गायक एवं अभिनेता प्रकाश सपुतले पछिल्ला वर्ष तीजमा पनि आफ्ना सिर्जना ल्याउँदै आएका थिए। तीन वर्षअघि उनले तीजमा ल्याएको 'कुरा बुझ्न पर्च' निकै चर्चित बन्यो।
गतवर्ष उनको अफिसियल गीत 'जाले रूमाल फाट्यो' ले पनि राम्रो चर्चा पायो। उनले नृत्य गरेका 'अरेली काँडैले' र 'कमाउने नी हो रमाउने नी हो' अत्याधिक चलेका थिए।
यसपालि भने प्रकाश तीजको भिडिओमा देखिएका छैनन्। उनले यो वर्ष तीजमा अफिसियल गीत पनि नल्याउने भएका छन्।
आफैले बनाउन लागेको फिल्म 'वसन्त' को तयारीले गर्दा यसपालि तीज गीत नआउने भएको प्रकाशले बताए। यो फिल्मको तीज लगत्तै छायांकन गर्ने तयारी छ।
यस्तै, गतवर्ष तीजमा 'अरेली काँडैले' बोलको गीत ल्याएकी शान्तिश्री परियारले यसपालि पनि अफिसियल गीत ल्याउँदैछिन्। 'अरेली काँडैले' गतवर्षको सबभन्दा चर्चित गीत थियो।
यसवर्ष दुई दर्जन हाराहारी तीज गीतमा स्वर दिएर कार्यक्रमको शिलशिलामा अमेरिका पुगेकी शान्तिश्रीले आफ्नै युट्युब च्यानलबाट 'चोर्यो जुरेलीले' सार्वजनिक गर्ने तयारी छ। यसको भिडिओको काम सकिएर सम्पादनको क्रममा छ।
यसको भिडिओमा महँगो खर्च गरिएको बताइएको छ।
एकल स्वरमा आउने यस गीतका शब्द विक्रमबाबु विश्वकर्माले लेखेका हुन्। संगीत र थेगो अर्जुन सापकोटाले तयार पारेका हुन्।
गीत भदौ १ गते सार्वजनिक हुने जनाइएको छ। यसवर्ष तीज भदौ २१ गते परेको छ।