तीज नजिकिँदै गर्दा तीज गीतमा रूचाइएका अधिकांश कलाकारहरू विदेश पुगेका छन्।
त्यहाँ नेपाली समुदायले आयोजना गरेका तीज विशेष सांगीतिक कार्यक्रमका लागि गायक–गायिकासहित केही मोडलहरू समेत विदेश पुगेका हुन। कलाकारहरूले विदेश पुगेर तीज विशेष कार्यक्रममा प्रस्तुति समेत सुरू गरिसकेका छन्।
अमेरिकामा शान्तिश्री
गायिका शान्तिश्री परियार दुई साताअघि अमेरिका पुगेर सांगीतिक प्रस्तुति दिइरहेकी छन्।
तीजको अवसर पारेर अमेरिकाका विभिन्न राज्यमा 'अब नाच्छ अमेरिका' सांगीतिक टुर भइरहेको छ। झण्डै दुई महिनाको यो टुरमा गायिकाहरू ज्योति मगर, रचना रिमालसहित मोडल करिष्मा ढकाल पनि छिन्।
उनीहरू चारैजनाको यो पहिलो अमेरिका यात्रा हो।
पशुपति, कोमल र देवी अस्ट्रेलियामा
गायक पशुपति शर्मा तीज विशेष सांगीतिक कार्यक्रमका लागि गत साता अस्ट्रेलियामा पुगिसकेका छन्। 'दिदीबहिनी इभेन्ट' को आयोजनामा त्यहाँका विभिन्न सहरमा हुने 'तीज साँझ' मा उनले प्रस्तुति दिँदैछन्।
झण्डै एक महिनाको यो सांगीतिक टुरमा पशुपतिसहित कोमल वली, देवी घर्ती, मोडल रूविना अधिकारी र गायिका शोभा त्रिपाठी छिन्। एक दर्जन बढी कार्यक्रममा उनीहरूको प्रस्तुति तय छ।
बद्री पंगेनी र दुर्गेश थापा पनि अस्ट्रेलिया
गायक बद्री पंगेनी र दुर्गेश थापा पनि यतिबेला अस्ट्रेलियामा छन्। त्यहाँका विभिन्न सहरमा उनीहरूको तीज फेस्टिभल टुर तय छ। यो टुरमा गायिका एन्जिला रेग्मीसहितका कलाकार पनि छन्।
खुमन र प्रीति पनि दुबईको कार्यक्रम सकेर अस्ट्रेलिया पुगे
गायक खुमन अधिकारी र गायिका प्रीति आलेले दुबईमा आयोजित तीज विशेष कार्यक्रममा प्रस्तुति दिइसकेका छन्। सो कार्यक्रमपश्चात नेपाल फर्किएर उनीहरू अस्ट्रेलिया पुगिसकेका छन्। त्यहाँका एक दर्जन बढी कार्यक्रममा उनीहरूले दर्शक नचाउनेछन्।
खेम, मिलन र अञ्जली अमेरिका
गायक खेम सेञ्चुरी अमेरिका पुगेका छन्। त्यहाँ उनीसँगै गायिका मिलन नेवार, मोडल अञ्जली अधिकारी र कलाकार राधिका कंडेलको सांगीतिक टुर सुरू भइसकेको छ।
अन्य कलाकारहरू पनि विदेश पुगेर प्रस्तुति सुरू गरिसकेका छन्।
यसपटक तीज गीतमा रूचाइएका अधिकांशजसो कलाकार विदेश टुरमा देखिएका छन्।
तीज भदौ २१ गते परेको छ।