मेरो बाल्यकालको साथी तेजबहादुर सानै उमेरमा नाम जस्तै तेज थियो। सुन्दर अनुहार भएको तेजबहादुर ब्रिटिस लाहुरेको छोरा भए पनि उसमा लाहुरेपना शून्य प्राय थियो। सबैजनासँग मिल्ने, हँसिलो चेहराको ऊ शान्त स्वभावको थियो।
ऊ सानैदेखि दीन दुखीलाई सहयोग गर्न अग्रसर हुन्थ्यो। सामाजिक काममा बच्चै भए पनि दिल खोलेर लाग्थ्यो। पढाइमा अब्बल थियो। खान्तेपिन्ते परिवारमा जन्मिएको तेजबहादुर मिजासिलो थियो, घमन्डको लेप पनि उसमा थिएन। म एक कक्षादेखि चार कक्षासम्म ऊसँगै पढेँ।
चार कक्षामा पढ्दै गर्दा तेजबहादुरलाई विद्यालयले राजाको जन्मोत्सव मनाउन सबै विद्यार्थीसँगै विद्यालयबाट गाउँको केन्द्रसम्म नारा लगाउँदै लग्यो। म पनि सँगै थिएँ। शिक्षकहरूको निर्देशनअनुसार हामीले जोर जोरले नारा लगायौँ– ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’
हामीलाई हाम्रो देश त प्यारो थियो। तर नरेशका बारेमा खासै थाहा थिएन। सभा स्थलमा राजाको जयजयकार सुनेर राजा पक्कै पनि ठुला र असल मान्छे हुन\ भन्ने हामीलाई लागेको थियो। अझ मान्छेभन्दा पनि भगवानकै अवतार हुन् भन्ने लागेको थियो।
गाउँको केन्द्र पुगेपछि हामीलाई जन्मोत्सवको उपलक्ष्यमा तोरी मिठाई बाँडियो। हामीले तोरी मिठाई मिठो गरी खायौँ। तेजबहादुरको र मेरो घर नजिकै थियो र हामी सँगै घर फर्कियौँ। घर फर्कँदै गर्दा तेजबहादुरले राजा भनेको त सबैले मान्ने, साँच्चिकै ठुला मान्छे हुँदा रहेछन् र आफूलाई पनि राजा बन्न मन लागेको मलाई भन्यो।
म पनि ऊजस्तै बालखै थिएँ, तेजबहादुरभन्दा झन्डै एक वर्ष कान्छो। मलाई पनि राजा कसरी बन्छन् भन्ने थाहा थिएन तर राजाको जयजयकार गरेको देखेर कता कता मलाई पनि राजा बन्न पाए त गज्जबै हुन्थ्यो झैँ लागेको थियो।
घर गएर उसले आफूलाई राजा बन्न उधुमै रहर लागेको कुरा सुनाएछ। तेजबहादुरका बाउ ब्रिटिस लाहुरे भएकाले घरमा थिएनन्। छोराको राजा बन्ने रहर सुनेपछि उसका हजुरबा, हजुरआमा अनि आमाले बेस्सरी गाली गरी दुई/चार थप्पड पनि लगाएछन्। तेजबहादुर राजा बन्न नसक्ने, राजा बन्न राजाकै जेठो छोरा हुनुपर्ने कुरा भनेछन्। अनि राजा बन्ने कुरा नगर्न र गरे प्रहरीले ऊ र परिवारलाई धेरै कष्ट दिने कुरा सम्झाएछन्।
तेजबहादुरले पाएको झापडले मेरो त राजा बन्ने रहर उड्यो तर उसको रहर र कौतुहलता झन् बढेर गएको थियो। त्यसपछि उसले इतिहासबारे सोध्न, खोज्न र पढ्न थालेको थियो। पाँच कक्षा पढ्दै गर्दा मेरो परिवार पहाड छोडी तराई बसाइ सर्यो। मेरो पनि तेजबहादुरसँगको दोस्ती छुट्यो।
त्यति बेलासम्म उसले आफ्नो राजा बन्ने रहरअनुसार घरमा झगडै गरेर भए पनि आफ्नो नाम तेज विक्रम बनाएको थियो। तर हाम्रो लागि ऊ तेजे नै थियो। हामी उसलाई फुर्काउनु पर्यो भने तेज विक्रम वा तेज सरकार भन्थ्यौँ। त्यसो भन्दा ऊ दङ्ग परेर खल्तीमा पैसा भए हामीलाई सुन्तले चकलेट वा ग्लुकोज बिस्कुट किनेर खुवाउँथ्यो।
हामी सात कक्षामा पढ्दा देशमा सक्रिय राजतन्त्र सकियो र राजा संवैधानिक बने। लगभग त्यति बेलै तेजेको परिवार पनि बसाइ सरेर धरान झर्यो भन्ने मैले सुनेको थिएँ। तर मलाई उसको बारेमा अरू थाहा थिएन।
एसएलसीपछि म उच्च शिक्षाका लागि काठमाडौँ आएँ। अमृत साइन्सबाट आईएस्सी गरेँ अनि मिनभवन क्याम्पसबाट बिबिएस। जागिर खाँदै मिनभवन क्याम्पसमै एमबिएस पढियो। भाग्यले भन्ने कि परिश्रमले हो एमबिएस प्रथम वर्षको परीक्षामा क्याम्पस प्रथम भइएछ। परीक्षाफल आएपछि म कलेज पुग्दा चिन्ने, नचिन्ने, कहिल्यै नबोल्नेहरूले पनि मलाई बधाई दिए। क्याम्पसमा सयौँ विद्यार्थी थिए, केहीलाई मात्र म चिन्थेँ। अरू कतिको अनुहार देखिरहे पनि नाम थाहा हुँदैनथ्यो।
बधाई दिँदै एक जनाले हात मिलाउँदै भने– ‘बधाई, म तेरो बच्चाको साथी तेजे, उर्फ तेज सरकार!’
यो सुनेपछि म छाँगाबाट खसे झैँ भएँ। पहिले त विश्वास लागेन। तर विश्वास नगर्नु पर्ने कारण केही थिएन। उसलाई मैले क्याम्पसमा देखिरहेको हुन्थेँ तर ऊ अर्कै सेक्सनमा पढ्थ्यो। म पनि दुई–तीन पिरियड जति लिएर अफिस जाने हुँदा क्याम्पसमा कमै हुन्थेँ।
तेजे खाइलाग्दो ज्यानको, लामो कपाल पालेको, पाखुरामा ट्याटु हानेको, बुलेट बाइकमा हिँड्ने र हेर्दै गुन्डाजस्तो देखिन्थ्यो। त्यसैले हामी ऊबाट तर्किन्थ्यौँ। केटा र केटी गरेर पाँच–सात जना सधैँ जस्तो ऊसँगै हुन्थे। उसलाई देखी म अकमकिएको देखेर उसले भन्यो– ‘यो भिड सकियोस् अनि हामी कतै गएर गफ गर्नुपर्छ।’
केही बेरमा भिड कम भयो। तेजेले मलाई उसको बुलेट बाइकमा राखेर बानेश्वरको एक रेस्टुरेन्टमा लगेर दुई प्लेट मःम मगाउँदै हर्षविभोर हुँदै भन्यो– ‘तेह्र वर्षमा तँसँग सुसमाचारले भेट्टायो।’
उसले पनि राम्रो अङ्कसाथ परीक्षा पास गरेको रहेछ। अनि हाम्रा पुराना याद सुरु भए, सबैभन्दा पहिले राजा बन्ने रहरका बारे।
हामी तराई झरेपछि पनि उसको राजा बन्ने रहर मरेन, झन् प्रगाढ बन्यो रे। त्यही रहरले घर र विद्यालयमा थुप्रै गाली र सजाय पनि पाएछ। बिस्तारै उसले राजाको हाउभाउ पनि नक्कल गर्न थालेछ। राजाको जस्तै चस्मा लाउँथ्यो अनि जुँगा पनि पालेको थियो रे। पछि उसले राजा बन्न सम्भव नभएको थाहा पाएर फिल्ममै भए पनि राजा बनेर अभिनय गर्ने धोको बनाएछ। दरबार हत्याकाण्ड भएपछि राजा बन्ने रहर मात्र हैन राजा बनेर फिल्ममा अभिनय गर्ने रहर पनि मरेछ।
मसँगको भेटमा तेजे बिन्दास थियो। भन्थ्यो, ‘राजा भएर चौबिसै घण्टा सुरक्षा घेराभित्र बस्नुपर्ने बन्दी जीवनभन्दा हाम्रो स्वतन्त्र र सामान्य जीवन कयौँ गुणा ठिक। मलाई मन लागे भक्तपुर पुगेर गल्लीमा बसेर बसेर जुजुधौ खान सक्छु, मंगलबजारमा चटामरी र वसन्तपुर पुष्टकारी खान सक्छु। राजाले सक्दैनन्।’
उसको त्यो भनाइमा दम थियो। अझ म त भुईँमान्छे, राजा त के मलाई मन्त्री मात्र होइन प्रमुख जिल्ला अधिकारीकै तामझाम र बन्दोबस्त मन पर्दैन थ्यो। झन्डा हल्लाउँदै साइरन बजाउँदै ट्राफिक नियम नमानी हुइँकिने मन्त्रीका गाडी देख्दा मलाई रिस उठ्छ।
तेजेको बाल्यकालको राजा बन्ने तीव्र रहर र मेरो सुषुप्त रहर कुरा बुझ्ने भएपछि पग्लिएर गए। अनि बिलाए। जङ्गलको मृगलाई चिडियाखानामा वा सुगालाई पिँजडामा सम्पूर्ण सुविधासाथ राखे पनि रमाउँदैनन्। मृगलाई बाघको डर भए पनि अनन्त जङ्गल नै मन पर्छ। आफ्नै दौँतरी मन पर्छ। सुगालाई सिकारीको डर भए पनि स्वच्छन्द आकाशमा उड्न मन पर्छ।
तेजेसँग मेरो भेट वर्षमा एक पटक जस्तो हुन थालेको छ। लाहुरेको छोरा भए पनि ऊ जाँडरक्सी खाँदैन। माछामासु पनि खाँदैन। ऊ काठमाडौँका कलेजहरूमा नाम चलेको प्राध्यापक भएको छ। हेलमेट बोकेर दैनिक चार–पाँच कलेज चहार्नु पर्ने भएकाले ऊ आफूलाई हेलमेट मास्टरका रूपमा चिनाउँछ। उसलाई तेजविक्रम भन्दा तेजबहादुर मन पर्न थालेको छ।
राजतन्त्र उन्मुलन भएर राष्ट्रपति बनेपछिको भेटमा ऊ निकै खुसी भएको थियो। भन्थ्यो, एउटा नेपालीको सन्तान राष्ट्रप्रमुख भयो, मेरो त रहर मरिसक्यो, नत्र म पनि हुन सक्थेँ। अहिले कुनै बच्चालाई राष्ट्रपति हुन मन परे घर र स्कुलदेखि नै दण्डित हुनुपर्दैन।
गत महिना राजावादीको हिंसात्मक तीनकुने घटनापछि हाम्रो चिया गफमा भेट भयो। ऊ राजावादीको आन्दोलन, तर्क र उद्देश्यप्रति पूर्ण असहमत थियो। कुनै व्यक्ति र परिवारलाई भगवान् बनाएर आफू रैती बन्न तयार भई सडकमा हिंसा मच्चाउने अल्पबुद्धिका पिछलग्गुहरू प्रति उसमा घृणा पलाएको थियो।
व्यक्ति हैन, व्यवस्थाको कुरा गर्न ऊ रुचाउँथ्यो। आफ्नै दरबारको पारिवारिक जमघटमा सपरिवार मारिने राजतन्त्र देशलाई किन चाहियो? राजतन्त्र हुँदा देश र जनता सुखी थिए त? खुसी थिए त? एउटा अबोध बालकमा अनजानमा राजा बन्ने रहर पलाउँदा घरभित्रै रहर दबाउनुपर्ने राजतन्त्र कसका लागि?
उसका यस्तै प्रश्नहरूले म सोचमग्न भएको थिए।
त्यसो त ऊ नेता र मन्त्रीहरूको ‘राजापारा’ सँग पनि निकै दुखी थियो। नेताहरू आत्मकेन्द्रित र आफ्ना केन्द्रित भएर देश र जनतालाई बिर्सेकोमा ऊ चिन्तित थियो। भ्रष्टाचार, अनियमितता, कुशासन र विचौलियातन्त्र झाँगिएकोले यसलाई सफा गर्न कहिलेकाहीँ आफै राजनीतिमा होमिने झ्वाँक चल्ने पनि उसले सुनायो। विधिको शासनलाई बिचौलियाको शासनले विस्थापित गरेकोमा उसको मन निकै दुखेको थियो।
एउटा भुइँमान्छेले आफ्नो बालसखासँग मनका बह निःसन्देह पोख्न पाउँदा उसको मन हल्का भएको महसुस हुँदै थियो। चिया सकिएपछि उसले फेरी कालो कफी चिनी नहाली मगायो। मलाई उसका कुराले भित्रैदेखि छोएको थियो। लाहुरेको छोरा हो। जे देख्छ, जे मनमा लागेको छ, त्यही भन्छ। मनमा कपट थिएन। कुरा बनाउन जान्दैन। ऊ मनबाटै बोलेको थियो, मस्तिष्कबाट हैन। उसले भनेका कुरा नेपालीका मनका कुरा थिए। हाम्रै समाजका आवाज थिए।
कफीको चुस्की लिँदै उसले भन्यो– ‘समस्या लोकतन्त्रमा होइन, नेतातन्त्रमा हो। लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन। संवैधानिक भए पनि, सक्रिय भए पनि। नेपालमा आलंकारिक राष्ट्रपति त सक्रिय हुन खोज्छन् भने राजा कसरी संवैधानिक भएर बस्न सक्छन्!’
लोकतन्त्र र विधिको शासनका लागि जनताले तीव्र पहरेदारी गर्नुपर्ने, नेताराज अन्त्य गर्न सामाजिक बहस चर्काउनुपर्ने उसको विचार थियो। मैले सहमति जनाउँदै टाउको हल्लाएँ।
उसले थप्यो- ‘कम्तीमा नेता त आवधिक रूपमा जनताबाट अनुमोदित हुनुपर्छ। नेताराज अन्त्य गर्नुपर्ने बेला राजाराजको कुरा कसरी गर्न सकेका? कसैलाई राजा हुन मन लागे जनतामाझ गए भयो। चुनाव जितेर, संविधान संशोधन गरेर राजतन्त्र ल्याए भयो। जनताले चाहे राजतन्त्र ल्याउन संविधानले रोकेको छैन।’
पर्दा पछाडि बसेर, आफ्नो स्वार्थका लागि जनता लडाउने, जनता मराउने राजा हुन् वा नेता, उनीहरूले जनतालाई केही गर्दैनन् भन्ने उसको विचार थियो।
कफीको अन्तिम चुस्की सकिँदै गर्दा उसले भन्यो– ‘लोकतन्त्रका धमिरा हटाऔँ, फोहोर सफा गरौँ, चुनाव आउँछ, मत हामीसँग छ। लामो संघर्ष र बलिदानपछि आएको लोकतन्त्र मासेर राजा ल्याउनु उल्टो बाटो हिँड्नु हो। यात्रा गर्दा गाडीको टायर पन्चर भए टायर फेर्ने हो, गाडी फालेर बयलगाडा चढ्ने होइन।’
यति भनी हेलमेट लगाएर ऊ आफ्नो हेलमेट मास्टरको भूमिका निर्वाह गर्न निस्कियो।