तीज विशेष सांगीतिक कार्यक्रमका लागि गायक पशुपति शर्मा, गायिका देवी घर्तीलगायतका कलाकारहरू अस्ट्रेलियातर्फ लागेका छन्।
उनीहरूसहित मोडल रूविना अधिकारी र गायिका एवं सञ्चारकर्मी शोभा त्रिपाठी आइतबार बेलुका अस्ट्रेलिया उडेका हुन्।
'दिदीबहिनी इभेन्ट' को आयोजनामा त्यहाँका विभिन्न सहरमा हुने 'तीज साँझ' मा कलाकारहरूले प्रस्तुति दिनेछन्।
यो कार्यक्रममा अर्की गायिका कोमल वली पनि आकर्षणको केन्द्रमा हुनेछिन्। उनी भने केही समयअघिदेखि अस्ट्रेलियामै छिन्।
त्यहाँका दर्जन बढी कार्यक्रममा कलाकारहरूको प्रस्तुति तय छ। सांगीतिक टुर झण्डै एक महिना लामो हुने बताइएको छ।
तीज गीतमा रूचाइएका गायक–गायिकाहरू तीजमा प्रायः विदेशमा रहेका नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा व्यस्त हुने गरेका छन्। यसपालि पनि अरू कतिपय गायक–गायिका विदेश उडिसकेका छन्। थुप्रै कलाकारले तीजको कार्यक्रम तय गरिसकेका छन्।
यो वर्ष तीज भदौ २१ गते परेको छ।