्रका नेवार हुन्।
नुवाकोट कला र सँस्कृतिको धनी जिल्ला मानिन्छ। यीमध्ये नुवाकोटको विभिन्न बजारमा देखाइने लाखेनाच चर्चित छ। आफ्नै मौलिक कला झल्किने लाखे नाचले नुवाकोटको लोक सँस्कृतिको गरिमा र इतिहासलाई उच्च राखेको छ।
लाखेनाचको इतिहास कोट्याउन कुनै लिखित प्रमाण त छैनन्। तर नेपालको इतिहासमा लाखेनाच गुणकामदेवले चलाएको मानिन्छ। अग्रजहरूअनुसार बजारमा जबदेखि मानव वस्ती बस्न थाल्यो, त्यही समयदेखि नै यो नाच देखाउँदै आइएको हो। नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौंदेखि चल्दै आएको मौलिक, साँस्कृतिक र जातीय पहिचान हो। लाखेनाच प्रदर्शनले नेवारी समुदायको सँस्कृति प्रतिनिधित्व गर्दै आएको छ। अचेल भने यो नाच जात्राअघि र पछि मात्र हुन्छ। पर्वहरूमा प्रदर्शन हुन छाडिसेकेको छ।
नुवाकोट दरवार क्षेत्रमा केही वर्षअघि लाखे नचाउँदा ठूलो लाखे धामीको घरबाट र सानो लाखे द्वारे (सरकारी प्रतिनिधि)को घरबाट निकालिने परम्परा थियो। हाल लाखे एकै स्थानबाट निकालिने गरेको द्वारे महेन्द्रकुमार शाही बताउँछन्। उनका अनुसार पहिले-पहिले लाखे बन्ने व्यक्ति नेवार मात्र हुन्थे। अचेल अरू जातका व्यक्ति पनि हुन्छन्।
त्यतिखेरका बुढापाकाका अनुसा नुवाकोटको एउटा ऐतिहासिक लाखे, सानो लाखे हो जसलाई नाट्यश्वरी (सरस्वतीको रुप) मानिन्छ। देवी (नाट्यश्वरी) चढ्ने र एकदम सु–सम्पन्न तथा शक्तिशाली भएकोले नुवाकोटको लाखेलाई त्यतिखेर राज्य (तत्कालीन शासक) ले काठमाडौं निमन्त्रणा गरेका थिए। शक्तिसम्पन्न सानो लाखे काठमाडौंमा उपत्यकाका ठूला लाखेसँग प्रतिस्पर्धा गराइएको थियो। नुवाकोटको लाखेले जितेपछि ठूलो लाखे बकस स्वरुप प्राप्त भएको किम्बदन्ती छ।
यसरी ठूलो लाखे पाउँदा उसलाई तादी र त्रिशुली नदी नकटाउनू र कटाउनै परे सरकारसँग स्वीकृति लिनुपर्ने आदेश थियो। त्यस्तै ठूलो र सानो लाखे सँगै नचाउनू भन्ने आदेश पनि रहेको द्वारे शाहीले बताए।
भैरवीका पुजारी हरिमान सिंह डंगोलका अनुसार धामीले घण्टाकर्ण (गठ्यामङ्गल) पछि लाखे नाच्न शुभारम्भ हुन्छ। लाखेलाई कंस अथवा राक्षस रुपमा लिइन्छ। लाखे बन्दा लगाउने मुकुट राक्षस रुपकै हुन्छ। लाखेले लगाउने चोलो र जामा निकै आकर्षक हुन्छ। घण्टाकर्णदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हु्न्छ। जनैपूर्णिमा र गाईजात्राका दिन भव्य साथ नचाइन्छ।
नुवाकोट लाखेनाचमा अर्को आकर्षण पनि हुन्छ- नाट्यश्वरी देवी चढेर कामेको लाखे। कृष्ण जन्माष्टमीमा कृष्ण जन्मेपछि लाखे मर्छ। तर कृष्ण जन्माष्टमीभन्दा केही दिन अगाडि समुदायले नाट्यश्वरी मन्दिरमा धुमधामसाथ कालो बोका बली दिएर पूजा गर्छन्। पूजा सकिएपछि नेवार तथा खस समुदायका केही व्यक्तिले ‘सी’ खाने परम्परा छ।
‘सी’ खाइसकेपछि ती व्यक्तिमा नाट्यश्वरी चढ्ने विश्वास छ। सी खाएका व्यक्ति काम्न थाल्छन्। त्यस्तो बेला उनीहरुलाई समात्न हम्मे–हम्मे पर्छ। ५–६ जनाले समातेर उनीहरूलाई लाखेको जामा, चोलो, मुकुट र घंगला लगाई दिन्छन्। केही समय नचाएपछि विस्तारै काम्न छाड्छन्।
जनैपूर्णिमामा सात तले दरबारदेखि भैरवी मन्दिर क्षेत्रमा नचाइन्छ। भोलिपल्ट अथवा गाईजात्रामा इन्द्रचोकमा नचाइन्छ। सोही दिन कोही मृत्यु भएका घरबाट एक–एक गाई, ख्याली अथवा जोगी निकालिन्छ। मृतात्मालाई शान्ति मिलोस्, स्वर्गमा बास होस् अर्थात उसले गरेका पाप नष्ट भई जाऊन् भन्ने मान्यतासाथ गाई निकालिने परम्परा छ।
जात्रा अवसरमा ख्याली पनि निकालिन्छ। युवाहरू ख्याली बनेर समाजका कुरीति, कु–सँस्कार तथा राज्यमा देखिएको विकृतिलगायत विरुद्धमा ब्यंग्य गरी जनचेतना जगाउने कार्य गर्छन्। यो नाच बर्खायाममा सबै खेतबारीको काम (रोपाँई) सकिएपछि फुर्सदमा दुःख, व्यथा भुल्न मनाइएको भन्ने विश्वास छ।
जात्राबीचमा टाकटुके जात्रा, सिपाही जात्रा, विवाह जात्रा, रोपाईँ जात्रा मनाइन्छ। गाईजात्राको भोलिपल्ट सिपाही जात्रा (सरकारी जात्रा) मनाइन्थ्यो। हाल यो जात्रा लोप हुने अवस्थामा छ।
केही वर्षयता नारायणघाट र धरानमा समेत राष्ट्रिय लाखेनाच हुने गरेको छ। यसले केही हदसम्म नाच संरक्षण भइरहेको नुवाकोट सम्पदा संरक्षण मञ्चकाअध्यक्ष पुष्कर शर्मा रिमाल बताउँछन्। उनका अनुसार नुवाकोटको लाखे अन्य लाखेभन्दा फरक र आकर्षक छ। नारायणघाटमा भएको चौथो राष्ट्रिय लाखेनाच प्रतियोगितामा नुवाकोटे लाखे प्रथम भएको थियो।