गायक प्रमोद खरेलले साउदी अरबमा आफ्नो ब्याण्डसहित प्रस्तुति दिएका छन्।
साउदी सरकारले आयोजना गरेको 'जेद्दा सिजन २०२४' मा हिजो (शुक्रबार) 'प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड' ले प्रस्तुति दिएको हो।
त्यहाँ नेपालसहित ८ वटा एसियाली देशका कलाकारको कन्सर्ट आयोजना गरिएको थियो। पर्यटन, मनोरञ्जन र संस्कृति क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कन्सर्टका लागि प्रमोद र उनको ब्याण्डका सदस्यले केही समय अघिदेखि तयारी गरिरहेका थिए।
'प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड' ले त्यहाँ झण्डै २ घण्टा प्रस्तुति दिएको थियो। आफ्ना हिट गीतहरूसँगै नेपाली धून र पुराना नेपाली कल्चरल गीतलाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिएको प्रमोदले बताए।
कन्सर्टको प्राप्त तस्बिरमा दर्शकको उपस्थिति खचाखच देखिएको छ। कन्सर्ट भव्य र सभ्य रूपमा सम्पन्न भएको प्रमोदले बताए।
उनले १२ वर्षअघि ब्याण्डको सुरूआत गरे पनि तिव्रता दिन सकिरहेका थिएनन्। यसअघि निश्चित नामबीना ब्याण्डसहित प्रस्तुति दिए पनि अब आफ्नो समूह ‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’ का रूपमा आउने प्रमोदले बताए। अबका दिनमा ब्याण्डलाई प्राथमिकतामा राख्ने उनको योजना छ।
बुधबार ब्याण्डका सदस्यसहित साउदीतर्फ प्रस्थान गरेका प्रमोद आज फर्किँदैछन्।
काठमाडौं अवतरण भएसँगै उनी रियालिटी शो 'भ्वाइस किड्स' को बेलुका हुने फिनालेमा सहभागी हुनेछन्।