दसैंअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन्। तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा सांगीतिक। प्रस्तुति दिनेछन्। गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको सांगीतिक। यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टंगिनेछ।
‘आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु,’ गायक थापाले भने, ‘म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ।’
यो उनको पहिलो अमेरिका यात्रा हो। डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनेछन्। उसो त देशविदेशका सांगीतिक। कार्यक्रममा उनको दौडधुप गत वर्षदेखि नै बढेको हो। गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हेर्यै...’ को सफलताले आफ्नो सांगीतिक। ‘करिअर’लाई नै नयाँ मोड दिन पुगेको गायक थापाले बताउँछन्। उक्त गीतलाई युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको/सुनिएको छ। गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो।
गीतको सफलताले भावुक र खुसी सँगसँगै भएका गायक थापाले त्योबेला भनेका थिए, ‘भगवानरूपी दर्शक÷स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको संख्या होइन, यो सपना पूरा भएको क्षण हो।’ ‘दुश्मन हेरेको हेरै...’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ। थापाले आफ्नै शब्द र संगीतमा उक्त गीत तयार पारेका थिए। गीतको संगीत संयोजन पनि उनले नै गरेका हुन्। गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियंका कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ। उक्त गीत आफ्नो ब्राण्ड गीत जस्तो बनेको थापाले बताए।
‘यो मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ,’ उनले भने।
थापाको पछिल्लो गीत ‘जाने भए जाममाया...’ पनि गीत चर्चित छ।
‘दुश्मन हेरैको हेरै...गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ,’ गायक थापाले भने, ‘कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यवस्ताका कारण समय दिन सकिरहेको छैन।’ अमेरिकापछि क्यानाडा र युरोपको सांगीतिक। यात्रा तय हुन लागेको उनले सुनाए। यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उनको भनाइ छ।
पछिल्लो समय देशविदेशका सांगीतिक। कार्यक्रम र मेला–महोत्सवमा उनको माग बढेको छ। गत हिउँदमा उनलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो। गत फागुन महिनामा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिएका थिए। ‘सधैं म यो स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ,’ उनले भने, ‘तर, म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु।’
सयौं गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’लगायत गीत चर्चित छन्। थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा संगीत दिएका छन्। थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्। ‘डाँडै बिसौनी...’, ‘जूनले मात्र देख्छ...’, ‘हाँस्न सिकायौं...’लगायत उनीद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन्। पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै...’मा प्रोमोशनल गीत गाएका थापाले चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएका उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो। ‘रंगी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको संगीत र शब्द पनि उनले रचना गरेका हुन्।
उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन्। थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहन्छन्। करिअरको सुरुआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका उनी अहिले अभिनय र संगीतमा पोख्त बन्दै गएका छन्।
विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्मसमीक्षासहित अगाडि बढेको बताए। १९ वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरू गुजारेका उनी संघर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन्। युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन्।
२०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौं पुग्दा उनीसँग केबल एउटा सपना थियो– मोडल बन्ने। समयक्रममा उनी अभिनय हुँदै गायनतिर लागे। गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिरेका उनको एक अपरिचित सहरमा संघर्ष सुरु भएको थियो। काठमाडौं जस्तो सपनाको सहरमा थापालाई अनेक अवरोध पनि नआएका होइनन्। तर उनले ती बाधा पन्छाउँदै गएको बताए।
‘अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ आएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उनले नै हो,’ दुर्गेशले भने, ‘एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु।’
२०६५ मा गायक बिमल डाँडीको दसैं गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए। पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो...’ गाएका थिए। थापाले केही साताअघि ‘जेनजी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गरेका थिए।
काठमाडौंका अस्पताल पुगेर घाइतेलाई भेटेका उनले ‘जेनजी’ युवाहरूको बलिदान खेर जान नहुनेमा जोड दिएका थिए। उनले पहिलो चरणमा जेनजी आन्दोलनका घाइते ११ जनालाई दस हजारका दरले उपचार सहयोग प्रदान गरेका थिए। गायक थापाले आफू सधैं जेनजी युवाहरूको पक्षमा रहेका बताए। जेनजी युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको उनको भनाइ छ।