'भाइब्ज ब्याण्ड नेपाल' ले एआई (आर्टिफिसियल इन्टिलिजेन्स) को प्रयोग गरेर नेपाली म्युजिक भिडिओ तयार गरेको छ।
पप रक ब्याण्ड भाइब्जले केही दिनअघि युट्युबमा सार्वजनिक गरेको 'थाकिसकेँ' गीतको भिडिओका सम्पूर्ण दृश्य नै एआईमार्फत तयार पारिएको जनाइएको छ।
ब्याण्डले सन २००८ मा सार्वजनिक आफ्नो लोकप्रिय गीत 'थाकिसकेँ' लाई परिमार्जन गरेर यो गीत ल्याएको हो।
गीतलाई नयाँ रेकर्डिङ गर्दै एआई टुलको प्रयोगमा भिडिओ तयार पारिएको भाइब्ज ब्याण्डका भोकलिस्ट प्रइन सिंहले जानकारी दिए।
एआईलाई दिइएको निर्देशनमा आधारित तयार भिडियोमा युवायुवतीको प्रेम र विछोडको कथा देखाइएको छ। इनडोर र आउटडोर दृश्यहरू भिडिओमा देखिन्छ।
भाइब्ज ब्याण्डका अनुसार मिडजर्नी, रनवे एमएल, लुमा एआई, किङ एआई, टोपाज भिडियो एआईजस्ता एआई सफ्टवेयरको मद्दतबाट भिडिओ तयार गरिएको हो।
विवेक पोखरेलको शब्द रचना, मनोज सिंहको बाँसुरी रहेको गीतलाई मिक्सिङको काम साश्वत श्रेष्ठले गरेका हुन्। यसका निर्माता पनि श्रेष्ठ नै हुन्। भिडिओमा भोकलिस्ट प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ तथा अजय भट्टराईको स्क्रिनप्ले छ।
भाइब्ज ब्याण्डले यसलाई नेपालकै पहिलो एआई म्युजिक भिडिओ भएको दाबी गरेको छ।
भिडिओः