स्विट्जरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा मिनबहादुर भाम निर्देशित फिल्म 'शाम्बाला' पुग्नु ठूलो कुरा थियो नै। त्योभन्दा ठूलो कुरा, सोही फिल्मकी अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि 'बोक्कालिनो डिओर' अवार्ड जित्नु थियो।
नेपाली फिल्म उद्योगमा एकाएक उनी चर्चामा आएकी थिइन्। फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमै पाएको यो सफलताले उनी आफै आश्चर्यमा परिन्।
'लोकार्नोभन्दा अघि बर्लिन फिल्म फेस्टिभलमा पनि गएकी थिएँ। त्यहाँ पुग्दा अत्तालिएकाले होला, त्यति रमाउन सकिनँ। लोकार्नोमा भने दर्शकको माया महसुस गर्न पाएँ,' थिन्लेले भनिन्।
थिन्ले काठमाडौंमा जन्मे-हुर्किएकी हुन्। उनलाई सानै उमेरदेखि नाच्न खुब रूचि थियो। पारिवारिक समारोह होस् या विद्यालयमा हुने कार्यक्रम, उनी नाच्न अगाडि सर्थिन्।
केएनके इन्टरनेसनल कलेजमा मनोविज्ञान र सामाजिक कार्य पढ्दै गर्दा उनलाई पहिलो फिल्म 'नाका' को अवसर आएको थियो। यो प्रस्ताव उनकै चिनजानका दाइ पेमाले ल्याएका थिए।
फिल्म भन्ने बित्तिकै थिन्लेका आँखा चम्किए। ठूलो पर्दामा आउने उनलाई लोभ जाग्यो। उनले आफ्नी दिदीसँग सल्लाह लिइन्। दिदीले स्विकृति दिएपछि उनी ढुक्क भएर फिल्म खेल्न गइन्।
'नाका' को सेटमा काम गर्दै गर्दा थिन्लेलाई दोस्रो फिल्म 'हरि' को प्रस्ताव आयो। लगालग उनले दुई फिल्ममा अभिनय गरिन्। यति हुँदाहुँदै उनी खासै चर्चामा आइनन्।
अहिले फिल्म 'शाम्बाला' ले भने उनको चर्चा एकाएक बढाइदियो।
दुई फिल्मपछि तेस्रो फिल्म 'शाम्बाला' सम्म आइपुग्न थिन्लेलाई आठ वर्ष लाग्यो। यतिका वर्ष लाग्नुमा उनी आफैलाई दोषी मान्छिन्।
'मैले फिल्मलाई गम्भीरतापूर्वक लिएको थिइनँ। फिल्ममा काम गर्न मजा लागिरहेको थियो। तर आफ्नो तर्फबाट प्रयास गरिनँ। पहिलो र दोस्रो फिल्म सजिलै पाएकाले त्यसरी नै पाउँछु होला भन्ने लागेको थियो। नयाँ काम गर्दा आफ्नो दक्षता बढाउनुपर्छ भन्ने मैले सोचेकी थिइनँ,' उनले भनिन्।
त्यसबीच थिन्लेले र्याम्पमा मोडलिङ गरिन्। उनलाई दुई फिल्ममा देखेका साथीहरू भने नयाँ फिल्मबारे जिज्ञासा राख्थे। उनीसँग जिज्ञासा मेट्ने राम्रो जबाफ हुन्थेन।
उनी यत्ति भन्थिन्, 'खै हेरौं!'
त्यो समयलाई अहिले फर्किएर हेर्दा थिन्ले आफ्नै गैरजिम्मेवारी मान्छिन्।
एकदिन निर्देशक मीनबहादुर भामले फोन गरेर सोधे, 'थिन्ले एकपटक भेट्न मिल्छ?'
नयाँ मान्छे भेट्दा नयाँ अनुभव बटुल्न पाइने थिन्लेको बुझाइ छ। पहिलो भेट्मा मीन र उनीबीच फिल्मबारे कुराकानी भएन।
घर फर्किएपछि बल्ल थिन्लेको मनमा जिज्ञासा जाग्यो, 'मीन दाइले खासमा मलाई किन बोलाउनुभएको होला?'
त्यसको केही समयपछि मीनले थिन्लेलाई फिल्म 'क्याराभान' का निर्देशक एरिक भालीसँग भेट गराए। त्यति बेला कुनै फिल्मको तयारी भइरहेको उनले थाहा पाइन् तर विस्तृत जानकारी उनीसँग थिएन।
समय बित्यो।
'कुरा मात्र गर्ने रहेछन्, काम त नहुने रहेछ भन्ने लाग्न थालिसकेको थियो मलाई त,' उनले भनिन्।
यत्तिकैमा कोरोना फैलिएर लकडाउन भयो। थिन्ले मीनको सम्पर्कमै थिइन्। एकदिन मीनले उनलाई फिल्मको अडिसनमा बोलाए।
यो मीनसँग पहिलोपटक भेट्दाको पाँच वर्षपछिको कुरा थियो।
अडिसन सकिएपछि पनि मीनले केही जबाफ दिएनन्। केही दिनपछि उनले सिधै स्क्रिप्टमा छलफल गर्न थिन्लेसहित सबैलाई बोलाए। त्यही बेला आफू फिल्ममा छनोट भएको थिन्लेले जानकारी पाइन्।
मीनको फिल्ममा उनलाई राम्रो मेहनत गर्न मन थियो। त्यसैले अनुप बरालसँग तीन महिना अभिनय प्रशिक्षण लिइन्।
फिल्मको प्रमुख पात्र पेमा बन्न उनले घोडसवारीको प्रशिक्षण लिइन्।
फिल्म छायांकनमा जानुअघि निर्माण टिमले उनलाई केही कुरा बुझाए – फोन चलाउन पाइँदैन, धेरै हिँड्नुपर्छ, पानी राम्रो पाइँदैन र एकदम चिसो हुन्छ।
थिन्ले तमाम समस्यासँग लड्न तयार भइन्, मन बलियो बनाइन्।
सोचेजस्तो सजिलो त कहाँ थियो र!
'छायांकन सेटमा पुग्नै तीन दिन हिँड्नुपर्ने रहेछ। म त्यहाँ पुग्दै थाकेँ,' उनले भनिन्, 'कसैले मलाई शाम्बालामा काम गर्दा सबभन्दा गाह्रो लागेको कुरा के हो भनेर सोध्यो भने पहिलो जबाफ हिँड्नु नै थियो भन्ने हुन्छ।'
थिन्लेको कष्ट यतिमा सीमित थिएन। फिल्मको पूरै भार उनीमाथि थियो किनभने उनी फिल्मकी प्रमुख पात्र थिइन्।
'फिल्म पेमाबाट सुरू भएर पेमामै सकिन्थ्यो। त्यो पात्रमाथि न्याय गर्न सक्दिनँ कि भन्ने डर मनमा गढेर बसेको थियो,' उनले भनिन्।
निर्देशक मीन भामले त थप सर्तहरू बताएर उनलाई अत्याएका थिए, 'यो फिल्ममा धेरै पहिलाको समय देखाइने भएकाले तिमीले नुहाउन पाउँदैनौं र ब्रस पनि गर्न पाउँदैनौ।'
तीन महिना ननुहाएको भए पनि चिसो ठाउँ भएकाले शरीरबाट गन्ध आउँदैन थियो। सुरूसुरूमा कपाल चिलाएर हैरान हुन्थ्यो। तर बिस्तारै बानी पार्दै गइन्। दाँत नमाझ्दाको सकस पनि सामना गरिन्।
'तीन महिनापछि लुगा हेर्दा त जुम्रा परेको रहेछ,' उनले भनिन्।
यस्ता चुनौती आफ्नै ठाउँमा छन्, त्यसभित्रका रमाइला पलहरू सम्झेर भने थिन्ले आज पनि रमाउँछिन्। डोल्पाको भूभाग अनि मानिसहरू सम्झिँदा उनलाई रमाइलो लाग्छ।
यति धेरै धैर्य, मेहनत र लगानी गरेर बनाइएको फिल्म 'शाम्बाला' ले अन्तर्राष्ट्रिय महोत्सवमा मात्र होइन, फिल्म हलमा पनि तारिफ बटुलेको छ।
फिल्मले राम्रो प्रतिक्रिया पाएकाले थिन्ले अहिले ढुक्क छिन्, 'हामीले जति मेहनत गरेका थियौं, त्यसले रङ ल्यायो। हामी एकदमै खुसी छौं।'
यो फिल्मले थिन्लेलाई धेरैमाझ चिनाएको छ। अब भने उनी पहिलेजस्तो फिल्मको प्रस्ताव आफै आउला भनेर चुपचाप बस्ने पक्षमा छैनन्। नयाँ यात्रा कसरी गर्ने भनेर सोचमा छिन्।
'अहिले पाएको चर्चाले मलाई फिल्मी करिअरप्रति झनै गम्भीर बनाएको छ। मीन दाइले मलाई चिन्ता नलिन र मेहनतमा रमाउन सल्लाह दिनुभएको छ। तर एउटा हाइपमा पुगेपछि दर्शकको अपेक्षा बढ्छ। त्यसैले म आत्तिएकी छु,' उनले भनिन्।
थिन्लेले अहिलेसम्म खेलेका तीन फिल्ममा हिमाली भेगकी पात्रका रूपमा आफ्नो भूमिका निर्वाह गरेकी छन्। अब उनलाई फरक भूमिकामा अभिनय गर्ने रहर छ। रंगमञ्चमा पनि अभिनय गर्न उनी चाहन्छिन्।
'मैले भविष्यको बाटो त पहिल्याइसकेको छु। अब आफूलाई तिखार्दै आफ्नो दक्षता देखाउने प्रयासमा जुट्नेछु,' उनले भनिन्।